लेवीहरू 7:1-10

लेवीहरू 7:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“‘दोषबलिका विधि यी नै हुन्‌: यो अति पवित्र छ। जुन ठाउँमा होमबलि मारिन्‍छ, त्‍यही ठाउँमा दोषबलि पनि मारिओस्‌। त्‍यसको रगत वेदीमा वरिपरि छर्किओस्‌। त्‍यसको सबै बोसो, अर्थात्‌ बोसे-पुच्‍छर र आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो, दुवै मिर्गौला र तीमाथिको र कम्‍मरनेरको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्‍ने मासु झिकेर चढ़ाइऊन्‌। पूजाहारीले परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिकै रूपमा ती वेदीमा जलाऊन्‌। यो दोषबलि हो। पूजाहारीका घरानाको कुनै पनि पुरुषले त्‍यो खान सक्‍छ। तर यो चोखो ठाउँमा खाइओस्‌। यो अति पवित्र छ। “‘पापबलि जस्‍तो हो, दोषबलि पनि त्‍यस्‍तै हो। तिनका निम्‍ति एउटै व्‍यवस्‍था छ। जुन पूजाहारीले त्‍यो चढ़ाएर प्रायश्‍चित गर्छन्, त्‍यो तिनैको होस्‌। जुन पूजाहारीले कुनै मानिसले ल्‍याएको होमबलि चढ़ाउँछन्, त्‍यस होमबलिको छाला ती नै पूजाहारीको होस्‌। चुलोमा पकाइएका, र ताई-ताप्‍के र ताउमा बनाइएका सबै अन्‍नबलि ती चढ़ाउने पूजाहारीका होऊन्‌। अनि तेलमा मुछेका वा फुका सबै अन्‍नबलि हारूनका सबै छोराहरूले बराबर गरी पाऊन्‌।

शेयर गर्नुहोस्
लेवीहरू 7 पढ्नुहोस्

लेवीहरू 7:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“ ‘दोषबलिका नियमहरू यिनै हुन्, जो अति पवित्र छ: दोषबलिलाई होमबलि मारिएको ठाउँमा मारियोस्। अनि त्यसको रगत वेदीको चारैतिर छर्कियोस्। त्यसका सबै बोसो चढाइनुपर्छ। बोसे पुच्छर र भित्री भागलाई छोप्ने बोसो, कम्मरनिरका दुवै मिर्गौला र ती नजिकको बोसो, कलेजोलाई छोपेको बोसो, जसलाई मिर्गौलाहरूसितै निकाल्नुपर्छ। पुजारीले तिनलाई याहवेहका निम्ति अग्निबलिको रूपमा वेदीमाथि जलाऊन्, यो दोषबलि हो। पुजारीको परिवारको कुनै पनि पुरुषले त्यो खान सक्छ। तर त्यसलाई पवित्रस्थानमा खाइयोस्; यो अति पवित्र छ। “ ‘दोषबलिका नियमहरू पाप शुद्धीकरण बलि समान हुन्: तिनका निम्ति एउटै व्यवस्था छ। जुन पुजारीले त्यो चढाएर प्रायश्‍चित गर्छ, त्यो त्यसैको हो। कसैका निम्ति होमबलि चढाउने पुजारीले त्यसको छाला आफ्नै निम्ति राख्न सक्छ। चुलोमा पकाइएका अथवा ताप्के वा तावामा पकाइएका हरेक अन्‍नबलि त्यसलाई चढाउने पुजारीको हो। जैतुन तेलसँग मिसाइएको अथवा सुक्खा हरेक अन्‍नबलि हारूनका सबै छोराहरूका निम्ति बराबर भाग हो।

शेयर गर्नुहोस्
लेवीहरू 7 पढ्नुहोस्

लेवीहरू 7:1-10 पवित्र बाइबल (NERV)

“दोषबलिको नियम यही हो। यो अत्यन्तै पवित्र छ। जहाँ सबै होमबलि मारिन्छ त्यही ठाउँमा दोषबलिको पनि त्यही गरियोस्। अनि वेदीको वरीपरि सबैतिर त्यसको रगत छर्कोस्। “त्यसको सबै बोसो, बोसे पुच्छर, आन्द्रा भुँडी छोप्ने बोसो, दुवै मृगौला र त्यसमाथि भएको बोसो, मिगौलासमेत मांशपेशीको तल्लो भागको बोसो अनि कलेजालाई ढाक्ने मासु मृगैला सितै निकाल्नु पर्छ र चढाउनु पर्छ। पूजाहारीले ती भागहरूलाई परमप्रभुको निम्ति वेदीमा दोषबलिको रूपमा जलाउनु पर्छ। “अनि पूजाहारीको घरका प्रत्येक पुरूष मानिसले त्यो खान सक्छ। यो एकदमै पवित्र हो दोषबलि पवित्र ठाउँमा खानुपर्छ। दोषबलि पापबलि जस्तै हो। यी दुवैको निम्ति नियमहरू एउटै छन्। बलि पूजाहरीको हो जसले ऊसित प्रायश्चित गर्छ। अनि यो उसको खाद्य हो। जब पूजाहारीले होमबलि चढाउनु हुन्छ, त्यसको छाला पूजाहारी कै हुन्छ। अनि प्रत्येक अन्नबलि जो चुलामा पकाएर अथवा तावामा अथवा ताप्केमा पकाएको जुन पूजाहारीले चढाउँछ त्यो उसैको हुन्छ। तर अर्को अन्नबलि जो तेलमा मिसाएर अथवा सुख्खा बनाइन्छ त्यो बराबरी भागमा हारूनका छोराहरूको हुन्छ।

शेयर गर्नुहोस्
लेवीहरू 7 पढ्नुहोस्

लेवीहरू 7:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दोषबलि चढाउने नियमहरू यी हुन्, यो एउटा अति पवित्र बलि हो। यस बलिमा चढाइने पशु वेदीको उत्तरपट्टि मारिनुपर्छ, जहाँ होमबलिका पशुहरू मारिन्‍छन् र त्‍यसको रगत वेदीको चारैपट्टि छर्किनुपर्छ। त्‍यसको सबै बोसो निकालेर वेदीमा चढाउनुपर्छ, बोसे-पुच्‍छर र भित्री अङ्‍गमाथिको बोसो र बोसोसहित मृगौला र कलेजोको सर्वोत्तम बोसे भाग त्‍यसरी चढाइनुपर्छ। सबै बोसो पूजाहारीले वेदीमा बलि चढाओस्। त्‍यो दोषबलि हो। पूजाहारीहरूको परिवारले पुरुषले त्‍यो खाओस्, तर त्‍यो पवित्रस्‍थानमा खाइयोस् किनभने त्‍यो अति पवित्र छ। पापबलि र दोषबलि दुवैमा एउटै नियम लागू हुनेछ– मासुचाहिँ बलि चढाउने पूजाहारीकै हुनेछ। होमबलि चढाइएका पशुको छालाचाहिँ पूजाहारीकै हुनेछ। चुलामा सेकाएको वा भाँडा वा ताप्‍केमा पकाएको हरेक अन्‍नबलि परमेश्‍वरकहाँ बलि चढाउने पूजाहारीकै हो। तर नपकाएको अन्‍नबलि तेल मुछेको होस् वा सुक्‍खा, सबै हारूनवंशी पूजाहारीहरूको हो र तिनले त्‍यो बराबर बाँडून्।

शेयर गर्नुहोस्
लेवीहरू 7 पढ्नुहोस्