यहोशू 7:1-13

यहोशू 7:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर नाशको निम्‍ति अर्पण गरिएका कुरामा इस्राएलीहरूले अपराध गरे, किनकि आकानले, जो यहूदा कुलको जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मीको छोरो थियो, नाशको निम्‍ति अर्पण गरिएका मालबाट केही कुरा लियो। त्यसकारण परमप्रभुको क्रोध इस्राएलीहरूमाथि दन्‍कियो। तब यहोशूले यरीहोबाट बेथेलको पूर्वपट्टि बेथ-आवनको नजिक ऐ सहरमा मानिसहरूलाई यसो भनेर पठाए, “तिमीहरू गएर त्‍यस देशको चेवा गर।” ती मानिसहरू गएर ऐको भेद लिए। अनि तिनीहरूले यहोशूकहाँ फर्केर आई भने, “सबै जना नगए पनि हुन्‍छ, करीब दुई-तीन हजार मानिसहरू गएर ऐलाई आक्रमण गरून्‌। सबै जनालाई त्‍यहाँ जाने दु:ख नदिनुहोस्, किनकि त्‍यहाँकाहरू थोरै मात्र छन्‌।” यसैले तिनीहरूमध्‍ये करीब तीन हजार मानिसहरू गए, तर तिनीहरूलाई ऐका मानिसहरूले परास्‍त गरे। करीब छत्तीस जना जतिलाई ऐका मानिसहरूले मारे, र उनीहरूले सहरको मूल ढोकादेखि शबारीमसम्‍म खेदेर ओह्रालोमा तिनीहरूलाई मारे। अनि इस्राएलीहरूको हृदय डरले गलेर पानीजस्‍तै भयो। तब यहोशू र इस्राएलका धर्म-गुरुहरूले आफ्‍ना लुगा च्‍यातेर शिरमा धूलो हाली परमप्रभुका सन्‍दूकको अगाड़ि भूइँमा घोप्‍टो परेर साँझसम्‍मै बसिरहे। अनि यहोशूले भने, “हाय! परमप्रभु परमेश्‍वर, तपाईंले यस जातिलाई यर्दन तारेर एमोरीहरूका पन्‍जामा हाली हामीलाई नाश गर्न किन ल्‍याउनुभयो? बरु हामी सन्‍तोष गरेर यर्दन पारि नै रहनेथियौं। हे परमप्रभु, इस्राएलीहरूले आफ्‍ना शत्रुको सामु पीठ फर्काएपछि अब म के भनूँ? किनकि कनानीहरू र देशका सबै बासिन्‍दाहरूले यो सुनेर हामीलाई घेर्नेछन्, र पृथ्‍वीबाट हाम्रो नाउँ मेटिदिनेछन्‌। त्‍यसपछि तपाईंको महान्‌ नाउँको खातिरमा तपाईं के गर्नुहुन्‍छ?” परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उठ्, तँ किन यसरी घोप्‍टो पर्छस्‌? इस्राएलले पाप गरेको छ। जुन करार मैले तिनीहरूसँग बाँधेको थिएँ, सो तिनीहरूले भङ्ग गरेका छन्‌। नाशको निम्‍ति अर्पण गरिएका मालबाट तिनीहरूले लिएका छन्‌। तिनीहरूले चोरी गरेका छन्‌ र झूठो काम गरेर तिनीहरूले ती तिनका आफ्‍नै मालतालसँग राखेका छन्‌। यसैकारण इस्राएलीहरू आफ्‍ना शत्रुको सामु अब खड़ा हुन सक्‍दैनन्‌। तिनीहरू श्रापित भएका हुनाले तिनीहरूले आफ्‍ना शत्रुहरूका सामुन्‍ने पीठ फर्काउनेछन्‌। तिमीहरूले आफ्‍ना बीचबाट सो नाशको निम्‍ति अलग गरिएका माललाई नष्‍ट नपारुञ्‍जेल म अब उप्रान्‍त तिमीहरूसँग रहनेछैन। “उठ्, मानिसहरूलाई शुद्ध पार्, र तिनीहरूले भोलिको निम्‍ति आफैलाई शुद्ध राख्‍नू भन्, किनकि परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: ‘हे इस्राएल, तिमीहरूका बीचमा कुनै अर्पित माल छ। तिमीहरूका बीचबाट तिमीहरूले त्‍यो अर्पित माल नफ्‍याँकुञ्‍जेल तिमीहरूका शत्रुहरूका सामुन्‍ने तिमीहरू खड़ा हुन सक्‍दैनौ।

