मत्ती 14:13-23

मत्ती 14:13-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब येशूले यो सुन्‍नुभयो उहाँ डुङ्गामा चढ़ी त्‍यहाँबाट अलग्‍गै एउटा एकान्‍त ठाउँमा जानुभयो। यो सुनेपछि भीड़ले सहरहरूबाट पैदलै उहाँलाई पछ्यायो। किनार पुगेर त्‍यस ठूलो भीड़लाई देखी उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, र तिनीहरूका बिरामीहरूलाई निको पारिदिनुभयो। साँझ परेपछि चेलाहरू यसो भन्‍दै उहाँकहाँ आए, “यो निर्जन ठाउँ छ, र दिन ढलिसक्‍यो। भीड़लाई बिदा दिनुहोस्, र यिनीहरूले गाउँ-गाउँमा गएर आफ्‍ना लागि खानेकुरा किनून्‌।” तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिनीहरूलाई जानु आवश्‍यक छैन। तिमीहरूले नै यिनीहरूलाई खान देओ।” तिनीहरूले उहाँलाई भने, “यहाँ हामीहरूसित पाँच रोटी र दुई माछा मात्र छन्‌।” तब उहाँले भन्‍नुभयो, “ती मकहाँ ल्‍याओ।” उहाँले भीड़लाई घाँसमा बस्‍ने आज्ञा दिनुभयो, र ती पाँच रोटी र दुई माछा लिएर स्‍वर्गतिर हेरी परमेश्‍वरलाई धन्‍यवाद दिनुभयो, र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो, र चेलाहरूले मानिसहरूलाई दिए। ती सबैले खाएर तृप्‍त भए, र उब्रेका टुक्राहरू तिनीहरूले बाह्र डालाभरि उठाए। स्‍त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू प्राय: पाँच हजार पुरुषहरू थिए। उहाँले भीड़लाई बिदा गर्नुहुँदा चेलाहरूलाई डुङ्गामा चढ़ी उहाँभन्‍दा पहिले पारिपट्टि जान लाउनुभयो। भीड़लाई बिदा गरिसक्‍नुभएपछि उहाँ एकलै प्रार्थना गर्न डाँड़ामा उक्‍लनुभयो। साँझ पर्दा उहाँ एकलै त्‍यहाँ हुनुहुन्‍थ्‍यो।

शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्

मत्ती 14:13-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब येशूले यो घटना सुन्‍नुभयो, तब उहाँ डुङ्गामा चढेर त्यस ठाउँबाट सुटुक्‍कै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेर भीडहरू सहरहरूबाट पैदलै उहाँको पछि लागे। जब येशू ओर्लनुभयो, तब उहाँले एउटा ठूलो भीडलाई देख्नुभयो। तिनीहरूप्रति उहाँ दयाले भरिनुभयो, र तिनीहरूका रोगहरूलाई निको पार्नुभयो। साँझ पर्नलाग्दा चेलाहरूले उहाँकहाँ आएर भने, “यो एउटा सुनसान ठाउँ हो, र अबेला हुँदैछ। भीडहरूलाई बिदा गर्नुहोस्, र तिनीहरूले गाउँतिर गएर आफ्ना लागि केही खानेकुरा किनून्।” येशूले जवाफ दिनुभयो, “तिनीहरूलाई जान खाँचो छैन। तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तिनीहरूले जवाफ दिए, “यहाँ हामीसित त पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।” उहाँले भन्‍नुभयो, “ती मकहाँ ल्याओ।” अनि उहाँले मानिसहरूलाई हरियो चउरमा बस्‍ने आदेश दिनुभयो। ती पाँच रोटी र दुई माछा लिएर स्वर्गतिर हेरेर उहाँले धन्यवाद दिनुभयो, र रोटी भाँच्नुभयो। तब ती चेलाहरूलाई दिनुभयो, र चेलाहरूले मानिसहरूलाई दिए। तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए। खानेहरूको संख्या स्त्रीहरू र केटाकेटीहरूबाहेक पुरुषहरू मात्र लगभग पाँच हजार थिए। येशूले भीडलाई बिदा गर्न लाग्दा चेलाहरूलाई चाहिँ डुङ्गामा चढेर झट्टै आफूभन्दा अगि पारिपट्टि जान लाउनुभयो। उहाँले भीडलाई बिदा गरिसक्नुभएपछि उहाँ एकलै प्रार्थना गर्न एउटा पहाडमा जानुभयो। रात पर्दा उहाँ त्यहाँ एकलै हुनुहुन्थ्यो

शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्

मत्ती 14:13-23 पवित्र बाइबल (NERV)

