लेवीहरू 5:1-13
लेवीहरू 5:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘यदि कोही मानिसले यस्तो किसिमको पाप गर्यो, कि साक्षी भईकन जनसाधारणअगि बोल्नुपर्दा पनि आफूले देखेको र जानेको कुरो त्यसले बोल्दैन भने, त्यो त्यसको लागि दोषी हुनेछ। “‘कसैले कुनै अशुद्ध कुरो, अर्थात् अशुद्ध वन-पशु कि पाल्तु-पशु कि अशुद्ध घस्रने जन्तुको सिनु छोयो भने, त्यो कुरो त्यसलाई थाहा नभए तापनि त्यो अशुद्ध भएको हुन्छ, र दोषी ठहरिनेछ। “‘त्यसले मानिसको अशुद्धि वा अशुद्ध बनाउने कुनै कुरा छोयो भने, त्यो कुरो त्यसलाई थाहा नभए तापनि त्यो दोषी ठहरिनेछ। “‘कसैले विचार नगरी कुनै असल वा खराब कुरा गर्न मुखले शपथ खायो भने— जुनसुकै कुरामा मानिसले सोच-विचार नगरी शपथ खान्छ— त्यसबाट त्यो कुरो छिपे तापनि त्यसले त्यो थाहा पाएपछि त्यस्तो कुरामा त्यो दोषी ठहरिनेछ। “‘जब कुनै मानिस त्यस्ता कुरामध्ये एउटामा दोषी ठहरिन्छ, तब आफूले गरेको पाप त्यसले स्वीकार गर्नुपर्छ। त्यसले गरेको त्यस पापको दण्डको निम्ति परमप्रभुको सामु बगालबाट भेड़ा अथवा बाख्राकी पाठी पापबलि स्वरूप त्यसले ल्याउनुपर्छ। पूजाहारीले त्यसको पापको लागि प्रायश्चित गर्नेछन्। “‘पाठी ल्याउने त्यसको औकात पुग्दैन भने, त्यसले आफूले गरेको त्यस पापको दण्डको निम्ति दुई वटा ढुकुर कि परेवाका दुई वटा बचेरा परमप्रभुकहाँ ल्याओस्— एउटा पापबलि र अर्को होमबलिको निम्ति। त्यसले पूजाहारीकहाँ ती ल्याओस्। तिनले एउटाचाहिँ पापबलिको निम्ति पहिले चढ़ाउनेछन्। त्यसले त्यसको घाँटीमा समातेर टाउको निमोठोस्, तर त्यसलाई चुँड़ाइ नहालोस्। अनि वेदीको पाटामा पापबलिको रगतबाट पूजाहारीले केही छर्कून्, र बाँकी रगतचाहिँ वेदीको आधारमा निथारिओस्। यो पापबलि हो। त्यसपछि पूजाहारीले अर्कोचाहिँ होमबलिको निम्ति विधिपूर्वक चढ़ाउनेछन्। त्यसले गरेको पापको निम्ति यसरी पूजाहारीले प्रायश्चित गर्नेछन्, र त्यसलाई क्षमा हुनेछ। “‘तर दुई वटा ढुकुर कि परेवाका दुई वटा बचेरा ल्याउने पनि त्यसको औकात पुग्दैन भने, त्यसले जे कुरामा पाप गरेको हो, त्यसको निम्ति आफ्नो भेटी स्वरूप आधा पाथी मसिनो पीठो पापबलिको लागि ल्याओस्। त्यसले त्यसमा तेल वा धूप राख्नुहुँदैन, किनभने यो पापबलि हो। त्यसले त्यो पूजाहारीकहाँ ल्याओस्। अनि पूजाहारीले त्यसबाट सम्झना स्वरूप एक मुट्ठी लिएर परमप्रभुको निम्ति अग्निहोममाथि वेदीमा जलाऊन्। यो पापबलि हो। त्यसले ती कुरामध्ये जुनसुकै पनि विषयमा पाप गरेको छ, पूजाहारीले त्यसको निम्ति प्रायश्चित गर्नेछन्, र त्यसलाई क्षमा हुनेछ। बाँकी रहेको भेटीचाहिँ अन्नबलिझैँ पूजाहारीको हुनेछ’।”
