यहोशू 5:1-9

यहोशू 5:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यर्दन वारि पश्‍चिम तीरका एमोरीहरूका सबै राजाहरूले र समुद्रको नजिकका कनानीहरूका सबै राजाहरूले, इस्राएलीहरूका निम्‍ति तिनीहरू पार नतरुञ्‍जेल परमप्रभुले यर्दन नदीको पानी सुकाउनुभयो भन्‍ने कुरा जब सुने, तब इस्राएलीहरूको डरले गर्दा उनीहरूको हृदय काम्‍न लाग्‍यो र उनीहरूमा इस्राएलीहरूको सामना गर्ने साहस रहेन। त्‍यस बेला परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “पत्‍थरका कर्दहरू बनाएर फेरि दोस्रो पल्‍ट इस्राएलीहरूलाई खतना गर्‌।” तब यहोशूले पत्‍थरका कर्दहरू बनाएर गिबियथ-हाअरालोथमा इस्राएलीहरूको खतना गरे। यहोशूले खतना गराउनुपरेको कारण यही थियो, कि जति जना मानिसहरू, अर्थात्‌ योद्धाहरू मिश्रदेशबाट आएका थिए, तिनीहरू सबै मिश्रबाट निस्‍केपछि उजाड़-स्‍थानको यात्रामा मरिसकेका थिए। मिश्रदेशबाट जति निस्‍केर आएका थिए, ती सबैको खतना भएकै थियो। तर मिश्रदेशबाट निस्‍केपछि उजाड़-स्‍थानको यात्रामा जन्‍मेका जति कसैको पनि खतना भएको थिएन। इस्राएलीहरूले परमप्रभुका आज्ञा नमानेका हुनाले मिश्रदेशबाट निस्‍केर आएका सारा मानिसहरू, अर्थात्‌ योद्धाहरू नष्‍ट नभएसम्‍म तिनीहरू उजाड़-स्‍थानमा चालीस वर्ष हिँड्‌दैरहेथे। किनभने तिनीहरूका पिता-पुर्खाहरूलाई दूध र मह बग्ने देश दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देश म तिनीहरूलाई देख्‍न दिन्‍नँ भनेर परमप्रभुले प्रण गर्नुभएको थियो। यसकारण तिनीहरूको स्‍थानमा उहाँले फेरि उत्‍पन्‍न गराउनुभएको सन्‍तान यहोशूले खतना गराए, किनकि तिनीहरू यात्रामा खतना नपाएका हुनाले बेखतनाका थिए। अनि सबै मानिसहरूको खतना भइसकेपछि तिनीहरू निको नहोउञ्‍जेल छाउनीमा आ-आफ्‍ना ठाउँमा बसे। अनि परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “आजको दिन मिश्रको निन्‍दा तिमीहरूबाट मैले गुड़ाइदिएको छु।” यसकारण त्‍यस ठाउँको नाउँ आजको दिनसम्‍म गिलगाल भनिन्‍छ।

शेयर गर्नुहोस्
यहोशू 5 पढ्नुहोस्

यहोशू 5:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अनि जब यर्दनको पश्‍चिमतिर भएका एमोरी राजाहरू र भूमध्य सागरको नजिकका सबै कनानी राजाहरूले, हामीले यर्दन पार नगरेसम्म याहवेहले यर्दनलाई इस्राएलीहरूका अगि कसरी सुकाइदिनुभएको थियो भन्‍ने कुरा सुने, तब तिनीहरूको हृदय डरले हतोत्साहित भयो। अनि तिनीहरूमा इस्राएलीहरूको सामना गर्ने साहस नै रहेन। त्यस बेला याहवेहले यहोशूलाई भन्‍नुभयो, “दर्शन-ढुङ्गाका कर्दहरू बनाएर इस्राएलीहरूलाई फेरि खतना गर्।” यसकारण यहोशूले दर्शन-ढुङ्गाका कर्दहरू बनाए। अनि इस्राएलीहरूलाई गिबियथ-हारालोथमा खतना गरे। तिनले खतना गर्नुको कारण यो थियो: इजिप्टबाट निस्किएर आएका लडाइँमा जान सक्ने उमेर भएका सबै मानिसहरू, इजिप्ट छोडेपछि उजाडस्थानको बाटैमा मरिसकेका थिए। इजिप्टबाट निस्किआएका सबै पुरुषहरूका खतना भइसकेको थियो। तर इजिप्टबाट निस्किएर आएपछि उजाडस्थानको यात्रामा जन्मेका सबै मानिसहरूको चाहिँ खतना भएको थिएन। इजिप्ट छोड्दा लडाइँमा जान सक्ने उमेर भएका सबै पुरुषहरूको मृत्यु नभएसम्म इस्राएलीहरू चालीस वर्षसम्म उजाडस्थानमा डुलिरहे। किनकि तिनीहरूले याहवेहको आज्ञापालन गरेका थिएनन्। किनभने तिनीहरूका पितापुर्खाहरूसँग शपथ खाएर दूध र मह बग्ने देश हामीलाई दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देश तिनीहरूले देख्न पाउनेछैनन् भनी उहाँले तिनीहरूसँग शपथ खानुभएको थियो। यसकारण उहाँले तिनीहरूको स्थानमा तिनीहरूका छोराहरूलाई खडा गर्नुभयो र यहोशूले तिनीहरूको खतना गरे। किनकि तिनीहरूलाई यात्राको बेला खतना गरिएको थिएन। अनि सम्पूर्ण पुरुषहरूको खतना भइसकेपछि तिनीहरू निको नभएसम्म आ-आफ्ना छाउनीमै बसे। तब याहवेहले यहोशूलाई भन्‍नुभयो, “आज मैले तिमीहरूबाट इजिप्टको अपमान मेटाइदिएको छु।” यसकारण आजको दिनसम्म नै त्यस ठाउँलाई गिलगाल भनिन्छ।

