यहोशू 6:1-27
यहोशू 6:1-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस समय इस्राएलीहरूको कारणले यरीहो बिलकुल थुनिएको थियो। कोही भित्र-बाहिर गर्न पाउँदैनथ्यो। तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “हेर्, यरीहो, त्यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा पारिदिएको छु। सबै सशस्त्र लड़ाकाहरू त्यस सहरलाई घेरेर एक चोटि घुमेर जाओ। छ दिनसम्म तिमीहरूले यसै गर्नू। सात जना पूजाहारीहरू सात वटा भेड़ाका सीङका तुरही सन्दूकको अगिअगि लिएर हिँडून्, र सातौँ दिनमा तिमीहरू त्यो सहर सात चोटि घुम्नू, र पूजाहारीहरूले तुरही फुकून्। अनि जब तिनीहरूले भेड़ाका सीङका तुरही धेरै बेरसम्म फुक्लान्, तब तिमीहरूले तुरहीको आवाज सुन्ने बित्तिकै सबै जना ठूलो सोरले कराऊन्। अनि सहरको पर्खाल फेदसम्मै ढल्नेछ, र हरेक मानिस आफ्नो अगि सीधै बढ़ेर जाऊन्।” यसकारण नूनका छोरा यहोशूले पूजाहारीहरूलाई बोलाएर भने, “करारको सन्दूक उठाओ, र सात जना पूजाहारी भेड़ाका सीङका सात वटा तुरही भिरेर परमप्रभुका सन्दूकको अगाड़ि हिँडून्।” अनि तिनले मानिसहरूलाई भने, “अगाड़ि बढ़ेर सहरको चारैतिर घुमेर जाओ। हतियार बोक्नेहरूचाहिँ परमप्रभुको सन्दूक अगिअगि हिँडून्।” यहोशूले यी कुरा मानिसहरूलाई भनिसकेपछि सात जना पूजाहारी भेड़ाका सीङका सात वटा तुरही बोकेर परमप्रभुको अगाड़ि हिँड़े र आफ्ना तुरही फुक्दै अगि बढ्न लागे। परमप्रभुका करारको सन्दूकचाहिँ तिनीहरूको पछि लाग्यो। हतियार बोक्ने मानिसहरूचाहिँ तुरही फुक्ने पूजाहारीहरूका अगाड़ि हिँड़े, र पछाड़िकाहरूचाहिँ सन्दूकको पछि हिँड़े, अनि पूजाहारीहरू तुरही फुक्दै हिँड़े। तर यहोशूले मानिसहरूलाई यसो भनेर अह्राए, “जुन दिनसम्म म तिमीहरूलाई कराउने आज्ञा दिन्नँ, तिमीहरू नकराउनू, तिमीहरूको सोरै पनि नसुनिओस्, तिमीहरूका मुखबाट पनि केही वचन ननिकाल्नू। मैले कराउनू भनेपछि मात्र कराउनू।” यसरी तिनले परमप्रभुको सन्दूकलाई सहरको वरिपरि एक चोटि घुमाए, र तिनीहरू छाउनीमा आए, र त्यहीँ वास बसे। यहोशू बिहान सबेरै उठे, र पूजाहारीहरूले परमप्रभुको सन्दूक उठाए। ती सात जना पूजाहारीहरूले भेड़ाका सीङका सात वटा तुरही बोकेर परमप्रभुका सन्दूकको अगिअगि तुरही बजाउँदै हिँड्दैरहे। हतियार भिर्ने मानिसहरू तिनीहरूका अगि लागे, र पछाड़ि हिँड्नेहरू परमप्रभुका सन्दूकको पछि लागे। पूजाहारीहरूचाहिँ तुरही फुक्दै हिँड़े। यसरी दोस्रो दिन पनि तिनीहरू सहर एक चोटि घुमेर छाउनीमा फर्के। छ दिनसम्म तिनीहरूले