लेवीहरू 19:1-18
लेवीहरू 19:1-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले मोशालाई भन्नुभयो, “सबै इस्राएली समुदायलाई भन्: तिमीहरू पवित्र होओ, किनभने म, परमप्रभु तिमीहरूका परमेश्वर, पवित्र छु। “‘तिमीहरू हरेकले आफ्ना आमा-बुबाको सम्मान गर्नू, र मेरो शबाथ पालन गर्नू। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। “‘मूर्तिहरू पुज्नतिर तिमीहरू नलाग, अनि तिमीहरूले ढलौटे देवताहरू पनि नबनाओ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। “‘तिमीहरूले मेलबलि चढ़ाउँदा आफू ग्रहणयोग्य हुने गरी चढ़ाओ। तिमीहरूले चढ़ाएकै दिन वा भोलिपल्टसम्म त्यो खाइओस्। तर पर्सिपल्ट केही उब्र्यो भने त्यो आगोमा जलाइओस्। पर्सिपल्टसम्म त त्यो खाइएको भए त्यो अशुद्ध हुन्छ। त्यो ग्रहणयोग्य हुनेछैन। त्यो खाने हरेक आफ्नो अधर्मको लागि आफै जिम्मेवार हुनेछ, किनभने त्यसले परमप्रभुको पवित्र कुरो अपवित्र पार्यो। अनि त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्। “‘जब तिमीहरू आफ्नो बाली काट्छौ, तब तिमीहरूले खेतको छेउसम्मै नकाट्नू। कटनीको शिला-बाला नबटुल्नू। तिमीहरूले आफ्नो दाखबारीका फल निखारीकन नटिप्नू, अनि दाखबारीमा झरेका फलहरू नबटुल्नू। तीचाहिँ गरीब र परदेशीहरूका निम्ति छोड़िदेओ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। “‘तिमीहरूले चोरी नगर्नू। “‘छल नगर्नू।” “‘एक-अर्कासित झूट नबोल्नू। “‘तिमीहरूले मेरो नाउँमा झूटा शपथ नखानू। त्यसो गर्नाले तिमीहरूले आफ्ना परमेश्वरको नाउँ अपवित्र पार्नेछौ। म परमप्रभु हुँ। “‘तिमीहरूले आफ्नो छिमेकीलाई थिचोमिचो नगर्नू, र त्यसलाई नलुट्नू। “‘ज्यालामा काम गर्नेको पैसा एक रात पनि तिमीहरूसँग नरहोस्। “‘बहिरालाई नसराप। अन्धाको अगाड़ि ठोकर लाग्ने कुरो नराख, तर आफ्ना परमेश्वरको भय मान। म परमप्रभु हुँ। “‘तिमीहरूले अन्याय नगर। ठूलो होस् वा सानो होस्, मान्छे हेरेर होइन, तर सबै मान्छेको उचित न्याय गर। “‘मानिसहरूका बीचमा निन्दा नफैलाओ। “‘तिमीहरूले आफ्नो छिमेकीको जीवन जोखिममा नपार। म परमप्रभु हुँ। “‘आफ्नो भाइबन्धुसित दुश्मनी नराख। आफ्नो छिमेकीलाई खुल्लमखुल्ला हप्काओ, नत्रता तँ पनि त्यसको अपराधमा साझेदारी होलास्। “‘आफ्ना आफन्तहरूसित बदला लिन नखोज र इबी नराख, तर आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर। म परमप्रभु हुँ।
लेवीहरू 19:1-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले मोशालाई भन्नुभयो, “इस्राएलका सारा समुदायसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरू पवित्र होओ; किनकि म याहवेह तिमीहरूका परमेश्वर पवित्र छु। “ ‘तिमीहरू प्रत्येकले आफ्ना आमाबुबालाई आदर गर्नू, र तिमीहरूले मेरा शब्बाथहरूलाई पालन गर्नू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ। “ ‘मूर्तिहरूतिर नफर्कनू वा धातुका आफ्ना निम्ति देवताहरू नबनाउनू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ। “ ‘तिमीहरूले याहवेहको निम्ति आफ्ना मेलबलि चढाउँदा यस किसिमले चढाओ, कि त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य होस्। त्यसलाई तिमीहरूद्वारा चढाएकै दिन अथवा भोलिपल्ट खाइयोस्। तेस्रो दिनसम्म केही थोक बाँकी रह्यो भने त्यो जलाइयोस्। यदि त्यसबाट केही तेस्रो दिनमा खाइयो भने त्यो अशुद्ध हो; त्यो ग्रहण हुनेछैन। त्यसलाई जसले खान्छ, त्यो जिम्मेवार