मत्ती 1:1-25

मत्ती 1:1-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अब्राहामका पुत्र, दाऊदका पुत्र, येशू ख्रीष्‍टको वंशावली: अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए, याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता, यहूदा फारेस र जाहेरका पिता थिए। तिनीहरूकी आमा तामार थिइन्‌। फारेस हेस्रोनका पिता, हेस्रोन आरामका पिता, आराम अम्‍मीनादाबका पिता, अम्‍मीनादाब नहशोनका पिता, नहशोन सल्‍मोनका पिता, सल्‍मोन बोअजका पिता थिए। तिनकी आमा राहाब थिइन्‌। बोअज ओबेदका पिता थिए। तिनकी आमा रूथ थिइन्‌। ओबेद यिशैका पिता, यिशै दाऊद राजाका पिता थिए। दाऊद सोलोमनका पिता थिए। सोलोमनकी आमा उरियाहकी पत्‍नी थिइन्‌। सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता, आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, यहोराम उज्‍जियाहका पिता, उज्‍जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता, हिजकिया मनश्‍शेका पिता, मनश्‍शे अमोनका पिता, अमोन योशियाहका पिता, योशियाह यकोनियास र तिनका भाइहरूका पिता थिए। तिनीहरू बेबिलोनमा यहूदीहरूलाई बन्‍दी बनाएर लगिने समयअघि जन्‍मेका थिए। बेबिलोनमा बन्‍दी बनाएर लगिएपछि: यकोनियास शालतिएलका पिता थिए, शालतिएल यरुबाबेलका पिता, यरुबाबेल अबिउदका पिता, अबिउद एल्‍याकीमका पिता, एल्‍याकीम आजोरका पिता, आजोर सादोकका पिता, सादोक आखिमका पिता, आखिम एलिउदका पिता, एलिउद एलाजारका पिता, एलाजार मत्तानका पिता, मत्तान याकूबका पिता थिए। याकूब तिनै योसेफका पिता थिए, जसकी पत्‍नी मरियम थिइन्‌। यिनै मरियमबाट येशूको जन्‍म भयो, जो ख्रीष्‍ट कहलाइन्‍छन्‌। यसरी अब्राहामदेखि दाऊदसम्‍म चौध पुस्‍ता भए, र दाऊदको समयदेखि बेबिलोनमा निर्वासन हुने समयसम्‍म चौध पुस्‍ता, र बेबिलोनमा निर्वासन भएको समयदेखि ख्रीष्‍टको समयसम्‍म चौध पुस्‍ता भए। येशू ख्रीष्‍टको जन्‍म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्‍माद्वारा गर्भवती भएकी थाहा भयो। तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले, तिनलाई शर्ममा पार्ने इच्‍छा नगरी तिनलाई गुप्‍तमै त्‍याग्‍ने इच्‍छा गरे। तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्‍नी मरियमलाई स्‍वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्‍छ, उहाँ पवित्र आत्‍माबाट हुनुहुन्‍छ। तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।” अगमवक्ताद्वारा परमप्रभुले बोल्‍नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्‌: “हेर, कन्‍याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र उहाँको नाउँ इम्‍मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्‍वर हामीहरूसँग।” योसेफ निद्राबाट ब्‍यूँझे, र परमप्रभुका दूतले उनलाई भनेबमोजिम उनले मरियमलाई आफ्‍नी पत्‍नीको रूपमा स्‍वीकार गरे। मरियमले पुत्र नजन्‍माउञ्‍जेल योसेफले तिनीसँग सहवास गरेनन्‌। योसेफले उहाँको नाउँ येशू राखे।

