मत्ती 14:1-12

मत्ती 14:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यस बेला गालील प्रदेशका शासक हेरोदले येशूको कीर्ति सुने। तिनले आफ्‍ना भारदारहरूलाई भने, “उनी बप्‍तिस्‍मा-दिने यूहन्‍ना हुन्‌। उनी मृतकबाट जीवित भएका छन्‌। यसैकारण शक्तिमा यी कामहरू उनीद्वारा भइरहेछन्‌।” किनभने हेरोदले आफ्‍नो भाइ, फिलिपकी पत्नी हेरोदियासको खातिर यूहन्‍नालाई पक्री बाँधेर कारागारमा हालिदिएका थिए। यूहन्‍नाले हेरोदलाई यसो भनेका थिए, “तपाईंले तिनलाई पत्नीको रूपमा राख्‍नु उचित हुँदैन।” यसैकारण हेरोदले उनलाई मार्ने इच्‍छा गरेका थिए, तर जनतादेखि तिनी डराउँथे, किनभने तिनीहरूले उनलाई अगमवक्ता ठान्‍थे। तर जब हेरोदको जन्‍मदिन आयो, तब हेरोदियासकी छोरीले तिनीहरूका बीचमा नाचेर हेरोदलाई प्रसन्‍न तुल्‍याई। त्‍यसो हुँदा तिनले त्‍यसलाई जे मागे पनि दिने शपथ खाएर प्रतिज्ञा गरे। तर त्‍यसकी आमाले सिकाएकी हुनाले त्‍यसले भनी, “बप्‍तिस्‍मा-दिने यूहन्‍नाको शिर मलाई यहीँ थालमा दिनुहोस्‌।” तब राजा शोकित भए तापनि आफ्‍ना शपथ र अतिथिहरूको कारण तिनले त्‍यसै गर्ने हुकुम दिए, र तिनले कारागारमा यूहन्‍नाको शिर काट्‌न लगाए। अनि उनको शिर थालमा ल्‍याएर त्‍यस ठिटीलाई दिइयो। त्‍यसले त्‍यो आफ्‍नी आमाकहाँ ल्‍याई। त्‍यसपछि यूहन्‍नाका चेलाहरू आएर उनको मृत शरीर लगेर गाड़े। अनि तिनीहरूले गएर येशूलाई खबर दिए।

शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्

मत्ती 14:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यस बेला देशका एक चौथाइ भागका शासक हेरोदले येशूको विषयमा विवरण सुने। तिनले आफ्ना भारदारहरूलाई भने, “यिनी त बप्‍तिस्मा दिने यूहन्‍ना हुन्; जो मरेकाबाट जीवित भएका छन्। त्यसकारण तिनीद्वारा शक्तिशाली कामहरू भइरहेका छन्।” हेरोदले आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यूहन्‍नालाई पक्रेर बाँधेका थिए; र तिनलाई झ्यालखानामा राखेका थिए। किनकि यूहन्‍नाले तिनलाई यसो भनेका थिए: “तपाईंले तिनलाई राख्नु उचित छैन।” हेरोदले यूहन्‍नालाई मार्न चाहेका थिए, तर तिनी मानिसहरूदेखि डराउँथे। किनकि तिनीहरूले यूहन्‍नालाई एक अगमवक्ता भनी मान्दथे। हेरोदको जन्मदिनमा हेरोदियासकी छोरीले पाहुनाहरूका निम्ति नाचेर हेरोदलाई धेरै खुशी पारी। त्यसले जे मागे पनि दिनेछु भनी शपथ खाएर त्यसलाई वचन दिए। आमाले सिकाएअनुसार त्यसले भनी, “यहाँ मलाई एउटा थालमा बप्‍तिस्मा दिने यूहन्‍नाको शिर दिनुहोस्।” यो सुनेर राजा दुःखित भए, तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उनले त्यस बिन्तीलाई पूरा गरिदिने आज्ञा दिए। झ्यालखानामा यूहन्‍नाको शिर काट्न लगाए। तिनको शिर एउटा थालमा ल्याएर त्यस केटीलाई दिइयो; अनि त्यसले त्यो आफ्नी आमाकहाँ लगी। यूहन्‍नाका चेलाहरू आएर तिनको मृत शरीर लगे, र गाडिदिए अनि गएर तिनीहरूले येशूलाई भनिदिए।

शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्

मत्ती 14:1-12 पवित्र बाइबल (NERV)

