लेवीहरू 18:24-30
लेवीहरू 18:24-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘यस्ता सबै कामहरूद्वारा तिमीहरू आफैलाई अशुद्ध नपार। म तिमीहरूका सामुन्नेबाट जुन जातिहरूलाई निकाल्दैछु तिनीहरू यी सबै कुरामा नै अशुद्ध भएका छन्। त्यसरी नै त्यो देश अशुद्ध भएको हो। अनि मैले त्यसमाथि त्यसका अधर्मको दण्ड उठाएँ, र देशले आफ्ना बासिन्दाहरूलाई उकेलेर फ्याँकिदियो। तर चाहे स्वदेशी होस्, चाहे तिमीहरूका बीचमा प्रवास गर्ने परदेशी होस्, तिमीहरूले मेरा विधिविधानहरू पालन गर्नू, र यस्ता घिनलाग्दा कामहरू नगर्नू। किनभने यस्तै सबै घिनलाग्दा कामहरू त्यस देशका पूर्वबासिन्दाहरूले गरे, र त्यो देश अशुद्ध भयो। मेरा विधिविधान पालन नगरेर यदि तिमीहरूले त्यस देशलाई अशुद्ध पार्यो भने त्यसका पूर्वबासिन्दालाई झैँ तिमीहरूलाई पनि त्यसले उकेलेर फ्याँकिदिनेछ। “‘कसैले यीमध्ये कुनै घृणित काम गर्यो भने त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्। यसकारण अघि-अघिकाहरूले गरिआएका घृणित काम तिमीहरूले चाहिँ नगर्नू र आफैलाई अशुद्ध नगर्नू भनी मैले दिएका आदेश पालन गर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ’।”
लेवीहरू 18:24-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘तिमीहरूले यी कुराहरूमध्ये कुनैमा पनि आफूलाई अपवित्र नतुल्याउनू। किनकि तिमीहरूको सामु म जुन जातिहरूलाई बाहिर धपाउँदैछु, तिनीहरू यस्तै किसिमले आफूलाई अपवित्र बनाए। त्यो देशसमेत अपवित्र भयो। यसकारण मैले तिनीहरूका पापका निम्ति तिनीहरूलाई दण्ड दिएँ। अनि त्यस देशले आफ्ना देशवासीहरूलाई ओकलेर फालिदियो। तर तिमीहरूले मेरा उर्दी र आज्ञाहरू पालन गर्नू। स्वदेशमा जन्मेका अथवा तिमीहरूसित बस्ने परदेशीहरूले यस्ता घिनलाग्दा कुनै पनि काम नगर्नू। किनकि यी घिनलाग्दा काम तिमीहरूभन्दा अगि त्यस ठाउँमा बस्ने मानिसहरूले गरेका थिए, र देश अपवित्र भयो। अनि यदि तिमीहरूले देशलाई अपवित्र तुल्यायौ भने त्यसले तिमीहरूभन्दा पहिलेका जातिहरूलाई ओकलेर फालिदिएझैँ, तिमीहरूलाई पनि ओकलेर फालिदिनेछ। “ ‘यदि कसैले यीमध्ये कुनै घृणित काम गर्यो भने त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्। मैले राखेका विधिहरू पूरा गर्नू। अनि तिमीहरू आउनुभन्दा पहिले गरिएका घिनलाग्दा रीतिको अनुसरण नगर्नू। तिमीहरूले त्यस्ता कुराहरूसित आफूलाई अपवित्र नतुल्याउनू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।’ ”
लेवीहरू 18:24-30 पवित्र बाइबल (NERV)
“तिमीहरू आफैं त्यस्ता अधर्म कर्महरू नगर कारण म त्यस्ता अधर्म कर्म गर्नेहरूलाई तिनीहरूको देशबाट निकाल्दैछु। तिनीहरूले आफ्नो भूमिलाई त्यसरी अशुद्ध बनाएको कारण अहिले त्यो भूमिले आफ्ना मानिसहरूलाई उच्छेद गरिरहेछ। “यसर्थ तिमीहरूले मेरा विधि-विधानहरू मान्नुपर्छ र तिमीहरूले कुनै पनि त्यस्ता अधर्म पाप कर्म गर्नु हुँदैन। यी विधानहरू इस्राएलीहरूका निम्ति हुन्, अनि यी नियमहरू तिमीहरूसँगै त्यहाँ बस्नेहरूका निम्ति पनि हुन्। त्यो भूमि अशुद्ध भएको छ कारण त्यहाँ पहिलेका बासिन्दाहरूले त्यस्ता घोर पाप कर्महरू गरेका थिए। यदि तिमीहरूले पनि त्यसै गर्यौ भने ती पहिलेका मानिसहरूलाई जसरी त्यो भूमिले हटाएको थियो तिमीहरूलाई पनि हटाउनेछ। यदि कुनै मानिसले त्यस्तो घोर पाप कर्म गरे त्यस मानिसलाई उसको आफन्तहरूबाट अलग गरिनेछ। अन्य मानिसहरूले त्यस्तो अधर्म पाप कर्म गरेका थिए। तर तिमीहरू मेरो विधि-विधानहरू पालन गरेर बस अनि त्यस्ता अधर्म पाप कर्महरू कुनै पनि नगर। ती पाप कर्महरू गरेर आफैंलाई अशुद्ध नपार, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
लेवीहरू 18:24-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यस्ता कुनै काम गरेर आफैंलाई अशुद्ध नबनाओ किनभने त्यसरी मूर्ति पुज्ने मानिसहरूले आफैंलाई अशुद्ध बनाएका थिए। ती मानिसहरूलाई, जो तिमीहरूको अघि त्यस देशमा बास गर्थे, तिनका देशबाट परमप्रभुले धपाउँदै हुनुहुन्छ र त्यो देशमा तिमीहरू प्रवेश गर्नेछौ। तिनीहरूका कामले त्यस देशलाई अशुद्ध पार्यो र परमप्रभुले त्यसमाथि आफ्नो दण्ड पठाउँदै हुनुहुन्छ र देशले त्यहाँका बासिन्दाहरूलाई त्यहाँबाट धपाउँदै छ। तिनीहरूले यी सबै घिनलाग्दा कामहरू गरेर देशलाई अशुद्ध तुल्याए तर तिमीहरूले ती काम नगर्नू। तिमी इस्राएलीहरू र तिम्रा माझमा बास गर्ने विदेशीहरू सबैले परमप्रभुका नियम र आज्ञाहरू मान्नुपर्नेछ। तब त्यो देशले जसरी तिमीहरूभन्दा अघि बसोबास गर्ने त्यहाँका बासिन्दाहरूलाई देश अशुद्ध गरेको कारणले धपाइदिएको थियो, त्यसरी तिमीहरूलाई चाहिँ धपाइदिनेछैन। तिमीहरू जान्दछौ कि जसले यी घिनलाग्दा काम गर्छ, त्यो परमेश्वरको जन ठानिनेछैन। अनि परमप्रभुले भन्नुभयो, “मैले दिएका आज्ञाहरू पालन गर र तिम्रा अघि त्यस देशमा बास गर्ने मानिसहरूका चालमा नचल र त्यस्ता कुनै काम गरेर आफैंलाई अशुद्ध नपार। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”