लेवीहरू 14:1-20
लेवीहरू 14:1-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कुनै मानिसको डरलाग्दो छालाको रोग निको भएपछि विधिअनुसार त्यसको शुद्धीकरणको निम्ति मान्नुपर्ने यी नियमहरू परमप्रभुले मोशालाई दिनुभयो। जुन दिन त्यसलाई शुद्ध भनी ठहराइनेछ, त्यस दिन त्यसलाई पूजाहारीकहाँ ल्याउनू। पूजाहारीले त्यसलाई छाउनी बाहिर लगेर जाँच गर्नेछ। रोग निको भएको छ भने पूजाहारीले एक जोर विधिअनुसार शुद्ध चरा साथै एक टुक्रा देवदारुको काठ, रातो धागो र एक डाँक्लो हिसप ल्याउन लाओस्। तब पूजाहारीले एउटा चरोलाई मूल फुटेर निस्केको चोखो पानी हालेको माटोको भाँडोमाथि मार्न लाओस्। त्यसपछि अर्को चरो लिएर त्यसलाई देवदारुको काठ, रातो धागो र हिसपसँग त्यस मारिएको चराको रगतमा चोपोस्। उसले छालाको रोगबाट निको भएको मानिसमाथि सातपल्ट रगत छर्कोस् र त्यसलाई शुद्ध ठहराओस्। जिउँदो चरोलाई उसले खुला मैदानमा उडाइदेओस्। त्यस मानिसले आफ्ना लुगा धोओस्, केश खौरोस् र नुहाओस्। त्यसपछि त्यो विधिअनुसार शुद्ध हुनेछ। त्यो छाउनीमा पस्न सक्छ तर सात दिनसम्म आफ्नो पालदेखि बाहिर बस्नुपर्छ। सातौँ दिन त्यसले फेरि केश, दाह्री, आँखीभूइँ र शरीरका सबै रौँहरू खौरोस्, आफ्ना लुगा धोओस् र नुहाओस्। तब त्यो विधिअनुसार शुद्ध हुनेछ। आठौँ दिनमा त्यसले निष्खोट दुईवटा भेडाका पाठा र एउटी एकवर्षे पाठी, जैतुनको तेल मुछेको तीन किलोग्राम पिठो र एक लिटरको तीन भागको एक भाग जैतुनको तेल ल्याओस्। पूजाहारीले त्यो मानिस र ती भेटीहरूलाई परमप्रभुको पवित्र पालको ढोकामा लैजाओस्। पूजाहारीले एउटा भेडाको पाठो लिएर एक लिटरको तीन भागको एक भाग जैतुनको तेलसित दोषबलि चढाओस्। उसले ती कुराहरू विशेष भेटीको रूपमा परमप्रभुलाई पूजाहारीहरूका निम्ति चढाउनेछ। पापबलि र होमबलिका निम्ति चढाइएका पशुहरू मारिने पवित्रस्थानमा त्यस पाठोलाई पूजाहारीले मार्नेछ। उसले यो काम गर्नुपर्छ किनभने पापबलिझैँ दोषबलि पनि पूजाहारीको लागि हो अनि त्यो अति पवित्र छ। पूजाहारीले पाठाको केही रगत लिएर जुन मानिसलाई विधिअनुसार शुद्ध भनी ठहराउनुपर्छ, त्यसका दाहिने कानको लोती र दाहिने हात र खुट्टाका बुढीऔँलाहरूमा लगाइदेओस्। केही जैतुनको तेल पूजाहारीले लिएर आफ्नो देब्रे हातको हत्केलामा खन्याओस्, दाहिने हातको एउटा औँलो त्यो तेलमा चोबेर सातपल्ट त्यहाँ परमप्रभुको अघि तेल छर्कोस्। हत्केलामा बचेको केही तेल र पाठोको केही रगत लिएर उसले जुन मानिसलाई विधिअनुसार शुद्ध भनी ठहराउनुपर्छ, त्यसका दाहिने कानको लोती र दाहिने हात र खुट्टाका बुढी औँलामा लगाइदेओस्। तब हत्केलामा बचेको तेल उसले त्यस मानिसको शिरमा लगाइदेओस्। यस प्रकारले पूजाहारीले शुद्धीकरणको विधि पूरा गर्नेछ। त्यसपछि पूजाहारीले पापबलि चढाएर शुद्धीकरणको विधि पूरा गर्नेछ। तब उसले होमबलि चढाइने पशु मार्नेछ र अन्नबलिसित त्यसलाई वेदीमा चढाउनेछ। यस प्रकारले पूजाहारीले शुद्धीकरणको विधि पूरा गर्नेछ र त्यो मानिस विधिअनुसार शुद्ध हुनेछ।
