लूका 17:20-37
लूका 17:20-37 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरको राज्य कहिले आउँछ भन्ने फरिसीहरूको प्रश्नको जवाफमा उहाँले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्य देखिने गरी आउँदैन, न त मानिसहरूले भन्नेछन्, ‘हेर, यहाँ छ!’ अथवा ‘त्यहाँ छ!’ किनभने हेर, परमेश्वरको राज्य तिमीहरूकै बीचमा छ।” उहाँले चेलाहरूलाई भन्नुभयो, “ती दिन आउनेछन्, जब तिमीहरू मानिसको पुत्रको कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ, तर तिमीहरूले देख्नेछैनौ। मानिसहरूले तिमीहरूलाई भन्नेछन्, ‘हेर, ऊ त्यहाँ छ!’ अथवा ‘हेर, ऊ यहाँ छ।’ तर नजाओ, र तिनीहरूका पछि नलाग। किनकि जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो पार्छ, मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ। तर पहिले उसले धेरै कष्ट सहनुपर्छ र यस पुस्ताबाट बहिष्कृत हुनुपर्छ। “नोआको दिनमा जस्तो भएको थियो, मानिसको पुत्रको दिनमा पनि त्यस्तै हुनेछ। नोआ जहाजभित्र प्रवेश नहोउञ्जेल मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाहबारी गर्दैथिए। र जलप्रलय आयो, र सबैलाई नष्ट पार्यो। “लोतका दिनमा पनि त्यस्तै भएको थियो, मानिसहरू खाँदैथिए, पिउँदैथिए, किनबेच गर्दैथिए, रोप्दैथिए, बनाउँदैथिए, तर जुन दिन लोत सदोमबाट निस्के, आकाशबाट आगो र गन्धक बर्सेर तिनीहरू सबैलाई नष्ट पार्यो। “मानिसको पुत्र प्रकट हुने दिनमा यस्तै हुनेछ। त्यस दिन जो घरको कौसीमाथि छ, त्यसको मालसामान घरभित्र छ भने ती लिनलाई त्यो तल नझरोस्। त्यसरी नै खेतमा हुने पनि फर्केर नआओस्। लोतकी पत्नीलाई याद गर! जसले आफ्नो प्राण बचाउन खोज्दछ, त्यसले सो गुमाउनेछ, र जसले आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो सुरक्षित राख्नेछ। म तिमीहरूलाई भन्दछु, त्यस रात दुई जना एउटै ओछ्यानमा हुनेछन्। एक जना लगिनेछ र अर्को छोडिनेछ। दुई जना स्त्री एकैसाथ जाँतो पिँधिरहेका हुनेछन्। एउटी लगिनेछे, अर्की छोडिनेछे। [दुई जना मानिस खेतमा हुनेछन्, एक जना लगिनेछ, अर्कोचाहिँ छोडिनेछ।”] अनि तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?” उहाँले तिनीहरूलाई भन्नुभयो, “जहाँ सिनु छ, गिद्धहरू त्यहाँ भेला हुन्छन्।”
लूका 17:20-37 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
फरिसीहरूद्वारा परमेश्वरको राज्य कहिले आउँछ भनी सोधिएपछि येशूले जवाफ दिनुभयो, “परमेश्वरको राज्य तिमीहरूले देखिने गरी आउँदैन, न त मानिसहरूले ‘यो यहाँ छ,’ अथवा ‘त्यहाँ छ,’ भनी भन्नेछन्। किनकि परमेश्वरको राज्य त तिमीहरूभित्र नै छ।” त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “त्यो समय आउँदैछ, जब तिमीहरूले मानिसको पुत्रलाई कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ, तर तिमीहरूले देख्नेछैनौ। मानिसहरूले तिमीहरूलाई, ‘ऊ त्यहाँ छ!’ अथवा ‘हेर, ऊ यहाँ छ!’ भन्नेछन्, तर तिनीहरूका पछि दगुर्दै नजाओ। किनकि जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो हुन्छ, मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ। तर पहिले उसले धेरै कष्टहरू भोग्नुपर्छ, र यस पुस्ताबाट तिरस्कृत हुनुपर्छ। “नोआका दिनहरूमा जस्तो भएको थियो, मानिसको पुत्रको दिनहरूमा पनि त्यस्तै हुनेछ। नोआ जहाजभित्र पसेको दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, र विवाह गरिरहेका थिए र गराइँदैथियो। त्यसै समयमा जलप्रलय आयो र तिनीहरू सबैलाई नष्ट पार्यो। “लोतका दिनमा पनि त्यस्तै भएको थियो। मानिसहरू खाइरहेका, पिइरहेका, किनबेच गरिरहेका, रोपिरहेका र बनाइरहेका थिए। तर लोतले सदोम छोडेकै दिनमा आकाशबाट आगो र गन्धक बर्स्यो, र तिनीहरू सबैलाई नष्ट पार्यो। “मानिसको पुत्र प्रकट हुने दिनमा ठिक यस्तै हुनेछ। त्यस दिन कोही घरको छानामाथि हुनेछ, र त्यसका मालसामान घरभित्र छन् भने ती थोकहरू लैजानलाई त्यो तल नओर्लोस्। त्यसै गरी खेतमा हुने कोही पनि केही लिन फर्केर नजाओस्। लोतकी पत्नीलाई सम्झ! जसले आफ्नो जीवन बचाउन खोज्छ, त्यसले त्यो गुमाउनेछ; र जसले आफ्नो जीवन गुमाउँदछ, त्यसले त्यो बचाउनेछ। म तिमीहरूलाई भन्दछु, त्यस रात दुई जना मानिस एउटै ओछ्यानमा हुनेछन्; एक जना लगिनेछ र अर्को छोडिनेछ। दुई स्त्रीहरू सँगसँगै अन्न पिँधिरहेका हुनेछन्। एउटी लगिनेछ र अर्की छोडिनेछ। दुई जना मानिसहरू खेतमा हुनेछन्, एउटा लगिनेछ र अर्को छोडिनेछ।” तिनीहरूले सोधे, “कहाँ, प्रभु?” उहाँले जवाफ दिनुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू थुप्रिनेछन्।”
लूका 17:20-37 पवित्र बाइबल (NERV)
कोही फरिसीहरूले येशूलाई सोधे, “परमेश्वरको राज्य कहिले आउनेछ?” येशूले भन्नुभयो, “परमेश्वरको राज्य आउँदैछ तर त्यसरि आउँदैन जुन तिम्रो आँखाले देख्न सक्छौ। मानिसहरूले भन्ने छन्, ‘हेर परमेश्वरको राज्य यहाँ छ!’ अथवा, ‘त्यहाँ छ!’ होइन, परमेश्वरको राज्य तिमी भित्रै छ।” तब येशूले चेलाहरूलाई भन्नुभयो, “समय आउनेछ जब तिमीहरूले मानिसको पुत्रको कुनै दिन हेर्नलाई खुबै चाहना गर्नेछौ, तिमीहरू हेर्ने योग्यका हुने छैनौ। मानिसहरूले तिमीहरूलाई भन्नेछन्, ‘हेर्, यो त्यहाँ छ!’ अथवा हेर, ‘यो यहाँ छ!’ जहाँ छौ तिमीहरू त्यहीं बस, टाडा नजाऊ अनि नखोज। “तिमीहरूले यो जान्नेछौ कि मानिसको पुत्र फेरि कहिले आउनु हुन्छ। उहाँको आउने दिन बिजुली जस्तो हुनेछ जुन आकाशको एक अनबाट अर्को अनन्त सम्म चम्कन्छ। तर त्यो भन्दा अघि, मानिसको पुत्रले अनेकौं कष्टहरू सहनु पर्छ अनि यो पुस्ताका मानिसहरूबाट अस्वीकृत हुनुपर्छ। “मानिसको पुत्र आँउदा पनि त्यही हुनेछ जुन नूहको समयमा भएको थियो। नूहको समयमा, जब सम्म नूह डुङ्गामा पसेनन् मानिसहरू खान्थे, पिउँथे, विवाह गर्दै थिए, अनि गाउँदैथिए। तब बाढी आयो अनि सबै नष्ट पार्यो। “यो पनि लूतको समय जस्तै हुनेछ जब परमेश्वरले सदोमको सर्वनाश गर्नुभयो। ती मानिसहरू खाँदै थिए, पिउँदै थिए, किन्दै थिए, विक्री गर्दै थिए, रोप्दै थिए अनि आफ्नै लागि भवनहरू बानउँदै थिए। लूतले शहर छाड्ने समय सम्म