जब येशूले यूहन्नामाथि भएका घट्नाहरू सुन्नुभयो, उहाँ एउटा नाउमा चढेर निर्जन ठाउँमा जानूभयो। जब मानिसहरूले येशू गइसक्नु भएको कुरा थाहा पाए। तिनीहरूले आफ्नो शहर छाडेर जमीनको बाटो भएर येशूलाई पछ्याए। जब येशू नाउबाट उत्रनुभयो, त्यहाँ उहाँले मानिसहरूको भीड देख्नुभयो। उहाँ तिनीहरूप्रति अत्यन्त टीठाउनु भयो, अनि तिनीहरूमा विरामी परेकाहरूलाई निको पार्नु भयो। त्यसै अपरान्ह चेलाहरू येशू कहाँ पुगेर भन्नलागे, “यहाँ कुनै मानिस बस्दैनन्। अनि अब धेरे ढिलो भयो, तिनीहरूलाई पठाईदिनुहोस जसमा कि तिनीहरू आफैं गएर आफ्ना निम्ति खानेकुरा किन्न सकून्।” येशूले भन्नुभयो, “मानिसहरू यहाँबाट नजाउन बरू तिमीहरू आफैंले तिनीहरूलाई केही खानेकुराको प्रबन्ध गरिदेऊ।” चेलाहरूले भने, “तर हामीहरूसित जम्मा पाँचवटा रोटी र दुइवटा माछा मात्र छन्।” येशूले भन्नुभयो, “ती रोटी र माछाहरू यहाँ ल्याऊ।” त्यसपछि येशूले सबै मानिसहरूलाई घाँसमा पंक्ति मिलाएर बस्न लगाउनु भयो। उहाँले पाँचवटा रोटी र दुइवटा माछा लिनुभयो। उहाँले आकाशतर्फ हेरेर परमेश्वरलाई धन्यवाद दिनुभयो। त्यसपछि उहाँले रोटीहरू टुक्रा पारेर चेलाहरूलाई ती रोटी दिनुभयो, अनि चेलाहरूले चाँही रोटी मानिसहरू माझ बाडिदिए। सबैले खाए र सन्तुष्ट भए। सबै मानिसहरूले खाना खाइसके, पछि चेलाहरूले उब्रिएका टुक्राहरू बटुलेर बाह्रवटा टोकरीहरूमा भरे त्यहाँ स्त्रीहरू र केटाकेटीहरू बाहेक प्राय पाँच हजार मानिसहरू थिए। तब येशूले चेलाहरूलाई डुङ्गामा चढेर झीलको अर्कोतर्फ जान लगाउनु भयो। उहाँले आफू पछि आउने कुरा भन्नुभयो। मानिसहरूलाई घर पठाउनका निम्ति येशू त्यहाँ बस्नुभयो। मानिहरूलाई बिदा गरिसकेपछि, येशू एक्लै प्रार्थना गर्नलाई डाँडामा चढनुभयो। अबेर सम्म उहाँ एक्लै त्यहाँ बस्नुभयो।

शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्

मत्ती 14:13-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यो खबर सुनेपछि येशू नाउमा चढेर एकान्‍त ठाउँतिर लाग्‍नुभयो। तर येशू जान लाग्‍नुभएको थाहा पाएर मानिसहरू गाउँ-गाउँबाट निस्‍केर पैदलै उहाँको पछि लागे। येशू नाउबाट ओर्लनुहुँदा त मानिसको ठूलो धुइरोले आफूलाई पर्खिरहेको देख्‍नुभयो। त्‍यो धुइरोलाई देखेर उहाँको हृदय मायाले भरिएर आयो अनि उहाँले त्‍यहाँ भएका बिरामीहरूलाई निको पार्नुभयो। साँझ परेपछि चेलाहरूले आएर उहाँलाई भने, “साँझ परिसक्‍यो, यहाँ त केही पनि छैन। यी मानिसहरूलाई गाउँमा जाओ भनिदिनुहोस् र तिनीहरूले त्‍यहाँ गएर खानेकुरा किनेर खाऊन्।” येशूले भन्‍नुभयो, “तिनीहरू जानुपर्दैन, तिमीहरूले नै तिनीहरूलाई खान देओ।” चेलाहरूले भने, “हामीहरूसँग त जम्‍मा पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।” येशूले भन्‍नुभयो, “खै रोटी र माछा मकहाँ ल्‍याओ त।” येशूले मानिसहरूलाई चउरमा बस्‍न लगाउनुभयो। त्‍यसपछि पाँच वटा रोटी र दुई वटा माछा लिनुभयो अनि स्‍वर्गतिर हेर्दै परमेश्‍वरसँग आशीर्वाद माग्‍नुभयो। उहाँले रोटीहरू टुक्राटुक्रा पारेर चेलाहरूलाई दिनुभयो। चेलाहरूले लगेर मानिसहरूलाई बाँडिदिए। सबैले अघाउञ्‍जेल खाए। चेलाहरूले उब्रिएका टुक्राहरू उठाउँदा बाह्र डाला जति भरिए। स्‍वास्‍नी मानिस र केटा-केटीहरूबाहेक लोग्‍ने मानिसहरू मात्रै पाँच हजार जति थिए। यो काम गरिसक्‍नेबित्तिकै येशूले चेलाहरूलाई “नाउमा चढेर पहिले नै ताल पारिपट्टि गइहाल्‍नू,” भनेर अह्राउनुभयो। उहाँ आफूचाहिँ मानिसहरूलाई बिदा गर्न बस्‍नुभयो। तिनीहरूलाई बिदा गरिसकेपछि उहाँ एक्‍लै प्रार्थना गर्न माथि डाँडामा जानुभयो। रात पर्‍यो र येशू एक्‍लै डाँडामा हुनुहुन्‍थ्‍यो।

शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्