यसै गरे। सातौँ दिन बिहान झिसमिसेमै तिनीहरू उठे, र त्यही रीतिले सहर घुमे, केवल त्यस दिन तिनीहरूले सात चोटि सहर घुमे। सातौँ चोटि जब पूजाहारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई भने, “कराओ, किनभने परमप्रभुले तिमीहरूलाई यो सहर दिनुभएको छ। यो सहर र यसमा भएका सबै थोक नाशको निम्ति परमप्रभुमा अर्पण गरिएको छ। राहाब वेश्या र त्यसका घरमा त्यससँग भएका मात्र बाँच्नेछन्, किनभने हामीले पठाएका जासूसहरूलाई त्यसले लुकाएकी थिई। तर नाशको निम्ति अर्पण गरिएका कुराहरूबाट तिमीहरू अलग रहनू, नत्रता त्यही अर्पित कुराहरूबाट लिएर तिमीहरूले आफैमाथि नाश ल्याउनेछौ, र इस्राएलीहरूको छाउनीलाई श्रापित तुल्याउनेछौ र यसलाई सङ्कष्टमा पार्नेछौ। तर सबै सुन, चाँदी र काँसाका र फलामे भाँड़ाहरू परमप्रभुको निम्ति पवित्र छन्। तिनीहरू परमप्रभुको भण्डारमा जानुपर्नेछ।” जब पूजाहारीहरूले तुरही फुके, तब मानिसहरू कराए, र तुरहीको आवाज सुनिने बित्तिकै जब तिनीहरू ठूलो सोरले कराए, त्यो पर्खाल फेदैसम्म घर्लम्म ढल्यो, अनि हरेक मानिस आफ्नो सीधै अगि बढ्यो। तिनीहरू सबै सहरमा पसे, र त्यो कब्जा गरे। अनि तिनीहरूले त्यो सहर परमप्रभुमा अर्पण गरे, र सहरभित्र रहेका पुरुष, स्त्री, जवान, बूढ़ा, र गोरु, भेड़ा र गधा सबैलाई तरवारले नाश गरे। अनि यहोशूले त्यस देशको जासूस गर्न जाने ती दुई जनालाई भने, “त्यस वेश्याको घरमा जाओ, र तिमीहरूले त्यससित शपथ खाएअनुसार त्यस स्त्री र त्यससँग भएका सबैलाई त्यहाँबाट निकाल।” तब ती जासूस गर्न जाने युवकहरू गए, र राहाबलाई र त्यसका बुबा, आमा, दाजुभाइ र त्यससँग भएका सबै जना, त्यसका सबै नातेदारलाई बाहिर ल्याए, र तिनीहरूले उनीहरूलाई इस्राएलको छाउनीदेखि बाहिर राखे। तब तिनीहरूले त्यो सहर र त्यहाँभित्र भएका यावत् थोक आगोले जलाइदिए, केवल सुन, चाँदी, र काँसाका र फलामे भाँड़ाकुँड़ाहरू तिनीहरूले परमप्रभुका घरको भण्डारमा राखे। तर राहाब वेश्या, त्यसका बुबाका परिवार र त्यससँग भएका सबै जनालाई यहोशूले बचाइदिए, किनभने यहोशूले यरीहोमा जासूसी गर्न पठाएका दूतहरूलाई त्यसले लुकाएकी थिई। अनि आजसम्म इस्राएलीहरूका बीचमा नै त्यो रहेकी छे। त्यसै समय यहोशूले तिनीहरूलाई शपथ खुवाएर यसो भने, “जो यो यरीहो सहर बनाउन खड़ा हुन्छ त्यो परमप्रभुको अगि श्रापित होस्। “यसको जग बसाल्दा त्यसको जेठो छोरो मर्नेछ, आफ्नो कान्छो छोराको मूल्यमा यसको मूल ढोका बसालिनेछ।” यसरी परमप्रभु यहोशूको साथमा रहनुभयो, र तिनको कीर्ति त्यस देशभरि फैलियो।
