लूका 20:20-26
लूका 20:20-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरू मौका हेर्न लागे, र धर्मी भई टोपल्ने जासूसहरूलाई तिनीहरूले उहाँकहाँ पठाए। येशूले भन्नुभएको कुरामा उहाँलाई फसाएर अधिकारीहरू र हाकिमका हातमा उहाँलाई सुम्पिदिने दाउमा तिनीहरू थिए। तिनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, हामी जान्दछौं, तपाईं ठीक बोल्नुहुन्छ र ठीक सिकाउनुहुन्छ, र कसैको पक्षपात गर्नुहुन्न, तर सत्यतासाथ परमेश्वरको मार्ग सिकाउनुहुन्छ। हामीले कैसरलाई कर तिर्नु उचित छ, कि छैन?” तर उहाँले तिनीहरूको कपट बुझेर तिनीहरूलाई भन्नुभयो, “मलाई एउटा सिक्का देखाओ। यसमा कसको चित्र र कसको नाउँ खोपिएको छ?” तिनीहरूले भने, “कैसरको।” उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण जे कैसरका हुन् कैसरलाई देओ, र जे परमेश्वरका हुन् परमेश्वरलाई देओ।” मानिसहरूका सामुन्ने तिनीहरूले उहाँलाई कुरामा फसाउन सकेनन्, र उहाँको जवाफमा तिनीहरू चकित भएर चूप रहे।
लूका 20:20-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँको चियो गरी मौका हेर्दै, तिनीहरूले धर्मी भएको बहाना गर्ने जासुसहरूलाई उहाँकहाँ पठाए। येशूले भन्नुभएका कुनै कुरामा उहाँलाई फसाई पक्रेर राज्यपालको अधिकार र शक्तिकहाँ उहाँलाई सुम्पिदिन तिनीहरूले दाउ हेरे। ती जासुसहरूले उहाँलाई प्रश्न गरे: “गुरुज्यू, हामी जान्दछौँ कि तपाईंले जे ठिक छ, त्यही बोल्नुहुन्छ र त्यसैको शिक्षा दिनुहुन्छ, र तपाईंले भेदभाव राख्नुहुन्न। तर सत्यता बमोजिम परमेश्वरका मार्ग सिकाउनुहुन्छ। के सिजरलाई हामीले कर तिर्नु उचित छ कि छैन?” तर उहाँले तिनीहरूका बनावटी कुरा देख्नुभयो र भन्नुभयो, “मलाई दिनारको एउटा सिक्का देखाओ। यसमा कसको चित्र र छाप छ?” “सिजरको,” तिनीहरूले जवाफ दिए। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए जे सिजरको हो, त्यो सिजरलाई देओ र जे परमेश्वरको हो, त्यो परमेश्वरलाई देओ।” उहाँले त्यहाँ सारा मानिसहरूको अगि जे भन्नुभयो, त्यस कुरामा उहाँलाई फसाउन तिनीहरू सामर्थ्य भएनन्। उहाँले दिनुभएको जवाफमा आश्चर्यचकित भएर तिनीहरू चुप लागिरहे।
लूका 20:20-26 पवित्र बाइबल (NERV)
यसपछि व्यवस्थाका शास्त्रीहरू र मुख्य पूजाहारीहरूले येशूलाई होसियारीसित चियो गरे। तिनीहरूले केही गुप्तचरहरू येशूकहाँ पठाए अनि तिनीहरूलाई असल मानिस झैं व्यवहार गर्ने भने। तिनीहरूले येशूको भनाईमा केही खोट निकाल्नु चाहान्थे। यदि तिनीहरूले कुनै खोट पाए येशूलाई राज्यपाल अघि सुम्पिदिने थिए, जसको येशूमाथि शक्ति अनि अधिकार थियो। अनि तिनीहरूले येशूलाई सोधे, “गुरुज्यू हामी बुझ्छौ कि तपाईं जे बोल्नु हुन्छ अनि शिक्षा दिनु हुन्छ त्यो सही छ। तपाईं सबै मानिसहरूलाई निष्पक्ष सित त्यहीकुरा सिकाउनु हुन्छ। अनि तपाईं सधैँ नै परमेश्वरको मार्गको विषयमा सत्य सिकाउनु हुन्छ। हामीलाई भन्नुहोस्, के हामीले कैसरलाई कर तिर्नु उचित छ वा छैन?” तर येशूले तिनीहरूको चलाकी चाल पाई हाल्नुभयो। यसर्थ उहाँले तिनीहरूलाई भन्नुभयो, “एउटा सिक्का मलाई देऊ। यो सिक्कामा कसको नाउँ छ? अनि यसमा कसको चित्रको छाप छ?” तिनीहरूले भने, “कैसरको।” येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो हो भने कैसरको चीज कैसरलाई नै देऊ अनि परमेश्वरको परमेश्वरलाई नै देऊ।” उहाँ ज्ञानमय उत्तर सुनेर तिनीहरू छक्क परे। तिनीहरूले केही भन्न सकेनन्। मानिसहरूको अघि तिनीहरूले येशूलाई केही कुरामा पनि पक्रन सकेनन्, यसर्थ तिनीहरू चूपचाप बसे।
लूका 20:20-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसो हुँदा तिनीहरूले उहाँलाई सुटुक्क पक्रने दाउ हेर्न थाले। तिनीहरूले उहाँलाई पक्रेर रोमी बडा-हाकिमको हातमा सुम्पन चाहन्थे। इमानदार भइटोपली ‘येशूसँग कुरा धुतेर फसाऊ’ भनी तिनीहरूले केही मानिसहरूलाई घुस दिएर पठाए। ती सुराकी मानिसहरूले गएर येशूलाई सोधे, “हे गुरु, हामीलाई थाहा छ, तपाईंले भन्नुभएका कुरा र शिक्षा ठीक छन्। तपाईंले मानिसको मुख हेरेर कुरा गर्नुहुन्न, तपाईंले त परमेश्वरको सत्य बाटो नै देखाउनुहुन्छ। तब भन्नुहोस्, के हाम्रो व्यवस्थाअनुसार रोमी सरकारलाई कर बुझाउनु ठीक छ कि छैन?” तिनीहरूको चलाकी बुझेर येशूले भन्नुभयो, “खै, सिक्का देखाओ त, त्यसमा कसको नाउँ र छाप छ?” तिनीहरूले भने, “यसमा त रोमी सम्राट्को नाउँ र छाप छ!” तब येशूले भन्नुभयो, “त्यसो भए सम्राट्को जति सम्राट्लाई देओ र परमेश्वरको जति परमेश्वरलाई देओ।” तिनीहरूले मानिसको सामुन्ने उहाँलाई कुनै कुरामा पनि फसाउन सकेनन् र उहाँको जवाफमा अचम्म मान्दै चुपचाप बसे।