त्यस समयमा हेरोदले, गालिलका शासकबाट येशूको बारेमा खबर सुनेका थिए। हेरोदले आफ्ना नोकरहरूलाई भने, “यो मानिस साँच्चै बप्तिस्मा दिने यूहन्ना हुन्। उनी मृत्युबाट बौरी उठेछ। यसैले यत्रो आश्चर्यकर्महरू गर्न सक्छ।” यसअघि हेरोदले यूहन्नालाई कैद गरेका थिए। हेरोदले यूहन्नालाई साङ्गलोले बाँधेर कैदमा हालेका थिए हेरोदियासको कारणले। हेरोदियास, हेरोदको दाज्यू फिलिपकी पत्नी थिइन्। यसो भनेका थिए, “तपाईं हेरोदले बुहारीलाई पत्नि बनाएर राख्नु ठीक हुदैन यसकारण यूहन्नालाई पक्रेको थिए।” तर मानिसहरूदेखि उसलाई डर थियो। मानिसहरूले यूहन्नालाई एकजना अगमवक्ता भनी विश्वास गरेका थिए। हेरोदको जन्म दिनमा, हेरोदियासकी छोरीले हेरोद र तिनका अतिथिहरूका निम्ति नाचेर देखाई। हेरोद खूबै खुशी भए। अनि उसले चाहेको कुनै पनि चीज दिने वचन हेरोदले दिए। के चाहिँ माग्नु पर्ने हो हेरोदियसले आफ्नी छोरीलाई सोधी। यसर्थ उसले हेरोदसँग माँगी, “कृपया बप्तिस्मा दिने यूहन्नाको टाउको मलाई एउटा थालमा दिनुहोस्।” राजा हेरोद खूबै दुःखी भए। तर छोरीले जे चाहन्छे त्यो उसलाई दिने शपथ उनले लिएका थिए। अनि हेरोदसँगै खाने मेचमा बसेका मानिसहरूले पनि यो (शपथ) सुनेका थिए। उसले आफ्नी छोरीले चाहेको कुरा ल्याउने आदेश दिए। यसर्थ उनले केही मानिसहरूलाई पठाए अनि तिनीहरूले कैदमा परेका यूहन्नाको टाउको काट्न लगाए। तिनीहरूले यूहन्नाको टाउको एउटा थालमा ल्याए र त्यस केटीलाई दिए। उसले यूहन्नाको टाउको आफ्नी आमा हेरोदियास कहाँ लगे। यूहन्नाका चेलाहरू आए र तिनको देह लगेर गाडे। अनि तिनीहरू येशूकहाँ गए र भएका घट्नाहरूको वर्णन गरे।

शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्

मत्ती 14:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यस बेला गालीलमा राज्‍य गर्ने हेरोदले येशूको बारेमा सुने अनि उनले आफ्‍ना भारदारहरूलाई भने, “यिनी त मारिएका बप्‍तिस्‍मा दिने यूहन्‍ना नै हुन्! उनी फेरि बिउँतेर आएका होलान्। त्‍यसैले त यिनले यस्‍ता शक्तिशाली कामहरू गर्दछन्।” पहिले आफ्‍ना भाइ फिलिपकी स्‍वास्‍नी हेरोदियासको कारणले गर्दा हेरोदले यूहन्‍नालाई बाँधेर थुनामा राखेका थिए किनभने यूहन्‍नाले “आफ्‍नो भाइकी स्‍वास्‍नीलाई यसरी ल्‍याएर राख्‍नु ठीक हुँदैन,” भनेर उनलाई सम्‍झाएका थिए। यसो भनेको हुनाले हेरोदले उनलाई मार्न पनि खोजेका थिए। तर उनी मानिसहरूदेखि डराए किनभने तिनीहरूले यूहन्‍नालाई अगमवक्ता हुन् भनी मान्‍दथे। हेरोदको जन्‍मदिनको खुसीयालीमा हेरोदियासकी छोरीले सबैको अघि खुब राम्रोसँग नाचेर देखाई। यो देखेर हेरोद धेरै खुसी भए अनि उनले शपथ हाल्‍दै केटीलाई भने, “तिमीले जे मागे पनि म तिमीलाई दिनेछु।” अनि त्‍यस केटीले आफ्‍नी आमाले सिकाएको कुरा मानेर भनी, “मलाई अहिले नै बप्‍तिस्‍मा दिने यूहन्‍नाको टाउको थालमा राखेर दिनुहोस्।” यो सुनेर हेरोद चिन्‍तामा परे। तर त्‍यतिका पाहुनाहरूका अगाडि शपथ हालेको हुनाले उनले छोरीको इच्‍छा पूरा गरिदिए। उनले यूहन्‍नाको टाउको झ्‍यालखानमै काट्‍ने हुकुम दिए। काट्‍ने मानिसले यूहन्‍नाको टाउको थालमा ल्‍याएर त्‍यस केटीलाई दियो अनि केटीले आफ्‍नी आमालाई लगेर दिई। त्‍यसपछि यूहन्‍नाका चेलाहरूले आएर उनको लाशलाई लगेर गाडे अनि गएर येशूलाई यो खबर सुनाइदिए।

शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्