शेयर गर्नुहोस्
यहोशू 7 पढ्नुहोस्

यहोशू 7:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तर अर्पण गरिएका चीजहरूको, विषयमा इस्राएलीहरू विश्‍वासयोग्य भएनन्। यहूदा कुलको जेरहको छोरा जब्दी जब्दीको छोरा कर्मी, कर्मीको छोरा आकानले ती अर्पण गरिएका चीजहरूबाट केही कुरा लियो। यसकारण याहवेहको क्रोध इस्राएलीहरूमाथि दन्कियो। यहोशूले बेथेलको पूर्वपट्टिको बेथ-आवेनको नजिक भएको ऐ सहरमा यरीहोबाट मानिसहरू पठाएर तिनीहरूलाई भने, “तिमीहरू माथि गएर त्यस इलाकाको भेद लेओ।” यसकारण ती मानिसहरू गए, र ऐ सहरको भेद लिए। जब तिनीहरू यहोशूकहाँ फर्केर आए, तब तिनीहरूले भने, “ऐ सहरको विरुद्धमा सबै मानिसहरू नजाऊन्। त्यसलाई कब्जा गर्न दुई वा तीन हजार मानिसहरू पठाउनुहोस्। सबै मानिसहरू जाने कष्‍ट नदिनुहोस्; किनकि त्यहाँ थोरै मात्र मानिसहरू बस्दछन्।” यसकारण करिब तीन हजार मानिसहरू मात्र माथि गए; तर तिनीहरू ऐ सहरका मानिसहरूद्वारा पराजित भए। तिनीहरूले लगभग छत्तीस जना इस्राएलीहरूलाई मारे। तिनीहरूले इस्राएलीहरूलाई सहरको मूलढोकादेखि शबारीमसम्म लखेटे, र ओरालोमा तिनीहरूलाई हराए। यो देखेर मानिसहरूको हृदय डरले गलेर पानीजस्तै भयो। तब यहोशूले आफ्नो वस्त्र च्याते। अनि याहवेहको सन्दुकको सामु भुइँमा घोप्टो परेर लडे। अनि साँझसम्म त्यहीँ रहिरहे। इस्राएलका प्रधानहरूले पनि त्यसै गरेर तिनीहरूका शिरहरूमा धुलो छर्के। अनि यहोशूले भने, “हाय, प्रभु याहवेह! तपाईंले यी मानिसहरूलाई एमोरीहरूको हातमा सुम्पिदिएर नष्‍ट पार्नलाई किन यर्दन पार गराएर ल्याउनुभयो? बरु हामी यर्दनको पारिपट्टि नै सन्तोष गरेर बसेको भए वेश हुनेथियो! हे प्रभु, अब म के भनूँ, अहिले इस्राएल आफ्ना शत्रुहरूद्वारा पराजित भएको छ? कनानी र यस देशका अरू मानिसहरूले यसबारे सुन्‍नेछन्, र तिनीहरूले हामीलाई चारैतिरबाट घेरेर पृथ्वीबाट हाम्रो नामनिशानै मेटिदिनेछन्। अनि त्यस बेला आफ्नो महान् नामको खातिर तपाईंले के गर्नुहुनेछ?” याहवेहले यहोशूलाई भन्‍नुभयो, “उठ्! तँ किन यसरी घोप्टो परेर भुइँमा लडिरहेको छस्?” इस्राएलले पाप गरेको छ। मैले तिनीहरूलाई पालन गर्न दिएको करार भङ्ग गरेका छन्। तिनीहरूले अर्पण गरिएका चीजहरूबाट केही लिएका छन्। तिनीहरूले चोरेका छन्। तिनीहरूले झूट बोलेका छन्। तिनीहरूले ती चीजहरू आफ्नै मालसामानसँग राखेका छन्। त्यसैकारण इस्राएलीहरू आफ्ना शत्रुहरूको विरुद्धमा खडा रहन सक्दैनन्। तिनीहरू पिठिउँ फर्काएर भाग्छन्; किनकि तिनीहरूले आफूलाई सर्वनाशको योग्य बनाएका छन्। तिमीहरूले आफ्ना बीचबाट नष्‍ट हुनका निम्ति अर्पण गरिएका चीजहरूलाई नष्‍ट नगरेसम्म म अब उसो तिमीहरूसँग रहनेछैन। “उठ्, गएर मानिसहरूलाई शुद्ध पार्! तिनीहरूलाई भन्, ‘भोलिको दिनको तयारीका निम्ति आफूलाई शुद्ध बनाओ’; किनकि याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: हे इस्राएल, तिमीहरूको बीचमा अर्पण गरिएको चीज छ। तिमीहरूले त्यसलाई नहटाएसम्म तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा खडा रहन सक्दैनौ।

