मत्ती 16:13-28

मत्ती 16:13-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

येशू कैसरिया फिलिप्‍पीको मुलुकमा आउनुभएपछि, उहाँले आफ्‍ना चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्‍छन्‌?” तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्‍मा-दिने यूहन्‍ना, कसैले एलिया, र कसैले यर्मिया वा अगमवक्ताहरूमध्‍ये कुनै एक जना हुन्‌ भनी भन्‍छन्‌।” उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू के भन्‍छौ, म को हुँ?” सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्‍ट हुनुहुन्‍छ, जीवित परमेश्‍वरको पुत्र।” येशूले तिनलाई भन्‍नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्‍य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्‍वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो। म तिमीलाई भन्‍दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्‍डली यस चट्टानमाथि स्‍थापित गर्नेछु, र नरकका ढोकाहरू त्‍यसमाथि विजयी हुनेछैनन्‌। म तिमीलाई स्‍वर्गको राज्‍यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्‍वीमा बाँध्‍नेछौ, सो स्‍वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्‍वीमा फुकाऔला, सो स्‍वर्गमा फुकाइनेछ।” उहाँ ख्रीष्‍ट हुनुहुन्‍छ भनी कसैलाई नभन्‍नू भनी येशूले चेलाहरूलाई कड़ा आज्ञा दिनुभयो। उहाँ कसरी यरूशलेममा जानुपर्छ, र धर्म-गुरु र मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूबाट धेरै कष्‍ट भोग्‍नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भइउठ्‌नुपर्छ भनी उहाँले त्‍यस बेलादेखि आफ्‍ना चेलाहरूलाई बताउन थाल्‍नुभयो। पत्रुसले उहाँलाई एकातिर लगेर हप्‍काउन लागे, “परमेश्‍वरले यसो नगरून्, प्रभु, तपाईंमाथि यस्‍तो कहिल्‍यै हुनेछैन।” तर फर्केर उहाँले पत्रुसलाई भन्‍नुभयो, “ए शैतान, मेरो सामुन्‍नेबाट हटिजा, तँ मेरो निम्‍ति बाधा होस्‌। किनभने तँ परमेश्‍वरका कुरामा होइन, तर मानिसहरूका कुराहरूमा ध्‍यान दिन्‍छस्‌।” तब येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “कोही मेरो पछि आउने इच्‍छा गर्दछ भने, उसले आफूलाई इन्‍कार गरोस्‌ र आफ्‍नो क्रूस उठाएर मेरो पछि लागोस्‌। किनकि जसले आफ्‍नो प्राण बचाउन चाहन्‍छ, उसले त्‍यो गुमाउनेछ, तर जसले आफ्‍नो प्राण मेरो निम्‍ति गुमाउँछ, त्‍यसले त्‍यो पाउनेछ। सारा जगत्‌ प्राप्‍त गरेर पनि आफ्‍नो प्राण गुमायो भने, मानिसलाई के लाभ हुन्‍छ? अथवा मानिसले आफ्‍नो प्राणको सट्टामा के दिन सक्‍छ? किनकि मानिसको पुत्र आफ्‍ना पिताको महिमामा आफ्‍ना स्‍वर्गदूतहरूसँग आउनेछ, र त्‍यस बेला उसले हरेक मानिसलाई त्‍यसको कामअनुसार प्रतिफल दिनेछ। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यहाँ खड़ा हुनेहरूमध्‍ये कतिले मानिसको पुत्रलाई आफ्‍नो राज्‍यमा आइरहेको नदेखेसम्‍म मृत्‍यु चाख्‍नेछैनन्‌।”

