लूका 15:18-24

लूका 15:18-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

म उठेर आफ्‍ना बाबुकहाँ जानेछु, र उहाँलाई भन्‍नेछु, “बुबा, मैले स्‍वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु। अब उप्रान्‍त म तपाईंको छोरो भनिने योग्‍यको छैनँ। मलाई तपाईंका ज्‍यालादारी चाकरहरूमध्‍ये एउटासरह तुल्‍याउनुहोस्‌’।” तब त्‍यो उठेर आफ्‍ना बाबुकहाँ गयो। “तर त्‍यो धेरै टाढ़ा छँदा त्‍यसका बाबुले त्‍यसलाई देखे, र तिनी दयाले भरिए, र दौड़ेर गई त्‍यसलाई अँगालो हालेर त्‍यसलाई चुम्‍बन गरे। “छोराले तिनलाई भन्‍यो, ‘बुबा, मैले स्‍वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु। म फेरि तपाईंको छोरो भनिने योग्‍यको छैनँ।’ “तर बाबुचाहिँले आफ्‍ना कमाराहरूलाई भने, ‘झट्टै सबैभन्‍दा असल वस्‍त्र ल्‍याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी, र खुट्टामा जुत्ता लगाइदेओ, र पुस्‍टाइराखेको पशु मार, र हामी खाएर आनन्‍द मनाऔं। किनकि यो मेरो छोरो मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ।’ तब तिनीहरू आनन्‍द मनाउन लागे।

शेयर गर्नुहोस्
लूका 15 पढ्नुहोस्

लूका 15:18-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अब म मेरा बुबाकहाँ फर्केर जानेछु, र उहाँलाई भन्‍नेछु: बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। म अब तपाईंको छोरा भनिने योग्यको छैनँ; मलाई तपाईंका ज्यालादारी सेवकहरूमध्ये एउटासरह बनाउनुहोस्!’ अनि त्यो उठेर आफ्नो बुबाकहाँ गयो। “तर ऊ धेरै टाढामै थियो, तब त्यसका बुबाले त्यसलाई आइरहेको देखेर तिनी त्यसप्रति दयाले भरिए; तब तिनी आफ्नो छोराकहाँ दगुर्दै गई त्यसलाई अँगालो हालेर चुम्बन गरे। “तब छोराले बुबालाई भन्यो, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। म अब तपाईंको छोरा भनिने योग्यको छैनँ।’ “तर बुबाले आफ्ना सेवकहरूलाई भने, ‘छिटो गर! सबैभन्दा असल लुगा ल्याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ। पोसिराखेको मोटो पशु ल्याएर मार। हामी भोज गरौँ, र आनन्द मनाऔँ। किनकि मेरो यो छोरो मरेको थियो, अब फेरि जीवित भएको छ; यो हराएको थियो, र भेट्टाइएको छ।’ अनि तिनीहरूले आनन्द मनाउन थाले।

शेयर गर्नुहोस्
लूका 15 पढ्नुहोस्

लूका 15:18-24 पवित्र बाइबल (NERV)

म उठ्छु अनि यहाँबाट बाबुकहाँ जान्छु अनि म उनलाई भन्नेछु हे पिता! मैले परमेश्वर अनि तपाईंको अघि पनि पाप गरें म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन। मलाई तपाईंकै एकजना नोकर झैं राख्नु होस्।’ यसरी त्यो केटो उठ्यो अनि आफ्नो बाबु भेट्न गयो। “जब निकै पर देखि ऊ आँउदै थियो, त्यसको बाबुले देखे अनि आफ्नो छोरोप्रति बाबुको मनमा खुबै दया जाग्यो। अनि बाबु छोरो भएकहाँ दगुर्दै गएर अँगालो हाले औ म्वाँई खाए। छोरोले तिनलाई भन्यो, ‘हे पिता, मैले परमेश्वर र तपाईंको अघि पाप काम गरेको छु। म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन।’ “तर उसको बाबुले उसको नोकरहरूलाई अह्राए, ‘चाँडो राम्रा-राम्रा लुगाफाटा ल्याऊ अनि यसलाई लगाई देऊ। हातमा औंठी पनि लगाईदेऊ अनि खुट्टामा जुत्ता पनि लगाईदेऊ। त्यो मोटो बाछा ल्याऊ, त्यसलाई मार अनि हामी खाएर भोज मनाउँछौं। किनभने यो मेरो छोरो मरेको थियो, तर अहिले ऊ जीवित फर्की आएको छ। ऊ हराएको थियो, तर उसलाई अहिले पाइएको छ।’ त्यपछि तिनीहरूले भोजको व्यवस्था गरे।

शेयर गर्नुहोस्
लूका 15 पढ्नुहोस्

लूका 15:18-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अब म बुबाकहाँ गएर भन्‍छु– बुबा, मैले परमेश्‍वर र तपाईंको विरोधमा पाप गरें। अब त मलाई तपाईंको छोरा भन्‍न पनि सुहाउँदैन। तर मलाई दया गरी एक जना नोकरजस्‍तै सम्‍झेर राख्‍नुहोस्।’ त्‍यसपछि ऊ उठेर बुबाकहाँ फर्क्‍यो। “बुबाले उसलाई टाढैबाट आइरहेको देखे। उनको हृदय मायाले भरिएर आयो र उनी छोरालाई भेट्‍न दगुरे र खुसी हुँदै छोरालाई अँगालो हालेर म्‍वाइँ खाए। अनि छोराले भन्‍यो, ‘बुबा, मैले परमेश्‍वर र तपाईंको विरोधमा पाप गरेको छु। अब मलाई तपाईंको छोरा भन्‍न पनि सुहाउँदैन।’ तर बुबाचाहिँले नोकरहरूलाई बोलाएर भने, ‘झट्टै सबभन्दा राम्रो लुगा, औँठी र जुत्ता ल्‍याएर यसलाई लगाइदेओ। अनि भोजको लागि सबै कुरो ठीकठाक पार। मोटो बहर काट र खाएर खुसी मनाऔं। मरेको यो मेरो छोरा बाँचेर आयो, ऊ हराएको थियो अब भेटियो!’ तब खुसीयालीको साथमा भोज सुरु भयो।

शेयर गर्नुहोस्
लूका 15 पढ्नुहोस्