यहोशू 8:1-26
यहोशू 8:1-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “नडरा, निराश नहो। सारा योद्धालाई साथमा लैजा। उठ्, ऐमाथि लडाइँ गर्। हेर्, ऐको राजालाई, त्यसको प्रजालाई, त्यसको सहर, र त्यसको देशलाई मैले तेरो हातमा सुम्पेको छु। तैंले यरीहो र त्यसको राजालाई जे-जसो गरेको थिइस्, ऐ र त्यसको राजालाई पनि त्यसै गर्नेछस्, केवल त्यहाँको धनमाल र त्यहाँका पशुहरू तिमीहरूले आफ्नो निम्ति लिन सक्छौ। त्यस सहरको पछाड़ितिर ढुकेर बस्नू।” यसकारण यहोशू सबै योद्धाहरूका साथमा ऐमाथि आक्रमण गर्न जानलाई उठे। यहोशूले तीस हजार सर्वोत्तम योद्धाहरू छानेर तिनीहरूलाई राती नै पठाए। तिनले तिनीहरूलाई यसो भनेर आज्ञा दिए, “हेर, तिमीहरू त्यस सहरको पछिल्तिर ढुकिरहनू। सहरबाट धेरै टाढ़ा नजानू, र चनाखो रहनू। मेरो साथमा रहेका मानिसहरूसँग म सहरतिर बढ्नेछु, र जब उनीहरू हाम्रा विरुद्धमा आउनेछन्, तब हामी अघिजस्तै उनीहरूले खेद्दा भाग्नेछौं। उनीहरूले हामीलाई खेद्नेछन् र हामी उनीहरूलाई सहरबाट निकै टाढ़ा निकाली ल्याउनेछौं, अनि उनीहरूले भन्नेछन्, ‘पहिलेझैँ इस्राएलीहरू हाम्रा सामुन्नेबाट भाग्दैछन्।’ यसैले जब हामी उनीहरूका सामुन्नेबाट भाग्नेछौं, तब तिमीहरूले ढुकेको ठाउँबाट उठेर त्यो सहर कब्जा गर्नू, किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका हातमा त्यो सुम्पनुहुनेछ। जब सहर कब्जा गर्नेछौ, तब तिमीहरूले त्यसमा आगो लगाइदिनू। परमप्रभुको वचनअनुसार तिमीहरूले गर्नू। हेर, मैले तिमीहरूलाई यी आज्ञा दिएको छु।” यसरी यहोशूले तिनीहरूलाई पठाए, र तिनीहरू गएर ऐको पश्चिमतिर बेथेल र ऐको बीचमा ढुकी बसे। तर यहोशूचाहिँ त्यो रात मानिसहरूका साथमा रहे। यहोशू बिहान सखारै उठे, र मानिसहरूलाई भेला गराएर इस्राएलीहरूका अगुवाहरूसमेत तिनीहरूका अगिअगि ऐतिर गए। तिनीसँग भएका सबै योद्धाहरू सहरको सामुन्ने नजिकै आए, र ऐको उत्तरतिर पाल टाँगे। तिनीहरूका र ऐको बीचमा एउटा बेँसी थियो। यहोशूले पाँच हजार जति मानिसहरू लिएर सहरको पश्चिमतिर, बेथेल र ऐको बीचमा मानिसहरूलाई ढुक्न राखे। तिनीहरूले उत्तरपट्टि र ढुकेर बस्नेहरूलाई चाहिँ सहरको पश्चिमपट्टि गराए। यहोशूले चाहिँ बेँसीमा नै रात बिताए। जब ऐका राजाले यो देखे तब उनी र सहरका सबै मानिसहरू सबेरै उठेर इस्राएलीहरूका विरुद्धमा लड़ाइँ गर्न तोकिएको ठाउँमा अराबाको सामु हतारसाथ निस्के। तर सहरको पछिल्तिर आफ्नो विरुद्धमा ढुकेर बसेका छन् भन्ने उनलाई थाहा थिएन। तब यहोशू र सबै इस्राएलीहरू उनीहरूका सामुन्ने हारेका भान पारेर उजाड़-स्थानको बाटो