मत्ती 23:23-39
मत्ती 23:23-39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू पुदीना र सूँप र जीराको दशांश दिन्छौ, तर व्यवस्थाका गहकिला विषयहरू, अर्थात् न्याय, दया र विश्वासको अवहेलना गरेका छौ। तिमीहरूले दशांश दिने काम गर्नुपर्नेथियो, अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नुपर्नेथियो। अन्धा अगुवा हो, तिमीहरू भुसुना चाल्दछौ, तर ऊँटलाई चाहिँ निलिहाल्दछौ। “धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनभने तिमीहरू कचौरा र थालको बाहिरपट्टि माझ्दछौ, तर भित्रपट्टि भने ती लोभ र असंयमले भरिएका हुन्छन्। अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा पार, र तिनको बाहिरपट्टि पनि सफा होस्। “धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू चून लाइराखेका चिहानहरूजस्ता छौ, जो बाहिरपट्टि सुन्दर देखा पर्छन्, तर भित्रपट्टि भने मरेका मान्छेहरूका हाड़हरू र सबै अशुद्धताले भरिएका हुन्छन्। यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूका सामुन्ने धर्मी देखा पर्दछौ, तर भित्र भने कपट र दुष्टताले भरिएका छौ। “धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू अगमवक्ताका चिहानहरू बनाउँछौ, र धर्मीहरूका स्मारकलाई सिङ्गार्छौ, र भन्दछौ, ‘हामी आफ्ना पुर्खाहरूका समयमा भए ता हामी अगमवक्ताहरूको रगत बगाउनमा उनीहरूसँग सहभागी हुनेथिएनौं।’ यसरी तिमीहरू अगमवक्ताहरूलाई हत्या गर्नेका सन्तान हौ भन्ने प्रमाण तिमीहरू आफै दिन्छौ। तिमीहरूका पुर्खाहरूले गरेका पापको काम पूरा गर। “सर्पहरू, साँभे सर्पका बच्चा हो, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कनेछौ? यसकारण म तिमीहरूकहाँ अगमवक्ताहरू, बुद्धिमान् मानिसहरू र शास्त्रीहरू पठाउँछु। तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रूसमा टाँग्नेछौ, र कति जनालाई आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ, र सहर-सहर हुँदो सताउनेछौ। पृथ्वीमा बगाइएको सब धर्मी जनको रगत— निर्दोष हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्रस्थान र वेदीका बीचमा हत्या गर्यौ— सो तिमीहरूकै टाउकामा पर्नेछ। साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन्। “ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्ने र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्ने! जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ, त्यसरी नै मैले धेरै पल्ट तेरा बालकहरूलाई बटुल्ने इच्छा गरें, तर तैंले मानिनस्। हेर, तिमीहरूको घर उजाड छोडिएको छ। किनभने म तिमीहरूलाई भन्दछु, ‘परमप्रभुको नाउँमा आउने धन्यका हुन्’ नभनेसम्म तिमीहरूले मलाई देख्नेछैनौ।”
