मत्ती 12:22-28

मत्ती 12:22-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब उहाँकहाँ भूत लागेको एक जना अन्‍धो र गूँगो मान्‍छे ल्‍याइयो। येशूले त्‍यसलाई निको पार्नुभयो, यतिसम्‍म कि, त्‍यो गूँगो मानिस बोल्‍ने र देख्‍ने भयो। अनि सबै भीड़ले अचम्‍म मानेर भने, “के यिनी दाऊदका पुत्र नै हुन सक्‍छन्‌?” तर यो सुनेर फरिसीहरूले भने, “यस मानिसले भूतको मालिक बालजिबुलद्वारा मात्र भूतहरूलाई धपाउँछ।” तर उहाँले तिनीहरूको विचार थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “आपसमा फूट परेको हरेक राज्‍य उजाड पारिनेछ, र हरेक सहर अथवा परिवार आफ्‍नै बीचमा फाटो पर्‍यो भने टिक्‍नेछैन। यदि शैतानले शैतानलाई निकाल्‍दछ भने, त्‍यो आफ्‍नै विरुद्ध विभाजित हुन्‍छ, र त्‍यसो भए त्‍यसको राज्‍य कसरी टिक्‍न सक्‍छ? यदि मैले बालजिबुलद्वारा भूतहरू धपाउँछु भने, तिमीहरूका छोराहरूले चाहिँ कसद्वारा ती निकाल्‍दछन्‌? यसकारण तिनीहरू नै तिमीहरूका न्‍यायकर्ता हुनेछन्‌। तर यदि परमेश्‍वरका आत्‍माद्वारा म भूतहरू धपाउँछु भने परमेश्‍वरको राज्‍य तिमीहरूमा आइसकेको छ।

शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्

मत्ती 12:22-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब तिनीहरूले उहाँकहाँ एक जना भूत लागेको मानिसलाई ल्याए, जो दृष्‍टिविहीन थियो, र बोल्न पनि सक्दैनथियो; अनि येशूले त्यसलाई निको पार्नुभयो, र त्यसले देख्न र बोल्न पनि सक्यो। ती सबै मानिसहरू छक्‍क पर्दै भने, “के यिनी नै दावीदका पुत्र होइनन् र?” तर जब फरिसीहरूले यो सुने, तब तिनीहरूले भने, “यसले त केवल भूतहरूको शासक बालजिबुलद्वारा मात्रै भूतहरू धपाउँछ।” येशूले तिनीहरूका विचार थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “आपसमा फाटो भएको प्रत्येक राज्य नष्‍ट भएर जान्छ, र प्रत्येक सहर र परिवार आपसमा विभाजित हुन्छ भने त्यो टिक्न सक्दैन। यदि शैतानले शैतानलाई धपाउँछ भने त्यो आफ्नै विरुद्धमा विभाजित भएको हुन्छ; तब त्यसको राज्य कसरी टिक्न सक्छ? यदि म बालजिबुलद्वारा भूतहरू निकाल्छु भने तिमीहरूका मानिसहरूले चाहिँ कसको शक्तिद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्। तर यदि म परमेश्‍वरको आत्माले भूतहरू निकाल्छु भने परमेश्‍वरको राज्य तिमीहरूमा आइसकेको छ।

शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्

मत्ती 12:22-28 पवित्र बाइबल (NERV)

त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशू कहाँ ल्याए। उ अन्धो थियो अनि बोल्न पनि सक्दैनथ्यो किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो। सबै मानिसहरू चकित भए। तिनीहरूले भने, “निश्चयनै यी मानिस नै दाऊदका पुत्र हुन् जसलाई परमेश्वरले हामीकहाँ पठाउने प्रतिज्ञा गर्नु भएको थियो?” जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने तब तिनीहरूले भने, “येशूले मानिसरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो।” येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ त्यसै गरी आफैंमा विभाजन भएको नगर टिक्ने छैन। त्यसरीनै विभाजन भएको कुनै परिवार सफल हुँदैन। यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ। तब कसरी उसको राज्य टिक्न वा चल्न सक्छ? तिमीहरूले भन्दैछौ कि मैले शैतानको शक्तिद्वारा भूतहरू भगाउँदैछु। यदि यो सत्य हो भने, तिम्रा मानिसहरूले भूत भगाउन कुन शक्तिको प्रयोग गर्दैछन्? यसकारण तिमीहरूका आफ्नै मानिसहरूले तिमीहरूको भूल कोट्याउनेछन्। तर म परमेश्वरका आत्माको शक्तिद्वारा भूतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ।

शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्

मत्ती 12:22-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मानिसहरूले भूत लागेर अन्‍धो र लाटो भएको एक जना बिरामीलाई येशूकहाँ ल्‍याए। येशूले उसलाई निको पार्नुभएपछि ऊ देख्‍न र बोल्‍न सक्‍ने भयो। यो देखेर सबै मानिसहरू छक्‍क पर्दै यसरी कुरा गर्न लागे, “के यिनी नै दाऊदका सन्‍तान, मुक्ति दिनुहुने राजा हुन् कि?” यो सुनेर फरिसीहरूले भने, “यसले त भूतकै राजा बालजिबुलको शक्तिले पो भूत निकाल्‍ने गर्छ।” तिनीहरूले यस्‍तो विचार गरेको बुझेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “कुनै पनि देशमा फुट छ भने त्‍यो देश आफैं नाश हुन्‍छ। त्‍यसै गरी कुनै सहर वा घरानामा फुट भएर मारकाट चल्‍यो भने त्‍यो पनि नाश हुन्‍छ। यदि शैतानले आफैंलाई धपाएर आफ्‍नै विरोध गर्छ भने त्‍यसको राज्‍य कसरी टिक्‍न सक्‍छ र? तिमीहरू मलाई भूतको राजा बालजिबुलको शक्तिले भूत निकाल्‍छ भन्‍छौ। त्‍यसो भए तिमीहरूका चेलाहरूले चाहिँ कसको शक्तिले निकाल्‍छन् त? त्‍यसो भए तिमीहरूका आफ्‍ना चेलाहरूले नै तिमीहरूलाई दोषी ठहराउनेछन्। बालजिबुलको शक्तिले होइन, तर म परमेश्‍वरको आत्‍माले भूत निकाल्‍छु र यसैबाट परमेश्‍वरको राज्‍य तिमीहरूको बीचमा आइसकेको छ भन्‍ने कुरा तिमीहरूले थाहा पाउन सक्‍छौ।

शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्