लेवीहरू 2:1-16

लेवीहरू 2:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“‘कसैले परमप्रभुको निम्‍ति अन्‍नबलिको भेटी चढ़ाउँछ भने त्‍यसको भेटी मसिनो पीठोको होस्‌। त्‍यसले त्‍यसमाथि तेल खन्‍याएर धूप हालोस्‌। तब त्‍यसले हारूनका छोराहरू, अर्थात्‌ पूजाहारीहरूकहाँ त्‍यो ल्‍याओस्‌। त्‍यसबाट पूजाहारीले आफ्‍नो मुट्ठीभरिको मसिनो पीठो र तेल जम्‍मै धूपसमेत झिकून्‌। अनि पूजाहारीले त्‍यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि, सम्‍झना स्‍वरूप वेदीमा जलाऊन्‌। अन्‍नबलिबाट उब्रेको चाहिँ हारून र तिनका छोराहरूको होस्‌। परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिहरूमध्‍ये यो अति पवित्र हो। “‘चुलोमा पकाइएको अन्‍नबलिको भेटी चढ़ाउने इच्‍छा भए, तेलमा मुछेको अखमिरी मसिनो पीठोको फुरौला वा तेल दलेको अखमिरी बाबर होस्‌। तिमीहरूको बलि ताउमा पकाइएको अन्‍नबलि भए, तेलमा मुछेको अखमिरी मसिनो पीठोको होस्‌। त्‍यो टुक्रा-टुक्रा पारेर त्‍यसमा तेल खन्‍याऊ। त्‍यो अन्‍नबलि हो। तिनीहरूको बलि ताई-ताप्‍केमा पकाइएको अन्‍नबलि भए, त्‍योचाहिँ तेलमा फुराएको मसिनो पीठोको होस्‌। यी चीजहरूले बनेको अन्‍नबलि परमप्रभुकहाँ लैजानू। त्‍यो पूजाहारीकहाँ ल्‍याएपछि पूजाहारीले त्‍यो वेदीमा ल्‍याऊन्‌। अनि पूजाहारीले अन्‍नबलिबाट सम्‍झना स्‍वरूप भाग झिकेर त्‍यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि स्‍वरूप वेदीमा जलाऊन्‌। अन्‍नबलिबाट उब्रेको भाग हारून र तिनका छोराहरूको होस्‌। परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिहरूमध्‍ये यो अति पवित्र हो। “‘तिमीहरूले परमप्रभुको निम्‍ति चढ़ाउने कुनै पनि अन्‍नबलि खमिरले बनेको नहोस्, किनभने परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिमा तिमीहरूले खमिर र मह नजलाउनू। तीचाहिँ अगौटे फलका बलिको रूपमा परमप्रभुको निम्‍ति चढ़ाए हुन्‍छ, तर मीठो बास्‍नाको लागि भने ती वेदीमा नचढ़ाउनू। आफ्‍ना सबै अन्‍नबलिका भेटी तिमीहरूले नूनले नुनिलो बनाउनू, र आफ्‍ना परमेश्‍वरका करारको नूनरहित आफ्‍नो कुनै पनि अन्‍नबलि हुन नपाओस्‌। आफ्‍ना सबै बलिमा नून पनि चढ़ाउनू। “‘परमप्रभुको निम्‍ति अगौटे फलहरूको अन्‍नबलि चढ़ाउने इच्‍छा भए, आफ्‍नो अगौटे फलहरूका अन्‍नबलिको निम्‍ति पिँधेका र आगोमा पिर्खलेका ताजा अन्‍नका बालाहरू चढ़ाउनू। तिनमा तेल हाल्‍नू र धूप राख्‍नू। त्‍यो अन्‍नबलि हो। अनि पूजाहारीले जम्‍मै धूपसँग तेल र पिँधेको अन्‍नबाट केही भाग लिएर त्‍यो सम्‍झना स्‍वरूप भाग जलाऊन्‌। त्‍यो परमप्रभुको निम्‍ति अग्‍नि-होम हो’।”

