लेवीहरू 4:1-26
लेवीहरू 4:1-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई यसो भन्: ‘जब परमप्रभुले मनाही गर्नुभएका कुनै कुरामा कसैले अजानमा पाप गर्छ— “‘यदि कुनै अभिषेक भएका पूजाहारीले पाप गरेर मानिसहरूमा दोष ल्याए भने तिनले गरेको त्यस पापको निम्ति एउटा निष्खोट साँढ़े परमप्रभुअगि पापबलि चढ़ाऊन्। तिनले त्यस साँढ़ेलाई भेट हुने पालको ढोकानेर परमप्रभुकहाँ ल्याएर त्यसको टाउकोमा आफ्नो हात राखी त्यसलाई परमप्रभुको सामु मारून्। अनि अभिषेक भएका पूजाहारीले साँढ़ेको रगत लिएर भेट हुने पालमा ल्याऊन्। पूजाहारीले आफ्नो औँला रगतमा चोपेर त्यस रगतबाट केही पवित्रस्थानको पर्दाको अगिल्तिर परमप्रभुको सामु सात पल्ट छर्कून्। त्यसपछि पूजाहारीले भेट हुने पालभित्र रहेको सुगन्धित धूपको वेदीका सीङहरूमा परमप्रभुको सामु त्यस रगतबाट केही लगाऊन्, र साँढ़ेको बाँकी रगत भेट हुने पालको ढोकामा होमबलिका वेदीको आधारमा खन्याऊन्। पापबलिका साँढ़ेको बोसोजति सबै तिनले त्यसबाट झिकून्, आन्द्रा-भुँड़ी ढाक्ने बोसो र आन्द्रामाथिको बोसो, दुवै मिर्गौला र तीमाथि र कम्मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्ने मासु तिनले झिकून्। मेलबलिको बलिदानमा चढ़ाइने साँढ़ेको बोसो झिकेझैँ पूजाहारीले ती होमबलिको वेदीमा जलाऊन्, तर साँढ़ेको छाला, त्यसका जम्मै मासु, त्यसका टाउको, खुट्टा र आन्द्रा-भुँड़ी गोबरसमेत, अर्थात् सिङ्गै साँढ़े छाउनीदेखि बाहिर फ्याँक्ने चोखो ठाउँमा लगेर दाउरामाथि राखेर आगोमा जलाऊन्— जहाँ खरानी फ्याँकिन्छ, त्यहीँ नै त्यो जलाऊन्। “‘यदि इस्राएलको जम्मै समुदायले अजानमा पाप गरेको छ र परमप्रभुले मनाही गर्नुभएको कुनै कुरा गरेको छ भने, त्यो कुरोचाहिँ त्यस समुदायको नजरबाट छिपे तापनि यिनीहरू दोषी हुन्छन्। यिनीहरूले गरेको त्यो पाप प्रकट हुँदा समुदायले पापबलि स्वरूप साँढ़े ल्याई भेट हुने पालको अगि चढ़ाउनुपर्छ। समुदायका धर्म-गुरुहरूले साँढ़ेको टाउकोमाथि आ-आफ्ना हात परमप्रभुको सामु राखून्। त्यो साँढ़े परमप्रभुको सामु मारिओस्। त्यसपछि अभिषेक भएका पूजाहारीले त्यस साँढ़ेको रगतबाट केही लिएर भेट हुने पालमा ल्याऊन्। पूजाहारीले आफ्नो औँला रगतमा चोपेर त्यस रगत पर्दाको अगिल्तिर परमप्रभुको सामु सात पल्ट छर्कून्। त्यसपछि भेट हुने पालभित्र रहेको वेदीका सीङहरूमा तिनले परमप्रभुको सामु त्यस रगतबाट केही लगाऊन्, र सबै बाँकी रगतचाहिँ भेट हुने पालको ढोकामा होमबलिका वेदीको आधारमा खन्याऊन्। त्यसको जम्मै बोसो तिनले त्यसबाट झिकेर वेदीमा जलाऊन्। पापबलिको साँढ़ेलाई तिनले जसो गरेका थिए यस साँढ़ेलाई पनि त्यसै गरून्। यसरी पूजाहारीले तिनीहरूका निम्ति प्रायश्चित गर्नेछन्, र तिनीहरूलाई क्षमा हुनेछ। तिनले त्यस साँढ़ेलाई छाउनीबाहिर लगेर पहिलालाई जलाएझैँ जलाऊन्। यो समुदायको निम्ति पापबलि हो। “‘जब कुनै नायकले अजानमा पाप