मत्ती 19:1-9

मत्ती 19:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यी कुरा बोल्‍नुभएपछि येशू गालीलबाट यर्दनपारि यहूदाको इलाकातिर जानुभयो। ठूला भीड़हरू उहाँको पछि लागे र उहाँले त्‍यहाँ मानिसहरूलाई निको पार्नुभयो। फरिसीहरू उहाँकहाँ आएर उहाँलाई जाँच गर्न भनी उहाँलाई सोधे, “के कसैले कुनै कारण पत्नीसँग विवाहविच्‍छेद गर्न उचित छ?” तर उहाँले भन्‍नुभयो, “के तिमीहरूले पढ़ेका छैनौ, कि सृष्‍टिकर्ताले तिनीहरूलाई सुरुमा नै नर र नारी बनाउनुभयो, र भन्‍नुभयो, ‘यसैकारण मानिसले आफ्‍ना बुबा र आमालाई छोड़ेर आफ्‍नी पत्नीसँग मिलिरहन्‍छ, र ती दुई जना एउटै शरीर हुनेछन्‌।’ ती अब दुई होइनन्, तर एउटै शरीर हुन्‍छन्‌। यसकारण परमेश्‍वरले जसलाई एकसाथ जोड्नुभएको छ, त्‍यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।” तिनीहरूले उहाँलाई भने, “मोशाले किन विवाहविच्‍छेदको त्‍यागपत्र दिएर पत्‍नीलाई त्‍याग्‍ने आज्ञा दिए?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका हृदयको कठोरताले गर्दा नै मोशाले पत्‍नीलाई त्‍याग गर्ने अनुमति तिमीहरूलाई दिएका हुन्‌। तर सुरुदेखि यस्‍तो थिएन। म तिमीहरूलाई भन्‍दछु, जसले व्‍यभिचारको कारणबाहेक आफ्‍नी पत्नीलाई त्‍यागेर अर्कीसँग विवाह गर्छ, त्‍यसले व्‍यभिचार गर्दछ, अनि जसले त्‍यागिएकीलाई विवाह गर्छ, त्‍यसले पनि व्‍यभिचार गर्दछ।”

शेयर गर्नुहोस्
मत्ती 19 पढ्नुहोस्

मत्ती 19:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँ गालील प्रदेश छोडेर यर्दनको अर्कोतिर भएको यहूदिया प्रदेशका इलाकाहरूमा जानुभयो। ठूला भीडहरू उहाँको पछि लागे। अनि त्यहाँ उहाँले तिनीहरूमध्येका बिरामीहरूलाई निको पार्नुभयो। केही फरिसीहरू उहाँलाई जाँच गर्न भनी उहाँकहाँ आए। तिनीहरूले सोधे, “जुनसुकै कारण भए तापनि के मानिसले आफ्नी पत्नीलाई त्याग्नु उचित हो?” उहाँले उत्तर दिनुभयो, “के तिमीहरूले धर्मशास्त्र पढेका छैनौ, सुरुमा सृष्‍टिकर्ताले ‘तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो,’ अनि भन्‍नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि ती दुई एउटै शरीर हुनेछन्’? यसरी तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण जसलाई परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।” तिनीहरूले सोधे, “त्यसो भए किन मोशाले त्यस मानिसले आफ्नी पत्नीलाई त्यागपत्र दिएर त्यागोस् भन्‍ने आज्ञा दिए त?” येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई तिमीहरूको हृदयको कठोरताको कारण, तिमीहरूका पत्नीहरूलाई त्याग्ने अनुमति दिए। तर सुरुदेखि नै त यस्तो थिएन। म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई वैवाहिक व्यभिचारको कारणबाहेक अरू कारणले विवाह सम्बन्ध-विच्छेद गर्दछ, र अर्की स्त्रीलाई विवाह गर्दछ, उसले पनि व्यभिचार गर्दछ।”

शेयर गर्नुहोस्
मत्ती 19 पढ्नुहोस्

मत्ती 19:1-9 पवित्र बाइबल (NERV)