शेयर गर्नुहोस्
मत्ती 16 पढ्नुहोस्

मत्ती 16:13-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब येशू कैसरिया फिलिप्पीका इलाकामा आउनुभयो, तब उहाँले चेलाहरूलाई “मानिसहरूले मानिसको पुत्र को हो भनी भन्छन्?” भनी सोध्नुभयो। तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्मा दिने यूहन्‍ना, कसैले एलिया भन्छन्; अनि कतिले चाहिँ यर्मिया अथवा अगमवक्ताहरूमध्ये एक हुन् भनी भन्छन्।” उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरूले चाहिँ मलाई को हो भन्छौ त?” सिमोन पत्रुसले उत्तर दिए, “तपाईं ख्रीष्‍ट हुनुहुन्छ, जीवित परमेश्‍वरका पुत्र।” येशूले जवाफ दिनुभयो, “योनाका छोरा सिमोन, तिमी धन्य हौ; किनकि यो तिमीलाई मानिसद्वारा होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताद्वारा प्रकट गरिएको हो। म तिमीलाई भन्दछु, तिमी पत्रुस हौ, र म यस चट्टानमाथि मेरो मण्डली स्थापित गर्नेछु; अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्। म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु: तिमीहरूले पृथ्वीमा जे बाँध्नेछौ, त्यो स्वर्गमा बाँधिनेछ, र तिमीहरूले पृथ्वीमा जे फुकाउनेछौ, त्यो स्वर्गमा फुकाइनेछ।” तब उहाँले आफ्ना चेलाहरूलाई, उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनी कसैलाई नभन्‍नू भनी चेतावनी दिनुभयो। त्यस समयदेखि उसो येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेममा जानुपर्छ, र प्रधानहरू, मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरूका हातबाट धेरै कष्‍टहरू सहनुपर्छ, मारिनुपर्छ, र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी भन्‍न थाल्नुभयो। पत्रुसले उहाँलाई एकातिर लगेर “यसो कहिल्यै नहोस्, प्रभु! तपाईंलाई यस्तो कहिल्यै नहोस्” भनी हप्काउन थाले। येशूले फर्केर पत्रुसलाई भन्‍नुभयो, “ए शैतान, मबाट टाढा होइजा! तँ मेरा लागि ठेस लाग्ने कारण होस्। तेरो मनमा परमेश्‍वर सम्बन्धी विचारहरू होइनन्, तर मानिसहरू सम्बन्धी विचारहरू छन्।” तब येशूले चेलाहरूलाई भन्‍नुभयो, “यदि कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो पाउनेछ। कुनै मानिसले सारा संसार हात पारेर आफ्नो प्राणचाहिँ गुमाउँछ भने उसलाई के फाइदा होला? अथवा कुनै मानिसले आफ्नो प्राणको बदलामा के दिन सक्ला र? किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसित आउनेछ, र त्यस बेला उसले हरेक व्यक्तिलाई त्यसले जे गरेको छ, त्यसको कामहरूअनुसार प्रतिफल दिनेछ। “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यो ठाउँमा उपस्थित भएकाहरूमध्ये कतिले मानिसको पुत्रलाई आफ्नो राज्यमा आइरहेका नदेखेसम्म मृत्युको स्वाद चाख्नेछैनन्।”

शेयर गर्नुहोस्
मत्ती 16 पढ्नुहोस्

मत्ती 16:13-28 पवित्र बाइबल (NERV)

