लूका 11:37-54

लूका 11:37-54 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

येशू बोलिसक्‍नुभएपछि एक जना फरिसीले उहाँलाई भोजनमा निम्‍तो गरे। उहाँ घरभित्र पसेर खान बस्‍नुभयो। तर खान अघि उहाँले हात नधुनुभएको देखेर ती फरिसी छक्‍क परे। तर प्रभुले तिनलाई भन्‍नुभयो, “तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि त माझ्‍दछौ, तर तिमीहरूको भित्रचाहिँ लूट र दुष्‍टताले भरिएको हुन्‍छ। मूर्ख मानिस हो, जसले बाहिरको भाग बनायो, त्‍यसले नै भित्रको पनि बनाएको होइन र? तर भित्रका थोक दान स्‍वरूप देओ, र तिम्रो निम्‍ति सबै कुरा शुद्ध हुनेछ। “तर तिमी फरिसीहरूलाई धिक्‍कार! किनकि तिमीहरू पुदीना, आरूद र हरेक जडीबुटीको दशांश दिन्‍छौ, तर न्‍याय र परमेश्‍वरका प्रेमको उपेक्षा गर्दछौ। तर अरू कामको पनि उपेक्षा नगरी यी काम पनि तिमीहरूले गर्नुपर्नेथियो। “तिमी फरिसीहरूलाई धिक्‍कार! किनकि तिमीहरू सभाघरहरूमा मुख्‍यमुख्‍य आसन र बजारहरूमा अभिवादन लिन रुचाउँछौ। “तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरू ती चिहानहरू जस्‍ता छौ, जो देखिँदैनन्, अनि चालै नपाई मानिसहरू तीमाथि हिँड्‌छन्‌।” व्‍यवस्‍थाका पण्‍डितहरूमध्‍ये एक जनाले उहाँलाई भने, “गुरुज्‍यू, यी कुरा गरेर तपाईंले त हाम्रो पनि बेइज्‍जत गर्नुहुन्‍छ।” उहाँले भन्‍नुभयो, “तिमी व्‍यवस्‍थाका पण्‍डितहरूलाई पनि धिक्‍कार! किनकि बोक्‍न नसक्‍ने भारी मानिसहरूमाथि तिमीहरू लाद्‌दछौ, तर तिमीहरू आफैचाहिँ एक औँलाले पनि ती भारीहरू छुँदैनौ। “तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरूका पुर्खाहरूले मारेका अगमवक्ताहरूका चिहान तिमीहरू बनाउँछौ। यसरी तिमीहरू आफ्‍ना पुर्खाहरूका काममा साक्षी छौ, र तिनीहरूसँग सहमत हुन्‍छौ, किनकि तिनीहरूले उनीहरूको हत्‍या गरे, र तिमीहरूचाहिँ उनीहरूका चिहान बनाउँछौ। यसैले परमेश्‍वरको बुद्धिले पनि भन्‍दछ, ‘म तिनीहरूकहाँ अगमवक्ताहरू र प्रेरितहरू पठाउनेछु। उनीहरूमध्‍ये कसैलाई तिनीहरूले मार्नेछन्‌ र कसैलाई सताउनेछन्‌। संसारको सुरुदेखि सबै अगमवक्ताहरूका रक्तपातको लेखा यस पुस्‍तासँग लिइनेछ। हो, म तिमीहरूलाई भन्‍दछु, हाबिलको रगतदेखि लिएर, वेदी र मन्‍दिरको पवित्र-स्‍थानको माझमा मारिएका जकरियासम्‍मका रगतको लेखा यस पुस्‍तासँग लिइनेछ। “तिमी व्‍यवस्‍थाका पण्‍डितहरूलाई धिक्‍कार! किनकि तिमीहरूले ज्ञानको साँचो लिन त लियौ, तर तिमीहरू आफै पनि भित्र प्रवेश गरेनौ, अनि अरू पस्‍नेहरूलाई पनि रोक्‍यौ।” जब उहाँ त्‍यहाँबाट निस्‍कनुभयो, तब शास्‍त्रीहरू र फरिसीहरूले उहाँको घोर विरोध गर्दै धेरै विषयहरूमा उहाँलाई प्रश्‍न गर्न थाले, र उहाँको मुखबाट निस्‍केका कुरामा उहाँलाई पक्रने दाउमा बसे।