भागे। यिनीहरूलाई खेद्नलाई त्यस सहरमा भएका सारा मानिसहरू बोलाइए, र उनीहरू यहोशूको पछिपछि खेद्दैगए, र सहरदेखि धेरै टाढ़ा निक्लिआए। इस्राएलीहरूका पछि नलागेको ऐ र बेथेलमा एक जना मानिस पनि थिएन। उनीहरूले सहर खुला छोड़ेर इस्राएलीहरूलाई खेदे। तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “तेरो हातमा भएको भाला ऐतिर पसार्, किनकि म त्यो तेरो हातमा दिनेछु।” तब यहोशूले आफ्नो हातमा भएको भाला सहरतिर पसारे। तिनले हात पसार्ने बित्तिकै ढुकेर बस्ने मानिसहरू झट्टै आ-आफ्नो ठाउँबाट उठे, र दौड़ेर सहरभित्र पसेर त्यो कब्जा गरे, र तुरुन्तै त्यसमा आगो लगाए। जब ऐका मानिसहरूले पछि फर्केर हेरे, तब सहरको धूवाँ आकाशतिर उठिरहेको उनीहरूले देखे, तर उनीहरूका लागि यताउता भाग्ने मौका नै रहेन, किनभने उजाड़-स्थानतिर भाग्ने इस्राएलीहरू खेद्नेहरूतिर फर्केर जाइलागे। किनकि जब यहोशू र सारा इस्राएलीहरूले ती ढुकेर बस्नेहरूले सहर कब्जा गरेका र सहरको धूवाँ मास्तिर उठिरहेको देखे, तब तिनीहरूले फर्केर ऐका मानिसहरूलाई आक्रमण गरे। उनीहरूका विरुद्धमा ढुकेर बसेका मानिसहरू पनि सहरबाट निस्केर आए। यसरी कोही उनीहरूका यतापट्टि र कोही उतापट्टि भएर उनीहरू इस्राएलीहरूका बीचमा परे, र इस्राएलीहरूले तिनीहरू एक जनालाई पनि उम्कन र बाँच्न नदिई मारे। तर ऐका राजालाई तिनीहरूले जीवितै समातेर यहोशूकहाँ ल्याए। इस्राएलीहरूले ऐका सबै बासिन्दाहरूलाई आफूहरूलाई खेदेको मैदान र उजाड़-स्थानमा खतम गरे, र उनीहरू सबैलाई तरवारले निमिट्यान्न पारे। तब सबै इस्राएलीहरू ऐमा फर्केर त्यसमा भएकाहरूलाई पनि नाश गरे। त्यस दिन मारिएका पुरुष र स्त्री दुवै गरी जम्मा बाह्र हजार थिए, ऐका सब मानिसहरू त्यत्ति नै थिए। किनकि यहोशूले ऐका सारा बासिन्दाहरू नाश नभएसम्म आफूले भाला समातेर पसारेको हात बिसाएनन्।
यहोशू 8:1-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब याहवेहले यहोशूलाई भन्नुभयो, “नडरा, निराश नहो। आफ्नो साथमा सम्पूर्ण सेनाहरू लिएर जा अनि ऐ सहरमाथि आक्रमण गर। किनकि मैले ऐको राजा, त्यसका मानिसहरू, त्यसको सहर र त्यसको देशलाई तेरो हातमा सुम्पिदिएको छु। तैँले ऐ र त्यसको राजासँग त्यस्तै गर्नू, जुन तैँले यरीहो र त्यसको राजासँग गरेको थिइस्। तर तैँले त्यहाँको लुटको माल र गाईबस्तु भने आफ्ना लागि ल्याउन सक्छस्। तैँले सहरको पछिल्तिर ढुकेर बस्नू।” यसकारण यहोशू र सम्पूर्ण फौज ऐमाथि आक्रमण गर्न निस्के। तिनले आफ्ना उत्तम लडाकुहरूबाट तीस हजारलाई छानेर तिनीहरूलाई राति नै पठाए। अनि तिनले यसरी आज्ञा