यहोशू 7:2-5
यहोशू 7:2-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब यहोशूले यरीहोबाट बेथेलको पूर्वपट्टि बेथ-आवनको नजिक ऐ सहरमा मानिसहरूलाई यसो भनेर पठाए, “तिमीहरू गएर त्यस देशको चेवा गर।” ती मानिसहरू गएर ऐको भेद लिए। अनि तिनीहरूले यहोशूकहाँ फर्केर आई भने, “सबै जना नगए पनि हुन्छ, करीब दुई-तीन हजार मानिसहरू गएर ऐलाई आक्रमण गरून्। सबै जनालाई त्यहाँ जाने दु:ख नदिनुहोस्, किनकि त्यहाँकाहरू थोरै मात्र छन्।” यसैले तिनीहरूमध्ये करीब तीन हजार मानिसहरू गए, तर तिनीहरूलाई ऐका मानिसहरूले परास्त गरे। करीब छत्तीस जना जतिलाई ऐका मानिसहरूले मारे, र उनीहरूले सहरको मूल ढोकादेखि शबारीमसम्म खेदेर ओह्रालोमा तिनीहरूलाई मारे। अनि इस्राएलीहरूको हृदय डरले गलेर पानीजस्तै भयो।
यहोशू 7:2-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यहोशूले बेथेलको पूर्वपट्टिको बेथ-आवेनको नजिक भएको ऐ सहरमा यरीहोबाट मानिसहरू पठाएर तिनीहरूलाई भने, “तिमीहरू माथि गएर त्यस इलाकाको भेद लेओ।” यसकारण ती मानिसहरू गए, र ऐ सहरको भेद लिए। जब तिनीहरू यहोशूकहाँ फर्केर आए, तब तिनीहरूले भने, “ऐ सहरको विरुद्धमा सबै मानिसहरू नजाऊन्। त्यसलाई कब्जा गर्न दुई वा तीन हजार मानिसहरू पठाउनुहोस्। सबै मानिसहरू जाने कष्ट नदिनुहोस्; किनकि त्यहाँ थोरै मात्र मानिसहरू बस्दछन्।” यसकारण करिब तीन हजार मानिसहरू मात्र माथि गए; तर तिनीहरू ऐ सहरका मानिसहरूद्वारा पराजित भए। तिनीहरूले लगभग छत्तीस जना इस्राएलीहरूलाई मारे। तिनीहरूले इस्राएलीहरूलाई सहरको मूलढोकादेखि शबारीमसम्म लखेटे, र ओरालोमा तिनीहरूलाई हराए। यो देखेर मानिसहरूको हृदय डरले गलेर पानीजस्तै भयो।
यहोशू 7:2-5 पवित्र बाइबल (NERV)
यरीहोलाई परास्त गरे पछि यहोशूले केही मानिसहरूलाई ऐ शहरमा पठाए। ऐ शहर बेतेलको पूर्वतर्फ बेत-आवनको नजिकमा थियो। यहोशूले तिनीहरूलाई भने, “ऐ शहरमा जाऊ अनि त्यो क्षेत्रमा भएका कमजोरीहरूको पत्तालगाऊ।” यसकारण ती मानिसहरू त्यस स्थानमा जासूस गर्न गए। पछि, ती मानिसहरू यहोशू कहाँ फर्केर आए। तिनीहरूले भने, “ऐ शहर एक कमजोर क्षेत्र हो। त्यो स्थानलाई परास्त गर्न हामीलाई हाम्रा सबै मानिसहरूको खाँचो पर्ने छैन। त्यहाँ लड्नका निम्ति 2,000 अथवा 3,000 मानिसहरू पठाए हुन्छ। सम्पूर्ण सेना प्रयोग गर्नु त्यहाँ खाँचो छैन। त्यहाँ हामीसित लड्नका निम्ति थोरै मानिसहरू मात्र छन्।” यसर्थ प्रायः 3,000 मानिसहरू ऐ शहरमा गए। तर ऐ शहरका मानिसहरूले इस्राएलका छत्तीस जना मानिसहरू मारे। अनि इस्राएलका मानिसहरू भागे। मानिसहरूले शहर-द्वारदेखि ढुङ्गाका खानी सम्म तिनीहरूलाई खेदे। ऐ शहरका मानिसहरूले तिनीहरूलाई नराम्रो प्रकारले परास्त गरे। जब इस्राएलका मानिसहरूले यो देखे, तिनीहरू अत्यन्त भयभीत भए, अनि आफ्ना साहस गुमाए।
यहोशू 7:2-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यहोशूले केही मानिसहरूलाई बेथ-आवनको नजिकै बेथेलको पूर्वमा भएको ऐ सहरमा त्यसको भेद लिने आज्ञा दिएर पठाए। त्यो काम गरिसकेपछि तिनीहरू फर्केर आई यहोशूलाई भने, “सबैले ऐमाथि हमला गर्न आवश्यक छैन। दुई वा तीन हजार मानिसहरू मात्र पठाऊ। त्यहाँ लड्नलाई सारा सेना नपठाऊ। त्यो सहर ठूलो छैन।” यसकारण तीन हजार जति इस्राएलीहरूले हमला गरे तर तिनीहरू हारेर पछि हट्न पर्यो। ऐका बासिन्दाहरूले तिनीहरूलाई सहरको ढोकादेखि ढुङ्गाका केही खानीहरू भएको ठाउँसम्म खेदे र डाँडाबाट ओह्रालो झर्दा छत्तीस जना जति इस्राएलीहरूलाई मारे। त्यसो हुँदा इस्राएलीहरूले साहस गुमाए र तिनीहरू डरले थरथर भए।