लेवीहरू 5:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘यदि कुनै व्यक्तिले यस्तो किसिमको पाप गर्यो, कि साक्षी भईकन पनि आफूले देखेको र जानेको विषयमा जनसाधारण अगि बोल्नुपर्दा पनि त्यस मानिसले केही बोलेन भने त्यो त्यसको लागि जिम्मेवार ठहराइनेछ। “ ‘यदि कसैले कुनै अशुद्ध कुरा—वन पशु, गाईबस्तुका वा जमिनमा हिँड्डुल गर्ने जन्तुहरूका लास आफ्नो अज्ञानतामा छोयो भने त्यो विधिपूर्वक अशुद्ध हुँदछ र त्यो दोषी ठहरिनेछ। अथवा त्यसले अशुद्ध मानिसलाई छोयो (त्यसलाई अशुद्ध तुल्याउने कुनै पनि कुरा आफ्नो अज्ञानतामै छोयो) भने, र त्यसलाई त्यो थाहा भयो भने त्यो दोषी ठहरिनेछ। अथवा कसैले असल वा खराब केही गर्छु भनेर सोचविचारै नगरी शपथ खायो वा असावधानी भएर कुनै कुरामा शपथ खायो भने, र त्यसलाई त्यसको बारेमा ज्ञानै भएन, तर पनि जब त्यसले त्यो कुरालाई महसुस गर्छ, तब त्यो दोषी ठहरिनेछ। यीमध्ये कुनै कुरामा कोही दोषी छ भने त्यसले कुन कुरामा पाप गरेको छ, त्यो पाप स्वीकार गर्नुपर्छ। अनि त्यसले गरेको पापका दण्डस्वरूप याहवेहकहाँ बगालबाट पाप शुद्धीकरण बलिका लागि भेडाको पाठी वा बाख्राको पाठी ल्याओस्। अनि पुजारीले त्यसले गरेको पापको लागि त्यसका निम्ति प्रायश्चित गर्नेछ। “ ‘यदि त्यो थुमा ल्याउन आर्थिक रूपमा असक्षम छ भने कलिला दुई वटा ढुकुर वा परेवाहरू याहवेहको सामु ल्याओस्—एउटा पाप शुद्धीकरण बलिका निम्ति र अर्को होमबलिका निम्ति। त्यसले ती पुजारीकहाँ ल्याओस्, जसले पहिला एउटालाई पाप शुद्धीकरण बलिका निम्ति चढाउनेछ। त्यसले त्यसको शिरलाई नचुँडाइकन घाँटी निमोठोस्, अनि त्यसको केही रगत पाप शुद्धीकरण बलिको रूपमा वेदीको छेउमा छर्कोस्। बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्। यो पाप शुद्धीकरण बलि हो। त्यसपछि पुजारीले अर्कोलाई चाहिँ होमबलिस्वरूप तोकिएको विधिअनुसार चढाओस्। अनि त्यसले गरेको पापको लागि त्यसका निम्ति प्रायश्चित गरोस्, र त्यसले क्षमा पाउनेछ। “ ‘तर त्यो दुई वटा कलिला ढुकुर वा परेवा ल्याउन पनि आर्थिक रूपमा असक्षम छ भने त्यसले आफ्नो पापका लागि पाप शुद्धीकरण बलिस्वरूप एपाको दशौँ भाग मसिनो पिठो ल्याओस्। त्यो पाप शुद्धीकरण बलि भएको हुनाले त्यसले त्यसमा जैतुनको तेल र धूप नराखोस्। त्यसले त्यो पुजारीकहाँ ल्याओस्, जसले त्यसबाट सम्झनाको भागका निम्ति एक मुठी लिएर याहवेहका निम्ति अग्निबलिको वेदीमाथि जलाओस्। यो पाप शुद्धीकरण बलि हो। यस किसिमले पुजारीले त्यसका निम्ति यी पापहरूमध्ये कुनै पनि पापको लागि प्रायश्चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ। यसको बाँकी भाग अन्नबलिको समान पुजारीको हुनेछ।’ ”
