लेवीहरू 6:1-7
लेवीहरू 6:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “यदि कसैले यी अपराधहरू गरेर परमप्रभुको विरुद्धमा पाप र विश्वासघात गर्यो भने, जस्तो कि— कसैले राख्न दिएको कुरा, बन्धकमा राखेको कुरा वा चोरीको कुरामा छिमेकीसँग झूट बोल्यो भने, अथवा छिमेकीबाट केही हरण गर्यो वा हराएको कुरा पाएर पनि झूट बोल्यो, अथवा झूटो शपथ खायो भने, अथवा मानिसहरूले गरिरहने यस्ता पापहरूमध्ये कुनै एउटा पाप गर्यो भने— जब त्यसले यसरी पाप गरेर दोषी भएको छ, तब त्यसले चोरेको, हरण गरेको, पचाएर राखेको माल अथवा हराएर पाएको थोक, अथवा जुनसुकै कुरा जसको बारेमा त्यसले झूटा शपथ खाएको छ, त्यसले यी सबै कुरा यिनीहरूमा पाँचौँ हिस्सा थपेर पूरा फर्काइदिनुपर्छ। त्यसले दोषबलि चढ़ाउने दिनैमा त्यो माल जसको हो, उसैलाई त्यसले दिनुपर्छ। अनि त्यसले पूजाहारीकहाँ, अर्थात् परमप्रभुकहाँ ठीक मोलबमोजिम एउटा निष्खोट भेड़ा आफ्नो दोषबलिको निम्ति ल्याओस्। यसरी पूजाहारीले त्यसको निम्ति परमप्रभुको सामु प्रायश्चित गर्नेछन्, र जुन कुराको कारणले त्यो दोषी ठहरिएको हो, त्यो त्यसलाई क्षमा हुनेछ।”
लेवीहरू 6:1-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले मोशालाई भन्नुभयो: “यदि कसैले छिमेकीले सुम्पेको केही सामान त्यसलाई अथवा त्यसको जिम्मामा राखेको कुनै सामान चोरी भएको छ भने वा आफ्नो छिमेकीलाई ठगेर पाप गर्छ भने, र याहवेहप्रति विश्वासघाती बन्छ भने, अथवा त्यसले कुनै हराएको सम्पत्ति पाएर त्यस विषयमा झूटो बोल्छ, अथवा झूटो शपथ खान्छ भने, अथवा मानिसहरूले गर्नेजस्ता पाप गर्छ भने; जब त्यसले यसरी पाप गर्छ, र त्यो दोषी भएको आभास गर्छ; त्यसले चोरेको अथवा लुटेको सामान अथवा त्यसलाई सुम्पेको सामान अथवा हराएको सामान त्यसले भेट्टाएको छ, अथवा जुनसुकै कुरा, जसको बारेमा त्यसले झूटो शपथ खाएको छ; त्यसले यी सबै कुरा यिनीहरूमा पाँचौँ भाग थपेर पूरा फर्काइदिनुपर्छ। त्यसले दोषबलि चढाउने दिनमा, त्यो सामान जसको हो, उसैलाई दिनुपर्छ। अनि दण्डस्वरूप त्यसले पुजारीकहाँ आफ्नो दोषबलि याहवेहका लागि आफ्नो बगालबाट निष्खोट र उचित मूल्यको एउटा भेडा ल्याओस्। यसरी पुजारीले याहवेहको सामु त्यसका निम्ति प्रायश्चित गर्नेछ। अनि आफूलाई दोषी ठहराउने कामबाट त्यसलाई क्षमा मिल्नेछ।”
लेवीहरू 6:1-7 पवित्र बाइबल (NERV)
परमप्रभुले मोशालाई भन्नुभयो, “जब एकजना मानिस परमप्रभुको विररूद्धमा पाप र विश्वासघात गर्छ अनि आफ्नो छिमेकीलाई धोका दिएर पापकर्म गर्यो कसैले राख्न दिएको कुरा बन्धकमा राखेरको कुरा वा चोरेको कुरा राख्छ अनि छिमेकीसँग झूट बोल्छ। अनि यसरी ठगेको अथवा धोका दिएको अथवा अपहरण गरेकोमा आफू निर्दोष हुन झूटो स्वीकार गर्दैन। यदि एउटा व्यक्तिले यसरी यी कुराहरू गर्छ तब त्यो मानिस पापको दोषी हुनेछ। त्यो मानिसले सबै कुराहरू ल्याउनु पर्नेछ जे जति उसले चोरेको थियो, अथवा जे जति उसले ठगेर लगेको छ, अथवा जे जति अर्को मानिसले उसलाई उसको निम्ति समाल्न दिएका थिए अथवा जे जति उसले पायो अनि यस विषयमा झूट बोल्यो। जे जति उसले झूटा प्रतिज्ञा बनाउँछ। उसले पूरा मोल तिर्नु पर्छ। त्यसले यी सबै थोकहरूमा पाँचौं हिस्सा थपेर फर्काई दिनु पर्नेछ। उसले यो त्यस दिन दिनु पर्छ जहिले ऊ दोषबलि ल्याउँछ। उसले आफूले गरेको दोषको बराबर परिमाणमा दोषबलि स्वरूप पशुहरूको बथानबाट एउटा निष्खोट भेंडा परमप्रभुको निम्ति पूजाहारीकहाँ ल्याउनुपर्छ। अनि पूजाहारीले परमप्रभुअघि उसलाई शुद्ध पारिदिनेछन् अनि तिनी कुनै पनि काम गर्दा जो दोषी हुन्छ यस्तो दोषबाट उसलाई मुक्त गर्नेछन्।”
लेवीहरू 6:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले मोशालाई यस्तो नियम दिनुभयो। यदि कुनै मानिसले आफ्नो छिमेकीले आफूसँग धरौटी राखेको कुरा फर्काएन वा त्यसको केही कुरा चोर्यो वा ठग्यो वा कुनै हराएको कुरा पाएर पनि मैले पाइनँ भनेर झूटो किरिया खाएर ढाँट्यो र त्यसरी परमप्रभुको विरुद्धमा पाप गर्यो भने त्यस मानिसले एउटा दोषबलि चढाउनुपर्नेछ। त्यस्तो कुनै पाप गरेपछि त्यस मानिसले आफूले बेइमानीसाथ ठगेको कुराको लागि फिर्ता दण्डस्वरूप दिनुपर्नेछ। त्यसको निम्ति दोषबलि चढाएको दिन त्यसले त्यो चीजको धनीलाई त्यसको पूरा दाम र त्यसमाथि अरू पाँचौँ भाग थपेर दिनुपर्नेछ। त्यसले पूजाहारीकहाँ एउटा निष्खोट भेडा वा बोको दोषबलि चढाउन ल्याउनुपर्छ। त्यस पशुको दाम तोकिएको मोलअनुसार हुनुपर्छ। पूजाहारीले त्यो पशु त्यस मानिसको पापको लागि बलि चढाओस् र त्यसले क्षमा पाउनेछ।