यहोशू 6:1-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
इस्राएलीहरूको कारण यरीहोका मूलढोकाहरू पूर्णतया बन्द गरिएको थियो। कोही पनि भित्र पस्न वा बाहिर निस्की आउन सक्दैनथ्यो। तब याहवेहले यहोशूलाई भन्नुभयो, “हेर्, मैले यरीहो, यसकासाथै त्यसका राजा र त्यसका योद्धाहरूसमेत तेरो हातमा सुम्पिदिएको छु। सबै हतियारधारी मानिसहरूसँग त्यस सहरलाई दिनमा एक चोटि फन्को मार्नू। छ दिनसम्म तिमीहरूले यसै गर्नू। सन्दुकको सामु भेडाका सिङको तुरही लिएका सात जना पुजारीहरू अगि-अगि हिँडून्। सातौँ दिनमा चाहिँ पुजारीहरूले तुरही फुक्दै सहरको चारैतिर सात चोटि फन्को मारून्। जब तिमीहरूले लामो समयसम्म तुरही फुकेको आवाज सुन्छौ, तब सबै योद्धाहरू चर्को सोरले कराऊन्; र सहरको पर्खाल ढल्नेछ। अनि सेनाहरू र हरेक मानिसहरू सीधै सहरभित्र बढेर जाऊन्।” यसकारण नूनका छोरा यहोशूले पुजारीहरूलाई बोलाएर तिनीहरूलाई भने, “याहवेहको करारको सन्दुक लिएर सात जना पुजारीहरू सन्दुकको अगि-अगि तुरही बोकेर हिँड्नू।” अनि तिनले योद्धाहरूलाई आदेश दिए, “अगि बढ, सहरको चारैतिर हिँड, र हतियारधारी मानिसहरूचाहिँ याहवेहको सन्दुकको अगि-अगि हिँडून्।” जब यहोशूले मानिसहरूसँग कुरा गरिसके, तब याहवेहको अगाडि सात वटा तुरही बोक्ने सात जना पुजारीहरू तुरही बजाउँदै अगि बढेर गए। अनि याहवेहको करारको सन्दुकचाहिँ उनीहरूको पछि-पछि थियो। हतियारधारी योद्धाहरू तुरही फुक्ने पुजारीहरूका अगि-अगि गए। अनि रक्षकहरूचाहिँ सन्दुकको पछि-पछि हिँडे। यस समयमा तुरहीहरू बजिरहेका थिए। तर यहोशूले योद्धाहरूलाई यसो भनी आज्ञा दिएका थिए, “मैले तिमीहरूलाई जोरसँग कराउने आज्ञा नदिएसम्म तिमीहरू नकराउनू। तिमीहरूले आवाज ननिकाल्नू। एक शब्द पनि नबोल्नू। त्यसपछि कराउनू!” यसरी तिनले याहवेहको सन्दुकलाई बोकाएर एक पल्ट सहरको फन्को मार्न लगाए। त्यसपछि योद्धाहरू छाउनीमा फर्किआए, र त्यहीँ रात बिताए। भोलिपल्ट यहोशू बिहानै उठे, र पुजारीहरूले याहवेहको सन्दुक उठाए। सात वटा तुरही बोक्ने सात जना पुजारीहरू याहवेहको सन्दुकको अगि-अगि तुरही फुक्दै हिँडे। हतियारधारी योद्धाहरू तिनीहरूका अगि-अगि गए। अनि पछिल्तिरका रक्षकहरू याहवेहको सन्दुकको पछि-पछि हिँडे। त्यति बेला तुरही बजिरहेको थियो। यसरी दोस्रो दिन तिनीहरूले सहरको फन्को मारे, र छाउनीमा फर्के। तिनीहरूले यसरी नै छ दिनसम्म फन्को मारे। सातौँ दिनमा तिनीहरू एकाबिहानै उठे। अनि अगाडिका दिनहरूमा जस्तै सहरलाई फन्को मारे। तर तिनीहरूले