मत्ती 14:22-32 - Compare All Versions

मत्ती 14:22-32 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

उहाँले भीड़लाई बिदा गर्नुहुँदा चेलाहरूलाई डुङ्गामा चढ़ी उहाँभन्‍दा पहिले पारिपट्टि जान लाउनुभयो। भीड़लाई बिदा गरिसक्‍नुभएपछि उहाँ एकलै प्रार्थना गर्न डाँड़ामा उक्‍लनुभयो। साँझ पर्दा उहाँ एकलै त्‍यहाँ हुनुहुन्‍थ्‍यो। तर डुङ्गा त्‍यति बेलासम्‍म किनारदेखि समुद्रमा धेरै टाढ़ा पुगिसकेको थियो। अनि हावा उल्‍टो बहेको हुनाले डुङ्गा छालको चपेटमा परेको थियो। बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्‌दै तिनीहरूकहाँ आउनुभयो। जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँड़िरहनुभएको देखे, तब डराएर तिनीहरूले भने, “यो त भूत हो!” र तिनीहरू डरले चिच्‍च्‍याए। तर येशूले झट्टै तिनीहरूलाई यसो भन्‍नुभयो, “साहस गर, म नै हुँ, नडराओ।” पत्रुसले उहाँलाई भने, “हे प्रभु, तपाईं नै हुनुहुन्‍छ भने, मलाई तपाईंकहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्‌।” उहाँले भन्‍नुभयो, “आऊ।” पत्रुस डुङ्गाबाट ओर्लेर येशूकहाँ जानलाई पानीमाथि हिँड्‌न लागे। तर बतास जोड़ले चलेको देखेर तिनी डराए, र जब डुब्‍नै लागे तब तिनले चिच्‍च्‍याएर भने, “हे प्रभु, मलाई बचाउनुहोस्‌।” तब येशूले झट्टै हात पसारेर तिनलाई समातिहाल्‍नुभयो, र तिनलाई भन्‍नुभयो, “ए अल्‍पविश्‍वासी, किन शङ्का गर्‍यौ?” जब उहाँहरू डुङ्गामा पस्‍नुभयो तब बतास थामियो।

शेयर गर्नुहोस्
मत्ती 14 NNRV

मत्ती 14:22-32 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

येशूले भीडलाई बिदा गर्न लाग्दा चेलाहरूलाई चाहिँ डुङ्गामा चढेर झट्टै आफूभन्दा अगि पारिपट्टि जान लाउनुभयो। उहाँले भीडलाई बिदा गरिसक्नुभएपछि उहाँ एकलै प्रार्थना गर्न एउटा पहाडमा जानुभयो। रात पर्दा उहाँ त्यहाँ एकलै हुनुहुन्थ्यो, तर डुङ्गा जमिनदेखि धेरै टाढा पुगिसकेको थियो, बतास उल्टो बहेकाले छालहरूले त्यसलाई हुत्याउँदैथियो। बिहान तीन बजेतिर येशू समुद्रमाथि हिँड्दै तिनीहरूतिर जानुभयो। जब चेलाहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरू डराए। अनि तिनीहरू, “यो त भूत हो” भनी डरले चिच्याए। तर येशूले तुरुन्तै तिनीहरूलाई भन्‍नुभयो: “साहस गर! म नै हुँ; नडराओ।” पत्रुसले जवाफ दिए, “प्रभु यदि तपाईं नै हुनुहुन्छ भने मलाई तपाईंकहाँ पानीमा आउने आज्ञा दिनुहोस्।” उहाँले भन्‍नुभयो, “आऊ।” तब पत्रुस डुङ्गाबाट ओर्लेर पानीमाथि हिँड्दै येशूतिर आए। तर जब तिनले बतास देखे, तब तिनी डराए, र डुब्न लाग्दा, “प्रभु, मलाई बचाउनुहोस्!” भनेर चिच्याए। येशूले तुरुन्तै आफ्नो हात पसारेर तिनलाई पक्रनुभयो र भन्‍नुभयो, “हे अल्पविश्‍वासी, तिमीले किन शङ्का गर्‍यौ?” अनि जब उहाँहरू डुङ्गामा चढ्नुभयो, बतास शान्त भयो।

शेयर गर्नुहोस्
मत्ती 14 NCV

मत्ती 14:22-32 NERV (पवित्र बाइबल)