शेयर गर्नुहोस्
लूका 11 पढ्नुहोस्

लूका 11:37-54 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

येशूले बोलिसक्नुभएपछि एक जना फरिसीले उहाँलाई भोजनमा निम्तो दिए। उहाँ घरभित्र गएर टेबुलमा खान बस्‍नुभयो। तर येशूले भोजन गर्नुअगि हात नधुनुभएको देखेर ती फरिसी छक्‍कै परे। त्यसपछि प्रभुले तिनलाई भन्‍नुभयो, “तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि त सफा गर्दछौ; तर तिमीहरूको भित्री भागचाहिँ लोभ र दुष्‍टताले भरिएको हुन्छ। मूर्ख मानिसहरू हो! जसले बाहिरको भाग बनाउनुभयो, उहाँले नै भित्रको भाग पनि बनाउनुभएको होइन र? तर तिमीहरूभित्र लोभले थुपारेका जे कुराहरू छन्, ती गरिबहरूलाई देओ, र तिमीहरूका निम्ति सबै कुराहरू शुद्ध हुन्छन्। “धिक्‍कार! तिमी फरिसीहरूलाई, किनकि तिमीहरूले परमेश्‍वरलाई पुदिना, आरूद र हरेक जडीबुटीका दशांश दिन्छौ, तर न्याय र परमेश्‍वरको प्रेमलाई तिमीहरू बेवास्ता गर्दछौ। तिमीहरूले पहिलो कार्य नछोडी, यो दोस्रो पनि गर्नुपर्नेथियो। “तिमी फरिसीहरूलाई धिक्‍कार! किनकि तिमीहरू सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र बजारहरूमा आदरपूर्ण अभिवादन लिन रुचाउँछौ। “तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरू सङ्केत नभएका चिहानहरूजस्ता छौ, जसमाथिबाट मानिसहरू थाहै नपाई हिँड्छन्।” व्यवस्थाका विद्वान्‌हरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, यी कुराहरू भनेर तपाईंले हाम्रो पनि बेइज्जत गर्दै हुनुहुन्छ।” येशूले जवाफ दिनुभयो, “तिमी व्यवस्थाका विद्वान्‌हरूलाई पनि धिक्‍कार! किनकि तिमीहरूले मानिसहरूलाई तिनीहरूले बोक्नै नसक्ने भारी लदाउँछौ, तर तिमीहरू आफैँले भने तिनीहरूलाई सहायता गर्न एउटा औँलाले पनि छुँदैनौ। “तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ; तर तिनीहरूलाई तिमीहरूकै पुर्खाहरूले मारेका थिए। यसरी तिमीहरूले आफ्ना पुर्खाहरूले जे गरेका थिए, त्यसमा तिमीहरूको पनि सहमति छ भन्‍ने साक्षी दिन्छौ। किनकि तिनीहरूले अगमवक्ताहरूलाई मारे, अनि तिमीहरू भने उनीहरूका चिहान बनाउँछौ। यसैकारण परमेश्‍वरले आफ्नो बुद्धिमा यसो भन्‍नुभयो, ‘म तिनीहरूकहाँ अगमवक्ताहरू र प्रेरितहरू पठाउनेछु। उनीहरूमध्ये कतिलाई मार्नेछन् र अरूहरूलाई तिनीहरूले सताउनेछन्।’ त्यसकारण संसारको सुरुदेखि अहिलेसम्म भएका सबै अगमवक्ताका रक्तपातको लेखा दिन यही पुस्ता जिम्मेवार रहनेछ। हाबिलको रगतदेखि जकरियाको रगतसम्म, जसको हत्या वेदी र पवित्रस्थानको बीचमा गरिएको थियो। हो, म तिमीहरूलाई भन्दछु, यी सबै कुराको लेखा यो पुस्ताबाट नै लिइनेछ। “तिमी व्यवस्थाका विद्वान्‌हरूलाई धिक्‍कार! किनकि तिमीहरूले ज्ञानमा प्रवेश गर्ने साँचो लगेका छौ। तर तिमीहरू आफैँ पनि भित्र पसेनौ र अरू पस्‍नेहरूलाई पनि तिमीहरूले रोक्यौ।” येशू त्यहाँबाट जानुभएपछि फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँको घोर विरोध गर्न र उहाँलाई प्रश्नहरू सोध्दै घेराउ गर्न थाले। अनि उहाँले बोल्नुहुने जुनसुकै कुरामा पनि तिनीहरूले उहाँलाई पक्रन दाउ खोज्न थाले।

शेयर गर्नुहोस्
लूका 11 पढ्नुहोस्

लूका 11:37-54 पवित्र बाइबल (NERV)