शेयर गर्नुहोस्
यहोशू 7 पढ्नुहोस्

यहोशू 7:1-13 पवित्र बाइबल (NERV)

तर इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरेनन्। यहूदाका कुलको जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मी, कर्मीको छोरो आकान थिए। आकानले ती केही वस्तुहरू राखे जसलाई नष्ट गरिनु पर्ने थियो। यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनुभयो। यरीहोलाई परास्त गरे पछि यहोशूले केही मानिसहरूलाई ऐ शहरमा पठाए। ऐ शहर बेतेलको पूर्वतर्फ बेत-आवनको नजिकमा थियो। यहोशूले तिनीहरूलाई भने, “ऐ शहरमा जाऊ अनि त्यो क्षेत्रमा भएका कमजोरीहरूको पत्तालगाऊ।” यसकारण ती मानिसहरू त्यस स्थानमा जासूस गर्न गए। पछि, ती मानिसहरू यहोशू कहाँ फर्केर आए। तिनीहरूले भने, “ऐ शहर एक कमजोर क्षेत्र हो। त्यो स्थानलाई परास्त गर्न हामीलाई हाम्रा सबै मानिसहरूको खाँचो पर्ने छैन। त्यहाँ लड्नका निम्ति 2,000 अथवा 3,000 मानिसहरू पठाए हुन्छ। सम्पूर्ण सेना प्रयोग गर्नु त्यहाँ खाँचो छैन। त्यहाँ हामीसित लड्नका निम्ति थोरै मानिसहरू मात्र छन्।” यसर्थ प्रायः 3,000 मानिसहरू ऐ शहरमा गए। तर ऐ शहरका मानिसहरूले इस्राएलका छत्तीस जना मानिसहरू मारे। अनि इस्राएलका मानिसहरू भागे। मानिसहरूले शहर-द्वारदेखि ढुङ्गाका खानी सम्म तिनीहरूलाई खेदे। ऐ शहरका मानिसहरूले तिनीहरूलाई नराम्रो प्रकारले परास्त गरे। जब इस्राएलका मानिसहरूले यो देखे, तिनीहरू अत्यन्त भयभीत भए, अनि आफ्ना साहस गुमाए। जब यहोशूले यस विषयमा सुने, तिनले दुःख प्रगट गर्न आफ्ना वस्त्रहरू च्याते। तिनले पवित्र सन्दूकको सामुन्ने भूइँतिर शिर झुकाए। यहोशू त्यहाँ साँझसम्म बसिरहे। इस्राएलका अगुवाहरूले पनि त्यसै गरे। तिनीहरूले पनि आफ्नो दुःख प्रगट गर्न आफ्ना शिरमा धुलो हाले। यहोशूले भने, “परमप्रभु मेरो मालिक! तपाईंले