यहोशू 5:4-6
यहोशू 5:4-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहोशूले खतना गराउनुपरेको कारण यही थियो, कि जति जना मानिसहरू, अर्थात् योद्धाहरू मिश्रदेशबाट आएका थिए, तिनीहरू सबै मिश्रबाट निस्केपछि उजाड़-स्थानको यात्रामा मरिसकेका थिए। मिश्रदेशबाट जति निस्केर आएका थिए, ती सबैको खतना भएकै थियो। तर मिश्रदेशबाट निस्केपछि उजाड़-स्थानको यात्रामा जन्मेका जति कसैको पनि खतना भएको थिएन। इस्राएलीहरूले परमप्रभुका आज्ञा नमानेका हुनाले मिश्रदेशबाट निस्केर आएका सारा मानिसहरू, अर्थात् योद्धाहरू नष्ट नभएसम्म तिनीहरू उजाड़-स्थानमा चालीस वर्ष हिँड्दैरहेथे। किनभने तिनीहरूका पिता-पुर्खाहरूलाई दूध र मह बग्ने देश दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देश म तिनीहरूलाई देख्न दिन्नँ भनेर परमप्रभुले प्रण गर्नुभएको थियो।
यहोशू 5:4-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले खतना गर्नुको कारण यो थियो: इजिप्टबाट निस्किएर आएका लडाइँमा जान सक्ने उमेर भएका सबै मानिसहरू, इजिप्ट छोडेपछि उजाडस्थानको बाटैमा मरिसकेका थिए। इजिप्टबाट निस्किआएका सबै पुरुषहरूका खतना भइसकेको थियो। तर इजिप्टबाट निस्किएर आएपछि उजाडस्थानको यात्रामा जन्मेका सबै मानिसहरूको चाहिँ खतना भएको थिएन। इजिप्ट छोड्दा लडाइँमा जान सक्ने उमेर भएका सबै पुरुषहरूको मृत्यु नभएसम्म इस्राएलीहरू चालीस वर्षसम्म उजाडस्थानमा डुलिरहे। किनकि तिनीहरूले याहवेहको आज्ञापालन गरेका थिएनन्। किनभने तिनीहरूका पितापुर्खाहरूसँग शपथ खाएर दूध र मह बग्ने देश हामीलाई दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देश तिनीहरूले देख्न पाउनेछैनन् भनी उहाँले तिनीहरूसँग शपथ खानुभएको थियो।
यहोशू 5:4-7 पवित्र बाइबल (NERV)
यसैकारण यहोशूले मानिसहरूको खतना गरे। इस्राएलका मानिसहरूले मिश्रदेश छाडे पछि सबै मानिसहरू जो सेनामा रहन योग्यका थिए, खतना गरिदिए। यद्यपि मरुभूमिमा हुँदा धेरै जना लडाकू योद्धाहरूले परमप्रभुको आज्ञा पालन गरेनन्। यसकारण परमप्रभुले यो प्रतिज्ञा गर्नु भएको थियो, “ती मानिसहरूले त्यो देश जहाँ प्रशस्त खाद्य वस्तुहरू उम्रन्छ सो देख्न पाउने छैनन्।” परमप्रभुले हामीलाई भूमि दिन्छु भनी हाम्रा पिता-पुर्खाहरूसँग प्रतिज्ञा गर्नु भएको थियो, तर, ती मानिसहरूका कारण परमेश्वरले मानिसहरूलाई मरुभूमिमा चालीस बर्षसम्म यता, उता घुम्न बाध्य गराउनु भयो जबसम्म ती सबै लडाकू मानिसहरू मरेनन् अनि तिनीहरूका छोराहरूले तिनीहरूका स्थान लिए। तर, मिश्रदेशबाट यात्रा गरेको बेला मरुभूमिमा जन्मेका कुनै केटाहरूको खतना भएको थिएन। यसकारण यहोशूले तिनीहरूको खतना गरिदिए।
यहोशू 5:4-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जब इस्राएलका मानिसहरूले मिश्र छोडे, सबै पुरुषहरूका खतना भइसकेको थियो। तर उजाड-स्थान पार गर्नलाई तिनीहरूले बिताएका चालीस वर्षभरि जन्मेका बालकहरूको खतना भएको थिएन। त्यो समय बितिसक्दा जति जना पुरुषहरू मिश्रबाट निस्किआउँदा लडाइँ गर्ने उमेरका थिए, तिनीहरू सबै मरिसकेका थिए किनभने तिनीहरूले परमप्रभुको आज्ञापालन गरेनन्। उहाँले तिनीहरूलाई आफ्नो शपथअनुसार तिनीहरूका पुर्खालाई दिने प्रतिज्ञा गर्नुभएको धनी र मलिलो देश हेर्न दिनुभएन।