लूका 11:24-28

लूका 11:24-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“जब अशुद्ध आत्‍मा मानिसबाट निस्‍केर जान्‍छ, तब त्‍यो ओबानो ठाउँ हुँदो विश्राम खोज्‍न जान्‍छ, र कतै कुनै स्‍थान नपाउँदा, त्‍यसले भन्‍छ, ‘म निस्‍केर आएको मेरै घरमा फर्केर जान्‍छु।’ जब त्‍यो फर्केर आउँछ, त्‍यसले त्‍यो घर बढ़ारेर सजाइराखेको भेट्टाउँछ। तब त्‍यो गएर आफूभन्‍दा ज्‍यादै दुष्‍ट अरू सात वटा आत्‍माहरूलाई साथमा ल्‍याउँछ, र तिनीहरू भित्र पस्‍छन्‌ र त्‍यहाँ बास गर्छन्, र त्‍यस मानिसको पछिल्‍लो दशा पहिलेको भन्‍दा झन्‌ खराब हुन्‍छ।” उहाँले यी कुरा बोल्‍दाबोल्‍दै भीड़बाट कुनै स्‍त्रीले चिच्‍च्‍याएर भनी, “धन्‍य त्‍यो नारी जसले तपाईंलाई गर्भधारण गरिन्‌ र आफ्‍नो दूध खुवाइन्‌।” तर उहाँले भन्‍नुभयो, “बरु तिनीहरू धन्‍य हुन्, जसले परमेश्‍वरको वचन सुन्‍छन्‌ र पालन गर्छन्‌।”

शेयर गर्नुहोस्
लूका 11 पढ्नुहोस्

लूका 11:24-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“जब कुनै अशुद्ध आत्मा कुनै मानिसबाट निस्किन्छ, तब त्यो ओबानो ठाउँहरूमा विश्राम खोज्न जान्छ र त्यसले भेट्टाउँदैन, तब त्यसले भन्छ, ‘म निस्केर आएको घरमा नै फर्केर जानेछु।’ जब त्यो आइपुग्छ, त्यसले त्यो घर सफा गरिएको र सुव्यवस्थित पाउँछ। त्यसपछि त्यो जान्छ, र आफूभन्दा अझै दुष्‍ट अरू सात आत्माहरूलाई लिएर आउँछ। अनि ती सबै भित्र गएर त्यहीँ बस्छन्; र त्यो मानिसको पछिल्‍लो दशा पहिलोभन्दा झन् खराब हुन्छ।” येशूले यी कुराहरू भन्दै गर्नुहुँदा भीडबाट एउटी स्त्रीले कराएर भनी, “ती आमा धन्य हुन्, जसले तपाईंलाई जन्म दिइन् र पालनपोषण गरिन्।” तर उहाँले जवाफ दिनुभयो, “बरु तिनीहरू धन्य हुन्, जसले परमेश्‍वरको वचन सुन्छन् र पालन गर्छन्।”

शेयर गर्नुहोस्
लूका 11 पढ्नुहोस्

लूका 11:24-28 पवित्र बाइबल (NERV)

“जब एकजना मानिसबाट दुष्टात्मा निस्कन्छ, यो बिश्रामको निम्ति ओबानो ठाउँहरू खोजी हिंड्छ। अनि जब यसले कतै बिश्राम गर्ने ठाउँहरू पाउँदैन, यसले भन्छ, ‘म जून घरदेखि बाहिर आएको थिएँ त्यहीं फर्कन्छु।’ जब त्यो आत्मा त्यो घर फर्कन्छ त्यसले त्यो घर बढारिएको पाउँछ। तब त्यो दुष्ट-आत्मा अरू सातवटा दुष्ट-आत्माहरू लिन जान्छ जो त्यो भन्दा अझ दुष्ट छन्। अनि ती सबै आत्माहरू एकसाथ गएर त्यो मानिसभित्र पस्छन् र बास गर्छन्। तब त्यस मानिसको अवस्था पहिलो भन्दा झन् खराब हुन्छ।” जब येशूले यी कुराहरू भन्नु हुँदै थियो एउटी स्त्री जो त्यहाँ थिई येशूलाई यसो भन्दै जोरले कराई, “धन्य हुन ती माता जसले तपाईंलाई गर्भधारण गरिन्! अनि तपाईंलाई स्तन पान गराइन्!” तर उहाँले भन्नुभयो, “मानिसहरू जसले परमेश्वरको वचनहरू सुन्छन् अनि पालन गर्छन् तिनीहरू वास्तविक रूपमा खुशी छन्।”

शेयर गर्नुहोस्
लूका 11 पढ्नुहोस्

लूका 11:24-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“कुनै मानिसबाट भूत निकालेपछि त्‍यो भूत उजाड-स्थानमा चारैतिर गएर आरामसँग बस्‍ने ठाउँ खोज्‍दै हिँड्छ। यस्‍तो ठाउँ कतै पनि नपाउँदा ‘पहिले बसेकै घरमा नै जानुपर्‍यो’ भनेर त्‍यो फर्कन्‍छ। त्‍यहाँ आइपुग्‍दा त्‍यसले अघिको घर सफा र सजिसजाउ भएको भेट्टाउँछ। यो देखेर त्‍यसले अरू सात वटा आफूभन्दा अझ दुष्‍ट भूतहरूलाई डाकेर ल्‍याउँछ र ती सबै भित्र पसेर बसोबास गर्छन्। त्‍यस मानिसको पहिलेको अवस्‍थाभन्दा पछिल्‍लो अवस्‍था झन् डरलाग्‍दो हुन्‍छ।” येशूले कुरा गर्दागर्दै मानिसको हुलबाट एक जना स्‍त्रीले कराएर भनिन्, “तपाईंलाई जन्‍म दिने र दूध खुवाउने आमा कति धन्‍य हुन्!” यो सुनेर येशूले भन्‍नुभयो, “बरु परमेश्‍वरको शिक्षा सुनेर पालन गर्नेहरू पो धन्‍य हुन्!”

शेयर गर्नुहोस्
लूका 11 पढ्नुहोस्