लूका 20:27-38
लूका 20:27-38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि उहाँकहाँ केही सदुकीहरू आए। मृतकबाट पुनरुत्थान हुँदैन भन्ने तिनीहरूको धारणा थियो। तिनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको विवाहित दाजु निस्सन्तान मर्यो भने, भाइचाहिँले त्यसकी पत्नीलाई विवाह गरी दाज्यूको सन्तान खड़ा गरिदिनुपर्छ। सात भाइ थिए। जेठोले एउटी पत्नी ल्याएर निस्सन्तान मर्यो, र माहिलोले र साहिँलोले त्यसलाई विवाह गरे र त्यसै गरी ती सातै जना निस्सन्तान मरे। पछिबाट त्यो स्त्री पनि मरी। यसकारण मृतकबाट पुनरुत्थान हुँदा त्यो स्त्री तिनीहरूमध्ये कसकी पत्नी हुन्छे? किनकि त्यो सातै जनाकी पत्नी भएकी थिई।” येशूले तिनीहरूलाई भन्नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन्, र विवाह गरिदिन्छन्। तर त्यस युगसम्म पुग्न योग्य ठहरिनेहरूले, र मृतकबाट जीवित भई उठ्न योग्य हुनेहरूले न विवाह गर्छन्, न विवाह गरिदिन्छन्। तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्वर्गदूतहरूसमान हुन्, र पुनरुत्थानका सन्तान भएका हुनाले परमेश्वरका सन्तान हुन्। तर मृतकहरू जीवित भई उठ्नेछन् भन्ने कुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर भनेर पुकार्दा देखाइदिए। उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जीवित छन्।”
लूका 20:27-38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मरेकाहरू पुनरुत्थान हुँदैनन् भनी विश्वास गर्ने समूहका सदुकीहरूमध्ये कोही-कोही यसो भन्ने प्रश्न लिएर येशूकहाँ आए। तिनीहरूले भने, “गुरुज्यू, मोशाले हाम्रा निम्ति लेखिदिएका थिए, कि कुनै मानिसको दाजु निःसन्तान भई पत्नीलाई मात्र छोडेर मर्यो भने त्यस मानिसले त्यो विधवालाई विवाह गरेर उसका दाजुका निम्ति सन्तान उत्पन्न गरिदिनुपर्छ। अब कुनै परिवारमा सात दाजुभाइहरू थिए। पहिलोले विवाह गरेर पत्नी ल्यायो र ऊ सन्तान नभई मर्यो। अनि दोस्रोले त्यसलाई विवाह गर्यो, र ऊ पनि सन्तान नभई मर्यो, त्यसपछि तेस्रोले त्यसलाई विवाह गर्यो; अनि यही प्रकारले सातै जना दाजुभाइहरूले पालैपालो उसलाई विवाह गरे, र तिनीहरू सन्तान नभई नै मरे। अन्त्यमा त्यो स्त्री पनि मरी। अब मरेकाहरू पुनरुत्थान हुँदा त्यो स्त्री कसकी पत्नी हुनेछे? किनकि सातै जनाको त्यससँग विवाह भएको थियो।” येशूले जवाफ दिनुभयो, “यस युगका मानिसहरू विवाह गर्छन् र गराउँछन्। तर त्यस युगसम्म पुग्न, र मरेकाहरूबाट पुनरुत्थान हुन योग्य ठहरिनेहरूले न त विवाह गर्नेछन्, न विवाहमा दिइन्छन्, तिनीहरू कहिल्यै मर्दैनन्; किनकि तिनीहरू स्वर्गदूतजस्तै हुन्। पुनरुत्थानका सन्तान भएकाले तिनीहरू परमेश्वरका सन्तान हुन्। पोथ्राको विवरणमा मोशाले पनि मरेकाहरू जीवित पारिन्छन् भन्ने कुरा देखाएका थिए; किनकि तिनले प्रभुलाई ‘अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर’ भनी पुकार गरेका छन्। उहाँ मरेकाहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका हुनुहुन्छ; किनकि उहाँका निम्ति सबै जीवित छन्।”
लूका 20:27-38 पवित्र बाइबल (NERV)