गर्छन् र परमप्रभु तिनका परमेश्वरले मनाही गर्नुभएका कुरामध्ये कुनै कुरो गर्छन्, तब तिनी दोषी हुन्छन्। तिनले गरेको पाप तिनलाई प्रकट हुँदा, तिनले एउटा निष्खोट बोका आफ्नो भेटीको निम्ति ल्याउनुपर्छ। तिनले बोकाको टाउकोमा आफ्नो हात राखून्, र जहाँ परमप्रभुको सामु होमबलिको पशु मारिन्छ, त्यहीँ नै त्यसलाई मारून्। योचाहिँ पापबलि हो। त्यसपछि पूजाहारीले आफ्नो औँलाले पापबलिको रगतबाट केही लिएर होमबलिको वेदीका सीङहरूमा लगाऊन्, अनि बाँकी रगत वेदीको आधारमा खन्याऊन्। त्यसको सबै बोसो पनि मेलबलिको बोसोझैँ वेदीमा तिनले जलाऊन्। यसरी पूजाहारीले ती मानिसको पापको लागि प्रायश्चित गर्नेछन्, र तिनलाई क्षमा हुनेछ।
लेवीहरू 4:1-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई यसो भन्: ‘जब कसैले अनजानमा पाप गर्छ र याहवेहका आज्ञाअनुसार निषेध गरिएको काम गर्छ भने— “ ‘यदि प्रधान पुजारीले पाप गर्छ र मानिसहरूमाथि दोष ल्याउँछ भने त्यसले आफूले गरेको पापका निम्ति पाप शुद्धीकरण बलिको रूपमा याहवेहकहाँ एउटा बाछा ल्याओस्। त्यसले त्यस बाछालाई समागम पालको प्रवेशद्वारमा याहवेहको सामु प्रस्तुत गरोस्। त्यसले आफ्नो हात त्यसको शिरमाथि राखेर त्यसलाई याहवेहको सामु मारोस्। त्यसपछि प्रधान पुजारीले बाछाको रगतबाट केही लिएर त्यसलाई समागम पालभित्र ल्याओस्। त्यसले आफ्नो औँला रगतमा चोपेर त्यसबाट केही समागम पालको पर्दाको सामु याहवेहको अगिल्तिर सात चोटि छर्कोस्। त्यसपछि पुजारीले केही रगत समागम पालमा याहवेहको सामु भएको सुगन्धित धूपको वेदीका सिङहरूमाथि लगाओस्। उब्रेको रगतलाई चाहिँ त्यसले समागम पालको प्रवेशद्वारमा भएको होमबलिको वेदीको फेदमा खन्याओस्। त्यसले पाप शुद्धीकरण बलिको बाछाबाट सबै बोसो झिकोस्; भित्री भाग र त्यससित गाँसिएको भागलाई छोप्ने बोसो, कम्मरनिर भएको बोसो, र दुवै मिर्गौलासमेत कलेजोलाई छोप्ने भागहरू त्यसले मिर्गौलाहरूसितै, मेलबलिका निम्ति बलिदान गरिएको गोरुबाट बोसो निकालेझैँ निकालोस्। त्यसपछि पुजारीले तिनलाई होमबलिको वेदीमाथि जलाओस्। तर त्यस बाछाको छाला, त्यसका सबै मासु, टाउको, खुट्टाहरू, भित्री भागहरू र गोबर— अर्थात् बाछाको सबै उब्रेका भागहरू त्यसले छाउनीको बाहिर शुद्ध गरिएको ठाउँमा खरानी फ्याँक्ने ठाउँमा लैजाओस्। अनि त्यसलाई खरानीको थुप्रोमाथि दाउराको आगोमा जलाओस्। “ ‘यदि इस्राएलीहरूका सारा समुदायले अनजानमा पाप गर्छन्, र याहवेहका आज्ञाहरूमध्ये निषेध गरिएका कुनै काम गर्छन् भने त्यो समुदाय अज्ञानी भए तापनि तिनीहरू दोषी हुन्। जब आफूले गरेका पाप तिनीहरूलाई थाहा हुन्छ, तब समुदायले पाप शुद्धीकरण बलिस्वरूप एउटा बाछा ल्याएर समागम पालको सामु लिएर आऊन्। समुदायका प्रधानहरूले याहवेहको सामु बाछाको शिरमाथि आफ्ना हातहरू राखेपछि त्यो बाछा याहवेहको सामु मारियोस्। त्यसपछि प्रधान पुजारीले त्यस बाछाको केही रगत