यहोशू 7:21-26
यहोशू 7:21-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब मैले लूटेको धनमा बेबिलोनिया देशको एक बढ़िया ओढ्ने, दुई सय शेकेल ओजनको चाँदी, र पचास शेकेल ओजनका सुनको एक डण्डा देखें, तब मलाई लोभ लाग्यो, र ती लिएँ। ती मेरो पालको बीचमा जमिनभित्र गाड़िएका छन्, र सबैभन्दा मुनि चाँदी छ।” तब यहोशूले दूतहरू पठाए, र तिनीहरू दगुरेर त्यस पालमा गए, र ती त्यसको पालमा गाड़िराखेका रहेछन् र चाँदीचाहिँ सबैभन्दा मुनि रहेछ। अनि तिनीहरूले ती मालहरू पालको बीचबाट निकालेर यहोशू र सबै इस्राएलीहरूकहाँ ल्याए, र परमप्रभुको सामु राखिदिए। तब सबै इस्राएलीहरूका साथमा यहोशूले जेरहवंशी आकानलाई र सो चाँदी, ओढ्ने, र सुनको डण्डा, अनि त्यसका छोराछोरीहरू, र त्यसका गोरुहरू, गधाहरू, र भेड़ाहरू र त्यसको पाल, र त्यससँग जो-जति थिए, ती सबैलाई आकोरको बेँसीमा लगे। यहोशूले भने, “तैंले हामीमाथि किन यस्तो सङ्कष्ट ल्याइस्? आज तँमाथि परमप्रभुले सङ्कष्ट ल्याउनुहुनेछ।” तब सारा इस्राएलीहरूले त्यसलाई ढुङ्गाले हाने, अनि बाँकीलाई ढुङ्गाले हानिसकेपछि जलाइदिए। तिनीहरूले आकानमाथि ढुङ्गाको ठूलो थुप्रो लगाए, जो आजको दिनसम्म छँदैछ। तब परमप्रभु आफ्ना जल्दो क्रोधदेखि शान्त हुनुभयो। यसकारण त्यस ठाउँको नाउँ आजको दिनसम्म आकोरको बेँसी रहेको छ।
यहोशू 7:21-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
लुटको मालमा जब मैले बेबिलोनबाटको एउटा सुन्दर लवेदा, दुई सय सेकेलको चाँदी र पचास सेकेलको सुनको टुक्रा देखेँ, तब मलाई लोभ लाग्यो र मैले ती लिएँ। ती मेरो पालभित्र जमिनमुनि गाडिएका छन्। अनि चाँदीचाहिँ सबैभन्दा मुनि छ।” यसकारण यहोशूले दूतहरू पठाए। अनि तिनीहरू दगुरेर पालमा गए। अनि त्यस पालभित्र ती लुकाइराखिएका थिए। चाँदीचाहिँ सबैभन्दा मुनि भेट्टाए। तिनीहरूले पालबाट ती चीजहरू लिएर यहोशू र सारा इस्राएलीहरूकहाँ ल्याए। अनि ती याहवेहको अगि राखिदिए। तब यहोशू र सारा इस्राएलीहरू मिलेर जेरहको छोरा आकान, त्यससँग भएको चाँदी, लवेदा, सुनको टुक्रा, त्यसका छोराछोरीहरू, त्यसका गाईबस्तु, गधाहरू र भेडाहरू, त्यसका पाल र त्यसका सबै चीजहरूलाई आकोरको बेँसीमा ल्याए। अनि यहोशूले भने, “तैँले यो विपत्ति हामीमाथि किन ल्याइस्? याहवेहले आज तँमाथि विपत्ति ल्याउनुहुनेछ।” त्यसपछि सारा इस्राएलीहरूले त्यसलाई ढुङ्गाले हाने। अनि तिनीहरूले अरू बाँकी रहेकाहरूलाई पनि ढुङ्गाले हानेर तिनीहरूलाई जलाइदिए। तिनीहरूले आकानमाथि पत्थरहरूको थुप्रो लगाए, जुन आजको दिनसम्मै छँदैछ। त्यसपछि याहवेहको भयानक क्रोध शान्त भयो। यसकारण त्यस दिनदेखि त्यस ठाउँलाई आकोरको बेँसी भनिन्छ।
यहोशू 7:21-26 पवित्र बाइबल (NERV)