लेवीहरू 5:1-13 पवित्र बाइबल (NERV)
“यदि कसैले यस्तो प्रकारले पाप गरे जसमा त्यो मानिस आफ्नै आँखाले प्रत्यक्ष देखेको अथवा कानले सुनेको कुरोमा साक्षी भएर पनि भन्दैन भने ऊ त्यस कामको निम्ति पापी हो, अनि उसले त्यस पापको निम्ति सजाय भोग्नु पर्छ। “अथवा कोही मानिस अशुद्ध चीज छुन्छ भने जंगली अथवा पाल्तू पशु अथवा उड्ने पंक्षीको मृत देह छुन्छ, तर कुनै कारणवश त्यो उसले बिर्सन्छ भने त्यस कामको निम्ति ऊ दोषी अनि अशुद्ध बनिन्छ। “एक जना मानिसले मानिएको अशुद्ध अथवा यस्तो कुनै चीज छुन्छ जसले उसलाई अशुद्ध बनाउँछ तर उसले थाहा पाउँदैन, तर जब त्यस मानिसले यस विषयमा थाहा पाउँछ तब ऊ दोषी हुनेछ। “अथवा एकजना मानिसले केही राम्रो अथवा नराम्रो काम गर्ने प्रतिज्ञा गर्छ। उसले विचार अनि आफ्नो प्रतिज्ञा बिर्सन्छ। तर जब पछि उसले आफ्नो प्रतिज्ञाको सम्झना गर्छ, तब उसलाई दोषी ठहराइनेछ। जब ऊ त्यस्तो कुनै कुरामा दोषी ठहरिन्छ भने, उसले कसरी पाप गर्यो त्यो स्वीकार गर्नुपर्छ। अनि उसको पाप प्रायश्चितको निम्ति, उसले एउटा जवान भेंडा अथवा बाख्राको पाठी उसको बथानबाट एउटा दोषबलि जस्तै परमप्रभु कहाँ ल्याउनु पर्छ। यस प्रकारले पूजाहारीले त्यो मानिसको पापबाट मुक्त गराउनको लागि प्रायश्चित कार्य गर्नेछ। “यदि उसले आफ्नो दोषबलि चढाउन भेंडा अथवा बाख्राको पाठीको व्यवस्था गर्न सक्तैन भने, उसले परमप्रभुलाई दोषबलि चढाउनलाई अथवा पापबाट मुक्त हुन र अर्को होमबलिको निम्ति एक जोडी परेवा अथवा ढुकुर ल्याउनुपर्छ। उसले त्यो ढुकुर अथवा परेवाको जोडी पूजाहारीकहाँ ल्याउनुपर्छ र पूजाहारीले एउटा चाँहि पहिले पापबलिको निम्ति चढाओस्। उसले त्यसको घाँटी अँठ्ठाएर टाउको निमोठोस तर त्यसलाई चुँढाई नहालोस्। तब उसले पापबलिको केही रगत शुद्धताको निम्ति वेदीको पाटामा छर्कियोस अनि बाँकी रगत वेदीको आधारमा खँन्याई दियोस्। यो पापबलि हो। त्यसपछि पूजाहारीले अर्को चाँहि ढुकुर परेवा नियमानुसार होमबलि चढाओस्। यस्तो प्रकारले पूजाहारीले त्यस पाप गर्ने मानिसलाई उसको पापबाट शुद्ध गराओस् अनि त्यो मानिसले क्षमा पाउँछ। “यदि कुनै मानिसले दुइवटा ढुकुरहरू अथवा दुइवटा परेवाहरू किन्न सक्दैन भने। भने तब उसले आफ्नो पापबाट मुक्ति पाउनलाई आठ बटुको मिहिन पीठो चढाउनु पर्छ। उसले पीठोसित तेल मिसाउनु हुदैन अनि कुनै सुगन्धित धूप पनि त्यसमा मिसाउनु