यी सबै कुराहरू सुनाएपछि येशूले गालील छाड्नुभयो। यर्दन नदीको पारिपट्टि छेउमा भएको यहुदिया क्षेत्रभित्र उहाँ पुग्नुभयो। धेरै मानिसहरू येशूको पछिलागे। येशूले रोगी मानिसहरूलाई निको पारिदिनु भयो। केही फरिसीहरू येशूकहाँ उहाँको परीक्षा गर्न त्यहाँ आए। तिनीहरूले येशूलाई सोधे, “के कुनै पनि निहुँमा कसैले आफ्नी पत्नीलाई त्याग्न सक्छ?” तिनीहरू येशूले केही गलत कुरा वोलेको चाहान्थे। येशूले जवाफ दिनुभयो, “के तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ? जब परमेश्वरले संसारको सृष्टि गर्नुभयो, ‘उहाँले नर र नारी बनाउनु भयो।’ अनि परमेश्वरले भन्नु भयो, ‘त्यसकारण मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसेग मिलेर बस्छ। यसरी यी दुइ मानिसहरू एक हुनेछन्।’ यसर्थ दुइजना मानिसहरू दुइ रहदैनन् तर एउटै हुन्छन्। परमेश्वरले यी दुइलाई एउटै बनाउनु भएको हो। यसैकारणले कसैले तिनीहरूलाई अलग पार्नु हुँदैन।” फरिसीहरूले सोधे, “यदि त्यसो भए मोशाले किन एउटा मानिसलाई विवाह विच्छेदको कागज लेखेर आफ्नी पत्नीसित सम्बन्ध विच्छेद हुन्छ भन्ने आज्ञा दिए?” येशूले भन्नुभयो, “मोशाले तिमीहरूलाई आफ्नी पत्नीहरूसँग विवाह विच्छेद गर्ने अनुमति दिएको कारण के हो भने तिनीहरूले परमेश्वरको शिक्षालाई स्वीकार गर्न अस्वीकार गरेको थियो। तर शुरूमा यस्तो थिएन। म भन्दछु जसले आफ्नो पत्नीलाई त्यागेर अर्को स्त्रीसँग विवाह गर्दछ उसले व्यभिचार गर्दछ। एउटा मानिसले आफ्नी स्वास्नीलाई त्यागेर अर्की पत्नीसँग त्यतिबेला विवाह गर्न पाउँदछ जब उसको पहिलेकी पत्नीले अरू कुनै मानिससँग व्यभिचार गर्दछे।”

शेयर गर्नुहोस्
मत्ती 19 पढ्नुहोस्

मत्ती 19:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँ गालीलबाट हिँडेर यहूदिया इलाकाको यर्दन नदीको पारि भएको भागमा जानुभयो। मानिसको ठूलो धुइरो उहाँको पछिपछि लाग्‍यो र उहाँले तिनीहरूलाई निको पार्नुभयो। अनि केही फरिसीहरूले उहाँकहाँ आएर उहाँलाई कुरैकुरामा फसाउन सोधे, “कसैले कुनै कारणले आफ्‍नी पत्‍नी त्‍याग्‍नुहुन्‍छ कि हुँदैन?” येशूले जवाफ दिँदै भन्‍नुभयो, “के तिमीहरूले धर्मशास्‍त्रमा पढेका छैनौ? सुरुमा सृष्‍टिकर्ताले मानिसलाई पुरुष र स्‍त्री गरी बनाउनुभयो। ‘त्‍यसकारण पुरुषले आफ्‍ना आमा-बुबालाई छोडेर आफ्‍नी पत्‍नीसँगै बस्‍छ र ती दुई मिलेर एउटै हुन्‍छन्।’ त्‍यसैले अब तिनीहरू दुई होइनन्, तर एउटै हुन् अनि परमेश्‍वरले जोडेकाहरूलाई मानिसले छुट्ट्याउनुहुँदैन।” फरिसीहरूले उहाँलाई सोधे, “त्‍यसो भए किन मोशाले पत्‍नी त्‍याग्‍नेलाई त्‍यागपत्र लेखेर त्‍याग्‍नू भनेको त?” येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूको अट्टेरी मनको कारण पत्‍नी त्‍याग्‍न सकिन्‍छ भनेका हुन्। तर सुरुमा त त्‍यस्‍तो थिएन। हेर, म तिमीहरूलाई भन्‍छु, व्‍यभिचारको दोषबाहेक पत्‍नीलाई त्‍यागेर अर्कीलाई बिहे गर्ने पुरुषले व्‍यभिचार नै गर्छ।”

शेयर गर्नुहोस्
मत्ती 19 पढ्नुहोस्