शेयर गर्नुहोस्
मत्ती 1 पढ्नुहोस्

मत्ती 1:1-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अब्राहामका पुत्र, दावीदका पुत्र येशू ख्रीष्‍टको वंशावली: अब्राहाम इसहाकका पिता, इसहाक याकोबका पिता, याकोब यहूदा र तिनका दाजुभाइहरूका पिता, यहूदा फारेस र जेरहका पिता, तिनीहरूकी आमा तामार थिइन्। फारेस हेस्रोनका पिता, हेस्रोन आरामका पिता, आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहशोनका पिता, नहशोन सल्मोनका पिता थिए। सल्मोन बोअजका पिता, तिनकी आमा राहाब थिइन्, बोअज ओबेदका पिता, तिनकी आमा रूथ थिइन्। ओबेद यिशैका पिता, अनि यिशै राजा दावीदका पिता थिए। दावीद सोलोमनका पिता थिए; तिनकी आमा पहिले उरियाहकी पत्नी थिइन्, सोलोमन रहबामका पिता, रहबाम अबीयाहका पिता, अबीयाह आसाका पिता, आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, यहोराम उज्जियाहका पिता, उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता, हिजकिया मनश्शेका पिता, मनश्शे अमोनका पिता, अमोन योशियाहका पिता, अनि योशियाह येकोनिया र तिनका भाइहरूका पिता, तिनीहरू बेबिलोनमा लगिएको समयमा जन्मेका थिए। बेबिलोनमा लगिएपछि: येकोनिया शालतिएलका पिता, शालतिएल यरुबाबेलका पिता, यरुबाबेल अबिहूदका पिता, अबिहूद एल्याकीमका पिता, एल्याकीम आजोरका पिता, आजोर सादोकका पिता, सादोक आखिमका पिता, आखिम एलिहूदका पिता, एलिहूद एलाजारका पिता, एलाजार मत्तानका पिता, मत्तान याकोबका पिता, अनि याकोब योसेफका पिता, जो मरियमका पति थिए। अनि मरियमले ख्रीष्‍ट भनिने येशूलाई जन्म दिइन्। यसरी अब्राहामदेखि दावीदसम्म जम्मा चौध पुस्ता, दावीददेखि बेबिलोनमा लगिएको समयसम्म चौध पुस्ता र बेबिलोनबाट निकाला भएदेखि ख्रीष्‍टसम्म चौध पुस्ता छन्। येशू ख्रीष्‍टको जन्म यसरी भयो: उहाँकी आमा मरियमको मगनी योसेफसित भएको थियो। तर तिनीहरूको विवाह हुनुभन्दा अगि नै यो थाहा भयो, कि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थिइन्। तिनका पति योसेफ एक धर्मी मानिस भएका हुनाले र आफू समाजमा अपमान हुन नचाहेकाले, तिनलाई सुटुक्‍क त्यागिदिने विचार गरे। तर ती दिनहरूमा योसेफले यस्तो विचार गरेपछि प्रभुका एउटा दूतले सपनामा तिनीकहाँ देखा परेर यसो भने, “दावीदको पुत्र योसेफ, मरियमलाई तिम्री पत्नीको रूपमा घर लैजान नडराऊ। किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाम येशू राख्नू। किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ।” यी कुराहरू त्यसरी नै पूरा भए, जसरी प्रभुले आफ्ना अगमवक्ताद्वारा भन्‍नुभएको थियो: “कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँलाई इम्मानुएल भन्‍नेछन्,” जसको अर्थ हो, “परमेश्‍वर हामीसित।” योसेफ बिउँझेपछि प्रभुका दूतले तिनलाई आज्ञा दिएझैँ गरे। अनि मरियमलाई पत्नीको रूपमा घरमा लगे। तर तिनले पुत्र नजन्माउन्जेल तिनीसित सहवास गरेनन्। अनि तिनले उहाँको नाम येशू राखे।

शेयर गर्नुहोस्
मत्ती 1 पढ्नुहोस्

मत्ती 1:1-25 पवित्र बाइबल (NERV)

