मत्ती 3:10-12
मत्ती 3:10-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अहिले नै रूखको फेदमा बन्चरो परिसकेको छ। यसकारण असल फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ। “मचाहिँ त तिमीहरूलाई पश्चात्तापको लागि पानीले बप्तिस्मा दिन्छु, तर मपछि आउनुहुने मभन्दा अझ शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। उहाँको निफन्ने नाङ्लो उहाँकै हातमा छ, र उहाँले आफ्ना खलालाई पूरै सफा पार्नुहुनेछ, र आफ्नो गहूँ धनसारमा जम्मा गर्नुहुनेछ, तर भुसजति चाहिँ ननिभ्ने आगोमा जलाउनुहुनेछ।”
मत्ती 3:10-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
रूखको जरामा बन्चरो परिसकेको छ; यसैले असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ। “म त तिमीहरूलाई पश्चात्तापको लागि पानीको बप्तिस्मा दिन्छु। तर उहाँ, जो मपछि आउनुहुन्छ, उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। उहाँको निफन्ने नाङ्लो उहाँकै हातमा छ। अनि उहाँले आफ्नो खला सफा गर्नुहुनेछ, र गहुँ धनसारमा जम्मा गर्नुहुनेछ; तर भुसलाई उहाँले कहिल्यै ननिभ्ने आगोले जलाउनुहुनेछ।”
मत्ती 3:10-12 पवित्र बाइबल (NERV)
अनि अहिलेनै रूखहरूको फेदमा बञ्चरो परेको छ। असल फल नफलाउने सबै रूखहरूलाई काटेर ढालिनेछ अनि आगोमा फालिनेछ। “म चाहिं तिमीहरूले पश्चाताप गर्यौ भनी देखाउनका निम्ति पानीद्वारा बप्तिस्मा गरिदिन्छु। तर मपछि आउने एक जना मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ताको फित्ता खोल्ने लायकको म छैन, उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। उहाँले अन्न र भूसलाई अलग पार्न निफन्ने नाङ्गलो आफ्नो हातमा लिनु भएकोछ, उहाँले गहूँ संग्रह गरी आफ्नो गहूँको भकारीमा जम्मा गर्नुहुनेछ। अनि भूस जति ननिभ्ने आगोमा जलाउनुहुनेछ।”
मत्ती 3:10-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
रूखको फेदमा बन्चरो परिसकेको छ। असल फल नफलाउने सबै रूखलाई ढालेर आगोमा फालिनेछ। “साँच्चै, तिमीहरूले आ-आफ्नो पाप मानिलिएर त्यसलाई छोड्न तयार भएका हौ भनेर देखाउन म तिमीहरूलाई पानीले बप्तिस्मा दिँदै छु, तर मपछि आउनुहुनेले चाहिँ तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। उहाँ त मभन्दा धेरै महान् हुनुहुन्छ। म त उहाँको जुत्ता बोक्ने लायकको पनि छैनँ। अन्न निफन्नलाई उहाँले हातमा नाङ्लो लिइसक्नुभएको छ। निफनेर अन्नचाहिँ भकारीमा थन्क्याउनुहुनेछ, तर भुसचाहिँ कहिल्यै ननिभ्ने आगोमा डढाउनुहुनेछ।”