त्यस दिनचाहिँ सात चोटि सहरलाई फन्को मारे। सातौँ पटकमा जब पुजारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई यसरी आज्ञा दिए, “कराओ, किनभने याहवेहले यो सहर तिमीहरूलाई दिनुभएको छ। यो सहर र यसमा भएका सबै कुराहरू याहवेहलाई अर्पण गर्नुपर्छ। केवल राहाब वेश्या र उनका घरमा भएका सबै जना मात्र जीवित छोडिनेछन्। किनकि हामीले पठाएका जासुसहरूलाई तिनले लुकाएकी थिइन्। तर तिमीहरू अर्पण गरिएका थोकहरूबाट अलग रहनू, ताकि तिमीहरूले ती अर्पित थोकहरूबाट केही लिएर आफूमाथि विपत्ति नल्याओ। नत्रता तिमीहरूले इस्राएलका छाउनीहरूलाई नाश हुने बनाएर त्यसमाथि विपत्ति ल्याउनेछौ। सबै सुन, चाँदी अनि काँसो र फलामका चीजहरू याहवेहका निम्ति पवित्र छन्, र ती वस्तुहरू उहाँको भण्डारमा ल्याउनुपर्छ।” तुरहीको आवाज बजेपछि योद्धाहरू कराए। अनि जब मानिसहरू तुरहीको आवाज सुनेर चर्को सोरमा कराए, तब पर्खाल भत्कियो। यसरी सारा मानिस सीधै भित्र पसे, र तिनीहरूले त्यस सहरलाई कब्जा गरे। तिनीहरूले सहरलाई याहवेहकहाँ अर्पण गरे। अनि त्यहाँ भएका हरेक जीवितहरूलाई अर्थात् पुरुष र स्त्रीहरू, जवान र वृद्धहरू, गाईबस्तु, भेडाबाख्रा र गधाहरू सबैलाई तरवारले नाश गरिदिए। त्यस देशको भेद लिन जाने दुई जना मानिसहरूलाई चाहिँ यहोशूले भने, “त्यस वेश्याको घरमा जाओ, र तिमीहरूले तिनीसँग शपथ खाएअनुसार त्यस स्त्री र तिनीसँग भएका सबै मानिसहरूलाई बाहिर निकाल।” यसकारण भेद लिन जाने ती दुई जवान मानिसहरू भित्र गए; अनि राहाब, तिनका आमाबुबा र दाजुभाइहरू अनि तिनका सबै मानिसहरूलाई बाहिर निकालेर ल्याए। तिनीहरूले तिनको सम्पूर्ण परिवारलाई बाहिर निकाले; र इस्राएलको छाउनीबाहिर एक ठाउँमा राखे। त्यसपछि तिनीहरूले सम्पूर्ण सहर र त्यस सहरमा भएका हरेक कुरालाई जलाइदिए। तर तिनीहरूले सुन, चाँदी, काँसो र फलामका चीजहरू याहवेहको भवनको भण्डारमा राखे। तर यहोशूले वेश्या राहाब र तिनका परिवार अनि तिनीसँग भएका सबैलाई छोडिदिए। किनकि तिनले यरीहोमा जासुसी गर्न पठाएका मानिसहरूलाई लुकाएकी थिइन्। अनि तिनका सन्तानहरू आजको दिनसम्म पनि इस्राएलीहरूको बीचमा बास गरेका छन्। त्यस बेला यहोशूले यो गम्भीर शपथ खाए: “जसले यो यरीहो सहरलाई पुनर्निर्माण गर्ने जिम्मा लिन्छ, त्यो मानिस याहवेहको सामु श्रापित होस्: “त्यसले यसको जग बसाल्दा, त्यसको जेठो छोरा मर्नेछ; यसका मूलढोकाहरू बनाउँदा, त्यसको कान्छा छोरा मर्नेछ।” यसरी यहोशूसँग याहवेह हुनुहुन्थ्यो, र तिनको कीर्ति देशभरि फैलियो।