येशू बोली सक्नु भएपछि, एकजना फरिसीले सँगै खाना खानु भनी आग्रह गरे। अनि येशू जानु भयो अनि खान बस्नु भयो। तर खाना खानु भन्दा अघि येशूले हात नधोएको देखेर फरिसी छक्क परे। यसमा प्रभूले भन्नु भुयो, “तिमी फरसीहरू खाली कचौरा अनि थालको बाहिरा पट्टि मात्र धुन्छौ तर भिन्न चाँहि तिमीहरू लोभ औ दुष्टताले भरिएका छौ। तिमीहरू मूर्ख हौ। जसले बाहिरी भाग बनाए उनैले भित्री भाग पनि बनाए। हो कि होइन? तर भित्रपट्टि जो जे छ त्यो गरीब मानसहरूलाई देऊ। त्यसपछि तिमी पनि पूर्णरूपले सफा हुनेछौ। “धिक्कार तिमी फरिसीहरूलाई! तिमीहरूकोमा भएको पुदिना, आरूद अनि बगैंचामा भएका अन्य जम्मै चीजहरूको दशांश परमेश्वरलाई चढाउँछौ, तर तीमीहरू परमेश्वर प्रति न्याय र प्रेम अवहेलना गर्छौ। यही कुराहरू तिमीहरूले गर्नु पर्ने हो जब तिमीहरू अन्य कामहरू गरिरहेका हुन्छौ। “धिक्कार तिमी फरिसीहरूलाई तिमी सभा-घरमाहरूमा मुख्य-मुख्य आसनहरू मात्र चाहान्छौ। त्यसरीनै बजाहरूमा जाँदा मानसहरूले तिमीहरूलाई आदर गरून् भन्ने चाहन्छौ। धिक्कार छ तिमी फारसीहरूलाई किनकि तिमीहरू कसैबाट पनि याद नहुने चिहानहरू जस्ता छौ। मानसहरू नजानिकन त्यहीमाथि भएर हिँड्नेछन्।” व्यवस्थाका शास्त्रीहरू मध्ये एक जनाले येशूलाई भने, “हे गुरुज्यू जब तपाईं ले यी कुराहरू गर्नुहुन्छ, तपाईंले हामीलाई पनि निन्दा गर्नु हुदैंछ।” येशूले उत्तर दिनुभयो, “धिक्कार तिमी व्यवस्थाका शास्त्रीहरूलाई तिमीहरू मानिसहरूलाई यी नियम पालन गर्नु वाध्य गराउँछौ। तर तिमीहरू आफैं भने ती नियमहरू पालन गर्ने चेष्टा समेत गर्दैनौ। धिक्कार तिमीहरूलाई, किनभने तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ। तर ती अगमवक्ताहरू तिनै हुन् जसलाई तिम्रा पूर्खाहरूले मारेका थिए। यसैले यो सिद्ध हुन्छ कि तिमीहरू तिम्रा पुर्खाहरूले गरेका कर्महरूमा सहमत भइरहेकाछौ। तिनीहरूले अगमवक्तहरूको हत्या गरे अनि तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ। यसैले परमेश्वरको ज्ञानले भन्यो, म अगमवक्ताहरू र प्रेरितहरू तिनीहरूका निम्ति पठाउनेछु। तिनीहरूले कोही अगमवक्ताहरू र प्रेरितहरूलाई मार्नेछन् अनि अरूलाई सताउनेछन्। “त्यसैले यो पृथ्वीको सृष्टिदेखि जति पनि अगमवक्ताहरू मरिए वर्तमान पुस्ताका तिमी मानिसहरू यसको निम्ति दण्डित हुनु पर्नेछ। हाबिल देखि जकरिया सम्म जसलाई वेदी र मन्दिर माझ मारिएको थियो तिनीहरू सबैको मृत्युका निम्ति हो। म तिमीहरूलाई भन्छु, आज जति पनि तिमी मानिसहरू बाँचिरहेकाछौ ती काण्डको लागि सबै दण्डित हुनेछौ। “धिक्कार तिमी व्यसथाका शास्त्रीहरू! परमेश्वरको ज्ञानको कुराहरूको चाबी तिमीहरूले लगेका छौ। तिमीहरू आफैंले सिकेनौ, अनि अरूहरूलाई सिक्नु पनि वाधा गर्यौ।” जब येशू जान लाग्नु भयो, व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूले धेरै कष्ट दिए। उहाँलाई धेरै प्रश्नहरूले आक्रमण गरे। उहाँले केही भन्नु हुन्थ्यो कि भनेर तिनीहरूले जालमा फसाँउने चेष्टा गरे।