मत्ती 23:23-39 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्कार छ! तिमीहरू आफ्ना मसलाहरू अर्थात् पुदिना, सुँप र जीराका दशांश दिन्छौ, तर तिमीहरूले व्यवस्थाका अझ मुख्य कुराहरू अर्थात् न्याय, दया र विश्वासयोग्यताको अवहेलना गर्दछौ। तिमीहरूले पहिलोको अवहेलना नगरी दोस्रोको पनि पालन गर्नुपर्नेथियो। तिमी दृष्टिविहीन अगुवाहरू! तिमीहरू भुसुना चाल्दछौ, तर ऊँटलाई निलिहाल्दछौ। “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्कार छ! तिमीहरू कचौरा र थालको बाहिर सफा गर्दछौ, तर भित्र त लोभ र असंयमले भरिएका हुन्छौ। ए दृष्टिविहीन फरिसीहरू! पहिला कचौरा र थालको भित्रपट्टि सफा गर, तब बाहिरपट्टि पनि सफा हुनेछ। “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्कार छ! तिमीहरू सेतो चून लगाइएका चिहानहरूजस्ता छौ, जुन बाहिर त सुन्दर देखिन्छन्, तर भित्र त मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका हुन्छन्। यही प्रकारले तिमीहरू मानिसहरूका सामु धर्मी देखा पर्दछौ, तर भित्र भने कपटीपन र दुष्टताले भरिएका छौ। “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्कार छ! तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ र धर्मीहरूका स्मारकहरू सिँगार्छौ। र भन्छौ, ‘यदि हामी हाम्रा पुर्खाहरूको समयमा बाँचेका भए हामी तिनीहरूले अगमवक्ताहरूको रगत बगाउनमा सहभागी हुनेथिएनौँ।’ यसरी तिमीहरू अगमवक्ताहरूको हत्या गर्नेहरूका सन्तान हौ भनी आफ्नै विरुद्धमा साक्षी दिन्छौ। त्यसकारण तिमीहरूका पुर्खाहरूले सुरु गरेका पापको नाप पूरा गर! “हे सर्पहरू हो! साँबे सर्पका बच्चाहरू हो! तिमीहरू नरकको दण्डबाट कसरी उम्कन्छौ? यसकारण म तिमीहरूकहाँ अगमवक्ताहरू र बुद्धिमान् मानिसहरू, र शिक्षकहरू पठाउँदैछु। तीमध्ये कतिलाई तिमीहरूले मार्नेछौ र क्रूसमा चढाउनेछौ; अरूलाई तिमीहरूले तिमीहरूका सभाहरूमा कोर्रा लगाउनेछौ; र एक सहरदेखि अर्को सहरमा खेद्नेछौ। यसकारण तिमीहरूमाथि यस पृथ्वीमा बगाइएका धर्मी रगत अर्थात् धर्मी हाबिलदेखि लिएर तिमीहरूले मन्दिर र वेदीको बीचमा हत्या गरेका बेरेक्याहका छोरा जकरियाको रगतसम्म आइपर्नेछ। म तिमीहरूलाई साँच्चै भन्दछु, यी सबै कुरा यस पुस्तामाथि नै आइपर्नेछन्। “ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्। मैले कति पल्ट तेरा बालबच्चाहरूलाई एउटी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुलेझैँ बटुल्न खोजेँ, तर तँ राजी भइनस्। हेर्, तेरो घर तेरो निम्ति उजाड पारेर छोडिएको छ। म तँलाई भन्दछु, तैँले ‘प्रभुको नाममा आउनुहुने धन्यका हुनुहुन्छ’ नभनेसम्म, तैँले मलाई फेरि देख्नेछैनस्।”
मत्ती 23:23-39 पवित्र बाइबल (NERV)
“शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटीहरू हौ। आफूमा भएको हरेक चीजको, पुदीना, सूप र जीरा को दशांश भागमा एक भाग मात्र परमेश्वरलाई दिन्छौ। तर तिमीहरू असल हुने दया देखाउने र इमान्दार हुने जस्ता व्यवस्थाका प्रमुख कुराहरू लत्याउँछौ। तिमीहरूले ती कुराहरू पनि नलत्याइकन यी कामहरू गर्नुपर्ने हो। तिमीहरू अन्धा छौ तर अरूलाई अगुवाइ गर्ने कोशिश गर्छौ। तिमीहरू भुसुना चाँहि चाल्दछौ तर ऊँटलाई चाँहि निल्दछौ। तिमीहरू त्यस्तै छौ। “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार हो। तिमीहरू कपटीहरू हौ। तिमीहरू आफ्नो थाल र बटुकोलाई बाहिरबाट मात्र धुन्छौ। तर भित्र भने अरूलाई ठगेर हत्याएका बस्तुहरू अनि तिमीहरू स्वयंलाई खुशी पार्ने चीजहरूले भरिएका हुन्छन्। ए अन्धा फारिसीहरू पहिला प्यालाको भित्रपटि सफा गर र त्यसलाई चोखो बनाऊ। तब प्यालाको बाहिरी भाग पनि चोखो हुनेछ। “व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटी हौ। तिमीहरू चुना पोतेको चिहानहरू जस्ता छौ, जो बाहिरबाट सुन्दर देखिन्छन। तर भित्रपट्टि मरेको मानिहरूको हड्डीहरू हुन्छन्। तिमीहरू पनि त्यस्तै हौ। बाहिरबाट तिमीहरूलाई राम्रै देखिन्छ। तर भित्र तिमीहरूमा छल र कपटले भरिएको छ। “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटीहरू हौ। अघिका अगमवक्ताहरूको लागी तिमीहरूले चिहान बनाउँछौ। असल मानिसहरूको चिहानहरू सिंगार्छौ। अनि तिमीहरू भन्दछौ, ‘यदि हामी हाम्रा पूर्खाहरूका समयमा हुँदो हो, ता ती अगमवक्ताहरूलाई मार्न हामी उनीहरूलाई सहयोग गर्ने थिएनौ।’ यसरी अगमवक्ताहरू मार्नेका सन्तान हामी हौं भन्ने स्वीकार आफैं तिमीहरू दिन्छौ। यसकारण जाऊ अनि आफ्ना पुर्खाहरूले शुरू गरेका पापकर्म पुरा गर। “तिमीहरू सर्पहरू हौ। तिमीहरू विषालु सर्पका संन्तानहरू हौ। परमेश्वरदेखि तिमीहरू उम्कन सक्दैनौ। तिमीहरू सबै दोषी पाइनेछौ अनि नरकमा जानेछौ। यसकारण म तिमीहरूलाई भन्दछु: म तिमीहरूकोलागि अगमवक्ताहरू बुद्धिमान मानिसहरू र शास्त्रीहरू पठाउँछु। यी मध्ये कतिपयलाई तिमीहरूले मार्नेछौ। कसैलाई झुण्डयाउनेछौ। कसैलाई तिम्रा सभाघरमा कोर्रा लाउनेछौ अनि एउटा शहर देखि अर्को शहरसम्म तिनीहरूलाई लघार्छौ। “अनि पृथ्वीमा मारिएका सबै असल मानिसहरूको रगतको निम्ति तिमीहरूलाई दोष्याइँनेछ। हाबिल जस्ता राम्रा मानिसको रगतका निम्ति अनि मन्दिर र वेदीको माझमा मारिएको बेरेक्याहको छोरो जकरियाको रगतको निम्ति यस पृथ्वीमा हाबिल देखि जकरियाको समयसम्म मारिएका सबै राम्रा मानिसहरूको रगतको निम्ति तिमीहरूनै दोषी ठहरिनेछौ। म तिमीहरूलाई साँच्चो भन्दछु। यी सबै कुरा तिमीहरू नै अहिले बाँचिरहेका मानिसहरूमाथि आइलाग्नेछ। “हे यरूशलेम, यरूशलेम! तिमीहरू अगमवक्ताहरूलाई मार्छौ अनि तिमीहरूकहाँ पठाइएका संदेशवाहकहरूलाई ढुङ्गाहान्छौ। धेरैपल्ट मैले तिम्रा मानिसहरूलाई मद्दत गर्न चाहेको हुँ। जसरी पोथीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ त्यसरीनै मैले तिम्रा मानिसहरूलाई बटुल्न चाहेको हुँ। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ। तब तिमीहरूको घर पनि उजाड बनाइनेछ। म भन्दछु, ‘अब उप्रान्त परमप्रभुको नाउँमा आउने मानिस धन्यका हुन्,’ भन्दै उसलाई स्वागत नगरून्जेल सम्म तिमीहरूले मलाई देख्नेछैनौ।”