लिएर समागम पालभित्र ल्याओस्। त्यसले आफ्नो औँला रगतमा चोपेर याहवेहको अगि पर्दाको सामु सात चोटि छर्कोस्। त्यसले केही रगत समागम पालमा याहवेहको सामु भएको वेदीका सिङहरूमा लगाओस्। बाँकी रहेको रगत त्यसले समागम पालको प्रवेशद्वारमा भएको होमबलिको वेदीको फेदमा खन्याओस्। त्यसले सबै बोसो त्यसबाट निकालोस् र त्यसलाई वेदीमाथि जलाओस्। अनि त्यस बाछालाई पाप शुद्धीकरण बलिको बाछालाई गरेझैँ गरोस्। यसरी पुजारीले तिनीहरूका निम्ति प्रायश्चित गरून्; अनि तिनीहरूलाई क्षमा गरिनेछ। त्यसपछि त्यसले बाछालाई छाउनीको बाहिर लैजाओस्, र त्यसलाई पहिलो बाछालाई जस्तै जलाओस्। यो समुदायका निम्ति पाप शुद्धीकरण बलि हो। “ ‘जब कुनै अगुवाले अनजानमा पाप गर्छ, र याहवेह आफ्नो परमेश्वरका आज्ञाहरूमध्ये निषेध गरेको कुनै काम गर्छ, त्यो दोषी हुन्छ। जब त्यसले गरेको पाप त्यसलाई प्रकट गराइन्छ, तब त्यसले बलिको रूपमा एउटा निष्खोट बोका ल्याउनुपर्छ। त्यसले बोकाको शिरमाथि आफ्नो हात राखोस्, र त्यसलाई याहवेहको सामु होमबलि मारिने ठाउँमा मार्नुपर्छ। यो पाप शुद्धीकरण बलि हो। त्यसपछि पुजारीले पाप शुद्धीकरण बलिको रगतबाट आफ्नो औँलाले केही लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस् र बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्। त्यसले सबै बोसो आफूले मेलबलिलाई गरेझैँ वेदीमाथि जलाओस्। यसरी पुजारीले त्यस मानिसको पापको प्रायश्चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ।
लेवीहरू 4:1-26 पवित्र बाइबल (NERV)
परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई भन: जब एउटा मानिसले नजान्दा पाप गरे अनि परमप्रभुका आज्ञाहरूमा नगर्नु भनेको कुनै काम गर्छ भने, त्यस मानिसले तलका कुराहरू गर्नु पर्छ। “यदि कुनै अभिषिक्त पूजाहारीले पाप गर्यो भने त्यो मानिस आफैं पापको दोषी हुन्छ, त्यसले एउटा निष्खोट जवान साँढे उसको पाप प्रायश्चितको निम्ति परमप्रभुलाई चढाउनु पर्छ। अनि उसले साँढेलाई परमप्रभुअघि भेटहुने पालको प्रवेशद्वारमा ल्याउनु पर्छ अनि त्यस साँढेको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ परमप्रभुअघि त्यसलाई मार्नु पर्छ। त्यसपछि अभिषिक्त भएको पूजाहारीले बलि चढाइएको साँढेको रगत भेट हुने पालमा ल्याओस्। त्यसपछि पूजाहारीले आफ्नो औंला रगतमा चोपोस् र अति-पवित्रस्थानको पर्दाअघि परमप्रभुको सामुन्ने रगत सात पल्ट छर्कोस्। त्यसपछि पूजाहारीले धूपवेदीका सींङहरूमा रगतको केही अंश छर्किनु पर्छ जो भेट हुने पालमा परमप्रभुको सामुन्ने हुन्छ, अनि साँढेका रहल रगत भेटहुनेपालको प्रवेश द्वारको होमबलिको वेदीको आधारमा खान्याउन्। अनि उसले पाप बलिको साँढेबाट सबै बोसो निकाल्नु पर्छ। उसले भित्री भागहरूको चारैतिर भएका त्यो बोसो अवश्यै निकाल्नु पर्छ। दुवै मृगौलाहरू अनि तिनीहरूका बोसो अनि मांशपेशीको तल्लो भागमा भएको