शेयर गर्नुहोस्
लेवीहरू 2 पढ्नुहोस्

लेवीहरू 2:1-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“ ‘कसैले याहवेहका निम्ति अन्‍नबलि ल्याउँछ भने त्यसको भेटी मसिनो पिठोको होस्। त्यसले त्यसमाथि जैतुन तेल खन्याओस्, र त्यसमा धूप हालोस्। अनि त्यसलाई हारूनका पुजारी छोराहरूकहाँ ल्याओस्। पुजारीले एक मुठी मसिनो पिठो र तेल सबै धूपसित लिएर त्यसलाई सम्झनास्वरूप वेदीमा जलाउनेछ। यो अग्निबलि हो—याहवेहलाई मनपर्ने बास्‍ना। अन्‍नबलिको बाँकी भाग हारून र त्यसका छोराहरूको हो। यो याहवेहका निम्ति अग्निबलिहरूमा सबैभन्दा पवित्र भाग हो। “ ‘तिमीहरूले चुलोमा पकाएको अन्‍नबलि ल्यायौ भने यो मसिनो पिठोका खमिर नमिसाइएको र तेल मिसाइएका फुरौलाहरू अथवा तेल दलेका अखमिरी बाबर होस्। यदि तिमीहरूका अन्‍नबलि तावामा पकाएको हो भने त्यो खमिर नमिसाइएको र जैतुन तेल मिसाइएको पिठोबाट बनिएको होस्। त्यसलाई टुक्रा-टुक्रा पारेर त्यसमाथि तेल खन्याउनू; त्यो अन्‍नबलि हो। तिमीहरूका अन्‍नबलि ताप्केमाथि पकाएको हो भने त्यो मसिनो पिठो र जैतुन तेलबाट बनाइएको होस्। यी कुराहरूले बनिएको अन्‍नबलि याहवेहकहाँ ल्याउनू; र त्यो पुजारीलाई दिनू, जसले त्यसलाई वेदीमा लानेछ। त्यस पुजारीले अन्‍नबलिबाट सम्झनाको भाग निकालेर याहवेहलाई मनपर्ने बास्‍नाझैँ अग्निबलिको रूपमा वेदीमाथि जलाओस्। अन्‍नबलिको बाँकी भाग हारून र त्यसका छोराहरूको हो। यो याहवेहका निम्ति अग्निबलिहरूमा सबैभन्दा पवित्र भाग हो। “ ‘तिमीहरूले याहवेहकहाँ ल्याउने प्रत्येक अन्‍नबलि खमिर नहाली बनाइएको होस्। किनकि याहवेहकहाँ चढाइने अग्निबलिमा तिमीहरूले कुनै खमिर अथवा मह नजलाऊनू। तिमीहरूले ती याहवेहकहाँ अगौटे फलका बलिको रूपमा ल्याउन सक्छौ, तर तिनीहरूलाई वेदीमा मनपर्ने बास्‍नाको रूपमा नचढाउनू। तिमीहरूका सबै अन्‍नबलिहरूमा नुन मोल्नू। तिमीहरूका परमेश्‍वरको करारको नुनलाई तिमीहरूका अन्‍नबलिदेखि अलग नराख्नू। तिमीहरूका सबै बलिहरूमा नुन चढाउनू। “ ‘याहवेहका निम्ति अगौटे फलहरूको अन्‍नबलि चढाउने इच्छा भएमा आफ्ना अगौटे फलहरूका अन्‍नबलिका निम्ति पिँधेका र आगोमा पिल्स्याएका ताजा अन्‍नका बालाहरू चढाउनू। त्यसमा तेल हाल्नू र धूप राख्नू; यो अन्‍नबलि हो। पिँधेको अन्‍न र तेल सम्झनाको भाग सबै धूपसित याहवेहका निम्ति अग्निबलिको रूपमा पुजारीले जलाओस्।

शेयर गर्नुहोस्
लेवीहरू 2 पढ्नुहोस्

लेवीहरू 2:1-16 पवित्र बाइबल (NERV)

