मत्ती 4:1-17
मत्ती 4:1-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब दियाबलसद्वारा परीक्षा गरिनलाई पवित्र आत्माद्वारा येशू उजाड-स्थानमा लगिनुभयो। उहाँ चालीस दिन र चालीस रातसम्म उपवास बसिसकेपछि भोकाउनुभयो। तब परीक्षा गर्नेले उहाँकहाँ आएर भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी होऊन् भनी आज्ञा दिनुहोस्।” तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ’।” तब दियाबलसले उहाँलाई पवित्र नगरमा लगेर मन्दिरको शिरमा खड़ा गरायो, र उहाँलाई भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हामफाल्नुहोस्, किनभने यस्तो लेखिएको छ, ‘उहाँले आफ्ना दूतहरूको जिम्मामा तिमीलाई दिनुहुनेछ र तिनीहरूले तिमीलाई आफ्ना हात-हातै थाम्नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।” येशूले त्यसलाई भन्नुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू’।” फेरि दियाबलसले उहाँलाई एउटा अल्गो पर्वतमा लगेर संसारका सबै राज्य र तिनको वैभव उहाँलाई देखायो, र उहाँलाई भन्यो, “तपाईंले घोप्टेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु।” तब येशूले त्यसलाई भन्नुभयो, “शैतान, तँ दूर होइजा! किनभने लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू’।” तब दियाबलस उहाँलाई छोड़ेर गयो र स्वर्गदूतहरूले आएर उहाँको सेवा-टहल गरे। यूहन्ना थुनामा परे भन्ने सुनेर येशू गालीलतिर लाग्नुभयो, र नासरत छोड़ेर कफर्नहुममा गई त्यहाँ वास गर्न लाग्नुभयो। यो सहर जबूलून र नप्तालीका क्षेत्रमा, समुद्रको किनारमा पर्छ। यशैया अगमवक्ताले भनेको वचन यसरी पूरा भयो: “जबूलूनको मुलुक र नप्तालीको मुलुक, यर्दनपार, समुद्रतिर, अन्यजातिहरूको गालील, अन्धकारमा बस्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युका छायाको देशमा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ।” त्यस बेलादेखि प्रचार गर्दै येशूले भन्न लाग्नुभयो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।”
मत्ती 4:1-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब येशू शैतानद्वारा परीक्षित हुनलाई पवित्र आत्माद्वारा उजाडस्थानमा लगिनुभयो। अनि चालीस दिन र चालीस रात उपवास बसेपछि उहाँ भोकाउनुभयो। परीक्षा गर्नेले उहाँकहाँ आएर यसो भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी भइजा भनी आज्ञा दिनुहोस्।” येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’” तब शैतानले उहाँलाई पवित्र सहरमा लग्यो, र उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा उभ्यायो। अनि उहाँलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्; किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘उहाँले तपाईंको सम्बन्धमा आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ, अनि तिनीहरूले तपाईंलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्; ताकि तपाईंको खुट्टा ढुङ्गामाथि नबजारियोस्।’” येशूले त्यसलाई जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो पनि लेखिएको छ: ‘तैँले प्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू।’” फेरि शैतानले उहाँलाई एउटा अति अग्लो पहाडमाथि लगेर संसारका सबै राज्यहरू र तिनीहरूका वैभव देखायो, अनि उहाँलाई भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने म यी सबै थोक तपाईंलाई दिनेछु।” त्यसपछि येशूले त्यसलाई भन्नुभयो, “हे शैतान, तँ मबाट टाढा भइजा! किनकि यसरी लेखिएको छ: ‘तैँले आफ्ना प्रभु परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू।’ ” तब शैतान उहाँलाई छोडेर गइहाल्यो। अनि स्वर्गदूतहरू आएर उहाँको सेवाटहल गरे। जब येशूले यूहन्ना झ्यालखानामा परेका छन् भनी सुन्नुभयो, तब उहाँ गालील प्रदेशमा फर्कनुभयो। नासरत सहरलाई छोडेर उहाँ कफर्नहुममा जानुभयो, जुन जबूलून र नप्तालीको इलाकामा समुद्रको किनारमा थियो। यशैया अगमवक्ताले भनेका कुरा पूरा हुनलाई यसो भएको थियो: “यर्दन नदीपारि समुद्रको छेउतिर रहेको जबूलून र नप्तालीको मुलुक, गैरयहूदीहरूको गालील, अन्धकारमा बस्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युको छायामा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ।” त्यस बेलादेखि येशूले यसो भन्दै प्रचार गर्न लाग्नुभयो, “पश्चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।”
मत्ती 4:1-17 पवित्र बाइबल (NERV)