हुनेछ। किनकि त्यसले जुन कुरा याहवेहको निम्ति पवित्र छ, त्यसलाई अपवित्र तुल्याएको छ। त्यो मानिस आफ्नो समुदायबाट बहिष्कार गरियोस्। “ ‘तिमीहरूले आफ्नो जमिनबाट कटनी गर्दा त्यसको किनारसम्मै नकाट्नू, अथवा तिमीहरूका कटनीको सिलाबाला नबटुल्नू। तिमीहरू आफ्नो दाखबारीमा दोस्रो पल्ट नजानू, अथवा झरेका अङ्गुर नटिप्नू। ती गरिबहरू र परदेशीहरूका निम्ति छोडिदिनू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ। “ ‘तिमीहरूले चोरी नगर्नू। “ ‘तिमीहरूले झूट नबोल्नू। “ ‘तिमीहरू एक-अर्कालाई धोका नदिनू। “ ‘तिमीहरूले मेरो नाममा झूटो शपथ खाएर आफ्ना परमेश्वरको नाम अपवित्र नतुल्याउनू। म नै याहवेह हुँ। “ ‘तिमीहरूले आफ्ना छिमेकीलाई शोषण नगर्नू, अथवा नलुट्नू। “ ‘तिमीहरूका ज्यालादारी मानिसको ज्याला रातभरि रोकेर नराख्नू। “ ‘तिमीहरूले सुन्न नसक्नेलाई नसराप्नू, अथवा दृष्टिविहीनको सामु ठेस लाग्ने कुरा नराख्नू; तर आफ्ना परमेश्वरको डर मान्नू। म नै याहवेह हुँ। “ ‘तिमीहरूले न्याय नबिगार्नू। गरिबलाई पक्षपात नगर्नू; अनि धनीलाई विशेष कृपा नदेखाउनू। तर आफ्ना छिमेकीको न्याय ठिकसित गर्नू। “ ‘आफ्ना मानिसहरूका बीचमा निन्दा नफैलाउनू। “ ‘आफ्ना छिमेकीको जीवन खतरामा पर्ने किसिमका कुनै पनि काम नगर्नू। म नै याहवेह हुँ। “ ‘तिमीहरूका दाजुभाइलाई आफ्नो हृदयमा घृणा नगर्नू। बरु आफ्नो छिमेकीलाई खुल्लमखुल्ला हप्काउनू, ताकि त्यसको दोषमा तिमीहरूको कुनै भाग नहोस्। “ ‘आफ्ना मानिसहरूका विरुद्धमा बदला नलिनू, अथवा डाह नगर्नू; तर आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू; म नै याहवेह हुँ।
लेवीहरू 19:1-18 पवित्र बाइबल (NERV)
परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका सबै मानिसहरूलाई भनः म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू सबै पवित्र होऊ, कारण म पवित्र छु। “तिमीहरू मध्ये प्रत्येकले आफ्नो आमा-बाबुलाई सम्मान गर्नुपर्छ अनि विश्रामको दिन पालन गर्नुपर्छ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। “मूर्तिहरूको पूजा नगर अनि आफ्नो निम्ति धातु पगालेर देवताहरूको मूर्तिहरू नबनाऊ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। “जब तिमीहरूले परमप्रभुलाई मेलबलि चढाउछौ, तिमीहरूले रीतिपूर्वक त्यो चढाउनुपर्छ जसले गर्दा तिमीहरूले चढाएको परमप्रभुले ग्रहण गरून्। तिमीले यसलाई त्यही दिन खान सक्छौ जुन दिन तिनीहरू यसकाई चढाउँछौ। अनि अर्को दिन पनि खान सक्छौ। तर यदि कुनै बलि तेस्रो दिनसम्म रहेको छ भने यसलाई आगोमा जलाउनुपर्छ। तेस्रो दिनसम्म रहेको बलि अशुद्ध हुन्छ, यसर्थ त्यो खानु हुँदैन। यदि कुनै मानिसले यसलाई खान्छ त्यो मानिस पापको दोषी हुन्छ किनभने उसले परमप्रभुको पवित्र चीजहरूको सम्मान गरेको हुँदैन। त्यस मानिसलाई आफ्ना मानिसहरूबाट छुट्याउनु पर्छ। “जब तिमीहरू बाली उठाउने समय भएपछि आफ्नो बाली काट्छौ, खेतको आखिरी कुनासम्म नकाट अनि उठाउँदा भूँईमा झरेको अन्न नटिप। जब तिमीहरू अंङ्गूरको बोटबाट अंङ्गूर टिप्छौ, सबै अंङ्गूर न टिप अथवा झरेको अंङ्गूर नटिप। तिनीहरूको भूमिमा भएका गरीब अनि विदेशीहरू निम्ति छाडी देऊ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। “तिमीहरूले चोर्नु हुँदैन, मानिसहरूलाई ठग्नु हुँदैन अनि एकार्कामा झूटो नबोल्नु। मेरो नाम लिएर झूटो कसम नखाऊ, यदि त्यसो गर्छौ तिमीहरूले परमेश्वरको