“जब कोही मानिस परमप्रभुलाई अन्नबलिको केही बलि चढाउँछ भने त्यो बलि मसिनो पीठोको होस्। त्यसमा तेल खन्याएर पूजाहारीले सुगन्धित धूप हालोस्। तब उसले त्यो बलि हारूनका छोराहरूकहाँ ल्याउनु पर्छ अनि पूजाहारीले एक मुट्ठी मसिनो अन्नको पीठो, तेल अनि त्यसबाट धूप झिक्नु पर्छ अनि वेदीमा परमप्रभुलाई चढाउने सम्झना भेटीको रूपमा यसलाई चढाउनु पर्छ। यो आगोद्वारा चढाउने भेटी हो अनि यसको वासनाले परमप्रभुलाई प्रसन्न पार्छ। बाँकी रहेको अन्नबलि परमप्रभुको अत्यन्तै पवित्र उपहार स्वरूप हारूनका छोराहरूका निम्ति रहोस्। “यदि तिमी चुलामा पकाएको अन्नबलि चढाउँछौ भने, तेलमा मुछेको अखमिरी मसिनो पिठोको फुलौरा अथवा तेल हालेको अखमिरी रोटी होस्। यदि तिम्रो अन्नबलि तावामा पकाएको अन्नबलि भए त्यो तेलमा मुछेको अखमिरी मसिनो पीठोको होस्। त्यो मसिनो गरी पिंध अनि त्यसमा तेल खन्याऊ। त्यो अन्नबलि हो। यदि तिमी अन्न भेटील्याउँछौ जो तावामा भूटिएको छ भने यो तेलसित मिसाइएको मसीनो पीठो हुनु पर्छ। “जब तिमीले यी कुनै अन्नबलिहरूबाट बनाइएको परिकार ल्याउँछौ त्यो पूजाहारीलाई देऊ र त्यो पूजाहारीले वेदीमा चढाओस्। पूजाहारीले अन्नभेटीको केही भाग छुट्‌याउनुपर्छ अनि यसलाई स्मरणीय भेटीको रूपमा जलाउनुपर्छ, अनि वेदीमा परमप्रभुलाई सुगन्धित भेटीको रूपमा चढाउनु पर्छ। अन्नबलिबाट रहेको भाग हारून र तिनका छोराहरूको निम्ति हुनुपर्छ। परमप्रभुको निम्ति यो आगोद्वारा चढाएको बलि अति पवित्र हो। “तिमीले खमीर भएको कुनै पनि अन्नबलि परमप्रभुलाई चढाउनु हुँदैन अथवा महबाट बनिएको परमप्रभुको निम्ति उपहार आगोमा जलाउनु हुँदैन। (यहाँ भनिएको मह हुन सक्छ मौरीको नभई फूलहरूको रस हुनसक्छ।) तिमीहरू बर्षको पहिलो बालीबाट खमीर र मह चढाउन सक्छौ, तर त्यो बलि भेटीलाई सुगन्धित भेटीबनाउन जलाउनु हुँदैन। तिमीले प्रत्येक अन्नबलिमा नूनहालेर ल्याउनुपर्छ। परमेश्वरसित गरेको नूनको करार तिम्रो अन्नबलिबाट हराउनु हुदैन। तिमीले आफ्नो बलि नूनसँगै ल्याउँनुपर्छ। “यदि तिमीहरू बर्षको अगौटे बालीबाट परमप्रभुलाई भेटी चढाउँछौ भने तिमीहरू पहिले बालीको ताजा अन्नको अघिल्लो भागलाई पिंधेर अन्न पकाएको भेटी बनाउनु पर्छ। तिमीले त्यसमा तेल अनि सुगन्धित धूप लगाउनुपर्छ। यो अन्नबलि हो। पूजाहारीले परमप्रभुको निम्ति सबै धूपसित पिंधेको अन्नबाट तयार गरेको भेटीको केही भाग तेलसित मिसाएर स्मारकको रूपमा जलाउनु पर्छ।

