लूका 10:25-42
लूका 10:25-42 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
व्यवस्थाका एक जना पण्डित उहाँको परीक्षा गर्न खड़ा भए, र यो प्रश्न गरे, “गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?” उहाँले तिनलाई भन्नुभयो, “व्यवस्थामा के लेखिएको छ? तिमीले के पढ़्यौ?” तिनले भने, “तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर्, र आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्।” उहाँले तिनलाई भन्नुभयो, “तिमीले ठीक जवाफ दियौ। त्यसै गर, र तिमी जिउनेछौ।” तर तिनले आफूलाई धार्मिक देखाउने इच्छा गरेर येशूलाई भने, “मेरो छिमेकीचाहिँ को हो त?” येशूले जवाफ दिनुभयो, “एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदैथियो। त्यो डाँकूहरूको फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटे, र अधमरो पारी छोड़ेर गए। संयोगले एक जना पूजाहारी त्यही बाटो भएर जाँदैथियो, र त्यो अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो। त्यसै गरी एक जना लेवी पनि त्यस ठाउँमा आएर त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो। तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्यो मान्छे भएको ठाउँमा आइपुग्यो, र त्यसलाई देखेर उसको मन दयाले भरियो। र त्यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्नै गधामाथि चढ़ाएर त्यसलाई एउटा पौवामा ल्याई त्यसको हेरचाह गर्यो। भोलिपल्ट उसले चाँदीका दुई सिक्का पौवाको मालिकलाई दिएर भन्यो, ‘यिनको हेरचाह गर, र अरू बढ़ी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु’।” येशूले सोध्नुभयो, “तिम्रो विचारमा यी तीन जनामध्ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो?” तिनले भने, “त्यस मानिसमाथि दया देखाउनेचाहिँ।” तब येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिमी पनि त्यसै गर।” उहाँहरू जाँदैगर्नुहुँदा उहाँ कुनै एउटा गाउँमा पस्नुभयो, र मार्था नाउँ भएकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन्। मरियम नाउँ भएकी तिनकी एउटी बहिनी थिइन्। तिनी येशूका पाउनेर बसेर उहाँको वचन सुन्दथिन्। तर मार्था सेवा-सत्कारको धेरै काममा अल्झेकी थिइन्। तिनले येशूकहाँ आएर भनिन्, “प्रभुज्यू, मेरी बहिनीले सेवा-सत्कारको काममा मलाई एकलै पारेकी छिन्, तपाईं वास्ता राख्नुहुन्न? त्यसलाई भनिदिनोस्, र त्यसले मलाई सघाओस्।” तर येशूले जवाफ दिएर तिनलाई भन्नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराका विषयमा चिन्ता गर्छ्यौ, र व्याकुल हुन्छ्यौ। तर आवश्यकता एउटै कुराको छ, त्यही असल कुरा मरियमले छानेकी छे, जो तिनीबाट खोसिनेछैन।”