जब येशू सिजरिया फिलिप्पीका इलाकामा पुग्नुभयो। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “म मानिसको पुत्र हुँ। मानिसहरू मलाई को हो भन्छन्?” चेलाहरूले जवाफ दिए, “कसैले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्दछन्। कसैले तपाईंलाई एलिया हुन् भन्दछन्। अनि कसैले तपाईंलाई यर्मिया अथवा कुनै अगमवक्ताहरू मध्ये एकजना ठान्छन्।” तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू चाहिं मलाई को हो भन्छौ?” शिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।” येशूले भन्नुभयो, “तिमी धन्य हौ, हे योनाको छोरो शिमोन। कुनै पनि मानव जातिले तिमीलाई यो सिकाएको होइन। स्वर्गमा भएका मेरा पिताले तिमीलाई प्रकाश गरिदिनुभएको हो। यसैले म भन्दछु, तिमी पत्रुस हौ। अनि म मेरो मण्डली यो चट्टानमाथि बनाउनेछु। मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू सामर्थ हुनेछैनन्। म स्वर्गका साँच्चोहरू (चाबी) तिमीहरूलाई दिनेछु। जब तिमी यो पृथ्वीमा न्यायका लागि बोल्नेछौ तब त्यो न्याय परमेश्वरको न्याय हुनेछ। जब तिमीले यो पृथ्वीमा कसैलाई क्षमा दिनेछौ तब त्यो क्षमा परमेश्वरको क्षमा हुनेछ।” त्यसपछि येशूले आफ्ना चेलाहरूलाई कसैलाई पनि उहाँ ख्रीष्ट हुनुहुन्छ भनि नभन्नु भनी चेताउनी दिनुभयो। त्यसै बेलादेखि येशूले आफ्ना चेलाहरूलाई आफू यरूशलेम जान पर्नेछ भनेर प्रष्ट पार्न थाल्नुभयो। अनि यहूदीहरूका अग्रज प्रमुखहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शास्त्रीहरूले उहाँलाई धेरै यातना दिनेछन्। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो कि उहाँलाई मारिनु नै पर्नेछ। अनि उहाँ तेस्रो दिनमा मृत्युबाट बौरी उठ्नु हुनेछ। येशूलाई एक्लै एकातिर लगेर टिका टिप्पणी गर्न लागे। पत्रुसले भने, “परमेश्वरले तपाईंलाई यस्ता कुराबाट बचाउँनु हुनेछ, हे परमप्रभु तपाईं माथि यस्ता कुराहरू आउने छैनन्।” तब येशूले पत्रुसतिर फर्केर भन्नुभयो, “तिमी म देखि टाढो जाऊ, शैतान! मेरो पक्षमा छैनौ। परमेश्वरले सोच्नु भएको जस्तो तिमीले सोच्दैनौ। तिमी मानिसहरूले सोचे जस्तैसोच्छौ।” त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहान्छ भने उसले आफूलाई चाहिएको चीजहरू प्रति अस्वीकार गर्नु पर्छ। उसलाई प्रदान गरीएको क्रूस उसले स्वीकार गर्नै पर्छ अनि त्यसपछि मलाई उसले पछ्याउनु पर्छ। जसले आफ्नो जीवन बचाउन चाहन्छ उसले त्यो गुमाउँछ अनि जसले मेरो निम्ति जीवन गुमाउँछ उसले यसको रक्षागर्छ। यदि कुनै मानिसले सबै संसार हात पर्छ तर आफ्नै जीवन गुमाउँछ भने उसलाई के लाभ हुन्छ? आफ्नो जीवन प्राप्त गर्नलाई कुनै मानिसले के दिनसक्छ? आफ्ना पिताको महिमासित मानिसको पुत्र आफ्ना दूतहरूसँग आउनेछ। त्यसबेला मानिसका पुत्रले प्रत्येकलाई आफ्नो कामको निम्ति इनामहरू दिनेछ। तिमीहरूलाइ साँच्चो भन्दछु। कोही मानिस जो यहाँ उभिरहेको छ, त्यसले आफ्नो मृत्यु हुनु भन्दा अघि मानिसका पुत्रको राज्य आएको देख्नेछन्।”