मत्ती 23:23-39 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्कार! तिमीहरू कत्ति कपटी छौ। तिमीहरू बाबरी, सुप र जीराको उब्जनीबाट दश भागको एक भाग परमेश्वरलाई चढाउँछौ। तर न्याय, दया र विश्वासजस्ता व्यवस्थाका मुख्य कुराहरूको चाहिँ तिमीहरू वास्तै गर्दैनौ। ती अरू कुराको साथसाथै न्याय, दया र विश्वास पनि गर्ने गर। तिमीहरू अन्धा अगुवा हौ किनभने तिमीहरूले भुसुनालाई त चाल्छौ, तर ऊँटलाई भने निल्छौ। “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्कार! तिमीहरू त कपटी छौ। तिमीहरूले थाल र कचौरो चोख्याउन त चोख्याउँछौ, तर त्यसको भित्र भने स्वार्थ र लोभले लुटेर ल्याएका कुराहरूले भर्छौ। ए आँखै नभएका फरिसीहरू हो! पहिले कचौराको भित्रपट्टि सफा गर अनि बाहिरपट्टि पनि सफा हुनेछ। “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्कार! तिमीहरू कति कपटी छौ। तिमीहरू त कमेरोले पोतेको चिहानजस्तै छौ। त्यो चिहान बाहिरबाट हेर्दा त राम्रो देखिन्छ, तर भित्रपट्टि भने मुर्दा कुहेको हाड र अशुद्ध कुरा मात्र रहेको हुन्छ। त्यसै गरी बाहिरबाट हेर्दा भने तिमीहरू मानिसको अगाडि धर्मात्माजस्तै देखा पर्छौ, तर भित्र भने छल र पापले भरिएका हुन्छौ। “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्कार! तिमीहरू त कपटी छौ। तिमीहरूले अगमवक्ताहरूका लागि राम्रा-राम्रा चिहानहरू बनाउँछौ र परमेश्वरको आज्ञामा लागिरहेका पवित्र जनहरूका चिहानहरू पनि सिङ्गार्छौ अनि तिमीहरू भन्छौ, ‘उहिले हाम्रा पिता-पुर्खाहरूले त अगमवक्ताहरूलाई मारे। तर हामीहरू पनि उनीहरूको साथमा भएको भए हामीहरूले चाहिँ त्यस्तो काम गर्न उनीहरूलाई सहायता गर्ने थिएनौं।’ यसो भनेर तिमीहरू आफैंलाई ती अगमवक्ताहरूलाई मार्नेकै सन्तान हौं भनी स्वीकार गर्छौ! अब तिमीहरूका पुर्खाहरूले सुरु गरेको काम पूरा गर! “ए सर्पहरू र विषालु सर्पका सन्तानहरू हो! तिमीहरू कसरी नरकको आगोबाट उम्कने आशा राख्छौ? अब राम्ररी सुन, म तिमीहरूकहाँ अगमवक्ता, बुद्धिमान् मानिस र सत्य धर्म-गुरुहरूलाई पठाउनेछु। तिनीहरूमध्ये तिमीहरूले कतिलाई मार्नेछौ, कतिलाई क्रूसमा टाँग्नेछौ अनि कतिलाई चाहिँ सभाघरहरूमा कोर्रा लाउनेछौ र कतिलाई एउटा सहरबाट अर्को सहरसम्म खेद्नेछौ। यसले गर्दा निर्दोष हाबिलदेखि मन्दिर र चोकमा भएको वेदीको बीचमा मारिएका बेरेक्याहका छोरा जकरियासम्मको दोष तिमीहरूमाथि पर्नेछ। साँच्चै म तिमीहरूलाई भन्छु, यी सबैको दोष यस पुस्ताको थाप्लोमा नै पर्नेछ। “यरूशलेम, ए यरूशलेम! तँ अगमवक्ताहरूलाई मार्छस् र परमेश्वरले पठाएकाहरूलाई ढुङ्गाले हान्छस्। कुखुराको पोथीले चल्लाहरूलाई छोपेजस्तै मैले कतिपल्ट तेरा छोरा-छोरीहरूलाई जोगाउन खोजें, तर तैँले मानिनस्। हेर्, तेरो घर त्यागिनेछ र उजाड हुनेछ। अब म भन्छु, जबसम्म तैँले ‘परमप्रभुको नाउँमा आउनुहुने कति धन्य हुनुहुन्छ’ भन्दैनस्, तबसम्म तैँले मलाई देख्नेछैनस्।”