नामलाई सम्मान नगरेको बुझिनेछ। म परमप्रभु हुँ। “तिमीहरूले आफ्नो छिमेकीसित नराम्रो काम नगर। उसलाई नलुट। तिमीहरूले कुनै हाजिरामा काम गर्ने मानिसको हाजिरा एक रातभरिको निम्ति पनि नरोक। “बहिरका मानिसलाई नसराप। अन्धालाई लडाउने हेतुले उसको बाटोमा केही नराख। आफ्ना परमेश्वरको सम्मान गर्नुपर्छ। म परमप्रभु हुँ। “न्याय गर्दा सच्चाइले गर्नुपर्छ। न्याय गर्दा गरीब भनि दया र धनी भनी सम्मान नगर। आफ्नो छिमेकीसित न्याय गर्दा पनि सच्चाइले न्याय गर्नुपर्छ। मानिसहरूको विरूद्ध झूटा कुराहरू गरेर नहिँड। यस्तो कुनै काम नगर जुन तिम्रो कामले छिमेकी विपदमा पर्न सक्छ। म परमप्रभु हुँ। “तिमीले हृदयबाट आफ्ना इस्राएली मित्रलाई घृणा गर्नु हुँदैन। यदि तिम्रो छिमेकीले केही अनिष्ट गरेको छ भने उसलाई जानकारी देऊ, तिमीहरू उसले गर्दा पापको दोषी हुने छैनौ। मानिसहरूले तिमीप्रति गरेका अनिष्ट कामहरू बिर्सिदेऊ। तिम्रा छिमेकीहरूलाई आफूलाई झैं माया गर। म परमप्रभु हुँ।
लेवीहरू 19:1-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले मोशाद्वारा इस्राएली जन-समूहलाई भन्नुभयो, “पवित्र होओ किनभने म परमप्रभु तिमीहरूका परमेश्वर पवित्र छु। तिमीहरू हरेकले मैले आज्ञा गरेअनुसार आफ्ना आमा-बुबाको आदर गर्नुपर्छ र पवित्र विश्राम दिन मान्नुपर्छ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। “मलाई छोडेर मूर्तिपूजा नगर, धातुका मूर्तिहरू बनाएर तिनलाई नपूज। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। “तिमीहरू जब मेलबलिको निम्ति पशु मार्छौ, मैले दिएका नियमहरू पालन गर र म बलि स्वीकार गर्नेछु। पशु मारिएकै दिन वा त्यसको भोलिपल्ट त्यसको मासु खाइसक्नुपर्छ। तेस्रो दिनसम्म उब्रेको मासु जलाइनुपर्छ किनभने त्यो विधिअनुसार अशुद्ध छ र कसैले त्यो खायो भने म त्यो बलि ग्रहण गर्नेछैनँ। त्यस्तो मासु खाने मानिस मेरो जन ठानिनेछैन किनभने त्यसले मलाई अर्पण गरिएको वस्तुलाई एउटा मामुली थोक मात्र ठान्ने दोष गरेको हुन्छ। “जब तिमीहरू आफ्ना खेतबाट अन्न बटुल्दछौ, खेतको किनाराका बाली नकाट्नू र छाडिएका अन्नका बाली काट्नलाई फर्की नजानू। टिप्दा छाडिएका वा भूइँमा झरेको अङ्गुर टिप्न फर्केर दाखबारीमा फेरि नजानू, ती गरीब र विदेशीहरूका लागि छोडिदिनू। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। “तिमीहरूले चोरी, ठगी वा झूटा बोली नगर्नू। मसँग गरेको प्रतिज्ञा पूरा गर्ने इच्छा छँदैछैन भने मेरा नाममा केही प्रतिज्ञा नगर्नू। नत्र त्यसले मेरो नामको अनादर हुनेछ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। “कसैबाट फाइदा नउठाउनू वा कसैलाई नलुट्नू। कुनै ज्यामीको ज्याला एकै रात पनि नरोक्नू। बहिरालाई गाली नगर्नू वा अन्धाको अघि कुनै ठोकर लाग्ने कुरा नराखिदिनू। मेरो डर राख; म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। “मुद्दामा निर्णय दिँदा तिमीहरू इमानदार र न्यायी हुनू। गरीबतर्फ पनि नलाग्नू, धनीको डर पनि नमान्नू। कसैका विरुद्धमा झूटो कुरा नफैलाओ। कसैको ज्यान खतरामा छ र तिम्रो साक्षीले उसलाई सहायता हुन्छ भने तिमी बोल। म परमप्रभु हुँ। “कसैको विरुद्धमा वैरभाव नराख तर ऊसँगको तिम्रो नमिल्ने कुरा छिनोफानो गरिहाल र त्यस मानिसको कारणले तिमीले पाप गर्नेछैनौ। कसैसँग बदला नलेऊ वा कसैलाई घृणा गरी नबस तर आफ्ना छिमेकीलाई आफैंलाई झैँ प्रेम गर। म परमप्रभु हुँ।