बोसो र कलेजोलाई ढाक्ने बोसो, उसले यसलाई मृगौलाहरूसँगै पापबलिको साँढेबाट निकाल्नु पर्छ। मेलबलिको साँढेबाट निकालिए जस्तै पापबलिको निम्ति चढाइएको साँढेबाट पनि सबै बोसोहरू निकालियोस्। त्यसपछि पूजाहारीले त्यस बलिलाई होमबलिको वेदीमा जलाओस्। तर साँढेको छाला, त्यसको मासु र टाउको, खुट्टा, आन्द्रा-भुँडी, गोबरसमेत, अनि रहल सबै पालबाहिर खरानी थुपार्ने एउटा चोखो ठाउँमा ल्याउन पर्छ अनि दाऊराको आगोमाथि त्यहाँ जलाउनु पर्छ। “यदि समस्त इस्राएली मानिसहरूले नजान्दा नै भूल गर्छन् अनि तिनीहरूलाई थाहा हुँदैन तिनीहरूले परमप्रभुको कुनै आज्ञा पालन गरेनन् भने, तब तिनीहरू दोषी हुनेछन्। जब तिनीहरूले परमप्रभुको आज्ञा विरूद्ध गरेको पाप चाल पाउँछन्, पापबलिको निम्ति तिनीहरूले बथानबाट एउटा साँढे बलि दिऊन्। त्यो साँढे तिनीहरूले भेट हुने पाल अगाडी ल्याउनपर्छ। अनि समुदायको मुखियाहरूले साँढेको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ अनि त्यसलाई परमप्रभुकोअघि मार्नु पर्छ। तब अभिषिक्त भएका पूजाहारीले साँढेको रगतबाट केही लिएर भेट हुने पालमा ल्याओस्। अनि पूजाहारीले आफ्नो औंला त्यस रगतमा डुबाएर परमप्रभु अगाडीको पर्दा सामुन्ने सात पल्ट छर्कियोस्। अनि केही रगत वेदीको कुनामा राख्नु पर्छ जो भेट हुने पालमा परमप्रभुको अघि छ अनि रहल रगत होमबलिको वेदीमा अगेनोमा खन्याउनु पर्छ जो भेट हुने पालको प्रवेश हुन्छ। अनि उसले सबै बोसो बलिबाट निकालेर वेदीमा जलाओस्। उसले यो पापबलिलाई जसो गर्छ यसलाई पनि त्यसै गर्नुपर्छ, यसरी नै पूजाहारीले इस्राएली मानिसहरूको निम्ति प्रायाश्चित गराउँछन् अनि तिनीहरूको पाप क्षमा हुन्छ। पूजाहारीले साँढेलाई पालको बाहिर ल्याउँनुपर्छ अनि यसलाई जलाउनुपर्छ जस्तो उसले पहिलो साँढेलाई गरेको थियो। सम्पूर्ण समुदायकालागि पापबलि हुनेछ। “यदि कुनै शासकले अन्जानमा परमप्रभु उसको परमेश्वरका आदेशहरू उल्लंघन गर्छ भेने दोषी हुन्छ, तर पछि आफ्नो दोष थाह भयो भने, उसले आफ्नो पशुहरूको बथानबाट उपहार स्वरूप भूत्लै-भूत्ला भएको निष्खोट बोका ल्याउनु पर्छ। तब उसले आफ्नो हात त्यस बोकाको टाउकोमाथि राखोस् अनि होमबलि दिइने ठाउँमा त्यसलाई परमप्रभुको अघि मारोस् यो शुद्धिकरणको बलि हो। त्यसपछि पूजाहारीले त्यो पापबलिको केही रगत आफ्नो औंलामा लियोस् र होमबलिको वेदीको कुनामा राखोस् अनि होमबलिको वेदीको आधारमा रगत खन्याओस् उसले पाठोको सबै बोसो बलिदान वेदीमा त्यसरी नै जलाउनु पर्छ जसरी मेलबलिको बोसो उसले जलाएको थियो। यस प्रकारले, उसले गरेको पापको निम्ति पूजाहारीले प्रयाश्चित गर्नेछ अनि परमेश्वरले उसलाई क्षमा दिनुहुनेछ।
