यहोशू 3:9-17
यहोशू 3:9-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहोशूले इस्राएलीहरूलाई भने, “यता आओ, र परमप्रभु तिमीहरूका परमेश्वरका वचन सुन। “जीवित परमेश्वर तिमीहरूका बीचमा हुनुहुन्छ र उहाँले निश्चय नै तिमीहरूका सामुन्नेबाट कनानी, हित्ती, हिव्वी, परिज्जी, गिर्गाशी, एमोरी र यबूसीहरूलाई धपाउनुहुनेछ भन्ने तिमीहरूले यसैबाट थाहा पाउनेछौ। हेर, सारा पृथ्वीका परमप्रभुका करारको सन्दूक तिमीहरूका अगिअगि यर्दनमा जानेछ। अब इस्राएलका कुलहरूबाट बाह्र पुरुष, कुलैपिच्छे एक-एक पुरुष गरी छान। जब सारा पृथ्वीका परमप्रभुका करारको सन्दूक बोक्ने पूजाहारीहरूका पैताला यर्दनको पानीमा पर्छ, त्यही बेला माथिदेखि बगेर आउने यर्दनको पानी थामिनेछ, र रास लागेर अड़िरहनेछ।” यसकारण जब यर्दन तर्नलाई मानिसहरूले आ-आफ्ना पालहरू उठाए, पूजाहारीहरू करारको सन्दूक बोकेर मानिसहरूका अगि लागे। कटनीको अवधिभरि यर्दनमा बाढ़ी आइरहन्छ। तापनि सन्दूक बोक्ने पूजाहारीहरू यर्दनमा आइपुगेर तिनीहरूका खुट्टाले किनारको पानीमा छुने बित्तिकै माथिबाट आएको पानी धेरै पर, सार्तानको नजिक आदम भनिने सहरनेरै थामिएर एउटा रास भएर अड़्यो, र अराबाको समुद्र, अर्थात् खारा समुद्रमा बगेर जाने पानी पूर्ण रूपले काटिएर सुक्यो। यसर्थ मानिसहरू यरीहोको पारिबाट पार तरे। सारा इस्राएलीहरू ओबानो जमिनमाथिबाट तरेर त्यस जातिका सबै मानिसहरू यर्दन पार नगरुञ्जेलसम्म परमप्रभुका करारको सन्दूक बोक्ने पूजाहारीहरू यर्दनको बीचमा ओबानो जमिनमा स्थिर भई खड़ा रहे।
यहोशू 3:9-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यहोशूले इस्राएलीहरूलाई भने, “यता आओ, र याहवेह तिमीहरूका परमेश्वरको वचन सुन। जीवित परमेश्वर तिमीहरूका बीचमा हुनुहुन्छ भनी तिमीहरूले यसरी थाहा गर्नेछौ। उहाँले निश्चय नै तिमीहरूको अगिबाट कनानी, हित्ती, हिव्वी, परिज्जी, गिर्गाशी, एमोरी र यबूसीहरूलाई धपाउनुहुनेछ। हेर, समस्त पृथ्वीका याहवेहको साक्षी पाटीको सन्दुक तिमीहरूका अगि-अगि यर्दनमा जानेछ। अब इस्राएलको हरेक कुलबाट एक-एक जना गरी बाह्र जना पुरुषहरू छान। अनि जब समस्त पृथ्वीका प्रभु याहवेहको सन्दुक बोक्ने पुजारीहरूका खुट्टाले यर्दनमा टेक्नेछन्, तब बग्दै गरेको पानी रोकिनेछ, र एक थुप्रो भई खडा हुनेछ।” यसकारण जब यर्दन तर्न भनी मानिसहरूले छाउनी भत्काए, तब साक्षी पाटीको सन्दुक बोक्ने पुजारीहरू तिनीहरूका अगि-अगि गए। त्यो समय अन्नको कटनीको समय थियो। यो समय यर्दनचाहिँ पानीले भरिएको थियो। तापनि करारको सन्दुक बोक्ने पुजारीहरू यर्दन नदीमा पुगेर तिनीहरूका खुट्टाले पानीको किनार छुनेबित्तिकै, माथिबाट तल बगेर आउने पानी बग्न छोड्यो। त्यो पानी धेरै टाढा सार्तानको नजिक आदम भनिने सहरनिर एक थुप्रो भई जम्मा भयो। अनि अराबा समुद्रतिर (अर्थात् मृत सागर) जाने ओरालोमा बग्दै गरेको पानीचाहिँ पूर्ण रूपले सुक्यो। यसरी मानिसहरू यरीहो नदीको अर्कोपट्टि पारि तरे। सबै इस्राएलीहरू सुक्खा जमिनबाट हिँडे, र सम्पूर्ण मानिसहरू नदी पार नगरुन्जेल याहवेहको करारको सन्दुक बोक्ने पुजारीहरू यर्दन नदीको बीचमा सुक्खा जमिनमा उभिरहे।