हामीलाई यर्दन नदी पारी ल्याउनु भयो। तपाईंले किन हामीलाई यति टाढा ल्याउनु भयो अनि एमोरी मानिसहरूद्वारा हामीलाई नष्ट पार्न छोड्नु हुन्छ? हामी इच्छा गर्छौ कि त्यही हामी यर्दन वारिनै रहेको भए सन्तुष्ट हुने थियौं। परमप्रभु म मेरो प्राणद्वारा शपथ गर्छु। अब मैले भन्न सक्ने केही छैन। इस्राएलले शत्रुहरूको समक्ष समर्पण गरेको छ। कनानी मानिसहरू अनि यो देशका अन्य सबै मानिसहरूले जे भयो त्यस बारे सुन्ने छन्। तब तिनीहरूले हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई मार्नेछन्। तब तपाईंको महान नाउँको रक्षा गर्नका निम्ति तपाईं के गर्नु हुनेछ?” परमप्रभुले यहोशूलाई भन्नुभयो, “उठ तँ घोप्टो परेर भूइँ तिर किन झुकि बस्छस्! इस्राएलका मानिसहरूले मेरो विरूद्ध पाप गरेका छन्। तिनीहरूले करार भङ्ग गरे जो मैले तिनीहरूलाई पालन गर्नु भनी आज्ञा गरेको थिएँ। तिनीहरूले ती केही वस्तुहरू लगे जसलाई मैले नष्ट गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले मबाट चोरी गरेका छन्, तिनीहरूले झूटो काम गरेका छन्। तिनीहरूले ती वस्तुहरू आफ्नै निम्ति लगे। यसकारण इस्राएलका सेनाहरू युद्ध भूमि देखि भागे। तिनीहरूले त्यसो गरे किनभने तिनीहरूले नराम्रो काम गरेका थिए। तिनीहरूलाई नष्ट गरिदिनु पर्छ। जबसम्म मैले आज्ञा दिएका ती चीजहरू तिमीहरूले ध्वंश पार्देनौ म तिमीहरूको सहायताको लागि साथमा रहँदिन। “अब मानिसहरूलाई शुद्ध तुल्याउनका निम्ति जा। मानिसहरूलाई भन्, ‘स्वयंमलाई शुद्ध तुल्याऊ। भोलिको निम्ति तैयार हौ।’ परमप्रभु इस्राएलका परमेश्वरले भन्नुहुन्छ, ‘केही मानिसहरूले ती वस्तुहरू राखिछोडेका छन् जसलाई उहाँले नष्ट गर्नु भनी आदेश गर्नु भएको थियो।’ तँ त्यस बेलासम्म तेरो शत्रुहरूलाई परास्त गर्न समर्थ हुने छैनस् जबसम्म तैंले ती वस्तुहरूलाई फ्याँक्दैनस्।