मानिसहरू यी सब गरिरहेकै थिए। तब आकाशबाट आगो र गन्धक बर्स्यो अनि प्रत्येकलाई नष्ट पार्यो। जब मानिसको पुत्र आउनु हुन्छ, एकदमै त्यस्तै हुनेछ। “त्यसदिन, यदि कोही मानिस उसको घरको छानामा छ भने, अनि उसको समानहरू घरभित्र छ भने ऊ ती समानहरू लिन जानु पर्दैन। त्यसरी यदि कोही मानिस खेतमा छ भने त्यसले पनि घर फर्किनु पर्दैन। विचार गर, लूतकी पत्नीलाई के भएको थियो। “जुन मानिसले आफ्नो जीवन बचाउँन चाहान्छ उसले त्यो गुमाउनेछ। तर कसैले आफ्नो जीवन गुमाउँछ भने त्यसले त्यो बचाँउनेछ। त्यसबेला एउटा पलङ्गमा दुइजना मानिसहरू एक साथ सुतिरहेका हुनेछन्, एकजनालाई लगिनेछ अनि अर्कोलाई छोडिनेछ। दुइजना स्त्रीहरू एक साथ काम गरिरहेका हुनेछन, एउटीलाई लगिनेछ अनि अर्कीलाई छोडिनेछ।” चेलाहरूले येशूलाई भने, “यो कहाँ हुनेछ, प्रभु?” येशूले उत्तर दिनुभयो, “जहाँ लाश हुन्छ त्यहाँ गिद्धहरू भेला हुन्छन्।”
लूका 17:20-37 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरको राज्य कहिले आउँछ भनेर फरिसीहरूले येशूलाई सोधे। येशूले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्य त देखिने गरेर आउँदैन। कसैले पनि ‘हेर, परमेश्वरको राज्य यहाँ छ वा त्यहाँ छ’ भन्न सक्दैन किनभने परमेश्वरको राज्य त तिमीहरू भित्रै छ।” त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “त्यस्तो समय पनि आउनेछ, जब तिमीहरूले ‘मानव पुत्रको एकै दिन पनि देख्न पाए हुनेथियो’ भनेर भन्नेछौ, तर देख्न पाउनेछैनौ। मानिसहरूले ‘यहाँ हेर’ वा ‘त्यहाँ हेर’ भन्नेछन्, तर त्यस बेला तिमीहरू तिनीहरूको पछि नलाग किनभने म मानव पुत्र आउने दिनमा आकाशको वारपार बिजुली चम्किएजस्तै गरी म देखापर्नेछु। तर यस्तो हुनुभन्दा अघि मैले धेरै दु:ख भोग्नुपर्नेछ अनि यस जातिका मानिसहरूले मलाई इन्कार गर्नेछन्। नोआको पालामा भएजस्तै म मानव पुत्रको समयमा पनि हुनेछ। नोआ जहाजमा पसुञ्जेल पनि मानिसहरू भोज-भतेर खान र बिहेबारी गर्नमा व्यस्त थिए। त्यतिकैमा बाढी आएर सबैलाई नष्ट पार्यो। लोतको समयमा पनि त्यस्तै भएको थियो। मानिसहरू खाने-पिउने, किनबेच गर्ने, बाली लाउने र घर बनाउने काममा लागिरहेका थिए। लोतले सदोम छोडेको दिन नै स्वर्गबाट आगो र गन्धक बर्सेर सबै मरे। म मानव पुत्र फेरि देखा पर्ने बेलामा पनि त्यस्तै हुनेछ। “त्यस बेला छतमा हुनेहरू चीजबीज लिन भित्र जाँदै नजाऊन्, त्यस्तै खेतमा हुनेहरू घर नफर्कून्। लोतकी जहानलाई भएको कुरा सम्झ। आफ्नो जीवन जोगाउन खोज्नेले जीवन गुमाउनेछ। तर आफ्नो जीवन गुमाउनेले चाहिँ जीवन पाउनेछ। म तिमीहरूलाई भन्छु, त्यस रात एउटै ओछ्यानमा सुतेका दुई जना मानिसमध्ये एक जना लगिनेछ र अर्कोचाहिँ छोडिनेछ। फेरि सँगसँगै जाँतो पिंधिरहेका दुई जना स्त्रीमध्ये एउटी लगिनेछ र अर्कीचाहिँ छोडिनेछ। त्यस्तै खेतमा हुने दुई जना मानिसमध्ये एक जना लगिनेछ र अर्कोचाहिँ छोडिनेछ।” चेलाहरूले येशूलाई सोधे, “कहाँ प्रभु?” येशूले जवाफ दिनुभयो, “जहाँ सिनु छ, त्यहाँ नै गिद्धहरू थुप्रिन्छन्।”