यहोशू 24:1-18
यहोशू 24:1-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब यहोशूले इस्राएलीहरूका सबै कुललाई शकेममा जम्मा गरेर इस्राएलका धर्म-गुरुहरू, कुलनायकहरू, न्यायकर्ताहरू र अधिकारीहरूलाई बोलाए, र तिनीहरूले आफैलाई परमेश्वरको सामु हाजिर गराए। यहोशूले सबै मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘उहिले अब्राहाम र नाहोरका बुबा तेरह, तिमीहरूका पिता-पुर्खाहरू यूफ्रेटिस नदी पारि बस्थे, र तिनीहरूले अरू देवताहरू पुज्दथे। तर मैले तिमीहरूका पुर्खा अब्राहामलाई यूफ्रेटिस नदी पारिबाट ल्याएँ, र त्यसलाई कनान देशका चारै दिशामा डोर्याएँ र त्यसका सन्तान वृद्धि गरें। मैले त्यसलाई इसहाक दिएँ। फेरि मैले इसहाकलाई याकूब र एसाव दिएँ। अनि मैले एसावलाई त्यसका अधिकारको निम्ति सेइरको पहाड़ी देश दिएँ। तर याकूब र त्यसका छोराहरूचाहिँ मिश्रदेशतिर गए। “‘तब मैले मोशा र हारूनलाई पठाएर त्यहाँ मैले गरेको कामद्वारा मिश्रदेशमा विपत्ति पठाएँ, र पछिबाट मैले तिमीहरूलाई निकालेर ल्याएँ। जब मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्याएँ, तिमीहरू समुद्रसम्म आइपुग्यौ, र मिश्रीहरूले तिमीहरूका पिता-पुर्खालाई रथ र घोड़चढ़ीहरूसहित लाल समुद्रसम्म खेदेर आए। तर तिनीहरूले परमप्रभुलाई पुकारा गरे, अनि उहाँले तिमीहरू र मिश्रदेश वासीहरूका बीचमा अन्धकार पारेर उनीहरूमाथि समुद्र फर्काई उनीहरूलाई डुबाइदिनुभयो। मैले मिश्रदेशमा के गरें, सो तिमीहरूले आफ्ना आँखाले देख्यौ। तब तिमीहरू धेरै दिनसम्म उजाड़-स्थानमा रह्यौ। “‘मैले तिमीहरूलाई यर्दनको पूर्वपट्टि बस्ने एमोरीहरूको देशमा ल्याएँ। उनीहरूले तिमीहरूसित लड़ाइँ गरे, र मैले उनीहरूलाई तिमीहरूका हातमा पारिदिएँ, र तिमीहरूले उनीहरूको देश अधिकार गर्यौ। मैले उनीहरूलाई तिमीहरूका सामुन्ने नष्ट पारें। तब मोआबको राजा सिप्पोरको छोरा बालाकले इस्राएलीहरूसँग लड़ाइँ गर्यो। अनि तिमीहरूलाई सराप दिनलाई त्यसले बओरको छोरा बालामलाई डाकिपठायो। तर बालामको प्रार्थना मैले सुनिनँ। त्यसैकारण त्यसले त बारम्बार तिमीहरूलाई आशिष् पो दियो। यसरी मैले तिमीहरूलाई त्यसको हातबाट बचाएँ। “‘त्यसपछि तिमीहरू यर्दन तरेर यरीहोमा आयौ। अनि यरीहोका मानिसहरू, एमोरी, परिज्जी, कनानी, हित्ती, गिर्गाशी, हिव्वी र यबूसीहरूले तिमीहरूसित लड़ाइँ गरे। तर मैले उनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिएँ। मैले तिमीहरूका अगिअगि एउटा अरिङ्गाल पठाइदिएँ, जसले उनीहरूलाई, एमोरीहरूका दुई राजाहरूलाई समेत तिमीहरूका सामुन्नेबाट धपायो। त्यो तिमीहरूले आफ्ना तरवार र धनुले गरेनौ। यसरी तिमीहरूले मेहनतै नगरेको देश, र तिमीहरू आफैले नबनाएका सहरहरू मैले तिमीहरूलाई दिएँ। तिमीहरू तिनमा बस्दैछौ, र आफैले नरोपेका दाखबारी र भद्राक्षबारीका फल तिमीहरू खाँदैछौ’। “यसकारण अब परमप्रभुको भय मान, र सारा विश्वस्ततासाथ उहाँको सेवा गर। तिमीहरूका पिता-पुर्खाहरूले यूफ्रेटिस नदी पारि र मिश्रदेशमा पुजेका देवताहरूलाई फ्याँक, र परमप्रभुको सेवा गर। तर यदि परमप्रभुको सेवा गर्न तिमीहरूलाई मन पर्दैन भनेता तिमीहरूले कसको सेवा गर्ने आजै तिमीहरूले रोज— कि तिम्रा पिता-पुर्खाहरूले यूफ्रेटिस नदी पारि पुजेका देवताहरू कि तिमीहरू अहिले बसेको देशका एमोरीहरूका देवताहरू। तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।” तब मानिसहरूले भने, “हामीले परमप्रभुलाई त्यागेर अरू देवताहरूको पूजा गर्न नपरोस्। किनभने परमप्रभु हाम्रा परमेश्वरले नै हामीलाई र हाम्रा पिता-पुर्खाहरूलाई मिश्रदेश, दासत्वको घरबाट मुक्त गराएर ल्याउनुभएको हो, र हाम्रा आँखाकै सामु त्यस्ता ठूला आश्चर्य कामहरू गर्नुभयो। अनि हामी जहाँ गए तापनि, जुन जातिहरूका बीचबाट हामी आए तापनि उहाँले हामीलाई रक्षा गर्नुभयो। परमप्रभुले हाम्रा सामुन्नेबाट सबै जातिहरू, यस देशमा बस्ने एमोरीहरूलाई समेत धपाउनुभयो। यसकारण हामीहरू पनि परमप्रभुको सेवा गर्नेछौं, किनभने उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ।”