गरे: “ध्यान दिएर सुन। तिमीहरू सहरको पछिल्तिर ढुकेर बस्नू। त्यहाँबाट धेरै टाढा नजानू। तिमीहरू सबै जना चनाखो भएर रहनू। म र मसँग भएका सबै मानिसहरू सहरतिर बढ्नेछौँ। अनि पहिलेझैँ, जब तिनीहरू हाम्रो विरुद्धमा निस्केर आउँछन्। हामी तिनीहरूदेखि भाग्नेछौँ। तिनीहरूले हामीलाई खेद्नेछन्। अनि तिनीहरूलाई सहरदेखि टाढा नपुर्याएसम्म हामी भागिरहने छौँ। तब तिनीहरूले सोच्नेछन्, ‘पहिलेझैँ तिनीहरू हामीदेखि भागिरहेका छन्।’ यसरी जब हामी तिनीहरूदेखि भाग्नेछौँ, तिमीहरूले ढुकेर बसेको ठाउँबाट निस्केर सहरलाई कब्जा गर्नू। याहवेह तिमीहरूका परमेश्वरले त्यो तिमीहरूको हातमा दिनुहुनेछ। जब तिमीहरूले त्यो सहरलाई कब्जा गर्नेछौ, तब याहवेहले भन्नुभएझैँ त्यस सहरमा आगो लगाइदिनू! यो याद राख कि, यो तिमीहरूलाई मेरो आज्ञा हो।” तब यहोशूले तिनीहरूलाई पठाए। अनि तिनीहरू लुक्ने ठाउँमा गए। तब ऐ सहरको पश्चिमतिरको ऐ र बेथेल सहरको बीचमा ढुकिबसे। तर यहोशूले चाहिँ त्यो रात मानिसहरूसँग बिताए। भोलिपल्ट बिहानै यहोशूले आफ्ना सेनाहरूलाई भेला गरे। अनि तिनी र इस्राएलका अगुवाहरू तिनीहरूका अगि-अगि ऐतिर बढे। तिनीसँग भएको सम्पूर्ण दल अगि बढे। अनि तिनीहरू सहरको नजिक पुगे, र त्यस सहरको अगिल्तिर आइपुगे। तिनीहरूले तिनीहरू र सहरको बीचको बेँसीमा ऐ सहरको उत्तरतिर छाउनी हाले। यहोशूले पाँच हजार जति मानिसहरू लिएर सहरको पश्चिमतिर बेथेल र ऐको बीचमा ढुकेर बसे। यसरी सेनाहरू लडाइँका निम्ति तयार भए। फौजको ठूलो दललाई सहरको उत्तरपट्टिको छाउनीमा राखे। अनि ढुकेर बस्नेहरूका दलचाहिँ सहरको पश्चिमपट्टिको छाउनीमा रहे। त्यो रात यहोशूचाहिँ बेँसीमा गए। जब ऐका राजाले यो देखे, तिनी र सहरका सबै मानिसहरू एकाबिहानै हतारिँदै इस्राएलीहरूसँग युद्ध गर्नलाई अराबाको एक निश्चित ठाउँमा निस्के। तर तिनीहरूको विरुद्धमा सहरको पछिल्तिरको भागमा तिनीहरूलाई ढुकेर बस्नेहरूको बारेमा थाहै भएन। यहोशू र सबै इस्राएलीहरू तिनीहरूको अगि-अगि खेदिएझैँ उजाडस्थानतिर भागे। ऐका सारा मानिसहरू तिनीहरूलाई खेद्नलाई बोलाइएका थिए। अनि तिनीहरूले यहोशूलाई खेदे, र तिनीहरू सहरदेखि टाढा पुर्याइए। ऐका अथवा बेथेलमा इस्राएलको पछि नलाग्ने पुरुष एउटै पनि थिएन। तिनीहरू सबैले सहर खुल्ला छोडेर इस्राएलीहरूलाई खेदे। तब याहवेहले यहोशूलाई भन्नुभयो, “तेरो हातमा भएको भाला ऐतिर पसार्; किनकि म त्यस सहरलाई तेरो अधीनमा सुम्पिदिनेछु।” यसकारण यहोशूले आफ्नो भाला ऐतिर पसारे। तिनले यसो गर्नसाथ ती ढुकेर बसेका मानिसहरू आफ्नो ठाउँबाट तुरुन्तै निस्केर अगि बढे। तिनीहरू