लेवीहरू 14:1-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले मोशालाई भन्नुभयो, “रोगीलाई शुद्ध गर्दा यी विधिहरू पालन गर्नू। त्यस दिन त्यसलाई पूजाहारीकहाँ ल्याइओस्। पूजाहारीले त्यसलाई छाउनीबाहिर लगेर त्यसको जाँच गरून्। छालाको त्यो सरुवा रोग निको भएछ भने, त्यसको निम्ति दुई वटा जिउँदो शुद्ध पक्षी, देवदारुको काठ, हिसप र सिन्दूरे रङ्गको धागो ल्याउनू भनी पूजाहारीले आज्ञा देऊन्। तब पूजाहारीले ती पक्षीहरूमध्ये एउटालाई माटोको भाँड़ामा भएको ताजा पानीमाथि मार्ने आज्ञा देऊन्। त्यो जिउँदो पक्षीलाई चाहिँ देवदारुको काठ, सिन्दूरे रङ्गको धागो र हिसपसमेत लिई त्यही माटोको भाँड़ामा भएको ताजा पानीमाथि मारिएको पक्षीको रगतमा तिनले चोपलून्। सरुवा रोगबाट शुद्ध हुनुपर्नेमाथि सात पल्ट छर्केर तिनले त्यसलाई शुद्ध ठहराऊन्। तब तिनले त्यो जिउँदो पक्षीलाई खुला मैदानमा छोड़िदेऊन्। “त्यो शुद्ध हुनुपर्नेचाहिँले आफ्ना लुगा धोओस्, र आफ्ना सबै केश खौरेर नुहाओस्, अनि त्यो शुद्ध हुनेछ। त्यसपछि त्यो छाउनीभित्र आओस्, तर सात दिनसम्म आफ्नो पालबाहिर नै त्यो बस्नुपर्छ। सातौँ दिनमा त्यसले आफ्ना सबै केश, दाह्री र आँखीभुइँ, अर्थात् आफ्ना सबै रौँ खौरोस्। त्यसले आफ्ना लुगा धोएर आफ्नो शरीर पानीले नुहाओस्, अनि त्यो शुद्ध हुनेछ। “आठौँ दिनमा त्यसले दुई वटा निष्खोट भेड़ाका पाठा र एक वर्षे एउटी निष्खोट पाठी, र अन्नबलिको लागि तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, र आधा माना तेल ल्याओस्। त्यो शुद्ध हुनुपर्ने मानिसलाई ती सामानहरूसमेत भेट हुने पालको ढोकामा परमप्रभुको सामुन्ने शुद्ध ठहराउने पूजाहारीले प्रस्तुत गर्नेछन्। “तब पूजाहारीले त्यो आधा मानाको तेलसमेत भेड़ाका पाठाहरूमध्ये एउटा लिएर दोषबलि गरी चढ़ाऊन्, र डोलाइने बलिको निम्ति ती परमप्रभुको सामु डोलाऊन्। अनि त्यसले पापबलि र होमबलि मारिने पवित्र ठाउँमा त्यो पाठो मारोस्, किनकि पापबलि पूजाहारीको भएझैँ दोषबलि पनि त्यसैको हुन्छ। त्यो अति पवित्र हो। तब पूजाहारीले दोषबलिको केही रगत लिएर शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, दाहिने हातको बूढ़ी-औँलो र दाहिने खुट्टाको बूढ़ी-औँलामा लगाइदेऊन्। फेरि पूजाहारीले आधा माना तेल लिएर आफ्नो देब्रे हातको हत्केलामा केही खन्याऊन्। पूजाहारीले आफ्नो दाहिने हातको औँलो देब्रे हातमा रहेको तेलमा चोपलेर त्यसबाट केही लिएर आफ्नो औँलाले परमप्रभुको सामु सात पल्ट छर्कून्। अनि पूजाहारीले आफ्नो हातमा रहेको तेलबाट केही लिएर त्यो शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, त्यसको दाहिने हातको बूढ़ी-औँलो र त्यसको दाहिने खुट्टाको बूढ़ी-औँलामा दोषबलिको रगतमाथि लगाइदेऊन्। पूजाहारीले आफ्नो हातमा रहेको बाँकी तेल त्यस शुद्ध हुनुपर्नेको टाउकोमा लगाइदेऊन्, अनि तिनले परमप्रभुको सामु त्यसको निम्ति प्रायश्चित गरून्। “तब त्यो अशुद्धपनाबाट शुद्ध हुनुपर्ने कारणले पूजाहारीले पापबलि चढ़ाएर त्यसको निम्ति प्रायश्चित गरून्। त्यसपछि तिनले होमबलि मारून्। पूजाहारीले होमबलि र अन्नबलि वेदीमा चढ़ाऊन्, र त्यसको निम्ति प्रायश्चित गरून्, र त्यो शुद्ध हुनेछ।
