यहोशू 4:1-5
यहोशू 4:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब सबै मानिसहरू पार तरिसके, तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “मानिसहरूबाट बाह्र जना पुरुष, कुलैपिच्छे एक-एक पुरुष गरी लिएर तिनीहरूलाई यसो भन्ने आज्ञा दे, ‘यर्दन नदीको बीचमा पूजाहारीहरूका खुट्टाले टेकेको ठाउँबाट बाह्र वटा ढुङ्गा लिई तिमीहरूका साथमा बोकेर ल्याओ, र आज राती तिमीहरू जहाँ डेरा हालेर बस्छौ त्यहीँ राखिदेओ’।” यसकारण इस्राएलीहरूबाट यहोशूले कुलैपिच्छेको एक-एक गरी चुनेका बाह्र जनालाई बोलाए। यहोशूले तिनीहरूलाई भने, “तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका सन्दूकको सामु यर्दन नदीको बीचमा जाओ, र इस्राएलीहरूका कुलको गन्तीअनुसार हरेकले एक-एक वटा ढुङ्गा आफ्नो काँधमा राखेर ल्याओ।
यहोशू 4:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब सम्पूर्ण मानिसहरूले यर्दन नदी पार गरिसके, तब याहवेहले यहोशूलाई भन्नुभयो, “प्रत्येक कुलबाट एक-एक जना गरी बाह्र जना मानिसहरू छान्। अनि तिनीहरूलाई यर्दनको बीचबाट ती पुजारीहरू उभिएकै ठाउँबाट बाह्र वटा ढुङ्गाहरू ल्याउन लगाउनू। अनि ती ढुङ्गाहरूलाई तैँले लगेर आज राति तिमीहरू बस्ने ठाउँमा राख्नू।” यसकारण यहोशूले इस्राएली कुलबाट एक-एक जना गरी तिनले नियुक्त गरेका बाह्र जना मानिसहरूलाई बोलाए। अनि तिनीहरूलाई भने, “याहवेह तिमीहरूका परमेश्वरको सन्दुकको अगाडि यर्दन नदीको बीचमा जाओ। तिमीहरू हरेकले इस्राएलका कुलहरूको संख्याअनुसार एक-एक वटा ढुङ्गा काँधमा बोकेर ल्याओ।
यहोशू 4:1-5 पवित्र बाइबल (NERV)
सबै मानिसहरूले यर्दन नदीपार गरिसके पछि परमप्रभुले यहोशूलाई भन्नुभयो, “प्रत्येक कुल समूहबाट एक-एकजना गरी बाह्र जना मानिसहरू छान। त्यहाँ तिनीहरूलाई नदीमा जहाँ पूजाहारीहरू उभिरहेका छन् हेर भन्। त्यस स्थानमा बाह्रवटा ढुङ्गा खोज भनी तिनीहरूलाई भन। ती बाह्रवटा ढुङ्गाहरू तिमीहरूले बोक। आज राती तिमीहरू जहाँ बस्छौ त्यस स्थानमा ती बाह्रवटा ढुङ्गाहरूलाई राख।” यसकारण यहोशूले प्रत्येक कुल समूहबाट एक एकजना मानिसलाई चुनें। तब तिनले ती बाह्र-मानिसहरूलाई साथमा बोलाए। यहोशूले ती मानिसहरूलाई भने, “नदीको त्यस ठाउँमा जाऊ जहाँ परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दूक छ। तिमीहरू प्रत्येकले एक-एकवटा ढुङ्गा लिनै पर्छ। इस्राएलका बाह्र कुल समूह प्रत्येक समूहको लागि तिमीहरूले एक-एकवटा ढुङ्गा लेऊ। यी ढुङ्गा तिमीहरूले आफ्नो काँधमा बोक।
यहोशू 4:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सारा जातिले यर्दन पार गरिसकेपछि परमप्रभुले यहोशूलाई भन्नुभयो, “हरेक कुलबाट एक-एक जना गरी बाह्र जना पुरुषहरू छान्। यर्दनका बीच जहाँ पूजाहारीहरू उभिएका छन्, त्यस ठाउँबाट बाह्र वटा ढुङ्गाहरू लिन तिनीहरूलाई आज्ञा गर्। ती ढुङ्गाहरू बोकेर लगी आज राती बास बस्ने पालमा राखिदिन तिनीहरूलाई भन्।” तब यहोशूले आफूले चुनेका बाह्र जना पुरुषहरूलाई बोलाएर भने, “परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दुक अघि यर्दनमा जाओ र प्रत्येक इस्राएली कुलको निम्ति एक-एक वटा ढुङ्गा आ-आफ्ना काँधमा बोकेर ल्याओ।