लूका 10:25-42 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक समयमा एक जना व्यवस्थाका विशेषज्ञले येशूको परीक्षा गर्न उठे, र उहाँलाई प्रश्न गरे, “गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?” उहाँले भन्नुभयो, “व्यवस्थामा के लेखिएको छ? त्यसलाई तिमी कसरी पढ्छौ?” तब तिनले जवाफ दिए: “ ‘परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण बलले र सम्पूर्ण मनले प्रेम गर,’ र ‘आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर।’” येशूले जवाफ दिनुभयो, “तिमीले ठिक जवाफ दियौ। त्यसै गर, र तिमी बाँच्नेछौ।” तर तिनले आफूलाई धर्मी ठहराउने इच्छा गरेर येशूलाई सोधे, “त्यसो भए मेरो छिमेकी को हो त?” जवाफमा येशूले भन्नुभयो: “एक जना मानिस यरूशलेमबाट यरीहोतिर ओर्लंदैथियो। त्यो डाँकुहरूको फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गै पारे, पिटे र अधमरो बनाएर छोडेर गए। संयोगवश एउटा पुजारी त्यही बाटो भएर आयो, र त्यस अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो। त्यसै गरी एउटा लेवी पनि त्यस ठाउँमा आइपुग्यो, र त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो। तर एक जना सामरी यात्रा गर्दागर्दै त्यो मानिस भएको ठाउँमा आइपुग्यो। त्यसलाई देखेर त्यस सामरीको मन दयाले भरियो। अनि त्यो सामरी त्यसकहाँ गएर त्यसको घाउमा तेल र दाखमद्य लगाएर पट्टी बाँधिदियो। त्यसपछि उसले त्यस मानिसलाई आफ्नै गधामा चढाएर पौवामा लग्यो र त्यसको हेरचाह गर्यो। भोलिपल्ट उसले चाँदीका दुई वटा सिक्का निकालेर पौवाका मालिकलाई दिँदै भन्यो, ‘यिनको हेरचाह गरिदेऊ। अरू बढी खर्च लागेछ भने म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु।’ “अब तिम्रो विचारमा यी तीन जनामध्ये कुनचाहिँ त्यो डाँकुहरूका हातमा पर्ने मानिसको छिमेकी ठहरियो?” व्यवस्थाका ती विद्वान्ले जवाफ दिए, “त्यही मानिस, जसले त्यस मानिसमाथि दया देखायो।” येशूले तिनलाई भन्नुभयो, “जाऊ, र तिमी पनि त्यस्तै गर।” येशू र उहाँका चेलाहरू यात्रा गर्नुहुँदै एउटा गाउँमा आइपुग्नुभयो। त्यहाँ मार्था नाम भएकी एउटी स्त्रीले आफ्नो घरमा उहाँको स्वागत गरिन्। तिनकी मरियम नाम भएकी एउटी बहिनी थिइन्, जो उहाँको वचन सुन्दै प्रभुका पाउमा बसिन्। तर मार्था सेवा-सत्कारका तयारी गर्ने धेरै काममा अल्झिएकी थिइन्। तिनी उहाँकहाँ आइन् र भनिन्, “प्रभु, के तपाईं वास्ता राख्नुहुन्न, मेरी बहिनीले सबै काममा मलाई एकलै पारेकी छिन्? मलाई सघाइदिन तिनलाई भनिदिनुहोस्!” येशूले जवाफ दिनुभयो, “मार्था, ए मार्था, तिमी धेरै कुराहरूका विषयमा चिन्ता गर्छ्यौ र दुःखी हुन्छ्यौ। तर एउटा मात्र कुराको आवश्यकता छ। अनि जे असल छ, मरियमले त्यही छानेकी छिन्। त्यो तिनीबाट खोसिनेछैन।”
लूका 10:25-42 पवित्र बाइबल (NERV)