लेवीहरू 14:1-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले मोशालाई भन्नुभयो, “कुष्ठरोग लागेका मानिसलाई विधिपूर्वक शुद्ध गर्ने नियमहरू यिनै हुन्; जब तिनीहरूलाई पुजारीकहाँ ल्याइन्छः तिनीहरूलाई जाँच गर्न पुजारी छाउनीबाहिर जाओस्। यदि ती मानिसहरू आफ्ना कुष्ठरोगबाट निको भएका छन् भने, पुजारीले दुई वटा शुद्ध जिउँदा पक्षीहरू, केही देवदारुका दाउरा, सिन्दूरे रङ्गको धागो र हिसप, शुद्ध हुन चाहनेका निम्ति ल्याउने आदेश देऊन्। त्यसपछि पुजारीले ती दुई पक्षीहरूमध्ये एउटालाई माटोको भाँडामा भएको ताजा पानीमाथि मार्ने आदेश देऊन्। त्यसपछि त्यसले जीवित पक्षीलाई लिएर त्यसलाई देवदारुका दाउरा, सिन्दूरे रङ्गको धागो र हिसपसित ताजा पानीमाथि मारिएको पक्षीको रगतमा चोपोस्। त्यसले त्यस कुष्ठरोगबाट शुद्ध हुनुपर्ने व्यक्तिलाई सात चोटि छर्केर त्यसलाई शुद्ध भनी घोषित गरोस्। त्यसपछि त्यसले जीवित पक्षीलाई खुला मैदानमा छोडिदेओस्। “शुद्ध हुनुपर्ने त्यस मानिसले आफ्ना लुगा धोओस्। आफ्ना सबै कपाल खौरोस् र पानीले नुहाओस्। त्यसपछि त्यो शुद्ध हुनेछ। त्यसपछि त्यो छाउनीभित्र पस्न सक्छ। तर त्यो सात दिनसम्म आफ्नो पालको बाहिर बस्नुपर्छ। सातौँ दिनमा त्यसले आफ्नो शिर, आफ्नो दाह्री आफ्ना आँखीभौँहरू, र सबै रौँहरू खौरोस्। त्यसले आफ्नो लुगा धोओस्, र पानीले नुहाओस्। अनि त्यो विधिपूर्वक शुद्ध हुनेछ। “आठौँ दिनमा त्यसले भेडाका दुई वटा पाठाहरू र एउटी पाठी, सबै एकवर्षे र निष्खोट अनि अन्नबलिका निम्ति मसिनो पिठो जैतुन तेलसँग मिसाएको एपाको दश भागको तीन भाग र एक लोग तेल ल्याओस्। त्यसलाई शुद्ध घोषणा गर्ने पुजारीले शुद्ध हुनुपर्ने व्यक्ति र भेटी दुवैलाई याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा प्रस्तुत गरोस्। “तब पुजारीले त्यो तेलसमेत भेडाका पाठाहरूमध्ये एउटालाई लिएर दोषबलिस्वरूप चढाओस्। विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहलाई चढाओस्। त्यसले त्यस भेडालाई पवित्रस्थानमा पाप शुद्धीकरण बलि र होमबलि मारिने ठाउँमा मारोस्। पाप शुद्धीकरण बलिझैँ दोषबलि पुजारीको हो; त्यो अति पवित्र छ। पुजारीले दोषबलिको रगतबाट केही लिएर शुद्ध हुनपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्। त्यसपछि पुजारीले केही तेल लिएर आफ्नै देब्रे हातको हत्केलामा खन्याओस्। पुजारीले उसको हत्केलामा भएको तेलमा आफ्नो दाहिने हातको औँला चोपोस्। अनि आफ्नो औँलाले त्यसबाट केही याहवेहको सामु सात चोटि छर्कोस्। पुजारीले आफ्नो हत्केलामा उब्रेको तेलबाट केही तेल शुद्ध हुनपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा दोषबलिको रगतको माथिल्लोपट्टि छर्किदेओस्। पुजारीको हत्केलाको बाँकी तेल उसले शुद्ध हुनपर्नेको शिरमा लगाएर त्यसका निम्ति याहवेहको सामु प्रायश्चित गरोस्। “त्यसपछि पुजारीले पाप शुद्धीकरण बलि चढाएर आफ्नो अशुद्धिबाट शुद्ध हुनुपर्नेका निम्ति प्रायश्चित गरोस्। त्यसपछि पुजारीले होमबलि चढाइने पशु मारोस्। अनि त्यसलाई पुजारीले अन्नबलिसँग वेदीमा चढाओस्, र त्यसका लागि प्रायश्चित गरोस्, तब त्यो शुद्ध हुनेछ।