शेयर गर्नुहोस्
लेवीहरू 2 पढ्नुहोस्

लेवीहरू 2:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

कसैले परमप्रभुलाई अन्‍नबलि चढाउँछ भने त्‍यसलाई पहिले पिंधेर पिठो पार्नुपर्छ। त्‍यसमा त्‍यसले जैतुनको तेल हालोस् र माथिबाट धूप राखोस् अनि हारून वंशका पूजाहारीकहाँ ल्‍याओस्। सेवा गर्ने पूजाहारीले त्‍यो पिठो र तेल एक मुट्ठी लिएर र जम्‍मै धूप परमप्रभुलाई चढाएको चिन्‍हको रूपमा वेदीमा डढाओस्। त्‍यस अन्‍नबलिको मीठो बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ। उब्रेको अन्‍नबलि पूजाहारीहरूको भाग हो। त्‍यो परमप्रभुलाई चढाएको अन्‍नबलि लिइएको हुनाले अति पवित्र छ। चुलोमा पकाएको रोटी अन्‍नबलि चढाउँछ भने त्‍यसलाई खमिर नमिसाई बनाउनुपर्नेछ। त्‍यो पिठो र जैतुनको तेल मुछेर बनेको मोटो रोटी होस् कि त जैतुनको तेल दलेको स-साना रोटी होऊन्। अन्‍नबलि तावामा पकाएको रोटी हो भने त्‍यो खमिर नहालेको पिठो र जैतुनको तेल मुछेर बनाउनुपर्छ। त्‍यो अन्‍नबलि चढाउँदा रोटी टुक्रा-टुक्रा पारेर त्‍यसमा तेल खन्‍याउनू। अन्‍नबलि ताप्‍केमा पकाएको रोटी हो भने त्‍यो पिठो र जैतुनको तेलले बनेको हुनुपर्छ। त्‍यसलाई परमप्रभुकहाँ अन्‍नबलिको रूपमा ल्‍याउनू र पूजाहारीलाई दिनू। पूजाहारीले त्‍यसलाई वेदीमा चढाउनेछ। अन्‍नबलि पूरै परमप्रभुलाई चढाएको चिन्‍हको रूपमा पूजाहारीले त्‍यसबाट एक भाग लिएर वेदीमाथि डढाओस्। त्‍यस अन्‍नबलिको मीठो बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ। उब्रेको अन्‍नबलि पूजाहारीहरूको भाग हो। परमप्रभुलाई चढाएको अन्‍नबलिबाट लिइएको हुनाले त्‍यो अति पवित्र छ। तिमीहरूले परमप्रभुलाई चढाउने अन्‍नबलिहरूमा खमिर नहोस्। परमप्रभुलाई चढाएका अन्‍नबलिमा तिमीहरूले कहिले पनि खमिर वा मह नलाउनू। हरेक वर्ष बाली काटेपछि आफूले बटुलेको पहिलो अन्‍नबलि परमप्रभुकहाँ ल्‍याउनुपर्नेछ तर त्‍यो वेदीमा डढाइनेछैन। हरेक अन्‍नबलिमा नुन लगाउनू किनभने नुनले परमेश्‍वर र तिमीहरूका बीचमा रहेको करार बुझाउँदछ। (आफ्‍ना सबै बलिमा तिमीहरूले नुन हाल्‍नू।) जब तिमीहरूले परमप्रभुकहाँ आफूले कटनी गरेको पहिलो अन्‍नबलि लिई आउँछौ, तब आगोमा पोलेको अन्‍न वा अन्‍न पिंधेर बनाएको पिठो चढाउनू। त्‍यसमा जैतुनको तेल लाउनू र धूप राख्‍नू। पूजाहारीले सबै धूप अनि अन्‍न र तेलको एक भाग चिन्‍हको रूपमा परमप्रभुकहाँ अन्‍नबलि चढाएर जलाउनेछ।

शेयर गर्नुहोस्
लेवीहरू 2 पढ्नुहोस्