लूका 11:14-23
लूका 11:14-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले एउटा भूत निकालिरहनुभएको थियो, जो गूँगो थियो। भूत निस्केपछि त्यो गूँगो मान्छे बोल्न थाल्यो, र मानिसहरू आश्चर्यचकित भए। तर तिनीहरूमध्ये कसै-कसैले भने, “भूतहरूको मालिक बालजिबुलद्वारा त्यसले भूतहरू निकाल्छ।” अरूहरूले चाहिँ उहाँको परीक्षा गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे। तर तिनीहरूका विचार थाहा पाएर उहाँले तिनीहरूलाई भन्नुभयो, “जुन राज्यमा फूट हुन्छ, त्यो उजाड हुन्छ। जुन घरमा फूट हुन्छ, त्यो नष्ट हुन्छ। शैतानको पनि आफैसँग फाटो भयो भने, त्यसको राज्य कसरी टिक्ला? किनभने तिमीहरू भन्दछौ, कि म बालजिबुलद्वारा भूतहरू धपाउँछु। म बालजिबुलद्वारा भूतहरू निकाल्दछु भने, तिमीहरूका छोराहरूले कसद्वारा तिनीहरूलाई निकाल्छन्? तिनीहरूले नै तिमीहरूको न्याय गर्नेछन्। तर परमेश्वरको औँलाले म भूतहरू निकाल्छु भने, परमेश्वरको राज्य तिमीहरूकहाँ आइसकेको छ। “हतियारले सुसज्जित भई बलवान् मानिसले आफ्नो घरको रक्षा गर्छ भने, त्यसका मालसामानहरू सुरक्षित रहन्छन्। तर त्यसभन्दा बलवान् मानिस आएर त्यसमाथि आक्रमण गरेर त्यसलाई जित्यो भने, उसले भर परेका त्यसका जम्मै हतियारहरू खोसेर लैजान्छ, र त्यसका मालसामानहरू लुटेर बाँड्छ। “जो मेरो पक्षमा छैन, त्यो मेरो विरुद्धमा हुन्छ, र जसले मसँग बटुल्दैन, त्यसले छरपष्ट पार्छ।
लूका 11:14-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक दिन येशूले एउटा लाटो व्यक्तिबाट भूतआत्मा निकालिरहनुभएको थियो। भूतआत्मा निस्केपछि त्यो मानिस बोल्न थाल्यो। यो देखेर भीड छक्क पर्यो। तर तिनीहरूमध्ये कतिले भने, “यिनले त भूतहरूको शासक बालजिबुलद्वारा भूतहरू धपाउँछन्।” अनि अरूहरूले स्वर्गबाट एउटा चिन्ह माग्दै उहाँको परीक्षा गरे। येशूले तिनीहरूका विचार थाहा पाएर तिनीहरूलाई भन्नुभयो: “आपसमा विभाजित भएको हरेक राज्य नष्ट भएर जान्छ। अनि आपसमा विभाजित भएको जुनसुकै घर पनि पतन भएर जान्छ। यदि शैतान पनि आफ्नै विरुद्धमा विभाजित हुन्छ भने त्यसको राज्य कसरी टिक्न सक्छ? मैले बालजिबुलद्वारा भूत निकाल्छु भनी तिमीहरूले दाबी गरेका कारण म यो भन्दैछु। तर यदि म बालजिबुलद्वारा भूतहरू निकाल्छु भने तिमीहरूका चेलाहरूले चाहिँ कसद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्। तर यदि म परमेश्वरको शक्तिद्वारा भूतहरू निकाल्छु भने परमेश्वरको राज्य तिमीहरूमा आइसकेको छ। “किनकि जब कुनै बलियो मानिस हातहतियारले सुसज्जित भई आफ्नो घरको रक्षा गर्दछ, तब त्यसको सम्पत्ति सुरक्षित रहन्छ। तर त्यसभन्दा बलियो अर्को मानिसले त्यसलाई आक्रमण गरेर जित्यो भने त्यो मानिसले भरोसा गरेका हातहतियार त्यसले खोसेर लैजान्छ, र त्यसका मालसामानहरू लुटेर बाँड्छ। “जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ। जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्दछ।
लूका 11:14-23 पवित्र बाइबल (NERV)
