मत्ती 20:8-16

मत्ती 20:8-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“जब साँझ पर्‍यो, तब दाखबारीको मालिकले आफ्‍नो कर्मचारीलाई भन्‍यो, ‘खेतालाहरूलाई बोलाएर आखिरी आउनेहरूदेखि लिएर पहिला आउनेहरूसम्‍मलाई तिनीहरूका ज्‍याला देऊ।’ “पाँच बजे काममा लागेकाहरू आए, र तिनीहरू हरेकले पूरा दिनको ज्‍याला पाए। जब पहिला ज्‍यालामा लागेकाहरू आए, तब तिनीहरूले बढ्‌ता नै पाउँला भन्‍ने विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनको ज्‍याला पाए। ज्‍याला पाएपछि जमिनका मालिकको विरुद्धमा तिनीहरू गनगनाउन लागे। तिनीहरू भन्‍न लागे, ‘यी पछिल्‍लाहरूले एक घण्‍टा मात्र काम गरे, तर तपाईंले तिनीहरूलाई हामी दिनभरिको भार बोक्‍नेहरू र चर्को गर्मी सहनेहरूसरह तुल्‍याउनुभएको छ।’ “तर उसले तिनीहरूमध्‍ये एक जनालाई जवाफ दियो, “मित्र, मैले तिमीमाथि केही अन्‍याय गरेको छैनँ। के तिमीले मसँग पूरा एक दिनको ज्‍यालामा काम गर्ने कबूल गरेका होइनौ? तिम्रो पाउने ज्‍याला लिएर जाऊ। यस पछिल्‍लालाई पनि तिमीलाई दिएजति म दिन चाहन्‍छु। मेरो जति छ, त्‍यो म आफूले चाहेजस्‍तो गर्न सक्‍दिनँ र? मेरो उदारतामा तिम्रो आँखा किन जल्‍ने? “यसरी नै पछिल्‍ला पहिला हुनेछन्‌ र पहिला पछिल्‍ला हुनेछन्‌।”

शेयर गर्नुहोस्
मत्ती 20 पढ्नुहोस्

मत्ती 20:8-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“जब साँझ पर्‍यो, तब दाखबारीको मालिकले आफ्नो कर्मचारीलाई भन्यो, ‘खेतालाहरूलाई बोलाऊ, र काममा सबैभन्दा पछि आउनेहरूदेखि सुरु गरेर पहिले आएकाहरूसम्म सबैलाई तिनीहरूको ज्याला देऊ।’ “बेलुका पाँच बजेतिर काममा लगाइएका खेतालाहरू पनि आए, र हरेकले एक-एक दिनार पाए। तसर्थ जब ती पहिला काममा लगाइएकाहरू आए, तब तिनीहरूले बढी पाउने आशा राखेका थिए; तर तिनीहरू हरेकले पनि एक-एक दिनार नै ज्याला पाए। जब तिनीहरूले आ-आफ्ना ज्याला पाए, तब तिनीहरू जमिनको मालिकसित गुनासो गर्न थाले। तिनीहरू गएर यसो भने, ‘यी पछि आएका काममा लगाइएका मानिसहरूले त एक घण्टाजति मात्र काम गरेका छन्, तर हामीले दिनभरि काम गरेका छौँ, र दिनको चर्को घाम सहेका छौँ। तर तपाईंले हामीसित तिनीहरूलाई बराबर तुल्याउनुभएको छ।’ “तर उसले तिनीहरूमध्ये एक जनालाई जवाफ दियो, ‘मित्र, मैले तिमीमाथि केही अन्याय गरेको छैनँ। के तिमी दिनको एक दिनारको हिसाबले काम गर्न राजी भएका थिएनौ र? तिम्रो ज्याला लिएर जाऊ। म यस ढिलो काममा आउने मानिसलाई पनि तिमीलाई दिएको जति नै दिन चाहन्छु। मेरो आफ्नै रकमलाई म जे गर्न चाहन्छु, त्यो गर्ने अधिकार मलाई छैन र? अथवा के म दयालु भएकोमा तिमी ईर्ष्या गर्छौ?’ “यसकारण पछिल्‍ला हुनेहरू पहिला हुनेछन्, र पहिला हुनेहरू पछिल्‍ला हुनेछन्।”

शेयर गर्नुहोस्
मत्ती 20 पढ्नुहोस्

मत्ती 20:8-16 पवित्र बाइबल (NERV)