शेयर गर्नुहोस्
मत्ती 16 पढ्नुहोस्

मत्ती 16:13-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशू कैसरिया-फिलिप्‍पीको इलाकामा पुग्‍नुभयो। त्‍यहाँ उहाँले आफ्‍ना चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले म मानव पुत्रलाई को हो भन्‍छन्?” चेलाहरूले भने, “कतिले तपाईंलाई बप्‍तिस्‍मा दिने यूहन्‍ना हो भन्‍छन्, कतिले एलिया हो भन्‍छन्, अनि कतिले चाहिँ यर्मिया वा कुनै अरू अगमवक्ता होलान् भन्‍छन्।” येशूले भन्‍नुभयो, “अनि तिमीहरूचाहिँ मलाई को हो भन्‍छौ त?” सिमोन पत्रुसले जवाफ दिए, “तपाईं जिउँदो परमेश्‍वरका पुत्र मुक्ति दिनुहुने राजा ख्रीष्‍ट हुनुहुन्‍छ।” येशूले भन्‍नुभयो, “ए योनाको छोरा सिमोन, तिमी कति धन्‍य हौ! यो कुरा तिमीले मानिसबाट सुनेर भनेका होइनौ, यो त स्‍वर्गमा हुनुहुने मेरा परमेश्‍वर पिताले नै तिमीलाई थाहा दिनुभएको हो। अब म तिमीलाई भन्‍छु, तिमी पत्रुस हौ (जसको अर्थ ‘पत्‍थर’ हो)। यही पत्‍थरको जगमा म आफ्‍नो मण्‍डली खडा गर्नेछु अनि मृत्‍युका सबै शक्तिहरूले पनि यसलाई जित्‍न सक्‍नेछैनन्। स्‍वर्गको राज्‍य खोल्‍ने साँचाहरू म तिम्रो हातमा दिनेछु। जे तिमीले यस पृथ्‍वीमा बाँध्‍नेछौ, त्‍यो स्‍वर्गमा पनि बाँधिनेछ अनि जे तिमीले यस पृथ्‍वीमा फुकाउँछौ, त्‍यो स्‍वर्गमा पनि फुकाइनेछ।” त्‍यसपछि उहाँले चेलाहरूलाई ‘म मुक्ति दिने ख्रीष्‍ट हुँ भन्‍ने कुरा कसैलाई पनि नभन्‍नू’ भनेर कडा आज्ञा दिनुभयो। त्‍यस बेलादेखि येशूले आफ्‍ना चेलाहरूलाई आफूले भोग्‍नुपर्ने दु:खको बारेमा सोझै भन्‍न लाग्‍नुभयो। उहाँले भन्‍नुभयो, “मैले यरूशलेम गएर अगुवा, मुख्‍य पूजाहारी र धर्म-गुरुहरूबाट दु:ख भोग्‍नुपर्छ, आखिरमा म मारिनेछु, तर तेस्रो दिनमा म फेरि मरेकोबाट बिउँतनेछु।” यो सुनेर पत्रुसले उहाँलाई एकातिर लगेर सम्‍झाउँदै भने, “परमेश्‍वरले यस्‍तो हुन नदेऊन्। प्रभु! यस्‍तो त तपाईंलाई कहिल्‍यै पनि नहोस्।” येशूले पत्रुसतिर फर्केर भन्‍नुभयो, “ए शैतान, मेरो पछि हट्। तँ मेरो बाटोमा ठेस लाग्‍ने ढुङ्गा राख्‍न खोज्‍छस्! तेरो यो विचार परमेश्‍वरबाटको होइन, तर मान्‍छेबाटको हो।” त्‍यसपछि येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “हेर, कोही मेरो चेला हुन चाहन्‍छ भने उसले आफैंलाई माया मार्नुपर्छ अनि मर्नसमेत तयार भएर आफ्‍नो क्रूस बोकी मलाई पछ्‌याउनुपर्छ किनभने आफ्‍नो ज्‍यान जोगाउन खोज्‍नेले त्‍यो गुमाउनेछ। तर आफ्‍नो ज्‍यान मेरो लागि गुमाउनेले चाहिँ त्‍यो पाउनेछ। मानिसले जम्‍मै संसार नै हात पारे पनि आफ्‍नो आत्‍माचाहिँ गुमायो भने उसलाई के फाइदा भयो र? उसले गुमाएको आत्‍मा फेरि केले फिर्ता गर्छ र? किनभने म मानव पुत्र आफ्‍नै पिताको महिमा लिएर स्‍वर्गदूतहरूको साथमा आउँदा सबै मानिसहरूलाई आ-आफ्‍नो कामअनुसारको इनाम दिनेछु। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, म मानव पुत्र मेरो राज्‍यमा आएको नदेखेसम्‍म यहाँ सुनेर उभिनेहरूमध्‍ये कति त मर्ने पनि छैनन्।”

शेयर गर्नुहोस्
मत्ती 16 पढ्नुहोस्