यो येशू ख्रीष्टको परिवारिक इतिहास हो। उहाँ दाऊद परिवारबाट आउनु भयो। दाऊद अब्राहामको परिवारका हुन्। अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए। याकूब यहूदा र उनका दाज्यू-भाइहरूका पिता थिए। यहूदा पेरेज र जाराका पिता थिए (तिनीहरूकी आमा तामार थिइन्।) पेरेज हेस्रोनका पिता थिए। हेस्रोन आरामका पिता थिए। आराम अमिनादाबका पिता थिए। अमिनादाब नास्सोनका पिता थिए। नास्सोन सल्मोनका पिता थिए। सल्मोन बोअजका पिता थिए। (बोअजकी आमा राहाब थिइन्।) बोअज ओबेदका पिता थिए। (ओबेदकी आमा रूथ थिइन्)। ओबेद यस्सीका पिता थिए। यस्सी राजा दाऊदका पिता थिए। दाऊद सुलेमानका पिता थिए। (सुलेमानकी आमा उरियाकी पत्नी थिइन्।) सुलेमान रोओबामका पिता थिए। रोओबान अबियाका पिता थिए। अबिया आसाफका पिता थिए। आसाफ योसाफातका पिता थिए। योसाफात योरामका पिता थिए। योराम ओजियका पिता थिए। ओजिया योआथामका पिता थिए। योआथाम आहाजका पिता थिए। आहाज एजेकियाका पिता थिए। एजेकिया मनस्सेका पिता थिए। मनस्से आमोसका पिता थिए। आमोस योसियका पिता थिए। योसिया येकोनिया र उसका भाइहरूका पिता थिए। यो त्यसै समयको कुरा हो जुनबेला यहूदीहरूलाई दासका रूपमा बेबिलोनमा लगिएको थियो। तिनीहरूलाई बेबिलोनमा लगिएपछि: येकोनियास शालतिएका पिता थिए। शालतिएल जरूबाबेलका पिता थिए। जरूबाबेल अबिउदका पिता थिए। अबिउद एलियाकिमका पिता थिए। एलियाकिम आजोरका पिता थिए। आजोर सादोकका पिता थिए। सादोक आखिमका पिता थिए। आखिम एलिउदका पिता थिए। एलिउद एलियाजरका पिता थिए। एलियाजर मत्थानका पिता थिए। मत्थान याकूबका पिता थिए। याकूब यूसुफका पिता थिए। यूसुफ मरियमको लोग्ने थिए। अनि मरियमबाट ख्रीष्ट येशूको जन्म भयो। यसरी अब्राहामदेखि दाऊदसम्म चौध पुस्ताहरू थिए। दाऊदको समयदेखि मानिसहरूलाई बेबिलोन पुर्याइने बेलासम्म चौध पुस्ताहरू थिए। अनि यहूदीहरूलाई बेबिलोनमा लगिएदेखि ख्रीष्टसम्म चौध पुस्ताहरू थिए। येशू ख्रीष्टकी आमा मरियमको मगनी यूसुफसँग भएको थियो। तर तिनीहरूको विवाह हुनु भन्दा अघिनै मरियम पवित्र आत्माको शक्तिद्वारा गर्भवती भएकी थिइन्। मरियमका पति, यूसुफ एक धार्मिक मानिस थिए। उनीले मरियमलाई विवाह हुनु अघि मानिसहरूका माझमा लज्जित बनाउन चाँहदैन थिए। यसकारण उनी गोप्य प्रकारले मरियमलाई त्याग्ने पक्षमा थिए। तर जब यूसुफले यसो गर्ने विचार लिए, परमप्रभुका एउटा दूत सपनामा उनीकहाँ आए। दूतले भने, “यूसुफ, दाऊदको पुत्र, मरियमलाई आफ्नी पत्नीको रूपमा ग्रहण गर्न तिमी डराउनु पर्दैन। उनको गर्भमा भएको नानी पवित्र आत्माबाट भएको हो। उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्धार गर्नुहुनेछ।” अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा होस् भनेर यी सबै हुन आएकाहुन्। “कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउने छिन्, तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्नेछन्।” (इम्मानुएलको अर्थ हो “परमेश्वर हामीहरूसित हुनुहुन्छ।”) जब यूसुफ निद्राबाट ब्यूँझे; परमप्रभुका दूतले तिनलाई जे भनेका थिए त्यहि गरे। यूसुफले मरियमलाई विवाह गरे। तर मरियमले पुत्र नजन्माउन्जेलसम्म यूसूफले तिनीसित सहवास गरेनन् अनि यूसुफले पुत्रको नाउँ येशू राखिदिए।