हामीले यरीहो शहर अनि त्यहाँ भएका सबै वस्तुहरू कब्जा गर्यौं। मैले बाबेलका एउटा सुन्दर कोट, दुइ सय शेकेल ओजनको चाँदी अनि लगभग पचास शेकेल ओजनको सुन देखें। ती वस्तुहरू मैले आफ्नै निम्ति राख्न चाहें। यसकारण मैले ती वस्तुहरू लिएँ। तपाईंले ती वस्तुहरू मेरो पाल मुनि भूइँमा गाढिएको पाउनु हुनेछ। चाँदी, कोटको मुनि छ।” यसर्थ यहोशूले केही मानिसहरूलाई त्यस पालमा पठाए। तिनीहरू पालतिर दगुरे अनि ती वस्तुहरूलाई त्यही पालमा लुकाइएको पाए। चाँदी कोट मुनि थियो। मानिसहरूले ती वस्तुहरू पाल बाहिर ल्याए र यहोशू अनि इस्राएलका समस्त मानिसहरू कहाँ लगे। तिनीहरूले ती परमप्रभुको समक्ष भूइँमा राखिदिए। त्यसपछि यहोशू र सबै मानिसहरूले आकान जेरहका छोरालाई तिनीहरूका चाँदी, कोट, सुन, त्यसका छोरा-छोरीहरू, त्यसका गाई-वस्तु, अनि गधाहरू, भेंडाहरू, पाल अनि त्यसका जम्मै वस्तु आकोर बेंसीमा लगे। तब यहोशूले भने, “तैंले हामीमाथि धेरै कष्ट दिइस्, तर अब परमप्रभुले तँमाथि कष्ट ल्याउनु हुनेछ।” त्यसपछि सबै मानिसहरूले आकान अनि त्यसका परिवारमाथि तिनीहरू नमरून्जेल उनीहरूले ढुङ्गा बर्षाए तब मानिसहरूले तिनीहरूलाई जलाइ दिए। आकानलाई जलाइसके पछि तिनीहरूले धेरै ढुङ्गाहरू त्यसको शरीर माथि राखिदिए। ती ढुङ्गाहरू आज सम्म पनि त्यहाँ छन्। परमेश्वरले आकानमाथि यसरी कष्ट ल्याइदिनु भयो। त्यसै कारणले गर्दा त्यस स्थानलाई आकोरको बेंसी भनिन्छ। त्यसपछि मानिसहरूसित परमप्रभु क्रोधित हुनु भएन।
यहोशू 7:21-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीले जफत गरेका थोकहरूमध्ये मैले एउटा सुन्दर, बेबिलोनियामा बनेको खास्टो अनि दुई किलोग्राम जति चाँदी र आधा किलोग्रामभन्दा केही बढ्ता ओजन भएको सुनको डन्डा भेटाएँ। मलाई यति लोभ लाग्यो कि मैले ती कुरा लिएँ। ती मेरो पालमा सबैभन्दा मुनि चाँदी गाडिराखेको तपाईंले भेट्टाउनुहुनेछ।” यसकारण यहोशूले केही मानिसहरूलाई पठाए। तिनीहरू पालमा गए र त्यहाँ ती चीजहरू चाँदीचाहिँ सबैभन्दा मुनि राखेर साँच्चै गाडिराखेको भेट्टाए। ती तिनीहरूले पालदेखि निकाली ल्याए र यहोशू र सबै इस्राएलीहरूकहाँ पुर्याए र परमप्रभुको सामुन्ने राखे। यहोशू र सारा इस्राएलका मानिसहरूले मिलेर आकान, त्यो चाँदी, खास्टो, सुनको डन्डा, आकानका छोरा-छोरी, गाई-वस्तु, गधा र भेडाहरू, त्यसका तम्बू र अरू सबै सम्पत्तिसमेत समाते र ती सबैलाई विपत्तिको बेसीमा लगे। अनि यहोशूले भने, “तैँले किन हामीमाथि यस्तो विपत् ल्याइस्? परमप्रभुले अब तँमाथि विपत् ल्याउनुहुनेछ।” तब सबै मानिसहरूले आकानलाई ढुङ्गाले हानेर मारे। तिनीहरूले त्यसका परिवार र सम्पत्तिहरूमाथि पनि ढुङ्गाले हाने र जलाइदिए। तिनीहरूले त्यसको लाशमा ढुङ्गाको ठूलो राश थुपारे, जुन आजसम्म त्यहाँ छँदैछ। त्यही कारण त्यस ठाउँलाई विपत्तिको बेसी भनिन्छ। त्यसपछि परमप्रभुको क्रोध शान्त भयो।