लेवीहरू 4:1-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आफूले अन्जानमा इस्राएलीहरूले परमप्रभुको कुनै आज्ञा तोडे भने तिनीहरूले यी तलका नियमहरू पालन गर्नुपर्नेछ। इस्राएलीहरूलाई यो कुरा बताउन परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो। यदि एउटा मुख्य पूजाहारीले त्यस प्रकारको पाप गरेर प्रजालाई दोषी तुल्यायो भने त्यसले एउटा निष्खोट साँढे ल्याएर आफ्नो पापको लागि परमप्रभुलाई बलि चढाओस्। त्यसले साँढेलाई पवित्र पालको ढोकामा ल्याओस् र त्यसको टाउकोमा हात राखेर त्यहाँ परमप्रभुको सामुन्ने त्यसलाई मारोस्। त्यसपछि मुख्य पूजाहारीले साँढेको केही रगत लेओस् र पवित्र पालभित्र पसोस्। उसले रगतमा औँला चोपेर पवित्र पर्दाको अघि सातपल्ट छर्कोस्। तब केही रगत पालमा भएको धूप वेदीको चार कुनाका सिङजस्ता चोसाहरूमा लगाओस्। त्यसपछि उब्रेको रगत पालको ढोकामा राखिएको होमबलि चढाउने वेदीको फेदमा खन्याइदेओस्। साँढेको जम्मै बोसो, भित्री अङ्गहरूमा लागेको बोसो, बोसोसमेत मृगौला र कलेजोको सर्वोत्तम बोसो भाग उसले लेओस्। पूजाहारीले ती बोसो लिएर मेलबलिमा चढाइएको पशुको बोसोलाई जस्तै होमबलिको वेदीमाथि जलाओस्। तर त्यसका छाला, सबै मासु, टाउको, खुट्टा र भित्री अङ्गहरू र आन्द्राहरूसमेत पालबाहिर रीतिअनुसार चोख्याइएको खरानी फाल्ने ठाउँमा लैजाओस् र त्यहाँ दाउराको आगोमा जलाओस्। यदि सारा इस्राएली समूहले भुल-चुकमा पाप गरेर परमप्रभुको कुनै आज्ञा भङ्ग गरेको छ भने सो पाप थाहा पाउनेबित्तिकै सारा समाजले पापबलिको लागि एउटा साँढे ल्याओस्। त्यो साँढे तिनीहरूले परमप्रभुको पवित्र पालमा ल्याऊन्, इस्राएलका अगुवाहरूले त्यसको टाउकोमा आफ्ना हात राखून् र त्यहाँ त्यसलाई मारून्। मुख्य पूजाहारी साँढेको केही रगत लिएर पवित्र पालभित्र पसोस् र रगतमा औँला चोपेर पर्दाको अघि सातपल्ट छर्कोस्। उसले केही रगत पालमा भएको धूप वेदीका चार कुनाका सिङजस्ता चोसाहरूमा लगाओस् र बाँकी रगत पालको ढोकामा राखिएको होमबलिको वेदीको फेदमा खन्याइदेओ। तब साँढेको जम्मै बोसो लिएर उसले वेदीमाथि जलाओस्। उसले पापबलिमा चढाइएको साँढेलाई जस्तै यस साँढेलाई पनि गरोस्। त्यसरी मानिसहरूका पापको लागि बलि चढाओस् र तिनीहरूले क्षमा पाउनेछन्। त्यसपछि साँढेलाई छाउनीबाहिर लैजाओस् र उसले आफ्नो पापको निम्ति बलि गरेको साँढेलाई जस्तै त्यसलाई पनि जलाओस्। यस बलिले सारा समाजको पाप काट्नेछ। यदि कुनै शासकले नचिताई पाप गरेर परमप्रभुको कुनै आज्ञा तोड्ने दोष गरेको छ भने त्यसलाई त्यो पाप जनाईदिनेबित्तिकै एउटा निष्खोट बोको त्यसले बलि चढाउन ल्याओस्। त्यसले आफ्नो हात बोकाको टाउकोमा राखोस् र त्यसलाई वेदीको उत्तरपट्टि, जहाँ होमबलिको निम्ति पशुहरू काटिन्छन्, त्यहाँ काटोस्। यो पाप काट्ने बलि हो। पूजाहारीले बोकाको रगतमा औँला चोपेर वेदीको चार कुनाका सिङजस्ता चोसाहरूमा रगत लगाओस् र बाँकी रगत वेदीको फेदमा खन्याओस्। त्यसपछि त्यसको जम्मै बोसो, मेलबलिमा चढाइएको पशुको बोसो जलाएझैँ वेदीमाथि जलाओस्। त्यसरी पूजाहारीले शासकको पापको निम्ति बलि चढाउनेछ र त्यसले क्षमा पाउनेछ।