सहरभित्र पसे। तब त्यसलाई कब्जा गरे; अनि तुरुन्तै सहरमा आगो लगाइदिए। जब ऐ सहरका मानिसहरूले पछि फर्केर हेरे, तब सहरबाट धुवाँको मुस्लो आकाशतिर गइरहेको देखे। तर तिनीहरूलाई कुनै दिशातिर भाग्ने मौका थिएन। किनकि उजाडस्थानतिर भाग्दै गरेका इस्राएलीहरू तिनीहरूलाई खेद्नेहरूको विरुद्धमा फर्किसकेका थिए। जब यहोशू र सबै इस्राएलीहरूले ढुकेर बस्ने मानिसहरूले सहर कब्जा गरेको अनि सहरबाट धुवाँ मास्तिर उठिरहेको देखे, तब तिनीहरू फनक्क फर्केर ऐका मानिसहरूलाई आक्रमण गरे। तिनीहरूलाई ढुकेर बस्ने मानिसहरू पनि तिनीहरूको विरुद्धमा सहरबाट निस्किआए; र तिनीहरू दुवैतिर इस्राएली सेनाहरू भएको बीचमा थुनिए। इस्राएलीहरूले बाँचेका र भाग्नेहरू कसैलाई पनि जीवित रहन नदिई सबैलाई काटेर मारे। तर तिनीहरूले ऐका राजालाई जिउँदै पक्रे, र तिनलाई यहोशूकहाँ ल्याए। उजाडस्थानमा इस्राएलीहरूलाई खेद्दै आएका ऐका सबै मानिसहरूलाई त्यहीँ नै तरवारले मारे। अनि सबै इस्राएलीहरू ऐमा फर्केर आए। तब त्यहाँ भएकाहरूलाई पनि मारे। त्यस दिन ऐका सबै मानिसहरू, बाह्र हजार पुरुष र स्त्रीहरू मारिए। किनकि ऐमा बस्ने सबै मनिसहरूलाई विनाश नगरेसम्म यहोशूले भाला पक्रेको हात बिसाएनन्।
यहोशू 8:1-26 पवित्र बाइबल (NERV)
तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “नडरा, निराश नहो। तेरो सबै योद्धाहरूलाई ऐ शहरमा लैजा। ऐ का राजालाई परास्त गर्नमा म तँलाई सहयोग गर्नेछु। म तँलाई त्यसका मानिसहरू, त्यसको शहर अनि त्यस देश दिंदैछु। यो समयमा मात्र तिमीहरू सबै सम्पत्ति र पशुहरू लिन सक्छौ र तिमीहरू आफ्नै लागि राख्न सक्छौ। अब, तेरा केही सैनिकहरूलाई शहर पछाडि लुक्नु भन।” यसर्थ यहोशू अनि सबै सेनाहरूले ऐलाई आक्रमण गर्न तयार भए। यहोशूले अति योग्य 3,000 योद्धाहरू छाने अनि तिनीहरूलाई राती नै पठाई दिए। यहोशूले तिनीहरूलाई यो आज्ञा दिए, “ध्यान दिएर सुनः तिमीहरूले शहरको पछाडि लुकेर पर्खिरहने छौ शहरदेखि धेरै टाढा नबस्नु ताकि तिमीहरू आक्रमण गर्न तयारी रहनसक। अघाडि शहर तिर जान मानिसहरूलाई म अगुवाई गर्नेछु। शहरका मानिसहरू हाम्रो विरूद्ध लड्न बाहिर आउने छन्। त्यसरी नै हामी पछि फर्कने छौं अनि तिनीहरू देखि भाग्ने छौं जसरी हामी पहिला भागेका थियौ। मानिसहरूले हामीलाई शहरदेखि टाढा खेद्ने छन्। तिनीहरूले सोच्नेछन् कि हामी पहिले भागे झैं भाग्दैछौं। यसकारण हामी भाग्ने छौं। तब तिमीहरू लुकेको ठाउँबाट बाहिर आउनु पर्छ अनि शहरलाई अधिकारमा लिनु पर्छ। यसप्रकारले परमप्रभु तिमीहरूका परमेश्वरले शहरलाई कब्जा गर्न तिमीहरूलाई