“जब साँझ पर्यो त्यो खेतको मालिकले खेतालाहरूको निरीक्षकलाई भन्यो, ‘सबै खेतालाहरूलाई बोलाएर तिनीहरूको ज्याला बाँडि देऊ। सब भन्दा पछि आएका खेतालादेखि ज्याला बाँड्न थाले।’ “पाँच बजेतिर आएर काम थाल्ने खेतालाहरूले आफ्नै ज्यला पाए। तिनीहरू प्रत्येकले एउटा चाँदीको सिक्का पाए। त्यसपछि पहिले ल्याएका खेतालाहरूले आफ्ना खर्च पाए। तिनीहरूले पहिले पाएका खेतालाहरू भन्दा बढ़ता ज्याला पाउने आशा गरेका थिए। तर तिनीहरूले पनि अरूले जस्तै एक-एकवटा चाँदीको सिक्का मात्र पाए। जब तिनीहरूले एउटा मात्र चाँदीको सिक्का पाए तिनीहरूले मालिकसित गनगन गरे। खेतालाहरूले विरोध गरे, ‘पछि आएकाहरूले एक घण्टा मात्र काम गरेका छन्। तर तिनीहरूलाई पनि हामीलाई जस्तै एउटा चाँदीको सिक्का दिइयो। अनि हामीले भने दिन भरि प्रचण्ड घाममा काम गरेका छौं।’ “तर जमीनको मालिकले, खेतालाहरूमध्ये एकजनालाई भन्यो, ‘साथी, मैले तिमीलाई अन्याय गरेको छैन। एउटा चाँदीको सिक्कामा नै काम गर्न मसित तिमीहरू मानेको थियौ। होइन? यसैले आफ्नो ज्याला थाप र बाटो लाग ज्यालामा ल्याएको अन्तिम खेतालालाई पनि तिमीलाई जस्तै दिन चाहन्छु। के मेरो पैसा आफ्नो खुशीमा चलाउने अधिकार मसँग छैन? अथवा म उदार छु भनेर तिमीलाई ईर्ष्यँ लग्यो?’ “त्यसरी अहिले पछि हुने भविष्यमा अघि हुनेछ अनि जो अहिले पहिलो स्थानमा छ भविष्यमा अन्तिम स्थानमा हुनेछ।”

शेयर गर्नुहोस्
मत्ती 20 पढ्नुहोस्

मत्ती 20:8-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“साँझ परेपछि दाख-बारीका धनीले आफ्‍ना काम गर्नेहरूको नाइकेलाई भने, ‘खेतालाहरूलाई बोलाएर तिनीहरूले काम गरेको ज्‍याला देऊ। ज्‍याला सबैभन्दा पछि आउनेहरूबाट सुरु गरेर आखिरमा सबैभन्दा पहिले आउनेहरूलाई दिनू।’ अनि नाइकेले पाँच बजे काम सुरु गर्नेहरूलाई पहिले बोलाएर प्रत्‍येकलाई चाँदीको एकएक सिक्‍का दियो। त्‍यस बेला सबभन्दा पहिले काममा लाग्‍नेहरूले चाहिँ धेरै पाइन्‍छ होला भनेर विचार गरे। तर तिनीहरूले पनि चाँदीको एकएक सिक्‍का मात्रै पाए। त्‍यसो हुँदा तिनीहरूले आ-आफ्‍ना ज्‍याला लिए र बारीको धनीकहाँ गएर गनगनाउन थाले। तिनीहरूले भने, ‘हेर्नुहोस्, यी पछि आउने मानिसहरूले त एक घण्‍टा मात्र काम गरे, हामीले त दिनभरि चर्को घाममा काम गर्‍यौं। तर तपाईंले त तिनीहरूलाई पनि हामीलाई जति नै ज्‍याला दिनुभयो!’ तर धनीले तिनीहरूमध्‍ये एक जनालाई जवाफ दिँदै भने, ‘हेर बुबा, मैले तिमीलाई अन्‍याय गरेको छैन। तिमी त चाँदीको एक सिक्‍कामा दिनभरि काम गर्न मन्‍जुर भएका होइनौ र? तिमी आफ्‍नो पाउनुपर्ने पैसा लिएर घर जाऊ। म यो ढीलो काममा आउनेलाई पनि तिमीलाई जति नै दिन चाहन्‍छु। के मलाई आफ्‍नो पैसा आफूले दिन मन लागेकाहरूलाई दिने अधिकार छैन र? म दानी भएकोमा तिमीलाई रिस उठ्यो कि क्‍या हो’?” कुरा टुङ्ग्याउँदै येशूले भन्‍नुभयो, “यही रीतले नै पछिल्‍लाहरू पहिला हुनेछन् अनि पहिलाहरूचाहिँ पछिल्‍ला हुनेछन्।”

शेयर गर्नुहोस्
मत्ती 20 पढ्नुहोस्