कुनै समयमा एकजना मानिसबाट येशूले लाटा बनाउने भूत निकाली दिनुभयो। जब त्यो भूत बाहिर निस्कयो, त्यो मानिस बोल्नु सक्ने भयो। मानिसहरू छक्क परे। तर कोही मानिसहरूले भने, “बालजिबुल, भूतहरूको मालिकको शक्ति प्रयोग गरेर उहाँले भूतहरू भगाउँनु हुन्छ।” अरूले पनि येशूको जाँच लिन चाहन्थे। तिनीहरूले उहाँलाई स्वर्गबाट ल्याएको एउटा चिन्ह देखाउनु लगाए। तर येशूले तिनीहरूको विचार थाह पाउनु भयो। यसकारण येशूले भन्नु भयो, “हरेक राज्य, जो बाँडिएको छ अनि आपसमा झगडा गर्छ भने त्यो आफैं नाश हुन्छ। त्यसरी नै एउटा परिवार आपसमा झगडा गरिरहन्छ भने त्यो पनि नष्ट हुन्छ। यसर्थ, यदि शैतान पनि आपसमा झगडा गरे उसको राज्य कति दिन रहला? तिमीहरू भन्दछौ कि भूतहरू भगाउनलाई मैले बालजिबुलको शक्तिलाई काममा लगाएँ। यदि मैले बालजिबुलको शक्तिलाई लगाएर भूतहरू धपाउँछु भने, तिम्रो मानिसहरूले अरू भूतहरू धपाउँनलाई कुन शक्तिको प्रयोग गर्छन्? यसर्थ तिम्रो आफ्नै मानिसहरूले तिमीहरू भूलमा छौ भन्ने प्रमाण दिन्छन् तर म भूतहरू भगाउन परमेश्वरको शक्ति प्रयोग गर्छु। यसबाट प्रमाण हुन्छ कि परमेश्वरको राज्य तिमीहरूकहाँ आइसकेको छ। “जब कुनै बलवान मानिसले धेरै हात हतियारहरू लिएर आफ्नो घरको रक्षा गर्दछ भने, त्यसको घरमा सबै मालमत्ताहरू सुरक्षित नै रहन्छ। तर यदि ऊ भन्दा बलियो मानिस आएर उसलाई जित्छ भने तब त्यो अझ बलियो मानिसले सब हात हतियाहरू जसमाथि बलियो मानिसको भरोशा थियो खोसेर लैजान्छ। तब त्यो अझ बलियो मानिसको मालहरूमाथि व्यवहार गर्छ। “यदि कुनै मानिस मसँग छैन भने ऊ मेरो विरोधमा छ, जो मानिस मसँग काम गर्दैन ऊ मेरो विरोधमा छ।
लूका 11:14-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक जना मानिसलाई भूतले लाटो बनाएको थियो। अनि येशूले उसभित्र भएको भूत निकालेपछि त्यो मानिस बोल्न थाल्यो। यो देखेर मानिसहरू छक्कै परे। तर तिनीहरूमध्ये कतिले भने, “यिनले त भूतको राजा बालजिबुलको शक्तिले भूत निकालेका हुन्।” कतिले चाहिँ उहाँको जाँच लिन खोज्दै भने, “यो काम परमेश्वरको शक्तिले गरेको हो भने हामीलाई स्वर्गबाट एउटा चिन्ह देखाउनुहोस्।” तिनीहरूको विचार बुझेर येशूले भन्नुभयो, “कुनै पनि देशमा फुट छ भने त्यो आफैं नाश हुन्छ। आफैंभित्र झगडा भएको घर पनि नाश हुन्छ। त्यसैगरी यदि शैतानले आफ्नो विरोध आफैं गर्छ भने त्यसको राज्य कसरी टिक्न सक्छ र? तिमीहरू मलाई भूतको राजा बालजिबुलको शक्तिले भूत निकाल्छ भन्छौ। त्यसो भए तिमीहरूका चेलाहरूले चाहिँ कसको शक्तिले निकाल्छन् त? तिमीहरूका आफ्ना चेलाहरूले नै तिमीहरूले गरेको गलत कुरा देखाइदिन्छन्। मैले परमेश्वरको शक्तिले भूत निकाल्छु भने परमेश्वरको राज्य तिमीहरूको बीचमा आइसकेको छ। हतियार भिरेको बलियो मानिसले घरको हेरचाहा गर्यो भने सबै मालसामानको रक्षा हुन्छ। तर ऊभन्दा बलियो मानिस आयो भने उसलाई जित्छ र उसले भर परेका सबै हतियारहरू खोस्छ अनि सामान पनि लुटेर लगी आफ्ना सहयोगीहरूसँग बाँड्चुँड् गर्छ। मसँग नलाग्ने मानिस मेरो विरोधी हो। मलाई बटुल्न नसघाउनेले बटुलेको पनि छरपस्ट पारिदिन्छ।