लूका 5:1-4
लूका 5:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मानिसहरू परमेश्वरको वचन सुन्न उहाँका चारैपट्टि ठेलमठेला गरिरहेका थिए, अनि उहाँ गनेसरेत तालको किनारमा उभिरहनुभएको थियो। उहाँले तालको किनारमा दुई वटा डुङ्गा देख्नुभयो, तर जालहारीहरूचाहिँ डुङ्गा बाहिर बसी आफ्ना जालहरू धोइरहेका थिए। ती दुईमध्ये एउटा डुङ्गाचाहिँ सिमोनको थियो। त्यसमा चढ़ेर उहाँले डुङ्गालाई किनारबाट अलि पर लैजान लाउनुभयो। उहाँले डुङ्गामा बसेर भीड़लाई शिक्षा दिन लाग्नुभयो। बोलिसक्नुभएपछि, उहाँले सिमोनलाई भन्नुभयो, “गहिरोतिर लगेर माछा पक्रनलाई आफ्ना जाल हान।”
लूका 5:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक दिन येशू गनेसरेत तालको छेउमा उभिरहनुभएको थियो। धेरै मानिसहरू उहाँको वरिपरि परमेश्वरको वचन सुन्न ठेलमठेल गरिरहेका थिए। त्यस बेला उहाँले तालको किनारमा मछुवाहरूले छोडिराखेका दुई वटा डुङ्गाहरू देख्नुभयो; मछुवाहरूचाहिँ जाल धोइरहेका थिए। उहाँ ती दुईमध्ये सिमोनको डुङ्गामा चढ्नुभयो, र किनारबाट अलिक पर लैजान भन्नुभयो। उहाँले डुङ्गामा बसेर मानिसहरूलाई शिक्षा दिनुभयो। बोलिसक्नुभएपछि उहाँले सिमोनलाई भन्नुभयो, “डुङ्गालाई गहिरोतिर लैजाऊ, र माछा पक्रन जाल हान।”
लूका 5:1-4 पवित्र बाइबल (NERV)
येशू गनेसरेत झीलको किनारमा उभिनु भयो। उहाँको वरिपरि धेरै मानिसहरू भीड लाग्दै थिए। तिनीहरू परमेश्वरको वचन सुन्न चाहन्थे। येशूले झीलको किनारमा दुइवटा डुङ्गा देख्नु भयो। माछावालाहरू डुङ्गाबाट निस्केर तिनीहरूको माछा मार्ने जालहरू धुँदै थिए। उहाँ एउटा डुङ्गामा चढ्नु भयो जुन शिमोनको थियो अनि उसलाई त्यो डुङ्गालाई किनारको अलिक छेउमा लाउन लागाउनु भयो। तब उहाँ त्यसमा बस्नु भयो अनि मानिसहरूलाई सिकाउन थाल्नु भयो। जब येशूले आफ्नो भनाई सक्नु भयो, उहाँले शिमोनलाई भन्नु भयो, “यो डुङ्गालाई गहिरो पानी तिर लैजाऊ अनि माछा मार्नु जाल फिँजाऊ।”
लूका 5:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक दिन येशू गनेसरेत भन्ने ताल (अर्थात् गालीलको ताल) को किनारामा उभिरहनुभएको थियो। धेरै मानिसहरू परमेश्वरको शिक्षा सुन्न घुइँचो लागेर आए। येशूले तालको किनारमा दुईटा नाउ देख्नुभयो। जालहारीहरू नाउ छोडेर जाल धुन लागेका थिए। एउटा नाउचाहिँ सिमोनको थियो। येशूले त्यही नाउमा चढेर सिमोनलाई ‘नाउ किनारबाट अलिक पर लैजाऊ’ भन्नुभयो र बसेर मानिसहरूलाई शिक्षा दिन लाग्नुभयो। शिक्षा दिइसकेपछि येशूले सिमोनलाई भन्नुभयो, “नाउ गहिरो ठाउँमा लैजाऊ र जाल हान!”