यहोशू 6:1-27 पवित्र बाइबल (NERV)
यरीहो शहर बन्द थियो। शहरका मानिसहरू भयभीत थिए किनभने इस्राएलका मानिसहरू नजिकमा थिए। कोही पनि शहर भित्र पसेनन् अनि कोही पनि शहर बाहिर आएनन्। तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “हेर, म यरीहो शहरलाई परास्त गर्नेछु अनि यसको राजा र सबै लडाकूहरू म तिमीलाई दिनेछु। प्रत्येकदिन एकपल्ट आफ्ना सेना सहित शहर वरिपरि हिँड। छः दिन सम्म यसो गर। पूजाहारीहरूलाई पवित्र सन्दूक बोक्नु भन। सातजना पूजाहारीहरूलाई भेंडाको सींगबाट बनाएको तुरही बोक्नु भन अनि पवित्र सन्दूकको अघि अघि हिंड्नु भन। सातैं दिनमा, शहर वरिपरि सात पल्ट घुम। सातैं दिनमा तिनीहरू हिंड्दा पूजाहारीहरूलाई, तुरही बजाउनु भन। पूजाहारीहरूले तुरहीको ठुलो ध्वनि निकाल्ने छन्। तिनीहरूले तुरहीहरू फुक्नेछन् तब मानिसहरू कराउनु पर्छ। जब तिमीहरूले यसो गर्छौ शहरका पर्खालहरू भत्किनेछन् अनि तिम्रा मानिसहरू शहरभित्र जान समर्थ हुनेछन्।” यसकारण नूनका छोरा यहोशूले पूजाहारीहरूलाई साथमा बोलाए। यहोशूले तिनीहरूलाई भने, “परमप्रभुको पवित्र सन्दूक बोक। अनि सातजना पूजाहारीहरूलाई तुरही बोकेर सन्दूकको अगि अगि हिँड्नु भन।” त्यसपछि यहोशूले मानिसहरूलाई आदेश दिए, “अब जाऊ, शहर वरिपरि घुम। सैनिकहरू हात-हतियार सहित परमप्रभुको पवित्र सन्दूक अगि अगि हिंड्ने छन्।” जब यहोशूले मानिसहरूलाई आज्ञा गरे सातजना पूजाहारीहरू परमप्रभुको अघि हिंड्न थाले। तिनीहरूले सातवटा तुरहीहरू बोके अनि बजाउँदै हिँडे। पूजाहारीहरूले तिनीहरूलाई परमप्रभुको पवित्र सन्दुकसितै पछ्याए। सैनिकहरू हात हतियार सहित ती पूजाहारीहरूका अघि-अघि हिंडे जो तुरही बजाउँदै थिए। अनि पछाडिका रक्षकहरू पवित्र सन्दूकको पछि-पछि हिंडे। यसरी तिनीहरू पैदल हिंडदै अनि तुरही बजाउँदै शहर वरिपरि हिंडे। यहोशूले मानिसहरूलाई नकराउनु भनी आदेश दिएका थिए। उनले भने, “नकराऊ। जबसम्म म तिमीहरूलाई भन्दिन त्यस दिनसम्म एउटा शब्द ननिकाल अनि तब कराऊ।” यसरी यहोशूले पूजाहारीहरूलाई परमप्रभुको पवित्र सन्दूक बोकेर एकपल्ट शहर वरिपरि घुम्न लगाए। तब तिनीहरू छाउनीमा फर्किए अनि त्यो रात बिताए। भोलि पल्ट बिहानै यहोशू उठे। पूजाहारीहरूले परमप्रभुको पवित्र सन्दूक फेरि बोके। अनि सातजना पूजाहारीहरूले सातवटा तुरहीहरू बोके। तिनीहरू हिँड्दै अनि तिनीहरूका तुरही बजाउँदै परमप्रभुको पवित्र सन्दूक अघि-अघि हिंडे। हात-हतियार सहितका सैनिकहरू तिनीहरूको अघि हिंडे अनि पछाडिको रक्षकहरू परमप्रभुको पवित्र सन्दूक पछि-पछि