लूका 24:35-53

लूका 24:35-53 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिनीहरूले बाटोमा भएका कुराहरू र रोटी भाँच्‍दाखेरि कसरी तिनीहरूले उहाँलाई चिने, सो बताइदिए। तिनीहरूले यी कुरा गर्दागर्दै येशू तिनीहरूका बीचमा खड़ा हुनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति होस्‌।” तिनीहरू तर्से, र डरले आत्तिए, र “हामीले त प्रेत देखिरहेछौं” भन्‍ने सम्‍झे। तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन विचलित हुन्‍छौ, र तिमीहरूका हृदयमा किन शङ्का उत्‍पन्‍न हुन्‍छ? मेरा हात र मेरा पाउ हेर, म नै हुँ, मलाई छोएर हेर। किनकि प्रेतको मासु र हाड हुँदैन, तर तिमीहरू देख्‍छौ, मेरा त छन्‌।” यसो भन्‍नुभएपछि उहाँले तिनीहरूलाई आफ्‍ना हात र पाउ देखाउनुभयो। तर खुसीले पत्‍यार गर्न नसकी तिनीहरू छक्‍क पर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूसित यहाँ केही खानेकुरो छ?” तिनीहरूले पकाएको माछाको एक टुक्रा उहाँलाई दिए। अनि उहाँले त्‍यो लिएर तिनीहरूकै सामुन्‍ने खानुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यी नै हुन्, अर्थात्‌ मोशाको व्‍यवस्‍था, अगमवक्ता र भजनका पुस्‍तकमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनैपर्छ।” तब धर्मशास्‍त्र बुझ्‍नलाई उहाँले तिनीहरूको समझ खोलिदिनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ, कि ख्रीष्‍टले दुःख भोग्‍नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ, अनि यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्‍चात्ताप र पाप-क्षमाको प्रचार हुनुपर्छ। तिमीहरू यी नै कुराका साक्षी हौ। हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूकहाँ पठाउँछु, तर माथिबाट शक्ति प्राप्‍त नगरुञ्‍जेल तिमीहरू यही सहरमा बसिरहो।” त्‍यसपछि उहाँले तिनीहरूलाई बेथानियासम्‍म लैजानुभयो, र आफ्‍नो हात उचालेर तिनीहरूलाई आशीर्वाद दिनुभयो। उहाँले तिनीहरूलाई आशीर्वाद दिनुहुँदैगर्दा, उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्‍वर्गमा लगिनुभयो। तिनीहरूले उहाँको उपासना गरे, र बड़ो आनन्‍दसाथ यरूशलेम फर्के। अनि तिनीहरू परमेश्‍वरको प्रशंसा गर्दै मन्‍दिरमा निरन्‍तर रहन लागे।

शेयर गर्नुहोस्
लूका 24 पढ्नुहोस्

लूका 24:35-53 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यसपछि ती दुई जनाले बाटोमा के भएको थियो र उहाँले रोटी भाँच्नुहुँदा कसरी येशूलाई तिनीहरूले चिने, सो विषयमा बताए। तिनीहरूले यसैको बारेमा कुरा गर्दागर्दै येशू स्वयम् तिनीहरूका बीचमा उभिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्!” तिनीहरूले एउटा भूत देखेको झैँ भनी ठानेर तिनीहरू विचलित भए, र डराए। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन विचलित हुन्छौ? तिमीहरूका मनमा किन शङ्का उब्जन्छ? मेरा हातहरू र खुट्टाहरू हेर; म नै हुँ! मलाई छोएर हेर, तिमीहरूले अहिले ममा देखेजस्तै मासु र हाड त कुनै भूतको हुँदैन।” यसरी भनिसकेपछि उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टाहरू देखाउनुभयो। अनि जब आनन्द र आश्‍चर्यले गर्दा तिनीहरूले उहाँको कुरा अझै पनि विश्‍वास गरेनन्, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “के तिमीहरूसँग यहाँ केही खानेकुरा छ?” तिनीहरूले उहाँलाई पकाएको माछाको एक टुक्रा दिए। अनि उहाँले त्यो लिनुभयो र तिनीहरूकै सामु खानुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूसँगै हुँदा मैले तिमीहरूलाई भनेको कुरा यही हो: मोशाको व्यवस्था, अगमवक्ताहरू र भजनहरूका पुस्तकमा मेरा विषयमा लेखिएका हरेक कुरा पूरा हुनैपर्छ।” त्यसपछि तिनीहरूले धर्मशास्त्रका कुराहरू बुझ्न सकून् भनेर उहाँले तिनीहरूका समझ खोलिदिनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ: ख्रीष्‍टले दुःख भोग्नेछ र तेस्रो दिनमा मरेकाहरूबाट जीवित भई उठ्नेछ। अनि यरूशलेमदेखि सुरु गरेर सबै राष्ट्रहरूमा उहाँको नाममा पाप क्षमाको पश्‍चात्तापको प्रचार हुनेछ। तिमीहरू यिनै कुराहरूका साक्षी छौ। मेरा पिताले प्रतिज्ञा गर्नुभएको कुरा म तिमीहरूकहाँ पठाउनेछु, तर माथिबाट आउने शक्तिले सुसज्जित नभएसम्म यही सहरमा बसिरहो।” येशूले तिनीहरूलाई यरूशलेमको बाहिर बेथानीको नजिकै लानुभयो। अनि उहाँले आफ्नो हात उचाल्नुभयो र तिनीहरूलाई आशीर्वाद दिनुभयो। तिनीहरूलाई आशीर्वाद दिइरहनुहुँदा उहाँ तिनीहरूबाट अलग हुनुभयो र माथि स्वर्गमा उठाइलगिनुभयो। अनि तिनीहरूले उहाँलाई दण्डवत् गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के। अनि परमेश्‍वरको प्रशंसा गर्दै निरन्तर मन्दिरमा रहन लागे।