तब येशूले चेलाहरूलाई डुङ्गामा चढेर झीलको अर्कोतर्फ जान लगाउनु भयो। उहाँले आफू पछि आउने कुरा भन्नुभयो। मानिसहरूलाई घर पठाउनका निम्ति येशू त्यहाँ बस्नुभयो। मानिहरूलाई बिदा गरिसकेपछि, येशू एक्लै प्रार्थना गर्नलाई डाँडामा चढनुभयो। अबेर सम्म उहाँ एक्लै त्यहाँ बस्नुभयो। यसबेलासम्म डुङ्गा धेरै टाढा पुगिसकेको थियो। हावा विपरित दिशाबाट चलेको कारणले छालहरूले गर्दा डुङ्गालाई कठीन परिरहेथ्यो। बिहानको पहिलो प्रहारतिर, येशूका चेलाहरू डुङ्गामा नै थिए। येशू पानीमाथि हिँड्दै तिनीहरू भएतिर जानुभयो। उहाँलाई पानीमा हिड्दै गरेको देखेर चेलाहरू डराउन लागेका थिए। “यो भूत हो।” तिनीहरू डरले चिच्याए। तर येशूले तत्कालै भन्नुभयो, “साहसी होऊ यो म हुँ। डराउनु पर्दैन।” पत्रुसले भने, “प्रभु, यदि वास्तवमा तपाईं नै हुनुहुन्छ भने, मलाई पानीमाथि हिँडेर तपाईंकहाँ आउन भन्नुहोस्।” येशूले भन्नुभयो, “आऊ पत्रुस।” त्यसपछि पत्रुसले डुङ्गा छोडे र पानिमाथि हिंड्दै येशू भएकहाँ गए। पानीमाथि हिंडदा पत्रुसले तेज बतास र छालहरू आएको देखे। अनि भयभीत भए। उनी भयभीत भए र पानीमा डुब्नलागे। उनी चिच्याए, “प्रभु, मलाई बचाउनुहोस्।” त्यसपछि येशूले पत्रुसको हात समात्नु भयो। उहाँले भन्नुभयो, “ए अल्पविश्वासी तिमी किन शंका गर्छौ?” जब पत्रुस र येशू दुवै डुङ्गामा चढे आँधी पनि थामियो।

शेयर गर्नुहोस्
मत्ती 14 NERV

मत्ती 14:22-32 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यो काम गरिसक्‍नेबित्तिकै येशूले चेलाहरूलाई “नाउमा चढेर पहिले नै ताल पारिपट्टि गइहाल्‍नू,” भनेर अह्राउनुभयो। उहाँ आफूचाहिँ मानिसहरूलाई बिदा गर्न बस्‍नुभयो। तिनीहरूलाई बिदा गरिसकेपछि उहाँ एक्‍लै प्रार्थना गर्न माथि डाँडामा जानुभयो। रात पर्‍यो र येशू एक्‍लै डाँडामा हुनुहुन्‍थ्‍यो। त्‍यति बेलासम्‍म नाउचाहिँ किनारबाट तालमा निकै पर पुगेको थियो। तर अगाडिबाट बतास चलेर छालले नाउलाई यताउति हल्‍लाइरहेको हुनाले चेलाहरू अगाडि बढ्‍नै सकेनन्। बिहानै झिसमिसे उज्‍यालोमा येशू पानीमाथि हिँडेर चेलाहरूकहाँ आउनुभयो। उहाँलाई पानीमाथि हिँडेर आइरहनुभएको देखेर तिनीहरू “ओहो!” भनेर डरले चिच्‍च्‍याउन थाले। अनि तुरुन्‍तै येशूले भन्‍नुभयो, “नडराओ, मै हुँ, साहस गर।” यो सुनेर पत्रुसले भने, “प्रभु, तपाईं नै हुनुहुन्‍छ भने मलाई पनि पानीमाथि हिँडेर तपाईंकहाँ आउने आज्ञा दिनुहोस्।” येशूले भन्‍नुभयो, “आऊ न त!” पत्रुस नाउबाट उत्रेर पानीमाथि हिँड्दै येशूकहाँ जान लागे। तर ठूलो बतास चलेको देखेर उनी डराए। त्‍यत्तिकैमा उनी डुब्‍न लागे र आत्तिएर “बचाउनुहोस् प्रभु!” भन्‍दै कराए। येशूले उनलाई झट्टै समातेर भन्‍नुभयो “खै तिम्रो विश्‍वास, तिमीले किन शङ्का गरेको?” त्‍यसपछि येशू पत्रुससँगै नाउमा चढ्‍नुभयो अनि बतास पनि थामिहाल्‍यो।

शेयर गर्नुहोस्
मत्ती 14 सरल नेपाली