हिँडे। तिनीहरू हिंड्दै अनि तुरही बजाउँदै शहर वरि-परि गए। यसरी दोस्रो दिन तिनीहरू शहर वरि-परि सबै एकपल्ट घुमे। अनि तिनीहरू छाउनी तिर फर्किए। तिनीहरूले छ दिनसम्म दैनिक यसो गरे। सातौं दिनमा तिनीहरू झिसमिसेमा नै उठे। अनि तिनीहरू शहर वरिपरि सात पल्ट घुमे। तिनीहरू त्यही तरिकाले हिंडे जसरी अघिल्ला दिनहरूमा हिंडेका थिए, तर त्यसदिन तिनीहरू सात पल्ट शहर वरिपरि घुमे। जब सातौ पल्ट तिनीहरू शहर वरिपरि घुमे, पूजाहारीहरूले आफ्ना तुरहीहरू बजाए। त्यसबेला, यहोशूले आदेश दिए, “अब कराऊ। परमप्रभुले यो शहर तिमीहरूलाई प्रदान गर्नु हुँदैछ। यो शहर अनि यसमा भएका हरेक थोक परमप्रभुका हुन्। केवल राहाब वेश्या अनि तिनका घरमा भएका सबै मानिसहरू मात्र जीवित रहने छन्। यी मानिसहरूलाई मार्नु हुँदैन किनभने राहाबले ती दुइ गुप्तचरहरूलाई सहयोग गरेकी थिइन्। यो पनि याद राख कि हामीले अन्य सबै कुराहरू नष्ट गर्नु पर्छ। ती कुराहरू नलिनु। यदि तिनीहरूले ती कुराहरू लियौ अनि हाम्रा छाउनीमा ल्यायौ भने तब तिमीहरू स्वयंम नष्ट हुनेछौ। अनि तिमीहरूले इस्राएलका सबै मानिसहरू प्रति पनि कष्ट ल्याउने छौ। सुन, चाँदी, काँस र फलामले बनाएका वस्तुहरू परमप्रभुका हुन्। ती वस्तुहरू परमप्रभुको भण्डारमा ल्याउनु पर्छ।” पूजाहारीहरूले तुरही बजाए। मानिसहरूले तुरही बजेका सुने अनि कराउन थाले। ती पर्खालहरू भत्किए अनि मानिसहरू सीधै शहर भित्र कुदे। यसरी इस्राएलका मानिसहरूले त्यस शहरलाई परास्त गरे। मानिसहरूले शहरमा भएका हरेक वस्तु नष्ट गरे। जो त्यहाँ जीवित थिए। तिनीहरूले जवान, बृद्ध, मानिसहरू, जवान स्त्री र बृद्ध स्त्रीहरू गाईवस्तु, भेंडा अनि गधाहरू सबैलाई मारे। यहोशूले ती दुइ गुप्तचरसित कुरा गरे। यहोशूले भने, “वेश्याको घरमा जाऊ। तिनलाई र तिनीसित भएका सबैलाई बाहिर ल्याऊ। यसो गरिहाल किनकि तिमीहरूले तिनलाई प्रतिज्ञा गरेकाछौ।” यसकारण ती दुइ मानिसहरू घर भित्र गए अनि राहाबलाई बाहिर ल्याए। तिनीहरूले तिनका पिता-माता, दाज्यू-भाइ, अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई पनि बाहिर ल्याए। तिनीहरूले सबै मानिसहरूलाई इस्राएलका छाउनी बाहिर एक सुरक्षित स्थानमा राखे। त्यसपछि इस्राएलका मानिसहरूले पूरा शहर आगोले जलाइ दिए। तिनीहरूले शहरका सुन, चाँदी, काँसा अनि फलाम द्वारा बनाएको वस्तुहरू बाहेक अन्य सबै वस्तुलाई जलाइ दिए। तिनीहरूले ती वस्तुहरू परमप्रभुको भण्डारमा राखे। यहोशूले राहाब वेश्या, तिनका परिवार अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई बचाए। यहोशूले तिनीहरूलाई जीवित रहन दिए किनभने राहाबले ती जासूसी गर्न पठाएका दूतहरूलाई सहयोग गरेकि थिइन्, जसलाई यहोशूले यरीहोमा पठाएका थिए। राहाब इस्राएलका मानिसहरू बीच आजसम्म बस्छिन्। त्यस समयमा, यहोशूले यो महत्वपूर्ण शपथ लिए। तिनले भनेः “जो कोही मानिस जसले यरीहोको फेरि निर्माण गर्छ त्यो परमप्रभुद्वारा खतरामा पर्नेछ। जो कसैले यो शहरमा जग बसाल्छ त्यसले आफ्नो सबै भन्दा जेठा छोरा गुमाउने छ। जसले त्यस्ता मानिसद्वारा खडा गर्छ, त्यसले आफ्नो कान्छा छोरा गुमाउने छ।” यसरी परमप्रभु यहोशूका साथ हुनुहुन्थ्यो। र यहोशू सम्पूर्ण देशभरि प्रसिद्ध भए।
यहोशू 6:1-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
इस्राएलीहरू पस्न नसकून् भनेर यरीहोका ढोकाहरू बन्द गरी राखिन्थे। कोही भित्र पस्न वा बाहिर निस्की आउन सक्दैनथ्यो। परमप्रभुले यहोशूलाई भन्नुभयो, “यरीहो त्यसका राजा र साहसी लडाकुहरूसहित म तेरा हातमा दिँदछु। दिनमा एकचोटि तँ र तेरा सैनिकहरू सहरका चारैपट्टि फेरो लाएर हिँड्नू। ६ दिनसम्म त्यसो गर्नू। सात जना पूजाहारीहरू हातमा तुरही लिएर करारको सन्दुकको अघि-अघि हिँडून्। सातौँ दिन तँ र तेरा सैनिकहरू सातपल्ट सहरको फेरो लाएर घुम्नू अनि पूजाहारीहरूले चाहिँ तुरही फुकून्। त्यसपछि तिनीहरूले तुरही धेरै बेरसम्म फुक्नेछन्, त्यो सुन्ने बित्तिकै सबै जना जोडसित चिच्च्याऊन् अनि सहरका पर्खालहरू ढल्नेछन्। त्यसपछि सारा सेना सिधै सहरभित्र पसून्।” यहोशूले पूजाहारीहरूलाई बोलाएर भने, “करारको सन्दुक बोक अनि तिमीहरू सात जनाचाहिँ तुरही बोकेर अघिअघि जाओ।” तब उनले आफ्ना मानिसहरूलाई सहरका चारैपट्टि फेरो मार्न लाए साथै परमप्रभुको करारको सन्दुकको अघिअघि एक दल सेना हिँड्ने आज्ञा दिए। यसकारण यहोशूले आज्ञा गरेअनुसार तुरही फुक्ने पूजाहारीहरूका अघिअघि एक दल सैनिक हिंड्यो। तिनको पछि करारको सन्दुक बोक्ने पूजाहारीहरू गए र अन्तमा फेरि अर्को एक दल सैनिक पछिपछि हिँड्यो। त्यस समय तुरही बजिरहेको थियो। तर यहोशूले आफ्ना मानिसहरूलाई नकराउनू र मैले नभनेसम्म एक वचन पनि नबोल्नू भनी आज्ञा गरेका थिए। यसरी उनले त्यस दलका मानिसहरूलाई परमप्रभुको करारको सन्दुक एकपल्ट सहरको फेरो लाएर घुमाउन लाए। त्यसपछि तिनीहरू छाउनीमा फर्के र त्यहाँ रात काटे। भोलिपल्ट यहोशू बिहान सबेरै उठे र अघिल्लो दिनजस्तै गरेर पूजाहारी र सिपाहीहरूले दोस्रोपल्ट सहरको चारैपट्टि फेरो लाए। अघि-अघि जाने सैनिक दल, त्यसपछि तुरही फुक्ने