कोही सदुकीहरू येशूकहाँ आए। तिनीहरू विश्वास गर्दथे कि मानिस मरेपछि फेरि कहिल्यै बौरी उठ्दैन। तिनीहरूले येशूलाई भने, “गुरुज्यू, मोशाले लेख्नु भएको छ कि यदि कुनै विवाहित मानिस सन्तान नजन्माई मर्यो भने उसकी पत्नीलाई उसको भाइले दाज्यूको सन्तानको निम्ति विवाह गर्नुपर्छ अनि दाज्यूको लागि सन्तान जन्माउनु पर्छ। कुनै एक समयमा सातजना दाज्यू-भाइ थिए। जेठाले एउटी स्त्रीलाई विवाह गरे, तर मरिहाले। उसको कुनै सन्तान थिएन। अनि दोस्रो भाइले त्यो विधवालाई विवाह गरे, अनि ऊ पनि मरिहाले। तब तेस्रो भाइले उसलाई विवाह गर्यो अनि उपनि मर्यो। त्यस्तै घट्ना अरू भाइहरूसित पनि घट्यो। तिनीहरू सबै सन्तान नभई मरे। अन्तमा त्यो स्त्री पनि मरी। तर सबै सात दाज्यू-भाइहरूले त्यसलाई विवाह गरेका थिए। अनि जब मानिसहरू मरेर बौरिन्छन् त्यो स्त्री कसकी पत्नी हुन्छे?” येशूले ती सदूकीहरूलाई भन्नुभयो, “पृथ्वीमा मानिसहरूले आपसमा विवाह गर्छन्। तर ती मानिसहरू जसलाई भविष्यको संसारका निम्ति योग्य ठानिन्छ अनि मृत्युबाट उठाई ल्याइन्छ तिनीहरू विवाह गर्दैनन् अथवा तिनीहरूको विवाह गराइदैन। त्यतिवेला तिनीहरू स्वर्गदूत झैं हुनेछन् अनि मर्ने छैनन्। तिनीहरू पुनर्जीवित गराइएकाछन्। मोशाले जलिरहेका पोथ्रोको वर्णन गर्दा स्पष्टरूपले भनेका छन् कि मानिसहरू मृत्युबाट बौरी उठ्नेछन्। परमप्रभुलाई मोशाले ‘अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले भन्नुभएकोछ।’ परमेश्वर मुर्दाहरूको परमेश्वर हुनुहुन्न तर उहाँ जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। सबै मानिसहरू जो परमेश्वरका हुन् तिनीहरू जिउँदो छन्।”
लूका 20:27-38 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
केही सदुकीहरू येशूकहाँ आए। (सदुकी भन्ने धार्मिक समूहका मानिसहरूले चाहिँ मानिस मरेपछि फेरि बिउँतनेछ भन्ने कुरामा विश्वास गर्दैनथे।) तिनीहरूले येशूलाई सोधे, “हे गुरु, मोशाले हामीलाई लेखिदिएको व्यवस्थाअनुसार कसैको दाजु सन्तान नभई मर्यो भने दाजुका लागि सन्तान होस् भनेर भाइले भाउजूलाई बिहे गर्नुपर्छ। अब एक समयमा सात जना दाजुभाइहरू थिए। जेठो दाजुले विवाह गर्यो। तर ऊ छोरा-छोरी नभई मर्यो। त्यसो हुँदा माहिलो भाइले भाउजूलाई बिहे गर्यो, तर ऊ पनि सन्तान नभई मर्यो। त्यसपछि साहिँलो भाइलाई पनि त्यस्तै भयो र त्यसरी नै सातै भाइले पालैसँग भाउजूलाई बिहे गरेर ल्याए, तर सबै जना बिनासन्तान मरे। आखिरमा त्यो स्वास्नी मानिस पनि मरी। मरेकोबाट बिउँतने समयमा त्यो कसकी स्वास्नी हुन्छे? उसलाई सातै भाइले बिहे गरेका थिए।” येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “यस संसारमा हुने मानिसहरूले विवाह गर्छन् अनि गराउँछन्। तर मरेकोबाट बिउँतेर स्वर्ग जानको लागि योग्य ठहरिएका मानिसहरूमा चाहिँ बिहे गर्ने र गराउने कुरा नै हुनेछैन। तिनीहरू फेरि मर्नेछैनन् तर स्वर्गदूतहरूजस्तै हुनेछन्। तिनीहरू मरेकोबाट बिउँतिएका परमेश्वरका सन्तान हुनेछन्। मरेकाहरू बिउँतन्छन् भन्ने कुराको प्रमाण मोशाले राम्ररी दिएका थिए। बलिरहेको पोथ्राको बखानमा उनले प्रभु परमेश्वरलाई ‘अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर’ भनेर पुकारेका छन्। उहाँ त मरेकाहरूको होइन, तर जिउँदाहरूको परमेश्वर हुनुहुन्छ! परमेश्वरको दृष्टिमा त सबै जिउँदा छन्।”