मत्ती 6:22-25
मत्ती 6:22-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्वस्थ छन् भने, तिम्रो सारा शरीर उज्यालो हुनेछ। तर तिम्रा आँखा खराब छन् भने, तिम्रो सारा शरीर अँध्यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्यालोचाहिँ अँध्यारो भयो भने, त्यो अँध्यारो कस्तो घोर हुन्छ! “कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ। “यसैकारण म तिमीहरूलाई भन्दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्नो प्राणको निम्ति र ‘के लगाउँला’ भनी आफ्नो शरीरको निम्ति फिक्री नगर।’ के जीवन खानेकुराभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम होइन?
मत्ती 6:22-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“शरीरको बत्ती आँखा हो। यदि तिमीहरूका आँखा स्वस्थ छ भने तिमीहरूको सम्पूर्ण शरीर ज्योतिले पूर्ण हुन्छ। तर यदि तिमीहरूका आँखा नै अस्वस्थ छन् भने तिमीहरूका सम्पूर्ण शरीर नै अत्यन्त अँध्यारोमा हुन्छ। यसकारण यदि तिमीहरूभित्र भएको उज्यालो नै अँध्यारो छ भने त्यो अँध्यारो कति बढी होला! “कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन। कि त त्यसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि त त्यसले एउटाप्रति भक्त बनेर अर्कालाई तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनसम्पत्ति दुवैको सेवा गर्न सक्दैनौ। “त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा पिऔँला अथवा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर। के भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण र लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण होइन र?
मत्ती 6:22-25 पवित्र बाइबल (NERV)
“तिम्रो शरीरको ज्योति आँखा हो। यदि तिम्रा आँखाहरू निर्मल छन् भने, तिम्रा सारा शरीर उज्यालो रहनेछ। तर यदि तिम्रा आँखा खराब छन् भने, तिम्रो सम्पूर्ण शरीर अँध्यारो हुनेछ। यदि तिम्रो उज्यालो चाहिं अँध्यारो भयो भने, त्यो घनघोर अँध्यारो हुनेछ। “कसैले पनि दुइ मालिकको सेवा एकै समयमा गर्न सक्दैन। उसले एउटालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ। अथवा त्यो एउटासित झुक्नेछ, र अर्कोलाई तुच्छ गन्नेछ। यसैले एउटै समयमा एकै साथमा तिमीहरूले परमेश्वर र धनको चाकरी गर्न सक्दैनौ। “यसैले म तिमीहरूलाई भन्दछु, बाँच्नलाई के खानु पर्ने भन्ने विषयमा तिमीहरू चिन्तित हुनु हुँदैन। तिमीलाई शरीको निम्ति चाहिने वस्त्रका विषयमा फिक्री नगर। खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीर धेरै मूल्यवान छ।
मत्ती 6:22-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“शरीरको बत्तीचाहिँ आँखा हो। आँखा सफा छ भने पूरै शरीरमा उज्यालो हुन्छ। तर यदि तिम्रो आँखा धमिलो छ भने पूरै शरीर अँध्यारो हुन्छ। त्यसरी नै तिम्रो हृदयमा भएको उज्यालोचाहिँ अँध्यारो भयो भने त्यो झन् कति बढी अँध्यारो होला! “कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन। नत्रता उसले एउटालाई हेला र अर्कोलाई चाहिँ माया गर्नेछ कि त एउटाले भनेको मान्छ र अर्कोको वास्तै गर्दैन। त्यसै गरी तिमीहरूले पनि परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ। “त्यसैकारण म तिमीहरूलाई भन्छु, जीविका चलाउन चाहिने खाने-पिउने, लाउने कुराको बारेमा चिन्ता नगर। के खाने कुराभन्दा जीवन ठूलो र लाउने कुराभन्दा शरीर ठूलो होइन र?