शेयर गर्नुहोस्
यहोशू 7 पढ्नुहोस्

यहोशू 7:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुलाई चढाउनुपर्ने कुनै थोक यरीहोबाट नलिनू भन्‍ने परमप्रभुले इस्राएललाई दिनुभएको आज्ञापालन भएन। एक जना आकान नाम गरेको मानिसले त्‍यो आज्ञा मानेन। परमप्रभु इस्राएलीहरूमाथि औधी क्रोधित हुनुभयो। (आकान कर्मीको छोरो अनि जब्‍दीको नाति थियो। त्‍यो यहूदा कुलको जेरह गोत्रको थियो।) यहोशूले केही मानिसहरूलाई बेथ-आवनको नजिकै बेथेलको पूर्वमा भएको ऐ सहरमा त्‍यसको भेद लिने आज्ञा दिएर पठाए। त्‍यो काम गरिसकेपछि तिनीहरू फर्केर आई यहोशूलाई भने, “सबैले ऐमाथि हमला गर्न आवश्‍यक छैन। दुई वा तीन हजार मानिसहरू मात्र पठाऊ। त्‍यहाँ लड्‍नलाई सारा सेना नपठाऊ। त्‍यो सहर ठूलो छैन।” यसकारण तीन हजार जति इस्राएलीहरूले हमला गरे तर तिनीहरू हारेर पछि हट्‍न पर्‍यो। ऐका बासिन्‍दाहरूले तिनीहरूलाई सहरको ढोकादेखि ढुङ्गाका केही खानीहरू भएको ठाउँसम्‍म खेदे र डाँडाबाट ओह्रालो झर्दा छत्तीस जना जति इस्राएलीहरूलाई मारे। त्‍यसो हुँदा इस्राएलीहरूले साहस गुमाए र तिनीहरू डरले थरथर भए। यहोशू र इस्राएलका अगुवाहरूले शोकमा आ-आफ्‍ना वस्‍त्र च्‍याते, परमप्रभुको करारको सन्‍दुकको सामुन्‍ने जमिनमा लडे र मनको पीर जनाउँदै टाउकोमा धूलो हालेर साँझसम्‍म त्‍यहीँ माटोमा लडिरहे। अनि यहोशूले भने, “सार्वभौम परमप्रभु! किन हामीलाई वारि नै ल्‍याउनुभयो? एमोरीहरूका हातमा पारिदिनलाई? हाम्रो नाश गराउनलाई? किन हामी यर्दनपारि नै रहन खुसी थिएनौं र? यसरी इस्राएलीहरू शत्रुसित हारेर फर्की आएपछि म के भनूँ, प्रभु? कनानीहरू र यस देशमा भएका अरू सबैले यो कुरा सुन्‍नेछन्। तिनीहरूले हामीलाई घेरेर मार्नेछन्। त्‍यसपछि आफ्‍नो इज्‍जत बचाउनलाई तपाईं के गर्नुहुनेछ?” परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उठ्! किन यसरी भूइँमा लडिरहेको छस्? इस्राएलले पाप गरेको छ। मसँग गरेको वाचा जुन तिनीहरूले मान्‍न भनी मैले आज्ञा दिएको थिएँ, त्‍यो तिनीहरूले तोडेका छन्। मलाई चढाउन आज्ञा दिइएका थोकहरू केही तिनीहरूले लिएर राखेका छन्। तिनीहरूले ती थोक चोरे, तीबारे ढाँटे र आफ्‍ना चीजबीजसित एकसाथ राखे। त्‍यसैकारण इस्राएलीहरू आफ्‍ना शत्रुका विरुद्धमा खडा रहन सक्‍दैनन्। शत्रुका अघिबाट तिनीहरू भाग्‍छन् किनभने तिनीहरू आफैं नाश हुने दण्‍डमा परेका छन्। नलिनू भनी आज्ञा गरिएका तर तिमीहरूले चाहिँ लिएका चीजबीज तैँले नाश गरिनस् भने म तँसित रहनेछैनँ। “उठ्! मानिसहरूलाई चोख्‍या र मेरो अघि आउन तयार पार्‌। तिनीहरूलाई भोलि तयार रहनू भन् किनभने म परमप्रभु इस्राएलका परमेश्‍वरको भन्‍नुपर्ने कुरा यस्‍तो छ, ‘हे इस्राएल, तँसित यस्‍ता कति चीज छन् जुन नाश पार्नुपर्ने थियो। ती चीजहरू नहटाउन्‍जेलसम्‍म तैँले तेरा शत्रुको सामना गर्न सक्‍नेछैनस्।’

शेयर गर्नुहोस्
यहोशू 7 पढ्नुहोस्