मत्ती 3:7-17
मत्ती 3:7-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर फरिसीहरू र सदुकीहरूमध्ये धेरै जनालाई बप्तिस्मा लिन आइरहेका देखेर तिनले उनीहरूलाई भने, “सर्पका बच्चा हो, आउन लागेको क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो? यसकारण पश्चात्ताप सुहाउँदो फल फलाओ। अब्राहाम नै हाम्रा पिता हुनुहुन्छ भनी आपसमा भन्ने नगर। किनभने म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाहरूबाट अब्राहामको लागि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। अहिले नै रूखको फेदमा बन्चरो परिसकेको छ। यसकारण असल फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ। “मचाहिँ त तिमीहरूलाई पश्चात्तापको लागि पानीले बप्तिस्मा दिन्छु, तर मपछि आउनुहुने मभन्दा अझ शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। उहाँको निफन्ने नाङ्लो उहाँकै हातमा छ, र उहाँले आफ्ना खलालाई पूरै सफा पार्नुहुनेछ, र आफ्नो गहूँ धनसारमा जम्मा गर्नुहुनेछ, तर भुसजति चाहिँ ननिभ्ने आगोमा जलाउनुहुनेछ।” तब येशू गालीलबाट यूहन्नाकहाँ तिनीद्वारा बप्तिस्मा लिन यर्दनमा आउनुभयो। तर यूहन्नाले यसो भनेर उहाँलाई रोक्न खोजे, “बरु मलाई पो तपाईंबाट बप्तिस्मा लिनु आवश्यक छ, र के तपाईं मकहाँ आउनुहुने?” तर येशूले तिनलाई भन्नुभयो, “अहिलेलाई यसै हुन देऊ। किनभने यसरी नै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्दछ।” तब यूहन्ना राजी भए। अनि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो, अनि स्वर्ग उघ्रियो, र उहाँले परमेश्वरका आत्मालाई ढुकुरझैँ ओर्लिरहनुभएको र आफूमाथि आइरहनुभएको देख्नुभयो। तब स्वर्गबाट यो वाणी आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु।”
मत्ती 3:7-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर जब तिनले आफूले बप्तिस्मा दिइरहेको ठाउँमा फरिसी र सदुकीहरूलाई आइरहेका देखे, तब तिनले भने: “हे सर्पका सन्तान हो! तिमीहरूलाई आउन लागेको क्रोधबाट भाग्न कसले चेतावनी दियो? पश्चात्ताप लायकका फल फलाओ। अनि आफैँ ‘हामी अब्राहामका सन्तान हौँ’ भनेर नठान। किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। रूखको जरामा बन्चरो परिसकेको छ; यसैले असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ। “म त तिमीहरूलाई पश्चात्तापको लागि पानीको बप्तिस्मा दिन्छु। तर उहाँ, जो मपछि आउनुहुन्छ, उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। उहाँको निफन्ने नाङ्लो उहाँकै हातमा छ। अनि उहाँले आफ्नो खला सफा गर्नुहुनेछ, र गहुँ धनसारमा जम्मा गर्नुहुनेछ; तर भुसलाई उहाँले कहिल्यै ननिभ्ने आगोले जलाउनुहुनेछ।” त्यसपछि येशू गालीलबाट यूहन्नाद्वारा बप्तिस्मा लिन यर्दन नदीमा आउनुभयो। तर यूहन्नाले यसो भनेर उहाँलाई रोक्न खोजे, “मलाई पो तपाईंबाट बप्तिस्मा हुनु खाँचो छ, तर तपाईं पो मकहाँ आउँदैहुनुहुन्छ?” येशूले जवाफ दिनुभयो, “अहिले यसै हुन देऊ। सबै धार्मिकता पूरा हुनलाई हाम्रा लागि यो गर्नु नै उचित छ।” तब यूहन्ना राजी भए। येशूले जब बप्तिस्मा लिनुभयो, तब उहाँ पानीबाट निस्केर माथि आउनुभयो। त्यस बेला स्वर्ग उघ्रियो। अनि उहाँले परमेश्वरको आत्मालाई ढुकुरझैँ ओर्लंदै गर्नुभएको र आफूमाथि बस्न आउँदै गर्नुभएको देख्नुभयो। अनि स्वर्गबाट यस्तो आवाज आएको सुनियो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्न छु।”
मत्ती 3:7-17 पवित्र बाइबल (NERV)