शेयर गर्नुहोस्
लूका 11 पढ्नुहोस्

लूका 11:37-54 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशूले यो कुरा भनिसकेपछि एक जना फरिसीले उहाँलाई आफ्‍नो घरमा खान बोलाए। येशू तिनको घरमा गएर खान बस्‍नुभयो। येशूले आफूलाई नचोख्‍याई खानुभएको देखेर उहाँलाई निम्‍त्‍याउने फरिसी छक्‍कै परे अनि प्रभुले तिनलाई भन्‍नुभयो, “तिमी फरिसीहरू थाल र कचौरा माझेजस्‍तै आफूलाई बाहिरपट्टि त चोख्‍याउँछौ, तर भित्र भने तिमीहरू लोभ र दुष्‍टताले भरिएका छौ। ए मूर्ख हो, के तिमीहरू बुझ्‍दैनौ? के बाहिरको रूप बनाउनुहुने परमेश्‍वरले भित्री मन पनि बनाउनुभएको होइन र? थाल कचौरामा भएका कुराहरू गरीबलाई दान गर र तिमीहरूको निम्‍ति सबै कुरा चोखो हुनेछन्। “तिमी फरिसीहरूलाई धिक्‍कार! पुदिना, आरूद र अरू जडीबुटीको उब्‍जनीबाट दशांश परमेश्‍वरलाई चढाउँछौ, तर न्‍याय र परमेश्‍वरलाई प्रेम गर्ने कुरालाई चाहिँ वास्‍तै गर्दैनौ। ती अरू कुराको साथसाथै तिमीहरूले न्‍याय र प्रेम पनि गर्ने गर। “तिमी फरिसीहरूलाई धिक्‍कार! सभाघरमा मुख्‍य ठाउँमा बस्‍न र बजारतिर अरूले अभिवादन गरेको चाहन्‍छौ। तिमीहरूलाई धिक्‍कार! तिमीहरू त चिन्‍न नसकिने चिहानजस्‍ता छौ। त्‍यस्‍ता नदेखिने चिहानमाथिबाट त मानिस चालै नपाई हिँड्छन्।” एक जना धर्म-गुरुले येशूलाई भने, “गुरुज्‍यू, यसो भनेर तपाईंले त हाम्रै पनि बेइज्‍जत गर्दै हुनुहुन्‍छ।” येशूले जवाफ दिनुभयो, “तिमी धर्म-गुरुहरूलाई पनि धिक्‍कार! तिमीहरू मानिसलाई धर्म-कर्मको गह्रौँ भारी बोकाउँछौ। तर आफूहरू भने भारी उठाउन त परै जाओस्, औँलालेसम्‍म पनि छुँदैनौ। “तिमीहरूलाई धिक्‍कार! तिमीहरूले आफ्‍नै पिता-पुर्खाले मारेका अगमवक्ताहरूका लागि राम्रा-राम्रा चिहानहरू बनाउँछौ। यसरी तिमीहरूले तिमीहरूका आफ्‍ना पिता-पुर्खाले यस्‍तो काम गरेका छन् भनेर स्‍वीकार गर्छौ। तिनीहरूले अगमवक्ताहरूलाई मारे अनि तिमीहरूले चाहिँ तिनीहरूका चिहान बनाउँछौ। त्‍यसैले सबै कुरा जान्‍नुहुने परमेश्‍वरले अघिबाट नै भन्‍नुभयो, ‘म तिनीहरूकहाँ अगमवक्ता र दूतहरू पठाउनेछु। तर तिनीहरूले कतिलाई खेदो गर्नेछन् र कतिलाई मार्नेछन्।’ यसकारण संसारको सुरुदेखि अहिलेसम्‍म मारिएका अगमवक्ताहरूका रगतको दोषको लेखा यही पुस्‍ताका मानिसहरूले नै दिनुपर्नेछ। हो, म भन्‍छु, हाबिल मारिएको बेलादेखि मन्‍दिर र वेदीको बीचमा मारिएका जकरियासम्‍मका अगमवक्ताहरूको रगतको दोष जति सबै यही पुस्‍ताका मानिसहरूको थाप्‍लोमा नै पर्नेछ। “तिमी धर्म-गुरुहरूलाई धिक्‍कार! तिमीहरूसँग ज्ञान र बुद्धिको ढोका उघार्ने साँचो छ। तर तिमीहरू आफैं पनि भित्र पसेका छैनौ अनि अरूहरूलाई पनि पस्‍न दिएका छैनौ।” येशू त्यहाँदेखि जानुभएपछि धर्म-गुरु र फरिसीहरूले उहाँलाई असाध्‍य विरोध गर्न थाले र उहाँसँग धेरै कुराहरू सोध्‍न लागे। उहाँले जवाफ दिनुहुँदा कतै कुनै भुल भेटिन्‍छ कि भनेर तिनीहरूले दाउ हेर्न थाले।

शेयर गर्नुहोस्
लूका 11 पढ्नुहोस्