यहोशू 3:9-17 पवित्र बाइबल (NERV)
तब यहोशूले इस्राएलका मानिसहरूलाई भने, “आऊ, अनि परमप्रभु तिमीहरूका परमेश्वरको वचन सुन। यहाँ प्रमाण छ कि जीवित परमेश्वर साँच्चै तिमीहरूका साथ हुनुहुन्छ। यहाँ प्रमाण छ कि उहाँले सँच्चै नै तिमीहरूका शत्रुहरूलाई परास्त गरिदिनु हुनेछ। उहाँले कनानी, हित्ती, परिज्जी, गिर्गाशी, एमोरी अनि यबूसी मानिसहरूलाई परास्त गर्नुहुने छ, उहाँले तिनीहरूलाई त्यो भूमि छोड्न वाध्य तुल्याउनु हुनेछ। जब तिमीहरू यदर्न नदी पार गर्छौ सम्पूर्ण संसारका मालिकको करारको सन्दूक तिमीहरूको अघि जानेछ। अब, बाह्रजना मानिसहरू छान। इस्राएलको बाह्र कुल समुहबाट एक मानिस छान। पूजाहारीहरूले परमप्रभुको सन्दूक बोक्नेछन्। परमप्रभु सम्पूर्ण पृथ्वीका मालिक हुनुहुन्छ। जब तिनीहरू पानीमा पस्छन् यर्दन नदीको पानी बग्न रोकिन्छ। पानी बन्द भएर बाँध जस्तै बनिनेछ।” पूजाहारीहरूले करारको सन्दूक बोके अनि मानिसहरूले आफ्नो छाउनी छाडे, मानिसहरूले यर्दन नदी तर्न तिनीहरूको पछि लागे। (फसल कटनीको समयमा यर्दन नदी किनार माथि-माथि भएर बग्छ।) यसर्थ नदी पूर्ण रूपले भरिएको थियो। पूजाहारीहरू, जसले सन्दूक बोकेका थिए, नदीका किनारमा आए र तिनीहरूले पानीमा टेके। अनि पानी बग्न तुरन्तै बन्द भयो। यो पानी नदीको धेरै टाढो अदाम (शरतानको शहर) सम्म एउटा बाँध जस्तो थुप्रियो, यस्तो प्रकारले कि अराबाह समुद्र (मृत सागर) तिर बगिरहेको पानी पुरै काटिएको थियो। मानिसहरू नदी पार गरेर यरीहोको नजीक पुगे। त्यस स्थानको भूमि सूक्खा भयो, अनि पूजाहारीहरू परमप्रभुको करारको सन्दूक बोकेर नदीको माझमा पुगे र तिनीहरू रोकिए। पूजाहारीहरू त्यहाँ पर्खिए तब इस्राएलका सबै मानिसहरू सूख्खा भूमि भएर हिँडेर यर्दन नदी पारी पुगे।
यहोशू 3:9-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब यहोशूले मानिसहरूलाई भने, “यहाँ आएर परमप्रभु तिम्राहरू परमेश्वर के भन्नुहुन्छ, सुन। तिमीहरूका अघि बढ्दैजाँदा उहाँले निश्चय नै कनानी, हित्ती, हिव्वी, परिज्जी, गिर्गाशी, एमोरी र यबूसीहरूलाई धपाउनुहुनेछ। जीवित परमेश्वर हाम्रा बीचमा हुनुहुन्छ भनी तिमीहरू त्यस बेला बुझ्नेछौ, जब सारा पृथ्वीका परमप्रभुका करारको सन्दुक तिम्रा अघि-अघि यर्दन पार गरी जानेछ। इस्राएलको प्रत्येक कुलबाट एकएक जना गरी बाह्र जना पुरुषहरू छान। सारा पृथ्वीका परमप्रभुको करारको सन्दुक बोक्ने पूजाहारीहरूले जब खुट्टा पानीमा हाल्छन्, यर्दन नदीको पानी थामिनेछ र एक ठाउँमा राश लागेर थुप्रिनेछ।” त्यो अन्न-कटनीको समय थियो र नदीमा बाढी आएको थियो। यर्दन पार गर्न जब मानिसहरूले पाल छोडे, तब पूजाहारीहरू करारको सन्दुक बोकी अघिअघि हिँडे। पूजाहारीहरू पानीमा पस्नेबित्तिकै नदी बहन छोड्यो र धेरै माथि नै सार्तानको नजिक आदम सहरनिर राश लागेर थुप्रियो। उँधो मृत सागर बग्न पूरा बन्द भयो र मानिसहरू यरीहोका छेउनिर पार गर्न सके। मानिसहरू ओबानो भूमिमा हिँडी नदी पार गर्दा करारको सन्दुक बोक्ने पूजाहारीहरू यर्दनका बीचमा सुख्खा ठाउँमा उभिए। सबै मानिसहरू पारी नतरून्जेल पूजाहारीहरू त्यहीँ उभिरहे।