लूका 22:35-38
लूका 22:35-38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले तिनीहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूलाई थैलो र झोली र जुत्ताविना पठाएको थिएँ, के तिमीहरूलाई कुनै कुराको अभाव भयो?” तिनीहरूले भने, “भएन।” उहाँले भन्नुभयो, “तर अब जसको थैलो छ, त्यसले त्यो बोकोस्, त्यसै गरी झोला पनि बोकोस्। र जससँग तरवार छैन, त्यसले आफ्नो वस्त्र बेचेर एउटा तरवार किनोस्। म तिमीहरूलाई भन्दछु, ‘उहाँ अपराधीहरूसँग गनिनुभयो’ भनी लेखिएको कुरा ममा पूरा हुनैपर्छ। हो, मेरो बारेमा लेखिएको कुरा पूरा भई नै रहेछ।” तब चेलाहरूले भने, “हे प्रभु, हेर्नुहोस्, यहाँ दुई वटा तरवार छन्।” उहाँले भन्नुभयो, “त्यति भए पुग्छ।”
लूका 22:35-38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि येशूले तिनीहरूलाई सोध्नुभयो, “जब मैले तिमीहरूलाई थैली, झोला अथवा जुत्ताविना नै पठाएँ, तब के तिमीहरूलाई कुनै कुराको अभाव भयो?” तिनीहरूले जवाफ दिए, “भएन।” उहाँले तिनीहरूलाई भन्नुभयो, “तर अब भने तिमीहरूसित थैली छ भने त्यो लेओ, र झोला पनि बोक। अनि तिमीहरूसित तरवार छैन भने आफ्नो लुगा बेचेर एउटा किन। यसो लेखिएको छ: ‘उहाँ अपराधीहरूसँग गनिनुभयो,’ अनि म तिमीहरूलाई भन्दछु, यो लेखिएको कुरा मेरो जीवनमा पूरा हुनैपर्छ। हो, मेरो विषयमा जे लेखिएको छ; त्यो पूरा हुन लाग्दैछ।” चेलाहरूले भने, “प्रभु, हेर्नुहोस्, दुईटा तरवारहरू छन्।” उहाँले भन्नुभयो, “भयो, त्यति भए पुग्छ।”
लूका 22:35-38 पवित्र बाइबल (NERV)
तब येशूले प्रेरितहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूले मानिसहरूमा प्रचार गर्न, विना पैसा, झोला अनि जुत्ताहरू विना पठाएँ, के तिमीहरूलाई केही अभाव भयो?” प्रेरितहरूले भने, “भएन।” येशूले तिनीहरूलाई भन्नुभयो, “तर अब तिमीहरूसँग पैसा, थैली जे छ त्यो लैजाऊ। यदी तिमीहरूसँग तरवार छैन भने, आफ्नो कोट बेच र एउटा किनिराख। धर्मशास्त्रले यो भन्छ, ‘मानिसहरूले भने उनी अपराधीहुन्।’ धर्मशास्त्रमा लेखिएका कुरा साँच्चो हुनै पर्छ। यो मेरै विषयमा लेखिएको थियो, अनि अहिले साँच्चो भइरहेछ।” चेलाहरूले भने, “हे प्रभु, हेर्नुहोस्! यहाँ दुइवटा तरवार छन्!” येशूले तिनीहरूलाई भन्नुभयो, “दुइवटा नै प्रशस्त हुनेछ।”
लूका 22:35-38 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले तिनीहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूलाई झोला, जुत्ता र पैसाबिना पठाएँ, के तिमीहरूलाई कुनै कुराको खाँचो भयो?” तिनीहरूले भने, “अहँ, भएन।” येशूले भन्नुभयो, “अबचाहिँ पैसा हुनेले पैसा बोकोस्, झोला हुनेले झोला बोकोस् अनि तरवार छैन भने आफ्नो ओढ्ने बेचेर भए पनि तरवार किनोस्! किनभने म तिमीहरूलाई भन्छु, धर्मशास्त्रमा ‘उनी अपराधीहरूसँग गनिए’ भनी लेखिएको कुरा मेरो जीवनमा पूरा हुनु नै पर्छ। साँच्चै मेरो बारेमा लेखिएका कुरा पूरा भइरहेका पनि छन्।” चेलाहरूले भने, “हेर्नुहोस् प्रभु, यहाँ दुई वटा तरवार छन्।” येशूले जवाफ दिनुभयो, “त्यति भए पुग्छ!”