सात जना पूजाहारीहरू, त्यसपछि करारको सन्दुक बोक्ने पूजाहारीहरू र अन्तमा पछि-पछि आउने सैनिक दल गए। त्यति बेला तुरही बजिरहेको थियो। दोस्रो दिन पनि तिनीहरूले एकपल्ट सहरको फेरो मारे र छाउनीमा फर्की गए। तिनीहरूले छ दिनसम्म यसरी नै गरे। सातौँ दिन तिनीहरू मिरमिरेमै उठे र त्यही प्रकारले सातपल्ट सहरको फेरो लाए, त्यस दिन मात्र तिनीहरू सातपल्ट सहरको फेरो मारेर घुमे। सातौँ फेरो लाएपछि जब पूजाहारीहरू तुरही फुक्न लागेका थिए, यहोशूले आफ्ना मानिसहरूलाई सोर मच्चाउने आज्ञा दिएर भने, “परमप्रभुले सहर तिम्रा हातमा दिनुभएको छ। यो सहर र यसमा भएका सबै थोक परमप्रभुलाई चढाएर पूरा नाश पारिनुपर्छ। राहाब वेश्या र त्यसका घर र कुटुम्ब मात्र बचाइनेछन् किनभने त्यसले हाम्रा जासूसलाई लुकाईदिएकी थिई। तर नाश गरिनुपर्ने केही थोक तिमीहरूले नलिनू, केही लियौ भने तिमीहरूले इस्राएली छाउनीमा कष्ट र विनाश ल्याउनेछौ। चाँदी, सुन, काँसा र फलामले बनेका हरथोक परमप्रभुको निम्ति अलग गरिनुपर्नेछ। ती परमप्रभुको भण्डारमा जानेछन्।” त्यसरी पूजाहारीहरूले तुरही फुके। त्यो सुन्ने बित्तिकै मानिसहरू जोडले चिच्याए र सहरका पर्खालहरू ढले। त्यसपछि सारा सेना सीधै सहरमा पसे र त्यसलाई कब्जा गरे। तरवारले सहरमा भएका पुरुष, स्त्री, जवान, केटाकेटी, बुढा-पाका सबैलाई तिनीहरूले मारे। तिनीहरूले गाई-बस्तु, भेडा, गधाहरू पनि जीवित छोडेनन्। तब जासूस काम गर्ने ती दुई भाइलाई यहोशूले भने, “त्यस वेश्याको घरमा जाओ र आफ्ना प्रतिज्ञाअनुसार त्यसलाई घरको परिवारसमेत लिएर आओ।” तिनीहरू गएर राहाब, त्यसका आमा-बुबा, दाजु-भाइ र अरू बाँकी परिवार सबैलाई लिई आए। त्यसका परिवारका सबै कुटुम्ब इस्राएली छाउनीको नजिकमा सुरक्षासाथ राखिए। त्यसपछि तिनीहरूले सहरमा डढेलो लगाइदिए र भस्म गरिदिए। सुन, चाँदी, काँसा र फलामले बनेका चीजहरू तिनीहरूले परमप्रभुको भण्डारमा ल्याए र तीबाहेक अरू सबै थोक भस्म गरिदिए। तर यहोशूले राहाब वेश्या र त्यसका सारा कुटुम्बका प्राण जोगाइदिए किनभने उनले यरीहोमा पठाएका दुई जासूसहरूलाई त्यसले लुकाइदिएकी थिइन्। (आजसम्म तिनका सन्तानले इस्राएलमा बास गरेका छन्।) त्यति बेला यहोशूले एउटा ठूलो चेतावनी दिए, “कसैले यरीहो सहरलाई फेरि बनाउने चेष्टा गर्यो भने त्यसमाथि परमप्रभुको सराप पर्नेछ। “जसले त्यसको जग बसाल्छ, त्यसको जेठो छोरो मर्नेछ, जसले त्यसको ढोका बनाउँछ, त्यसको कान्छो छोरो मर्नेछ।” यसरी परमप्रभु यहोशूसित रहनुभयो अनि उनको कीर्ति देशभरि फैलियो।