मत्ती 26:36-46
मत्ती 26:36-46 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब येशू गेतसमनी भन्ने ठाउँमा तिनीहरूसँग जानुभयो, र चेलाहरूलाई भन्नुभयो, “तिमीहरू यहीँ बस, मचाहिँ अलि पर गएर प्रार्थना गर्छु।” र आफूसँग पत्रुस र जब्दियाका दुई छोराहरूलाई लिएर उहाँ शोकित र व्याकुल हुन लाग्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो प्राण गहिरो शोकले मरेतुल्य भएको छ। तिमीहरू यहीँ बस, र मसँग जागा रहो।” अनि उहाँले अलि अगाडि गएर लम्पसार परी प्रार्थना गर्नुभयो, “हे मेरा पिता, हुन सक्छ भने, यो कचौरा मबाट हटोस्। तरै पनि मैले इच्छा गरेबमोजिम होइन, तर तपाईंले इच्छा गर्नुभएबमोजिम होस्।” तब उहाँ चेलाहरूकहाँ आएर तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो, र पत्रुसलाई भन्नुभयो, “के तिमीहरू मसँग एक घण्टा पनि जागा बस्न सकेनौ? जागा रहो, प्रार्थना गर, र परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ, तर शरीर दुर्बल छ।” फेरि दोस्रो पल्ट गएर उहाँले प्रार्थना गर्नुभयो, “मेरा पिता, मैले यो नपिई हुँदैन भने तपाईंकै इच्छा पूरा होस्।” उहाँ फेरि आएर तिनीहरूलाई निदाइरहेकै भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। यसकारण उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो, र गएर फेरि उही शब्दहरू दोहोर्याई तेस्रो पल्ट प्रार्थना गर्नुभयो। तब उहाँ चेलाहरूकहाँ आएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? हेर, समय नजिक आइपुगेको छ। मानिसको पुत्र पापीहरूका हातमा पर्न लागेको छ। उठ, जाऔं। हेर, पक्राइदिने नजिकै छ।”
मत्ती 26:36-46 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब येशू आफ्ना चेलाहरूसित गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो, “म अलि पर गएर प्रार्थना गर्नेछु। तिमीहरू यहीँ बस!” उहाँले पत्रुस र जब्दीका दुई छोराहरूलाई आफूसित लानुभयो, र उहाँ दुःखित र व्याकुल हुन थाल्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ; तिमीहरू यहीँ बस, र मसित जागा रहो!” अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि सम्भव भए यो कचौरा मदेखि हटाइयोस्; तरै पनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।” तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो, र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई सोध्नुभयो, “के तिमीहरू मसित एक घण्टा पनि जागा रहन सकेनौ? जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।” उहाँ दोस्रो पल्ट पर जानुभयो र प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि मैले नपिई यो कचौरा मबाट हटाइनु सम्भव छैन भने तपाईंको इच्छा पूरा होस्।” जब उहाँ फर्केर आउनुभयो, उहाँले फेरि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो; किनकि तिनीहरूका आँखा लोलाएका थिए। यसकारण उहाँले तिनीहरूलाई छोडेर एक पल्ट फेरि गएर उही शब्दहरू दोहोर्याउँदै प्रार्थना गर्नुभयो। तब उहाँ चेलाहरूकहाँ फर्किआएर तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? हेर, समय आइपुगेको छ, अब मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइँदैछ। उठ! हामी जाऔँ! हेर, मलाई पक्राइदिने आइपुगेको छ!”