शेयर गर्नुहोस्
लूका 24 पढ्नुहोस्

लूका 24:35-53 पवित्र बाइबल (NERV)

त्यसपछि ती दुइजनाले बाटोमा जे भएको थियो सुनाए। तिनीहरूले भने, उहाँले रोटी टुक्रा पार्दा कसरी येशूलाई चिने। जब ती दुइजना मानिसले यी कुराहरू गर्दै थिए, येशू आफैं चेलाहरूको माझमा उभिनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।” तर चेलाहरू अचम्मित भए अनि डराए। तिनीहरूले प्रेत देखिरहेछन् भन्ने पनि सोचे। तर उहाँले भन्नुभयो, “तिमीहरू विचलित हुन्छौ? तिमीहरूले देखेकै कुरामा किन शङ्काका गर्छो? मेरा हात र खुट्टाहरू हेर। म सत्य हुँ। मलाई स्पर्श गर। हेर, मेरो मासु र हड्डी छ। एक भूतको शरीर र हड्डी हुँदैनन्।” तब येशूले आफ्ना हात-खुट्टाहरू देखाउनु भयो। तिनीहरू अत्यन्तै खुशी भएको कारणले अझ विश्वास गर्न सकेन्न्। तिनीहरू अचम्मित भए। येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूसित यहाँ खाने कुरा छ?” तिनीहरूले एकटुक्रा पकाएको माछा उहाँलाई दिए। त्यो लिनु भयो अनि तिनीहरूको अघि खानु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ मैले के भने त्यो सम्झना गर। मैले भने, मोशाको व्यवस्थामा अगमवक्ताहरूको पुस्तकमा मेरो विषयमा भनिएको अनि भजनसंग्रहमा भनिएका प्रत्येक कुरा पूरा हुनेछ।” त्यसपछि उहाँले धर्मशास्त्रहरूमा लेखिएका सबै कुराहरू बुझ्ने मन खोली दिनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएकै छ कि ख्रीष्टलाई मारिनेछ अनि तेस्रो दिनमा उहाँ बौरी उठनु हुनेछ। तिमीहरूले यी सबै घट्ना देख्यौ, तिमीहरू नै साक्षी छौं। तिमीहरू जानु पर्छ अनि सबै मानिसहरूमा प्रचार गर कि तिनीहरूको पापहरू क्षमा गर्न सकिन्छ। तिनीहरूलाई भनिदेऊ कि तिनीहरूले आफ्नो हृदय परिवर्तन गर्नै पर्छ अनि आफ्ना पापहरूको दुःख प्रकट गरून्। यरूशलेमबाट शुरू गरेर मेरो नाममा यी कुराहरू प्रचार गर। सारा संसारका मानिसहरूमा यो सुसमाचारहरू सुनाउनै पर्छ। सुन! मेरो पिताले तिमीहरूको निम्ति केही दिने प्रतिज्ञा गर्नु भएको छ, म यो तिमीहरूलाई पठाउनेछु। तर तिमीहरू स्वर्गबाट शक्ति नपाउरून्जेल यहाँ यरूशलेममा नै पर्खिरहो।” येशूले आफ्ना चेलाहरूलाई बेथानीसम्म लैजानुभयो। उहाँले आफ्नो हात उचाल्नु भयो अनि तिनीहरूलाई आशीर्वाद दिनुभयो। उहाँ तिनीहरूलाई आशीर्वाद दिंदै गर्दा, उहाँ तिनीहरूबाट छुट्टीनुभयो अनि स्वर्गमा उचालिनु भयो। चेलाहरूले उहाँको आराधना गरे। त्यसपछि तिनीहरू यरूशलेम फर्किए। तिनीहरू अत्यन्तै खुशी थिए। सारा समय परमेश्वरको प्रशंसा गर्दै तिनीहरू मन्दिरमा बसे।