त्यसपछि एकजना व्यवस्थाका शास्त्री त्यहाँ खडा भए अनि तिनले येशूलाई जाँच्ने चेष्टा गरे। तिनले भने, “हे गुरुज्यु, मैले अनन्त जीवन पाउनलाई के गर्नुपर्छ?” येशूले तिनलाई भन्नुभयो, “व्यावस्थामा के लेखिएको छ? तिमीले त्यसमा के पढ्छौ?” त्यस मानिसले भन्यो, “‘तिमीले परमप्रभु तिम्रो परमेश्वरलाई आफ्नो सारा हृदय, सारा आत्मा सारा शक्ति अनि सारा मनबाट प्रेम गर्नु पर्छ। अनि तिमीले आफैंलाई जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।’” येशूले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो उत्तर सही छ। त्यही गर अनि तिमीले अनन्त जीवन पाउनेछौ।” त्यस मानिसले उहाँको प्रश्नलाई सिद्ध गर्न चाहन्थ्यो। यसर्थ उसले येशूलाई भन्यो, “तर ती मानिसहरू को हुन् जसलाई मैले प्रेम गर्नु पर्छ?” यसको उत्तर येशूले भन्नुभयो, “एकजना मानिस यरूशलेमदेखि यरिको गइरहेको थियो। केही डाँकूहरूले तिनलाई घेरे। तिनीहरूले तिनको लुगा च्याते अनि कुटे। त्यसपछि त्यो मानिसलाई त्यहीं भूईँमा लडाएर छोडिराखे। त्यो मानिस प्रायः मरिसकेको थियो। “संयोगवश एकजना यहूदी पूजाहारी त्यही समय त्यो बाटोमा गइरहेका थिए। त्यो पूजाहारीले जब उसलाई देखे, तिनी त्यस मानिसलाई मद्दत गर्न रोकिएनन् तिनी हिंडिनै रहे। एकजना लेवी पनि त्यही बाटो आयो। उसले त्यस घाइते मानिसलाई देख्यो, तर उ अर्को पट्टि लाग्यो। “त्यसपछि एकजना सामरी त्यही बाटोमा आए। तिनी त्यो घाइते मानिसलाई देखे तिनलाई त्यो मानिसमाथि दया जाग्यो। सामरी त्यस मानिस भएकहाँ गए अनि जैतूनको तेल र दाखरस लगाएर उसको चोटहरूमा पट्टि बाँधिदिए। तब तिनले त्यो घाइते मानिसलाई गधामा चढाए अनि एउटा पौवामा लिएर गए। त्यस मानिसको स्याहार गरे। अर्को दिन, त्यो सामरीले दुइवटा चाँदीको सिक्का पौवाको मालिकलाई दिए। सामरीले भने, ‘यो मानिसको हेरचाह गरिदिनुहोस्। यदि यस मानिसमाथि अझै तिमीले खर्च गरे, म फर्केर आँउदा तिर्नेछु।’” त्यसपछि येशूले भन्नुभयो, “यी तीन जना मध्ये डाकूहरूले घाइते बनाएको मानिसलाई कसले प्रेम दर्शायो?” व्यवस्थाको शास्त्रीले उत्तर दिए, “त्यसैले जसले त्यो मानिसलाई मद्दत गरे।” येशूले तिनलाई भन्नुभयो, “तिमी पनि जाऊ अनि त्यसै गर।” जब येशू र उहाँका चेलाहरू जाँदै थिए, येशू एउटा शहर भित्र पस्नुभयो। मार्था नाउँ गरेकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा सत्कार गरिन्। मार्थाको एउटी मरियम नाउँ गरेकी बहिनी थिइन्। मरियम येशूको पाऊ नेर बसेर उहाँको वचन सुनिरहेकी थिई। तर उसको दिदी मार्थ चाँहि घरको काममा नै व्यस्त थिइन्। मार्थाले धेरै काम गर्नु पर्दा रिसाउँथी। मार्थाले गएर भनी, “हे प्रभु! मेरो बहिनीले मलाई एक्लै घर धन्धामा छोडेकोमा तपाईं व्याकुल हुनु हुन्न? दया गरी त्यसलाई भनिदिनोस् त्यसले मलाई मद्दत गरोस्।” अनि प्रभुले त्यसलाई भन्नुभयो, “मार्था, मार्था, तिमीले धेरै कुराको विषयमा चिन्ता र फिक्री गर्दी रहेछौ। एउटा कुरा चाँहि महत्वपूर्ण हुन्छ। मरियमले आफ्नो लागि कुन असल हो त्यो छानेकी छे अनि त्यो ऊबाट कहिल्यै खोसिनेछैन्।”