शेयर गर्नुहोस्
मत्ती 1 पढ्नुहोस्

मत्ती 1:1-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अब्राहाम र दाऊदका सन्‍तान येशू ख्रीष्‍टको वंशावली– अब्राहामका छोरा इसहाक थिए, इसहाकका छोरा याकूब, याकूबका छोराहरू यहूदा र उनका दाजुभाइहरू थिए। यहूदाका तामारपट्टिका छोरा फारेस र जाहेर, फारेसका छोरा हेस्रोन, हेस्रोनका छोरा आराम, आरामका छोरा अम्‍मीनादाब, अम्‍मीनादाबका छोरा नहशोन, नहशोनका छोरा सल्‍मोन, सल्‍मोनका राहाबपट्टिका छोरा बोअज, बोअजका रूथपट्टिका छोरा ओबेद, ओबेदका छोरा यिशै र यिशैका छोरा राजा दाऊद थिए। दाऊदका छोरा सोलोमन थिए। तिनकी आमा उरियाहकी स्‍वास्‍नी थिइन्। सोलोमनका छोरा रहबाम, रहबामका छोरा अबिया, अबियाका छोरा आसा, आसाका छोरा यहोशापात, यहोशापातका छोरा यहोराम, यहोरामका छोरा उज्‍जियाह, उज्‍जियाहका छोरा योताम, योतामका छोरा आहाज, आहाजका छोरा हिजकिया, हिजकियाका छोरा मनश्‍शे, मनश्‍शेका छोरा आमोन र आमोनका छोरा योशियाह थिए। बेबिलोन लगिने बेलामा योशियाहका छोरा यकोनियास र तिनका भाइहरू जन्‍मे। बेबिलोनमा लगिएपछि यकोनियासका छोरा शालतिएल जन्‍मे, शालतिएलका छोरा यरुबाबेल, यरुबाबेलका छोरा अबिउद, अबिउदका छोरा एल्‍याकीम, एल्‍याकीमका छोरा आजोर, आजोरका छोरा सादोक, सादोकका छोरा आखिम, आखिमका छोरा एलिउद, एलिउदका छोरा एलाजार, एलाजारका छोरा मत्तान, मत्तानका छोरा याकूब, र याकूबका छोरा योसेफ भए। योसेफचाहिँ येशू ख्रीष्‍टकी आमा मरियमका लोग्‍ने थिए। यिनै मरियमले ख्रीष्‍ट भनिने येशूलाई जन्‍माइन्। यसरी अब्राहामदेखि दाऊदसम्‍म चौध पुस्‍ता हुन्‍छ अनि दाऊददेखि इस्राएलीहरू बेबिलोनमा लगिएको बेलासम्‍म चौध पुस्‍ता नै हुन्‍छ। अनि त्‍यस समयदेखि ख्रीष्‍ट जन्‍मिने समयसम्‍म फेरि चौध पुस्‍ता नै हुन आउँछ। अब येशू ख्रीष्‍टको जन्‍म यसरी भयो– उहाँकी आमा मरियमको योसेफसँग विवाह हुने कुरा छिनिसकेको थियो। उनीहरूको विवाह हुनुभन्दा पहिले नै मरियम पवित्र आत्‍माबाट गर्भवती भएकी थिइन्। योसेफ धर्मी मानिस थिए। त्‍यसो हुँदा उनले मानिसको सामुन्‍ने मरियमलाई नराम्रो नहोस् भनेर सुटुक्‍क त्‍याग्‍ने विचार गरे। यस्‍तो विचार गरिरहँदा परमप्रभुका स्‍वर्गदूत उनको सपनामा देखा परेर भने, “ए दाऊद वंशको योसेफ, तिमी मरियमलाई ल्‍याउन नडराऊ। उनको गर्भ त पवित्र आत्‍माबाट रहेको हो। उनले छोरो पाउनेछिन्। ती बालकको नाउँ तिमीले येशू राख्‍नू किनभने उहाँले आफ्‍ना मानिसहरूलाई पापबाट छुटकारा दिनुहुनेछ।” परमेश्‍वरले अगमवक्ताबाट बोल्‍नुभएका यी कुरा पूरा होऊन् भनेर यो भएको हो– “हेर, कन्‍येकेटीको गर्भ रहनेछ र तिनले छोरो पाउनेछिन्। अनि मानिसहरूले उहाँलाई इम्‍मानुएल भन्‍नेछन्।” इम्‍मानुएल भनेको चाहिँ परमेश्‍वर हामीसित हुनुहुन्‍छ। योसेफ निद्राबाट बिउँझे र स्‍वर्गदूतले सपनामा भनेका कुरा मानेर मरियमलाई विवाह गरी आफूकहाँ ल्‍याए। तर मरियमले छोरो नजन्‍माउञ्‍जेल उनले तिनीसित सहवासचाहिँ गरेनन्। मरियमले छोरा जन्‍माएपछि योसेफले ती बालकको नाउँ येशू राखे।

शेयर गर्नुहोस्
मत्ती 1 पढ्नुहोस्