धेरै फरिसीहरू र सदुकीहरू यूहन्नाकहाँ बप्तिस्मा लिनका निम्ति आए। जब यूहन्नाले तिनीहरूलाई देखे तिनले भने, “हे सर्पका सन्तान हो, आउन लागेको परमेश्वरको क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो? तिमीहरू यस्तो काम गर। जसबाट, तिमीहरूको हृदय र रहन-सहन साँच्चै परिवर्तन भएको बुझिनेछ। अनि ‘अब्राहामनै हाम्रा पिता हुनुहुन्छ’ भन्ने कुरा आपसामा विचार नगर। म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाबाट अब्राहामका लागि सन्तान प्रदान गर्न सक्नुहुन्छ। अनि अहिलेनै रूखहरूको फेदमा बञ्चरो परेको छ। असल फल नफलाउने सबै रूखहरूलाई काटेर ढालिनेछ अनि आगोमा फालिनेछ। “म चाहिं तिमीहरूले पश्चाताप गर्यौ भनी देखाउनका निम्ति पानीद्वारा बप्तिस्मा गरिदिन्छु। तर मपछि आउने एक जना मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ताको फित्ता खोल्ने लायकको म छैन, उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। उहाँले अन्न र भूसलाई अलग पार्न निफन्ने नाङ्गलो आफ्नो हातमा लिनु भएकोछ, उहाँले गहूँ संग्रह गरी आफ्नो गहूँको भकारीमा जम्मा गर्नुहुनेछ। अनि भूस जति ननिभ्ने आगोमा जलाउनुहुनेछ।” त्यसैबेला येशू गालील भएर यर्दन नदीमा आउनुभयो येशू यूहन्नाद्वारा बप्तिस्मा लिनका निम्ति यूहन्नाकहाँ आउनुभयो। तर यूहन्नाले उनी येशूलाई बप्तिस्मा दिनु योग्यको छैनन्-भन्ने कोशिश गरे उनले सोधे, “तपाईं मकहाँ बप्तिस्मा लिन किन आउनुभयो? म आफैंले तपाइँबाट बप्तिस्मा लिनु पर्ने हो।” येशूले भन्नुभयो, “अहिलेलाई यस्तै हुनदेऊ। हामीले यसरीनै सही कुरा गर्नु पर्छ।” त्यसपछि यूहन्ना येशूलाई बप्तिस्मा दिन राजी भए। त्यसपछि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनु भयो। स्वर्ग उहाँको निम्ति उघ्रियो अनि परमेश्वरको आत्मा ढुकुर जस्तै आफूमाथि आइरहेको देख्नु भयो। तब स्वर्गबाट यो वाणी आएको सुनियो। वाणिले यसो भन्यो, “यिनी मेरो प्यारो पुत्र हुन् र म यिनीसँग अत्यन्त प्रसन्न छु।”
मत्ती 3:7-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
फरिसी र सदुकी भन्ने दुईवटा धार्मिक समूहका धेरै मानिसहरू पनि बप्तिस्मा लिन यूहन्नाकहाँ आए। तिनीहरूलाई आइरहेका देखेर यूहन्नाले भने, “ए विषालु सर्पका सन्तान हो, परमेश्वरले गर्नुहुने न्यायबाट उम्कन तिमीहरूलाई कसले सिकायो? तिमीहरूले आ-आफ्ना पापलाई मानिलिएर आफ्नो मन परमेश्वरतिर फर्काएका हौ भने त्यहीअनुसार चल्ने गर। ‘हामी अब्राहामका सन्तान हौं’ भन्दैमा तिमीहरू उम्कन्छौ भन्ने नसम्झ। म तिमीहरूलाई भन्छु, परमेश्वरले यी ढुङ्गाबाट पनि अब्राहामका सन्तान जन्माउन सक्नुहुन्छ। रूखको फेदमा बन्चरो परिसकेको छ। असल फल नफलाउने सबै रूखलाई ढालेर आगोमा फालिनेछ। “साँच्चै, तिमीहरूले आ-आफ्नो पाप मानिलिएर त्यसलाई छोड्न तयार भएका हौ भनेर देखाउन म तिमीहरूलाई पानीले बप्तिस्मा दिँदै छु, तर मपछि आउनुहुनेले चाहिँ तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। उहाँ त मभन्दा धेरै महान् हुनुहुन्छ। म त उहाँको जुत्ता बोक्ने लायकको पनि छैनँ। अन्न निफन्नलाई उहाँले हातमा नाङ्लो लिइसक्नुभएको छ। निफनेर अन्नचाहिँ भकारीमा थन्क्याउनुहुनेछ, तर भुसचाहिँ कहिल्यै ननिभ्ने आगोमा डढाउनुहुनेछ।” त्यस समय येशू गालीलबाट आइपुग्नुभयो र यूहन्नाबाट बप्तिस्मा लिन यर्दन नदीमा जानुभयो। तर यूहन्नाले उहाँलाई रोक्न खोजेर यसो भने, “मैले त होइनँ, हजुरले पो मलाई बप्तिस्मा दिनुपर्थ्यो। तर अब हजुर मकहाँ पो आउनुभयो!” येशूले उनलाई भन्नुभयो, “यसै हुन देऊ, परमेश्वरको हरेक इच्छा पूरा गर्न हामीले अहिले यसरी नै गर्नुपर्छ।” यो कुरा मानेर यूहन्नाले येशूलाई बप्तिस्मा दिए। बप्तिस्मा लिइसक्नुभएपछि येशू झट्टै पानीबाट निस्कनुभयो, त्यति बेला स्वर्ग उघ्रियो र उहाँले परमेश्वरको आत्मालाई ढुकुरजस्तै आफूमाथि आइरहनुभएको देख्नुभयो। त्यति नै खेर स्वर्गबाट यस्तो बोलिएको सुनियो, “यिनी मेरा प्यारा छोरा हुन्, यिनीदेखि म धेरै खुसी छु।”