लेवीहरू 26:14-21
लेवीहरू 26:14-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘तर यदि तिमीहरूले मेरा कुरा सुनेनौ, र यी सबै आज्ञा पालन गरेनौ, र मेरा विधिहरूलाई घृणा गरेर इन्कार गर्यौ भने, अनि मेरा सम्पूर्ण आज्ञा नमानेर मेरो करार भङ्ग गर्यौ भने, म तिमीहरूका बीचमा आतङ्क फैलाउनेछु, अनि शरीर नष्ट पार्दैजाने, आँखालाई विनाश गर्ने र प्राणलाई शिथिल गराउँदैलाने भयङ्कर रोगहरू पठाउनेछु। तिमीहरूले रोपेका बीउहरू खेर जानेछन्, किनकि तिमीहरूका शत्रुहरूले फसल खाइदिनेछन्। म तिमीहरूको विरोध गर्नेछु, र तिमीहरू शत्रुका हातबाट परास्त हुनेछौ। तिमीहरूलाई हेला गर्नेहरूले तिमीहरूमाथि प्रभुत्व गर्नेछन्, र कसैले नखेदे पनि तिमीहरू भाग्नेछौ। “‘तिमीहरूले अझै पनि मलाई टेरेनौ भने तिमीहरूका पापको सात गुणा बढ़ी सजाय म तिमीहरूलाई दिनेछु। म तिमीहरूको अभिमान र जिद्दी चूर गर्नेछु। तिमीहरूमाथिको आकाश फलामजस्तै र तिमीहरूमुनिको जमिन काँसोझैँ म तुल्याउनेछु। तिमीहरूको शक्ति खेर जानेछ, किनकि तिमीहरूको जमिनले उब्जनी दिनेछैन, र देशका रूखहरूले फल दिनेछैनन्। “‘तिमीहरू मेरो विरुद्धमा हिँड़ेर मलाई अझै टेरेनौ भने म फेरि तिमीहरूका पाप सुहाउँदो सात गुणा बढ़ी विपत्तिहरू तिमीहरूमाथि ल्याउनेछु।
लेवीहरू 26:14-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘तर यदि तिमीहरूले मेरा कुरा सुनेनौ र यी सबै आज्ञापालन गरेनौ, अनि यदि तिमीहरूले मेरा उर्दीहरू इन्कार गर्यौ र मेरा आज्ञाहरूलाई घृणा गर्यौ, र मेरा आज्ञाअनुसार चल्न असफल भयौ र यसरी मेरा करार भङ्ग गर्यौ भने, म तिमीहरूमा अचानक आतङ्क, निको नहुने रोगहरू र ज्वरो फैलाउनेछु; जसले तिमीहरूका दृष्टिलाई नष्ट गरिदिनेछन्। अनि तिमीहरूका प्राणलाई शिथिल पार्नेछन्। तिमीहरू व्यर्थैमा रोप्नेछौ; किनकि ती तिमीहरूका शत्रुहरूले खानेछन्। म आफ्नो अनुहार तिमीहरूका विरुद्धमा पार्नेछु। अनि तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ। तिमीहरूलाई घृणा गर्नेहरूले तिमीहरूमाथि शासन गर्नेछन्। कसैले नखेदे तापनि तिमीहरू भाग्नेछौ। “ ‘यी सबै कुराहरू भइसकेपछि पनि यदि तिमीहरूले मेरा कुरा सुनेनौ भने म तिमीहरूलाई आफ्ना पापको लागि सात गुणा बढी दण्ड दिनेछु। म तिमीहरूका हठीपूर्ण अभिमान चुर पार्नेछु। अनि तिमीहरूमाथि भएको आकाशलाई फलामझैँ र तिमीहरूमुनि भएको जमिनलाई काँसोझैँ बनाउनेछु। तिमीहरूले व्यर्थमा परिश्रम गर्नेछौ; किनकि तिमीहरूका माटोले त्यसको उब्जनी दिनेछैन, न त तिमीहरूका जमिनका रूखहरूले आफ्नो फल दिनेछन्। “ ‘यदि तिमीहरू मेरो विरोधी भइरह्यौ र मेरो कुरा सुन्न इन्कार गर्यौ भने म तिमीहरूका पापको योग्य तिमीहरूका कष्टहरू सात गुणा बढी बढाइदिनेछु।
लेवीहरू 26:14-21 पवित्र बाइबल (NERV)