लेवीहरू 14:1-20 पवित्र बाइबल (NERV)
परमप्रभुले मोशालाई भन्नुभयो, “जब एक जना मानिस चर्मरोगबाट निको हुन्छ, उसले शुद्ध हुनको निम्ति यी नियमहरू पालन गर्नु पर्छ। “पूजाहारीले पाल बाहिर त्यो मानिस भएको ठाउँमा गएर जाँच गरून् अनि त्यो चर्मरोग लागेको मानिस निको भएको पाए पूजाहारीले उसलाई शुद्ध गराउनुको निम्ति दुइवटा शुद्ध चरा, एक टुक्रा सल्लाको काठ, अलिकति रातो धागो र हिसप ल्याउने आदेश दिऊन्। त्यसपछि पूजाहारीले ती दुइवटा मध्ये एउटा चरालाई माटोको भाँडामा भएको ताजा पानीमाथि मार्ने आज्ञा दिऊन्। अर्को जिउँदो चरालाई पूजाहारीले लिएर, सल्लाको काठ, रातो धागो अनि हिसपसित अघिल्लो चराको रगत मिसिएको पानीमा चोबलून्। अनि चर्म रोग निको पारिनु पर्ने मानिसमाथि त्यो पानी सात पल्ट छर्किउन्। त्यसपछि त्यो मानिस शुद्ध भयो भनी घोषणा गरियोस्। अनि त्यो जीवित चरालाई पूजाहारीले खुल्ला मैदानमा छाडिदिऊन्। “तब मानिसले जसलाई शुद्धगराइदै थियो, आफ्नो लुगाहरू धुनु पर्छ कपाल खौरिनु अनि नुहाउनु पर्छ अनि त्यो मानिस शुद्ध हुन्छ। तब मानिस आफ्नो पालभित्र पस्न सक्छ तर सात दिनसम्म पालभित्र पस्नु हुँदैन। सातौं दिन उसले आफ्नो कपाल, दाह्री अनी आँखी रौं खौरोस् उसले सबै कपाल खौरोस्, आफ्नो लुगा धुओस् अनि ऊ शुद्ध हुन्छ। “आठौं दिनको दिन त्यो चर्मरोग लागेको मानिसले भेंडाको दुइवटा निष्खोट पाठो अनि एक बर्षको पाठी जसको कुनै खोट छैन र अन्नबलिको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो र आधा माना तेल ल्याओस्। शुद्ध पार्ने पूजाहारीले भेट हुने पालको फाटकमा परमप्रभुअघि चर्म रोग भएको मानिस र उसको भेटीहरू ल्याउनु पर्छ। तब पूजाहारीले एउटा पाठो अनि आधा माना तेल ल्याउनु पर्छ अनि परमप्रभुको निम्ति दोषबलिलाई डोलाउने बलिको रूप चढाउनु पर्छ। उनले पापबलि र होमबलि चढाउने पवित्र स्थानमा मार्नु पर्छ किनभने यो दोषबलि पापबलि जस्तै हो। यो पूजाहारीको हो, यो अत्यन्तै पवित्र हुन्छ। “पूजाहारीले दोषबलिबाट केही रगत लिनु पर्छ र शुद्ध हुने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको र दाहिने खुट्टाको बूढी-औंलाहरूमा यसलाई दल्नु पर्छ। त्यसपछि पूजाहारीले आधा माना तेल लिएर आफ्नो देब्रेहातको हत्केलामा हालून्। त्यसपछि पूजाहारीले आफ्नो देब्रे हातको हत्केलामा दाहिने हातको औंला डुबाएर परमप्रभुअघि सात पल्ट छर्किऊन्। हत्केलामा बाँकी रहेको तेल शुद्ध हुने मानिसको दाहिने कान, उसको दाहिने हातको बूढी औंलामाथि, दाहिने खुट्टाको बूढी औंलामाथि खनाउनु पर्छ जुन ठाउँमा उसले दोषबलिको रगत छर्केको थियो। उसको हत्केलामा रहेको तेल त्यो शुद्ध पारिदै गरिएको मानिसको टाउकोमा लगाउनु पर्छ त्यस्तै प्रकारले पूजाहारीले उसलाई परमप्रभुअघि शुद्ध पार्नु पर्छ। “तब पूजाहारीले पापबलि चढाउनु पर्छ अनि मानिसलाई उसको अशुद्धताबाट शुद्ध गर्नु पर्छ अनि त्यसपछि उनले होमबलि मार्नु पर्छ। पूजाहारीले होमबलि अनि अन्नबलि वेदीमा चढाएर त्यस मानिसलाई प्रायश्चित गर्नु पर्छ अनि त्यो मानिस शुद्ध हुनेछ।