सहयोग गर्नुहुनेछ। “तिमीहरूले शहर कब्जा गरेपछि, यसलाई जलाउनु पर्छ। तिमीहरूले परमप्रभुको नियमहरू ठीकसित पालन गर्नु पर्छ; म जस्तो आशा गर्छु तिमीहरूले ठीक त्यसै गर्ने छौ।” तब यहोशूले ती मानिसहरूलाई तिनीहरूको लुक्ने ठाउँमा पठाए अनि प्रतिक्षा गर्न लागे। तिनीहरू बेतेल र ऐ शहर माझको एउटा ठाउँमा गए। यो स्थान ऐ शहरको पश्चिममा थियो। अनि यहोशू रात भरी अरूहरूसँग बसे। भोलिपल्ट बिहानै यहोशूले मानिसहरूलाई एक साथ भेला गरे। तब यहोशू अनि इस्राएलीहरूका अगुवाहरूले मानिसहरूलाई ऐ शहरतर्फ लिएर गए। सबै सैनिकहरू जो यहोशूसित थिए ऐ शहरतर्फ हिंडे। तिनीहरू शहरद्वारको सामुन्ने रोकिए। सेनाहरूले आफ्नो छाउनी शहरको उत्तर तर्फ बनाए। ऐ शहर र सेनाहरू बीच एक बेंसी थियो। त्यसपछि यहोशूले लगभग 5,000 मानिसहरू छाने। यहोशूले ती मानिसहरूलाई शहर देखि पश्चिम तिरका बेतेल अनि ऐ शहर बीचको क्षेत्रमा लुक्न पठाए। यसरी यहोशूले आफ्ना मानिसहरूलाई युद्ध गर्नका निम्ति तयार पारेका थिए। मुख्य छाउनी शहरको उत्तर तर्फ थियो। अन्य मानिसहरू पश्चिम तर्फ लुकेका थिए। त्यस रात यहोशू बेंसी तिर गए। तब ऐ शहरका राजाले इस्राएली सैनिकहरूलाई देखे। अनि राजा उनका सबै मानिसहरू इस्राएलीहरूसित युद्ध गर्न गए। तिनीहरू पूर्वपट्टि यर्दनतिर फर्केको युद्ध भूमिमा गए। ती इस्राएली सैनिकहरू शहरको पछाडि लुकेर पर्खिरहेका छन् भन्ने उसलाई थाहा भएन। यहोशू अनि इस्राएलका सबै मानिसहरूले ऐका सेनाद्वारा आफूहरूलाई पछि धकेल्न दिए। यहोशू अनि तिनका मानिसहरू पूर्वमा मरुभूमि तर्फ दौडन थाले। शहरका मानिसहरू कराउन थाले अनि यहोशू र तिनका मानिसहरूलाई खेद्न थाले। सबै मानिसहरूले शहर छोडे। ऐ अनि बेतेलका समस्त मानिसहरूले इस्राएलका सेनालाई खेदे। शहर खुल्ला छाडियो कोही पनि शहरको रक्षा गर्न बसेनन्। तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “आफ्नो भालालाई ऐ शहर तर्फ फर्काएर बस। म तँलाई त्यो शहर दिनेछु।” यसकारण यहोशूले आफ्नो भाला ऐ शहर तर्फ फर्कए। इस्राएलका मानिसहरू जो लुकिरहेका थिए तिनीहरूले यो देखे। तिनीहरू झट्टै आफ्ना लुकिरहेका स्थानबाट बाहिर आए अनि हत्तारिएर शहरतर्फ कुदे। तिनीहरूले शहर भित्र प्रवेश गरे अनि त्यसलाई अधिकारमा लिए। त्यसपछि सैनिकहरूले शहरमा आगो लाउन थाले। ऐका मानिसहरूले फर्केर हेरे अनि तिनीहरूका शहर जल्दै गरेका देखे। तिनीहरूले आकाशमा धूँवा उठेका देखे। यसर्थ तिनीहरूले आफ्ना शक्ति र साहस हराए। अनि इस्राएलका मानिसहरूलाई खेद्न छाडे। इस्राएलका मानिसहरू भाग्न छाडे। तिनीहरू फर्के अनि ऐका मानिसहरूसित