“तर यदि तिमीहरूले मेरा ती आज्ञाहरू मान्दैनौ, यदि तिमीहरूले मेरो विधिहरू र आज्ञाहरूको अवहेलना गछौ यो मेरो करार भंग गरेको जस्तो हुनेछ। यदि तिमीहरूले यसो गर्छौ भने, तब म तिमीहरूमाथि भयंकर कष्टहरू ल्याउनेछु। तिमीहरूमाथि रोग तथा ज्वरो ल्याइदिनेछु। ती रोगहरूले तिम्रा आँखाहरू फुटाइ दिनेछन् अनि तिमीहरूको जीवन अन्त गराइदिनेछ। तिमीहरूले खेती गरे पनि सफल हुने छैनौ, तिमीहरूका शत्रुहरूले तिम्रा अन्न बलीहरू खाइदिनेछन्। म तिमीहरूको विरोधमा हुनेछु र तिमीहरूलाई शत्रुले परास्त गर्नेछ। ती शत्रुहरू जसले तिमीहरूलाई घृणा गर्छन् तिमीहरूमाथि शासन गर्नेछन्। तिमीहरू भागिरहने छौ यद्यपि कसैले तिमीहरूलाई खेदेको हुँदैन। “यति गर्दा पनि तिमीहरूले मलाई नमाने तिमीहरूले गरेको पापको सात गुणा वेशी सजाय दिनेछु। अनि तिमीहरूको गर्वको महानगरलाई म भत्काउनेछु। आकाशले तिमीहरूलाई पानी दिनेछैन र त्यसरी नै पृथ्वीले तिमीहरूलाई अन्न दिने छैन। आकाश र पृथ्वी तिमीहरूको निम्ति क्रमश: फलाम र काँसा जस्ता हुनेछन्। तिमीहरूले पूरा मेहनत त गर्छौ तर त्यसबाट केही लाभ हुनेछैन अनि तिमीहरूलाई नत जमीनले अन्न दिनेछ नत रूखहरूले फल दिनेछ। “अझ तिमीहरू मेरो विरोध गर्छौ र मैले भनेको मान्दैनौ भने तिमीहरूलाई सात गुणा अधिक हिसाबले हिर्काउनेछु। जति तिमीहरू पाप गर्छौ त्यति नै वेशी तिमीहरूले दण्ड भोग्ने छौ।
लेवीहरू 26:14-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले भन्नुभयो, “तिमीहरूले मेरा आज्ञा मानेनौ भने दण्ड पाउनेछौ। तिमीहरूले मेरा नियम, मेरा आज्ञाहरू पालन गर्न इन्कार गर्यौ र मैले तिमीहरूसित बाँधेको करार भङ्ग गर्यौ भने म तिमीहरूलाई दण्ड दिनेछु। म तिमीहरूमाथि विपत्ति ल्याउनेछु– तिमीहरूको ज्यान सुकाउने अनि तिमीहरूलाई अन्धा पार्ने र निको पार्न नसकिने बिरामी र ज्वरोहरू ल्याउनेछु। तिमीहरूले अन्न लाउनेछौ तर त्यसबाट तिमीहरूलाई केही लाभ हुनेछैन किनभने तिम्रा शत्रुहरूले तिमीहरूलाई विजय गर्नेछन् र तिमीहरूका उब्जनी खानेछन्। म तिमीहरूका विरुद्धमा खडा हुनेछु र तिमीहरू हार्नेछौ। जसले तिमीहरूलाई घिनाउँछन् तिनीहरूले तिमीहरूमाथि राज्य गर्नेछन्। तिमीहरू यति साह्रो डराउनेछौ कि कसैले नदेखेको बेलामा पनि दगुरेर भाग्नेछौ। “यी सबै भइसकेपछि पनि तिमीहरूले मेरा आज्ञा मानेनौ भने म तिमीहरूको दण्ड सात गुणा बढाइदिनेछु। म तिमीहरूको हठीपन तोड्नेछु। पानी पर्नेछैन र तिमीहरूका जमिन सुक्खा र फलामजस्तै साह्रो हुनेछ। तिम्रा सारा कठोर मेहनतबाट तिमीहरूलाई केही लाभ हुनेछैन किनभने तिमीहरूका खेतमा अन्न उब्जनेछैन अनि रूखहरूमा फल फल्नेछैन। “तिमीहरूले अझै मेरो विरोध गर्यौ र आज्ञा मानेनौ भने म तिमीहरूको दण्ड अरू सात गुणा बढाउनेछु।