शेयर गर्नुहोस्
लूका 24 पढ्नुहोस्

लूका 24:35-53 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अनि ती दुई चेलाले बाटोमा घटेको घटना र येशूले रोटी भाँचेर दिनुहुँदा कसरी उहाँलाई चिनेको कुरा अरू चेलाहरूलाई सुनाए। यी कुराहरूको चर्चा भइरहेको बेलामा येशू अचानक तिनीहरूको बीचमा उभिन्‍नुभयो र भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति होस्।” भूत देखेको हो भनी ठानेर तिनीहरू आत्तिए अनि डराए। तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू यसरी किन डराउँछौ? किन मनमा यस्‍तो शङ्का गर्छौं? मेरो हात-खुट्टा हेर अनि तिमीहरूले मलाई राम्ररी चिन्‍नेछौ। आफ्‍नै हातले मलाई छामेर हेर, तिमीहरूले देखेका यो मेरो हाड र मासुको शरीर हो। तर भूतको त हाड र मासुको शरीर हुँदैन!” यसो भनेर उहाँले तिनीहरूलाई आफ्‍ना हात र खुट्टा देखाउनुभयो। तिनीहरू यति धेरै खुसी र आश्‍चर्यचकित भए कि तिनीहरूले पत्‍याउनै सकेनन्। त्‍यसो हुँदा येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसित केही खानेकुरा छ कि?” तिनीहरूले उहाँलाई पकाएको माछा दिए। उहाँले त्‍यो माछा लिएर तिनीहरूकै सामु खाइदिनुभयो र भन्‍नुभयो, “मैले तिमीहरूसँग हुँदा भनेका कुराहरू अब पूरा हुन आएका छन्। ‘मेरो बारेमा मोशाको व्यवस्था, अगमवक्ताका पुस्‍तकहरू र भजनसंग्रहमा लेखिएका सबै कुरा पूरा हुनुपर्दछ’ भनेर मैले तिमीहरूलाई भनेको थिएँ!” त्‍यसपछि उहाँले तिनीहरूलाई धर्मशास्‍त्रमा लेखिएका कुराहरू बुझ्‍ने शक्ति दिनुभयो र भन्‍नुभयो, “धर्मशास्‍त्रमा यसरी लेखिएको छ– मुक्ति दिने ख्रीष्‍टले दु:ख भोगेर तेस्रो दिनमा फेरि मरेकोबाट बिउँतनेछ। ख्रीष्‍टको नाममा आफ्‍नो पापलाई मानिलिएर पाप गर्न छोड्यो भने पापको क्षमा पाइन्‍छ भन्‍ने कुरा सबैतिर प्रचार गरिनुपर्छ। यो कुरा यरूशलेमबाट सुरु गरेर सबै जातिका मानिसहरूलाई सुनाउनुपर्छ। तिमीहरू नै यी सबै कुराका साक्षी हौ। तर सुन, मेरा पिताले गर्नुभएको प्रतिज्ञा म तिमीहरूकहाँ पठाउनेछु। तर तिमीहरू माथिबाट आउने त्‍यो शक्तिले नभरिएसम्‍म यही सहरमा नै पर्खेर बसिरहो।” त्‍यसपछि येशूले चेलाहरूलाई सहरबाट बेथानिया गाउँतिर लैजानुभयो, त्‍यहाँ पुगेर उहाँले आफ्‍ना हात उठाएर तिनीहरूलाई आशीर्वाद दिनुभयो। आशीर्वाद दिइरहँदा उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्‍वर्गमा लगिनुभयो। तिनीहरूले उहाँलाई दण्‍डवत् गरे अनि अति खुसी हुँदै यरूशलेम सहरतिर फर्के। तिनीहरू सधैँ मन्‍दिरमा भेला हुन्‍थे र परमेश्‍वरलाई स्‍तुति चढाउँथे।

शेयर गर्नुहोस्
लूका 24 पढ्नुहोस्