लड्न गए। ऐका मानिसहरूका निम्ति भागेर जानको कुनै सुरक्षित स्थान थिएन। यहोशू अनि तिनका मानिसहरूले देखेकि आफ्ना सेनाले शहरलाई कब्जा गरेका थिए। यो त्यसबेला भयो जब तिनीहरू भाग्न छाडेर, फर्किए अनि ऐका मानिसहरूसँग लड्नलाई दगुरे। त्यसपछि ती लुकेका मानिसहरू युद्धमा सहयोग गर्न शहर बाहिर आए। इस्राएलका सेनाहरू ऐ शहरका मानिसहरूका दुवै तिर थिए-ऐ शहरका ती मानिसहरू फन्दामा परे। तिनीहरूले तब सम्म युद्ध गरिरहे जबसम्म ऐका एकजना मानिस पनि जीउँदो रहेनन् तिनीहरूका कोही पनि बाँचेनन्। तर ऐका राजालाई जीवित छाडियो। यहोशूका मानिसहरूले तिनलाई यहोशू कहाँ ल्याए। युद्धको समयमा, इस्राएलका सेनाहरूले ऐका मानिसहरूलाई मैदान अनि मरुभूमि तिर खेदे। यसरी इस्राएलका सेनाहरूले ऐ शहरका मानिसहरूलाई मैदान तिर अनि मरुभूमि तिर मार्ने काम पूर्ण गरे। त्यसपछि इस्राएलका मानिसहरू ऐ तिर फर्केर गए अनि शहरमा अझ जीवितरहेका सबै मानिसहरूलाई मारिदिए। ऐ शहरका समस्त मानिसहरू त्यस दिन मरे। त्यहाँ 12,000 पुरूष र स्त्रीहरू थिए। यहोशूले शहरलाई ध्वंश गर्नका निम्ति आफ्ना मानिसहरूलाई संकेतको रूपमा आफ्नो भाला ऐ शहरतर्फ फर्काई राखेका थिए। यहोशूले उनको भाला जबसम्म समाति रहे तबसम्म ऐ शहरका मानिसहरू सबै नष्ट भएनन्।
यहोशू 8:1-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले यहोशूलाई भन्नुभयो, “सारा सेना लिएर ऐमाथि आक्रमण गर्। नडरा वा निराश नहो। म तँलाई ऐका राजा, त्यसका प्रजा र सहरमाथि विजय दिनेछु र त्यो देश तेरो हातमा पर्नेछ। यरीहो र त्यसका राजालाई जे गरेको थिइस्, त्यस्तै ऐ र त्यसका राजालाई गर्नू। तर यसपालि त्यहाँका सर-सामान र गाई-वस्तु आफ्नो लागि राख्नू। त्यस सहरमाथि थाहा नदिई झुक्याएर पछिल्लो पट्टिबाट हमला गर्ने तयारी गर्।” यसकारण सारा सेना लिई ऐमा जानलाई यहोशू तयार भए। उनले आफ्ना सबैभन्दा असल-असल सेनाका दलबाट तीस हजार योद्धालाई छाने र यस्तो आज्ञा गरी राती तिनीहरूलाई पठाए, “सहरको पल्लोपट्टि गई लुक्नू तर साह्रै टाढै त होइन र हमला गर्न तयार बस्नू। म र मेरा मानिस सहरका छेउमा आउनेछौं। जब ऐका मानिसहरू हाम्रा विरुद्धमा निस्किआउनेछन् हामी पहिले भागेझैँ फर्केर भाग्नेछौं। तिनीहरूले हामीलाई खेद्नेछन् र त्यसरी हामी तिनीहरूलाई सहरदेखि टाढै पुर्याउनेछौं। पहिलेजस्तै हामी तिनीहरूदेखि भाग्दै छौं भनी तिनीहरूले सोच्नेछन्। त्यति बेला तिमीहरू लुकेका ठाउँबाट निक्लेर आई सहर कब्जा गरिहाल्नू। परमप्रभु तिम्रा परमेश्वरले त्यो सहर तिमीहरूलाई दिनुहुनेछ। सहर कब्जा गरेपछि परमप्रभुको