मत्ती 21:6-11

मत्ती 21:6-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब चेलाहरू गए, र येशूले तिनीहरूलाई अह्राएबमोजिम गरे। तिनीहरूले गधा र त्‍यसको बच्‍चा ल्‍याए, र तीमाथि आफ्‍ना लुगाफाटा ओछ्याए, र उहाँ त्‍यसमाथि बस्‍नुभयो। भीड़मा धेरैले आफ्‍ना वस्‍त्र बाटोमा ओछ्याए, र अरूहरूले रूखका हाँगा काटेर बाटोमा बिछ्याइदिए। उहाँको अगि र पछि लागेका भीड यसो भन्‍दै कराए, “दाऊदका पुत्रलाई होसन्‍ना! धन्‍य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्‍छ! परमधाममा होसन्‍ना!’ जब उहाँ यरूशलेममा प्रवेश गर्नुभयो, सारा सहरमा हलचल मच्‍चियो। मानिसहरूले सोध्‍न लागे, “यिनी को हुन्‌?” भीड़का मानिसहरूले जवाफ दिए, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता, येशू हुन्‌।”

शेयर गर्नुहोस्
मत्ती 21 पढ्नुहोस्

मत्ती 21:6-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

ती चेलाहरू गए, र येशूले तिनीहरूलाई अह्राउनुभएजस्तै गरे। तिनीहरूले त्यस गधा र बछेडोलाई ल्याए, तीमाथि तिनीहरूका लुगाहरू ओछ्याए; र येशू त्यसमाथि बस्‍नुभयो। एउटा धेरै ठूलो भीडले तिनीहरूका लुगाहरू बाटोमा ओछ्याइदिए; अनि अरू कतिले चाहिँ रूखका हाँगाहरू काटेर बाटोमा फिँजाइदिए। उहाँको अगि र पछि लागेका भीडहरू, र ती पछ्याउनेहरूले यसो भन्दै कराए, “दावीदका पुत्रलाई होसन्‍ना!” “धन्य उहाँ, जो प्रभुको नाममा आउनुहुन्छ!” “परमधाममा होसन्‍ना।” जब येशू यरूशलेममा प्रवेश गर्नुभयो, सम्पूर्ण सहरमा हलचल मच्‍चियो; तब मानिसहरूले सोधे, “यिनी को हुन्?” त्यस भीडले जवाफ दियो, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता येशू हुन्।”

शेयर गर्नुहोस्
मत्ती 21 पढ्नुहोस्

मत्ती 21:6-11 पवित्र बाइबल (NERV)

चेलाहरू गए र येशूले बताउनु भए अनुसार गरे। उनीहरू गधा र त्यसको बछेडालाई लिएर येशूकहाँ फर्की आए। तिनीहरूले आफ्ना वस्त्र गधालाई ओढाइदिए, अनि येशू त्यसमाथि बस्नु भयो। येशू यरूशलेम तिर जाने बाटामा गधामा चढेर जानुभयो। धेरै मानिसहरूले येशूको निम्ति बाटोमा वस्त्रहरू ओछ्याइदिएका थिए। अरू मानिसहरूले रूखका हाँगाहरू काटे र बाटोमा ओछ्याई दिए। केही मानिसहरू येशूको अधि-अधि हिंड्दै थिए। कोही मानिसहरू येशूको पछि-पछि हिंडदै थिए। मानिसहरू यसो भन्दै कराउन लागे, “दाऊदको पुत्र होसन्ना! ‘प्रभुको नाउँमा आउने धन्यका हुन्!’ स्वर्गको परमेश्वरको प्रशंसा गर।” त्यसपछि येशू यरूशलेमभित्र प्रवेश गर्नु भयो। सम्पूर्ण शहरबासि अचम्मित भए। तिनीहरूले सोधे, “यो को हो?” येशूसँगै आएका मानिसहरूले जवाफ दिए, “उनी येशू हुन्। गालील शहरको नासरतका अगमवक्ता उनी नै हुन्।”

शेयर गर्नुहोस्
मत्ती 21 पढ्नुहोस्

मत्ती 21:6-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

ती दुई चेलाहरूले गएर येशूले अह्राउनुभएजस्‍तै गरे। तिनीहरूले गधाको बछेडा माउसँगै लिएर आए र तिनका पिठमा आ-आफ्‍ना खास्‍टो ओछ्याइदिए अनि येशू चढ्‍नुभयो। मानिसहरूले आ-आफ्‍ना खास्‍टोहरू फुकालेर बाटोमा ओछ्याइदिए। अरू कतिले चाहिँ स्‍याउलाहरू ल्‍याएर बाटोमा ओछ्याइदिए। येशूको अघि र पछि हिँड्‍ने सबै मानिसहरूले यसो भन्‍दै जयजयकार गर्न थाले, “दाऊद-पुत्रको जय होस्! परमप्रभुको नाउँमा आउनुहुने कति धन्‍य हुनुहुन्‍छ! सबैभन्दा माथि स्‍वर्गमा हुनुहुने परमेश्‍वरको जयजयकार होस्!” उहाँ यरूशलेममा पस्‍नुहुँदा सहरभरि नै हलचल मच्‍चियो र मानिसहरूले सोधे, “यिनी को हुन्?” धुइरोमा भएका मानिसहरूले जवाफ दिए, “उहाँ त गालीलको नासरतबाट आउनुभएको अगमवक्ता येशू हुनुहुन्‍छ।”

शेयर गर्नुहोस्
मत्ती 21 पढ्नुहोस्