लूका 10:25-42 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक जना धर्म-गुरुले आएर येशूलाई फसाउने युक्ति गर्दै भने, “हे गुरु, अजम्मरी जीवन पाउन मैले के गर्नुपर्छ?” येशूले तिनलाई जवाफ दिनुभयो, “यसको बारेमा व्यवस्थाले के भन्छ? त्यसमा तिमीले के पढेका छौ?” उनले भने, “तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो पूरै हृदय, पूरै प्राण, पूरै शक्ति र पूरै मनले प्रेम गर अनि आफ्नो छिमेकीलाई आफैंलाई जस्तै प्रेम गर।” येशूले भन्नुभयो, “तिमीले ठीक भन्यौ। त्यसै गर अनि तिमी बाँच्नेछौ।” तर ती धर्म-गुरुले आफैंलाई ठीक देखाउनलाई भने, “त्यसो भए मेरो छिमेकीचाहिँ को हो त?” येशूले उनलाई जवाफ दिनुभयो, “कुनै एक जना मानिस यरूशलेमबाट यरीहो सहरतिर ओर्लंदै थियो। बाटोमा त्यसलाई डाकुहरूले समातेर नाङ्गो पारेर पिटे र अधमरो बनाएर छाडिदिए। केही बेरपछि एक जना पूजाहारी त्यतैबाट भएर उँधो झरे। तर त्यस घाइते मान्छेलाई देखेर उनी पर-परैबाट गए। त्यसै गरी लेवी कुलका एक जना पूजाहारी पनि त्यतैबाट आए। उनी पनि घाइते मान्छेलाई देखेर परैबाट तर्केर गए। एक जना सामरी पनि त्यतैबाट आए। त्यस घाइते मान्छेलाई देख्दा उनको हृदय दयाले भरिएर आयो र उनी त्यसकहाँ गए। उनले त्यसको घाउमा जैतुनको तेल र अङ्गुरको मद्य लगाइदिए अनि पट्टी बाँधिदिए। त्यसपछि उनले घाइते मान्छेलाई आफ्नो गधामा चढाएर एउटा सानो पाटीमा पुर्याए अनि रातभरि आफैंले त्यसको स्याहार-सुसार गरे। भोलिपल्ट जाने बेलामा उनले पाटीको मालिकलाई चाँदीका दुई सिक्का दिँदै भने, ‘यिनको राम्ररी हेरचाहा गरिदिनोस्। यिनका लागि अरू बढी खर्च लाग्यो भने म फर्केर आउँदा तपाईंलाई दिनेछु’।” यो दृष्टान्तको कथा भन्नुभएपछि येशूले धर्म-गुरुलाई सोध्नुभयो, “यी तीन जनामध्ये कुनचाहिँले डाकुको हातमा पर्ने मानिसलाई छिमेकीको जस्तै व्यवहार गर्यो होला?” तिनले भने, “दया गर्ने मानिसले!” येशूले भन्नुभयो, “जाऊ, तिमी पनि त्यस्तै गर।” येशू र उहाँका चेलाहरू जाँदै गर्नुहुँदा एउटा गाउँमा पुग्नुभयो। त्यहाँ मार्था नाम भएकी स्त्रीले उहाँहरूलाई आफ्नो घरमा स्वागत सत्कार गरिन्। तिनकी मरियम नाम गरेकी एउटी बहिनी थिइन्। उनी प्रभु येशूको पाउनेर बसेर उहाँको शिक्षा सुन्न लागिन्। मार्थाचाहिँ सेवा-सत्कार गर्ने काममा अल्झिरहिन्। आफूले मात्र धेरै काम गर्नुपरेकोले उनले येशूकहाँ आएर भनिन्, “हे प्रभु, भएभरको सबै काम मैले नै गर्नुपर्छ। बहिनीचाहिँ केही पनि गर्दिन। के तपाईं देख्नुहुन्न? त्यसलाई आएर मलाई काम गर्न सघाउन भनिदिनुहोस्।” प्रभु येशूले तिनलाई भन्नुभयो, “ए मार्था, तिमी धेरै कुराको चिन्ता र फिक्री गर्छ्यौ। तर चाहिने कुरो एउटै छ, त्यही नै मरियमले रोजेकी छिन्। यो उनीबाट खोसिनेछैन।”