यहोशू 7:6-9
यहोशू 7:6-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब यहोशू र इस्राएलका धर्म-गुरुहरूले आफ्ना लुगा च्यातेर शिरमा धूलो हाली परमप्रभुका सन्दूकको अगाड़ि भूइँमा घोप्टो परेर साँझसम्मै बसिरहे। अनि यहोशूले भने, “हाय! परमप्रभु परमेश्वर, तपाईंले यस जातिलाई यर्दन तारेर एमोरीहरूका पन्जामा हाली हामीलाई नाश गर्न किन ल्याउनुभयो? बरु हामी सन्तोष गरेर यर्दन पारि नै रहनेथियौं। हे परमप्रभु, इस्राएलीहरूले आफ्ना शत्रुको सामु पीठ फर्काएपछि अब म के भनूँ? किनकि कनानीहरू र देशका सबै बासिन्दाहरूले यो सुनेर हामीलाई घेर्नेछन्, र पृथ्वीबाट हाम्रो नाउँ मेटिदिनेछन्। त्यसपछि तपाईंको महान् नाउँको खातिरमा तपाईं के गर्नुहुन्छ?”
यहोशू 7:6-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब यहोशूले आफ्नो वस्त्र च्याते। अनि याहवेहको सन्दुकको सामु भुइँमा घोप्टो परेर लडे। अनि साँझसम्म त्यहीँ रहिरहे। इस्राएलका प्रधानहरूले पनि त्यसै गरेर तिनीहरूका शिरहरूमा धुलो छर्के। अनि यहोशूले भने, “हाय, प्रभु याहवेह! तपाईंले यी मानिसहरूलाई एमोरीहरूको हातमा सुम्पिदिएर नष्ट पार्नलाई किन यर्दन पार गराएर ल्याउनुभयो? बरु हामी यर्दनको पारिपट्टि नै सन्तोष गरेर बसेको भए वेश हुनेथियो! हे प्रभु, अब म के भनूँ, अहिले इस्राएल आफ्ना शत्रुहरूद्वारा पराजित भएको छ? कनानी र यस देशका अरू मानिसहरूले यसबारे सुन्नेछन्, र तिनीहरूले हामीलाई चारैतिरबाट घेरेर पृथ्वीबाट हाम्रो नामनिशानै मेटिदिनेछन्। अनि त्यस बेला आफ्नो महान् नामको खातिर तपाईंले के गर्नुहुनेछ?”
यहोशू 7:6-9 पवित्र बाइबल (NERV)
जब यहोशूले यस विषयमा सुने, तिनले दुःख प्रगट गर्न आफ्ना वस्त्रहरू च्याते। तिनले पवित्र सन्दूकको सामुन्ने भूइँतिर शिर झुकाए। यहोशू त्यहाँ साँझसम्म बसिरहे। इस्राएलका अगुवाहरूले पनि त्यसै गरे। तिनीहरूले पनि आफ्नो दुःख प्रगट गर्न आफ्ना शिरमा धुलो हाले। यहोशूले भने, “परमप्रभु मेरो मालिक! तपाईंले हामीलाई यर्दन नदी पारी ल्याउनु भयो। तपाईंले किन हामीलाई यति टाढा ल्याउनु भयो अनि एमोरी मानिसहरूद्वारा हामीलाई नष्ट पार्न छोड्नु हुन्छ? हामी इच्छा गर्छौ कि त्यही हामी यर्दन वारिनै रहेको भए सन्तुष्ट हुने थियौं। परमप्रभु म मेरो प्राणद्वारा शपथ गर्छु। अब मैले भन्न सक्ने केही छैन। इस्राएलले शत्रुहरूको समक्ष समर्पण गरेको छ। कनानी मानिसहरू अनि यो देशका अन्य सबै मानिसहरूले जे भयो त्यस बारे सुन्ने छन्। तब तिनीहरूले हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई मार्नेछन्। तब तपाईंको महान नाउँको रक्षा गर्नका निम्ति तपाईं के गर्नु हुनेछ?”
यहोशू 7:6-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यहोशू र इस्राएलका अगुवाहरूले शोकमा आ-आफ्ना वस्त्र च्याते, परमप्रभुको करारको सन्दुकको सामुन्ने जमिनमा लडे र मनको पीर जनाउँदै टाउकोमा धूलो हालेर साँझसम्म त्यहीँ माटोमा लडिरहे। अनि यहोशूले भने, “सार्वभौम परमप्रभु! किन हामीलाई वारि नै ल्याउनुभयो? एमोरीहरूका हातमा पारिदिनलाई? हाम्रो नाश गराउनलाई? किन हामी यर्दनपारि नै रहन खुसी थिएनौं र? यसरी इस्राएलीहरू शत्रुसित हारेर फर्की आएपछि म के भनूँ, प्रभु? कनानीहरू र यस देशमा भएका अरू सबैले यो कुरा सुन्नेछन्। तिनीहरूले हामीलाई घेरेर मार्नेछन्। त्यसपछि आफ्नो इज्जत बचाउनलाई तपाईं के गर्नुहुनेछ?”