यसपछि आत्माले येशूलाई मरुभूमिमा लगेर गयो। दुष्टात्माद्वारा परीक्षा गर्नको निम्ति त्यहाँ लगिएको थियो। चालीस दिन र चालीस रात येशूले केही खानु भएन। यसपछि उहाँ भोकाउनु भयो। शैतान येशू कहाँ परीक्षा गर्नलाई आयो र भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनूहुन्छ भने यी ढुङ्गाहरू रोटी होऊन् भनी आज्ञा दिनुहोस्।” जवाफमा येशूले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएकोछ, ‘मानिस रोटी खाएर मात्र बाँच्दैन। परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’” त्यसपछि शैतानले येशूलाई पवित्र शहर यरूशलेममा लग्यो। त्यो दुष्टात्माले येशूलाई मन्दिरको गजूरमाथि राख्यो। शैतानले भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम फाल्नुहोस्। किनभने धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘परमेश्वरले तपाईंको निम्ति स्वर्गदूतहरूलाई खटाउनु हुनेछ, अनि तिनीहरूले तपाईंलाई हात-हातमा उचाल्नेछन्, जसद्वारा, तपाईंको खुट्टाहरू ढुङ्गामा बजारिने छैनन्।’” येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ, ‘तैंले परमप्रभु आफ्नो परमेश्वरलाई परीक्षा नगर्नु।’” त्यसपछि शैतानले येशूलाई एउटा अति अल्गो पर्वतमा पुर्यायो। उसले येशूलाई संसारका सबै राज्यहरू, त्यहाँ भएका वैभव देखायो। शैतानले भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने, यी सब थोक म तपाईंलाई दिनेछु।” येशूले शैतानलाई भनुभयो, “म देखि टाढा भइहाल, शैतान! धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘तैंले परमप्रभु आफ्नो परमेश्वरलाई दण्डवत् गर्नु पर्छ। अनि उहाँकै मात्र सेवा गर्नु पर्छ।’” त्यसपछि शैतानले येशूलाई छोडिदियो। त्यसपछि केही स्वर्गदूतहरू येशूकहाँ आएर उहाँको सेवा-टहल गरे। येशूले यूहन्ना थुनामा परे भन्ने कुरा सुन्नु भयो। त्यसपछि उहाँ गालील तर्फ लाग्नुभयो। येशू नासरतमा बस्नु भएन। उहाँ गालिल झीलको नजिकको कर्फनहुम नगरमा बस्नु भयो। कर्फनहुम, जबुलून अनि नप्तालीका क्षेत्रमा पर्छ। येशूले यशैया अगमवक्ताद्वारा बोलिएको यिनै वचनलाई पूरा गर्नका निम्ति यसो गर्नु भयो: “सुन! जबुलून र नप्तालीको मुलुक, यर्दन नदीपारिको क्षेत्र, समुन्द्रको किनारा तिरजाने बाटो, गालील, गैर-यहूदीहरूको मुलुक। जहाँका मानिसहरू आत्मिकि अन्धकारमा थिए, तिनीहरूले एउटा ठूलो ज्योति देखे। अँध्यारो मुलुकमा बस्नेहरूको निम्ति ज्योति चम्कियो। जो मुलुकको चिहान जस्तै ठाउँमा बाँच्न परेको थियो।” यसै बेलादेखि येशूले प्रचार गर्न थाल्नुभयो। उहाँले भन्नलाग्नुभयो, “तिमीहरू पश्चताप गर अनि आफ्नो रहन-सहन परिवर्तन गर, किनभने, स्वर्गको राज्य नजिक आइपुगेको छ।”
मत्ती 4:1-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि शैतानले येशूको परीक्षा लेओस् भनेर पवित्र आत्माले येशूलाई उजाड-स्थानमा लानुभयो। उजाड-स्थानमा येशूले चालीस दिन र चालीस रातसम्म केही पनि खानुभएन। त्यसो हुँदा उहाँलाई साह्रै भोक लागेको थियो। त्यसै बेला शैतानले उहाँकहाँ आएर भन्यो, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी होइजा भन्नुहोस्।” येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ– खानेकुराले मात्रै मानिस बाँच्तैन, तर ऊ परमेश्वरको मुखबाट निक्लेको हरेक बोलीले बाँच्दछ।” त्यसपछि शैतानले येशूलाई पवित्र सहर यरूशलेममा लग्यो र मन्दिरको टुप्पोमा पुर्याएर भन्यो, “यदि साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने लौ यहाँबाट तल हाम फाल्नुहोस् किनभने धर्मशास्त्रमा यसरी लेखिएको छ– ‘परमेश्वरले तिम्रो लागि आफ्ना स्वर्गदूतहरूलाई खटाउनुहुनेछ र ढुङ्गाले तिम्रा खुट्टामा चोट नलागोस् भनेर तिनीहरूले तिमीलाई हात-हातमै थाम्नेछन्’।” येशूले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ– ‘तैँले परमप्रभु आफ्ना परमेश्वरको जाँच नगर्’।” फेरि शैतानले येशूलाई एउटा अग्लो पहाडमा लग्यो र संसारका सबै राज्य र तिनीहरूको चमक देखाउँदै भन्यो, “मलाई ढोग्नुभयो भने यी सबै राज्यहरू तपाईंलाई दिनेछु।” येशूले भन्नुभयो, “ए शैतान, यहाँबाट गइहाल्! धर्मशास्त्रमा लेखिएको छ– ‘तैँले परमप्रभु आफ्ना परमेश्वरलाई मात्र ढोग् र उहाँकै सेवा गर्’।” शैतानले येशूलाई छोडेर गयो अनि स्वर्गदूतहरू आएर येशूको सेवा गरे। यूहन्ना थुनामा परेका छन् भन्ने कुरा सुनेर येशू गालीलतिर जानुभयो। तर उहाँ नासरतलाई छोडेर कफर्नहुम सहरमा बस्न जानुभयो। कफर्नहुम सहरचाहिँ गालील तालको नजिकै जबूलून र नप्ताली कुलका क्षेत्रमा पर्थ्यो। यसरी यशैया अगमवक्ताले भनेको यो कुरा पूरा भयो। “यर्दनपारि तालतिर जाने बाटोमा भएको जबूलून र नप्ताली कुलका मानिसहरू हो अनि गालीलमा बस्ने अरू जातिका मानिसहरू हो! अन्धकारमा बस्नेहरूले ठूलो उज्यालो देख्नेछन्। मृत्यु र अन्धकारमा परेकाहरू, तिमीहरूमाथि त्यो ठूलो उज्यालो चम्कनेछ।” त्यसै बेलादेखि येशूले प्रचार गर्न थालेर यसो भन्नुभयो, “आ-आफ्नो पापलाई मानिलिएर त्यसलाई छोड किनभने परमेश्वरको राज्य आइसक्न लागेको छ।”