हुँदैन किनभने त्यो भेटी पापबलिको निम्ति हुनुपर्छ। उसले त्यो पिठो पूजाहारीकहाँ ल्याओस् अनि पूजाहारीले त्यसबाट सम्झना स्वरूप एक मुठ्ठी पीठो निकालेर परमप्रभुको निम्ति अग्निहोममाथि वेदीमा जलाओस्। यो पापबलि हो। यस प्रकार पूजाहारीले त्यस व्यक्तिलाई उसले गरेको पापबाट क्षमा गराउनेछन्। बाँकी रहेको अन्न चाँहि पूजाहारीको निम्ति अन्नबलि जस्तै हुन्छ।”
लेवीहरू 5:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यी तल लेखिएका दोषहरूका निम्ति पापबलि चढाइनुपर्छ। यदि कसैलाई साक्षी दिन अदालतमा हाजिर हुने आदेश भएको छ र त्यसले आफूले देखेको वा सुनेको कुरा भन्दैन भने त्यसले फल भोग्नुपर्छ। यदि कसैले भुल-चुकमा कुनै मरेको पशुको लाशजस्तो अशुद्ध कुरा छोयो भने रीतिअनुसार, त्यो अशुद्ध हुनेछ र त्यसले त्यो थाहा पाउनेबित्तिकै दोषी ठहरिनेछ। यदि कसैले भुल-चुकमा मानिसबाट निस्केको अशुद्ध कुरो छोयो भने उसलाई थाहा हुनेबित्तिकै ऊ दोषी ठहरिनेछ। यदि कसैले कुनै कुरामा सोच-विचार नगरी किरिया खायो भने जब त्यसलाई आफूले गरेको दोष थाहा हुन्छ, तब ऊ दोषी ठहरिनेछ। यसरी कोही मानिस दोषी ठहरियो भने त्यसले आफ्नो पाप स्वीकार गरोस् र त्यसको दण्डको रूपमा पापबलिको लागि त्यसले परमप्रभुको लागि एउटा पाठी वा भेडी ल्याओस्। पूजाहारीले त्यस मानिसको पापको लागि त्यो बलि चढाओस्। त्यस मानिसले भेडी वा पाठी ल्याउन सक्दैन भने त्यसले परमप्रभुकहाँ आफ्नो पापको दाम तिर्न एक जोर परेवा कि ढुकुर ल्याओस्, त्यसबाट एउटा पापबलि र अर्को होमबलि हुनेछ। ती त्यसले पूजाहारीकहाँ टक्र्याउनेछ र पूजाहारीले पहिले पापबलिको लागि पंक्षी चढाउनेछ। पंक्षीको मुन्टो पूजाहारीले टाउको नचुँडाई भाँचिदेओस् र केही रगत वेदीको एक छेउमा छर्किदेओस्। बाँकी रगत वेदीको फेदमा निथारिओस्। यो पाप काट्ने बलि हो। तब त्यसले दोस्रो पंक्षी नियमअनुसार होमबलि गरोस्। यस प्रकारले मानिसको पापको लागि पूजाहारीले बलि चढाउनेछ र त्यसले क्षमा पाउनेछ। त्यस मानिसले एक जोर परेवा कि ढुकुर पनि ल्याउन सकेन भने त्यसले एक किलोग्राम पिठो पापबलिको लागि ल्याओस्। त्यसमाथि जैतुनको तेल वा धूप नराखोस् किनभने त्यो पापबलि हो, अन्नबलि होइन। त्यसले पूजाहारीकहाँ पिठो ल्याओस्। पूजाहारीले जम्मै पिठो परमप्रभुलाई चढाएको चिन्हको रूपमा त्यसबाट एक मुट्ठी लिएर वेदीमाथि अन्नबलि चढाएर जलाओस्। त्यो पाप काट्ने बलि हो। यस प्रकारले मानिसको पापको लागि पूजाहारीले बलि चढाउने र त्यसले क्षमा पाउनेछ। अन्नबलि चढाउँदाजस्तै उब्रेको पीठो पूजाहारीको भाग हो।