शेयर गर्नुहोस्
यहोशू 5 पढ्नुहोस्

यहोशू 5:1-9 पवित्र बाइबल (NERV)

यसरी इस्राएलका मानिहरूले यर्दन नदी पार नगरून्जेल यर्दन नदीलाई सूख्खा पारिदिनु भयो। यर्दन नदीको पश्चिम तर्फ बस्ने एमोरी अनि भूमध्य सागरको छेउमा बस्ने कनानीहरूका राजाहरूले यस विषयमा सुने अनि अत्यन्त भयभीत भए। त्यसपछि तिनीहरू इस्राएलका मानिसहरूको विरूद्ध खड़ा हुन र युद्ध गर्नको लायक साहसी रहन सकेनन्। त्यसबेला, परमप्रभुले यहोशूलाई भन्नुभयो, “दर्शिन ढुङ्गाबाट कर्दहरूबनाऊ अनि इस्राएलका मानिसहरूको खतना गर।” यसकारण यहोशूले दर्शिन ढुङ्गाबाट कर्दहरू बनाए। त्यस पछि तिनले गिबियथ-हाअरालोथमा इस्राएल मानिसहरूको खतना गरिदिए। यसैकारण यहोशूले मानिसहरूको खतना गरे। इस्राएलका मानिसहरूले मिश्रदेश छाडे पछि सबै मानिसहरू जो सेनामा रहन योग्यका थिए, खतना गरिदिए। यद्यपि मरुभूमिमा हुँदा धेरै जना लडाकू योद्धाहरूले परमप्रभुको आज्ञा पालन गरेनन्। यसकारण परमप्रभुले यो प्रतिज्ञा गर्नु भएको थियो, “ती मानिसहरूले त्यो देश जहाँ प्रशस्त खाद्य वस्तुहरू उम्रन्छ सो देख्न पाउने छैनन्।” परमप्रभुले हामीलाई भूमि दिन्छु भनी हाम्रा पिता-पुर्खाहरूसँग प्रतिज्ञा गर्नु भएको थियो, तर, ती मानिसहरूका कारण परमेश्वरले मानिसहरूलाई मरुभूमिमा चालीस बर्षसम्म यता, उता घुम्न बाध्य गराउनु भयो जबसम्म ती सबै लडाकू मानिसहरू मरेनन् अनि तिनीहरूका छोराहरूले तिनीहरूका स्थान लिए। तर, मिश्रदेशबाट यात्रा गरेको बेला मरुभूमिमा जन्मेका कुनै केटाहरूको खतना भएको थिएन। यसकारण यहोशूले तिनीहरूको खतना गरिदिए। यहोशूले सबै मानिसहरूको खतना गरिदिने काम पूर्ण गरे। मानिसहरूले त्यस स्थानमा छाउनी बनाएर बसे जब सम्म सबै मानिसहरू निको भएनन्। त्यसबेला, परमप्रभुले यहोशूलाई भननुभयो, “मिश्रमा तिमीहरू दास थियौ। अनि जसले तिमीहरूलाई लज्जित तुल्यायो। तर आज मैले त्यो लाज हटाइ दिएको छु।” यसकारण यहोशूले त्यस स्थानको नाउँ गिलगाल राखे। अनि त्यस स्थानलाई आज पनि गिलगाल नै भनिन्छ।

शेयर गर्नुहोस्
यहोशू 5 पढ्नुहोस्

यहोशू 5:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुले सारा इस्राएलको मानिसहरू पार नभएसम्‍म यर्दन नदी सुख्‍खा पारिदिनुभएको कुरा यर्दनको पश्‍चिमका सबै एमोरी राजाहरू र भूमध्‍य सागरको किनारका राजाहरू सबैले सुने। तिनीहरू डराए र इस्राएलीहरूका कारणले आफ्‍नो साहस हराए। परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “दर्शन ढुङ्गाका छुराहरू बनाई इस्राएलीहरूको खतना गर्‌।” तब यहोशूले परमप्रभुको आज्ञाअनुसार गरे र खतनाको डाँडा भन्‍ने ठाउँमा इस्राएलीहरूको खतना गरे। जब इस्राएलका मानिसहरूले मिश्र छोडे, सबै पुरुषहरूका खतना भइसकेको थियो। तर उजाड-स्‍थान पार गर्नलाई तिनीहरूले बिताएका चालीस वर्षभरि जन्‍मेका बालकहरूको खतना भएको थिएन। त्‍यो समय बितिसक्‍दा जति जना पुरुषहरू मिश्रबाट निस्‍किआउँदा लडाइँ गर्ने उमेरका थिए, तिनीहरू सबै मरिसकेका थिए किनभने तिनीहरूले परमप्रभुको आज्ञापालन गरेनन्। उहाँले तिनीहरूलाई आफ्‍नो शपथअनुसार तिनीहरूका पुर्खालाई दिने प्रतिज्ञा गर्नुभएको धनी र मलिलो देश हेर्न दिनुभएन। ती मानिसहरूका छोराहरूको खतना कहिल्‍यै भएको थिएन र यहोशूले तिनीहरूको खतना गराए। खतना गरिसकेपछि घाउ निको नहोउन्‍जेल सारा जाति छाउनीमा नै बसे। परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “आज मैले तिमीहरूबाट मिश्रमा कमारा-कमारी रहेको निन्‍दा मेटाएको छु।” त्‍यसैकारण त्‍यस ठाउँको नाम गिलगाल राखियो, त्‍यो नाम अझसम्‍म चलेकै छ।

शेयर गर्नुहोस्
यहोशू 5 पढ्नुहोस्