मत्ती 26:36-46 पवित्र बाइबल (NERV)
त्यसपछि येशू आफ्ना चेलाहरूसाथ गेत्समनी भन्ने ठाउँमा जानुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यहाँ बस, म चाहिं त्यहाँ गएर प्रार्थना गर्छु।” येशूले पत्रुस र जब्दीको दुइ छोराहरूलाई आफ्नो साथमा लानुभयो। अनि येशू खूबै दुःखी र विचलित हुनुभयो। येशूले पत्रुस र जब्दीका दुइ छोराहरूलाई भन्नुभयो, “मेरो आत्मा दु:खै दु:खले भरिएको छ। मेरो प्राण गहिरो शोकले मरे तुल्य भएको छ। तिमीहरू यहाँ मसँग बस अनि पर्ख।” अनि येशू तिनीहरू देखि केही पर जानुभयो। येशू भूईमा घोप्टो परेर प्रार्थना गर्न लाग्नुभयो, “मेरा पिता, सम्भव भए मलाई यातनाको यो प्याला नदिनुहोस्। तर यो मैले ईच्छा गरे अनुसार होइन तपाईंको ईच्छा अनुसार होस्।” त्यसपछि येशू आफ्ना चेलाहरू भएकहाँ फर्किनुभयो। येशूले तिनीहरूलाई मस्त निदाइरहेको पाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, “तिमी मेरो निम्ति एक घण्टा पनि जागा बस्न सक्दैनौ? जागा बस अनि प्रार्थना गर, जसद्वारा तिमी परीक्षामा पर्ने छैनौ। तिम्रो आत्मा तयार छ तर तिम्रो शरीर कमजोर छ।” त्यसपछि येशू फेरि दोस्रोपटक जानुभयो अनि प्रार्थना गर्न लाग्नु भयो, “मेरो पिता, यदि मैले यसलाई नपिएसम्म यो यातनाको प्याला मबाट हटाइन सम्भव नभए तपाईंले चाहनु भए जस्तै हुन दिनु होस्।” येशू फेरि आफ्ना चेलाहरू भएको ठाउँमा आउनु भयो यसपल्ट पनि येशूले तिनीहरूलाई मस्त सुतिरहेका पाउनुभयो किनभने तिनीहरूको आँखाहरू भारी थिए। यसकारण तिनीहरूलाई छाडेर येशू केहीपर जानु भयो। अनि फेरि प्रार्थना गर्न लाग्नुभयो। तेस्रो पटकको प्रार्थनामा पनि उहाँले त्यही याचना गर्नुभयो। तब येशू चेलाहरूकहाँ आएर भन्नुभयो, “तिमीहरू अझै सुतिरहेका र विश्राम गरीरहेकै छौ? मानिसको पुत्रलाई पापीहरूको हातमा सुम्पिने समय नजिक आइसकेको छ। उठ! हामी गइहाल्नु पर्छ। यहाँ मलाई विश्वासधात गर्ने आउँदैछ।”
मत्ती 26:36-46 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि येशू आफ्ना चेलाहरूसँग गेतसमनी भन्ने बगैँचामा जानुभयो। त्यहाँ पुगेर उहाँले चेलाहरूलाई भन्नुभयो, “तिमीहरू यहीँ बसिराख है, म अलि पर गएर प्रार्थना गर्छु।” तर पत्रुस र जब्दियाका दुई छोरालाई चाहिँ उहाँले आफूसँगै लानुभयो अनि येशू असाध्यै दु:ख र पीडामा पर्नुभयो। उहाँले चेलाहरूलाई भन्नुभयो, “मेरो मन दु:खले छटपटाएर मुटु नै फुट्लाजस्तो भइरहेछ। तिमीहरूचाहिँ जागा भई यहाँ बसेर मलाई साथ देओ।” उहाँचाहिँ अलिक पर गएर भूइँमा घोप्टो परी यसो भन्दै प्रार्थना गर्न लाग्नुभयो, “हे मेरा पिता, हुन सक्छ भने यो दु:खको घुट्को मबाट हटाइदिनुहोस्। तरै पनि मेरो इच्छा त होइन, तपाईंकै इच्छा पूरा होस्।” येशू उठेर तीन जना चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू निदाइरहेका भेट्टाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, “के तिमीहरू एक घण्टा पनि मेरो लागि जागै बस्न सक्दैनौ? तिमीहरू ‘आइपर्ने जाँचको बेला पापमा नफसौं’ भनी जागै बसेर प्रार्थना गर। साँच्चै आत्माचाहिँ तयार छ, तर शरीर भने कमजोर छ।” फेरि गएर येशूले दोस्रोपल्ट यसो भनेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यो दु:खको घुट्को मैले नलिई नहुने भए, तपाईंकै इच्छा पूरा होस्।” अनि फेरि चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू फेरि पनि निदाइरहेका भेट्टाउनुभयो। तिनीहरूले आँखा उघार्न नै सकेनन्। अनि येशूले तिनीहरूलाई त्यत्तिकै छोडेर गई तेस्रोपल्ट फेरि अघिजस्तै प्रार्थना गर्नुभयो। त्यसपछि उहाँ चेलाहरू भएको ठाउँमा फर्की आएर भन्नुभयो, “के तिमीहरू अझै सुतेर आराम लिंदै छौ? सुन, म मानव पुत्र पापी मानिसको हातमा सुम्पिने बेला भइसक्यो। अब उठ, जाऔं! हेर, मलाई पक्राइदिने मानिस पनि आइसकेछ।”