आज्ञाअनुसार त्यसलाई आगो लाइदिनू। तिमीहरूलाई यही आज्ञा छ।” यसरी यहोशूले तिनीहरूलाई पठाए र तिनीहरू आफू लुक्ने ठाउँमा गई पर्खिबसे। त्यो ठाउँ ऐको पश्चिमपट्टि ऐ र बेथेल सहरका बीचमा पर्थ्यो। यहोशूले त्यो रात छाउनीमा नै बिताए। भोलिपल्ट बिहानै उठेर यहोशूले सिपाहीहरूलाई भेला गरे। त्यसपछि तिनले र इस्राएलका अगुवाहरूले सिपाहीहरूलाई लिई ऐ सहरमा गए। तिनीसँग भएका सिपाहीहरू सहरका मूल-ढोकातिर गए र उत्तरपट्टि छाउनी हाले। तिनीहरू र ऐ सहरका बीचमा बेसी थियो। प्राय: पाँच हजार मानिसहरूलाई लगेर तिनी ऐ र बेथेलका बीचमा सहरको पश्चिमपट्टि लुकाएर राखे। लडाइँ गर्न तयार पारी मूल छाउनीका सिपाहीहरूलाई सहरको उत्तरपट्टि राखे अनि बाँकी मानिसहरूलाई पश्चिमपट्टि राखे। त्यो रात यहोशूले बेसीमा बिताए। ऐका राजाले यहोशूका सेनालाई देख्नासाथ तुरुन्तै तयारी गरे। तिनी आफ्ना सारा सेनासाथ त्यो अगाडिको ठाउँमा नै इस्राएलीहरूसित लड्न अघि बढे। पछिबाट आफूमाथि आक्रमण हुनेछ भनी उनलाई थाहै भएन। यहोशू र तिनका मानिसहरू भागेको बहाना पारेर उजाड-भूमितिर दगुरेर गए। सहरका सबै पुरुषहरूलाई तिनीहरूको पछि लाग्ने आज्ञा भएको थियो। तिनीहरू यहोशूलाई खेद्दै जाँदा सहरदेखि टाढा हुँदैगए। ऐ र बेथेलका हरेक पुरुष इस्राएलीहरूको पछि दगुरे र सहर खुला छोडियो। त्यसको रक्षा गर्ने कोही भएन। तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “तेरो भाला ऐतिर ताकेर उचाल्, म त्यो सहर तेरा हातमा दिँदै छु।” यहोशूले त्यसै गरे। उनले हात उचाल्ने बित्तिकै लुकिबसेका सिपाहीहरू निस्केर सहरमा पसे र त्यसलाई कब्जामा लिए। तुरुन्तै सहरमा डढेलो लगाइदिए। ऐका पुरुषहरूले फर्केर हेर्दा धुवाँ आकाशतिर उठिरहेको देखे। तिनीहरूको भाग्ने केही उपाय थिएन किनभने उजाड-भूमितिर दगुरी गएका इस्राएलीहरूले फर्केर तिनीहरूलाई हमला गर्न लागे। अर्को दलले सहर कब्जा गरी डढेलो लाइदिएको देखी यहोशू र तिनका मानिसले फर्केर ऐका मानिसहरूलाई मार्न थाले। सहरमा पुगेका इस्राएलीहरू लडाइँ गर्न ओर्ली आए। यसरी ऐका पुरुषहरू सम्पूर्ण इस्राएलीहरूका घेरामा परे र मारिए। कोही पनि भाग्न पाएनन् र ऐका राजाबाहेक अरू कोही बाँच्न सकेन। तिनलाई पक्रेर यहोशूका सामुन्ने लगे। आफूले खेदिलगेका उजाड-भूमिमा इस्राएलीहरूले शत्रुहरूलाई एक-एक गरी मारे। त्यसपछि तिनीहरू फर्केर ऐमा गए र त्यहाँ भएका सबैलाई मारे। यहोशूले आफ्नो भाला ऐतिर ताकेर उचालिराखे। त्यहाँ भएका सबै मानिसहरू नमारेसम्म तिनले भाला तल झारेनन्। त्यो दिन ऐका सबै बासिन्दाहरू बाह्र हजार पुरुष र स्त्रीहरू मारिए।