यहोशू 24:1-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब यहोशूले इस्राएलका सबै कुलहरूलाई शेकेममा भेला गराए। तिनले इस्राएलका प्रधानहरू, अगुवाहरू, न्यायकर्ताहरू र अधिकृतहरूलाई बोलाए। अनि तिनीहरूले आफैँलाई परमेश्वरको सामु उपस्थित गराए। यहोशूले ती सबै मानिसहरूलाई भने, “याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘धेरै वर्षअगि अब्राहाम र नाहोरका बुबा तेरह लगायत तिमीहरूका पितापुर्खाहरू यूफ्रेटिस नदीपारि बस्दथे। अनि अरू देवी-देवताहरू पुज्दथे। तर मैले तिमीहरूका पिता अब्राहामलाई त्यस नदी पारिको देशबाट ल्याएँ। अनि कनान देशभरि डोर्याएँ र उसलाई धेरै सन्तानहरू दिएँ। अनि मैले उसलाई इसहाक दिएँ। इसहाकलाई मैले याकोब र एसाव दिएँ। मैले एसावलाई सेइरको पहाडी देश अधिकार गर्न दिएँ। तर याकोब र उसका छोराहरू तल इजिप्टतिर गए। “ ‘तब मैले मोशा र हारूनलाई पठाएँ। अनि मैले इजिप्टमा विपत्तिहरू ल्याएर त्यहाँका मानिसहरूलाई कष्ट दिएँ। मैले तिमीहरूलाई बाहिर निकालेर ल्याएँ। जब मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएँ, तब तिमीहरू लाल समुद्रमा आइपुग्यौ। अनि इजिप्टियनहरूले घोडचढीहरू र रथहरूसहित तिमीहरूलाई समुद्रसम्मै पछ्याए। तर तिनीहरूले सहायताको निम्ति याहवेहसँग पुकार गरे। अनि मैले तिमीहरू र इजिप्टियनहरूको बीचमा अन्धकार पारेँ। मैले समुद्रलाई तिनीहरूमाथि घोप्ट्याइदिएँ; र तिनीहरूलाई डुबाइदिएँ। मैले इजिप्टियनहरूलाई गरेका कुरा तिमीहरूले आफ्नै आँखाले देख्यौ। त्यसपछि तिमीहरू उजाडस्थानमा लामो समयसम्म बस्यौ। “ ‘मैले तिमीहरूलाई यर्दनको पूर्वमा बस्ने एमोरीहरूको देशमा ल्याएँ। तिनीहरूले तिमीहरू विरुद्ध युद्ध गरे। तर मैले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिएँ। मैले तिनीहरूलाई तिमीहरूको सामुबाट नाश गरिदिएँ। अनि तिमीहरूले तिनीहरूको देशमा अधिकार गर्यौ। जब मोआबको राजा सिप्पोरको छोरा बालाकले इस्राएलको विरुद्धमा युद्ध गर्ने तयारी गर्यो, तब त्यसले तिमीहरूलाई सराप्न भनी बओरको छोरा बालामलाई बोलायो। तर मैले बालामको कुरा सुनिनँ। यसैकारण त्यसले तिमीहरूलाई बारम्बार आशिष् दियो। अनि मैले तिमीहरूलाई बालकको हातबाट छुटाएँ। “ ‘त्यसपछि तिमीहरू यर्दन पार गरेर यरीहोमा आयौ। अनि यरीहोका मानिसहरूले तिमीहरूको विरुद्धमा युद्ध गरे। तिनीहरूले जस्तै तिमीहरूको विरुद्धमा एमोरीहरू, परिज्जीहरू, कनानीहरू, हित्तीहरू, गिर्गाशीहरू, हिव्वीहरू र यबूसीहरूले पनि युद्ध गरे। तर मैले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिएँ। मैले तिमीहरूको अगि-अगि अरिङ्गाल पठाइदिएँ; जसले तिनीहरूलाई र दुई एमोरी राजाहरूलाई पनि तिमीहरूको सामुबाट धपाइदिएँ। त्यो तिमीहरूको आफ्नै तरवार र धनुकाँडले गरेका थिएनौ। यसरी मैले तिमीहरूलाई तिमीहरूले परिश्रम नै नगरेको देश र तिमीहरूले नबनाएका सहरहरू दिएँ। अनि तिमीहरू त्यहाँ बस्यौ र तिमीहरूले नरोपेका दाखबारी र जैतुनबारीका फल खाइरहेका छौ।’ “यसकारण अब याहवेहको डर मानेर पूर्ण विश्वासयोग्यतामा उहाँको सेवा गर। तिमीहरूका पितापुर्खाहरूले नदीपारि र इजिप्टमा पुजेका देवी-देवताहरू फ्याँक र याहवेहको सेवा गर। तर यदि याहवेहको सेवा गर्न तिमीहरूलाई इच्छा लाग्दैन भने तिमीहरूले कसको सेवा गर्ने हो, नदीपारि तिमीहरूका पितापुर्खाहरूले पुजेका देवी-देवताहरू या तिमीहरू अहिले बसिरहेका एमोरीहरूका ठाउँका देवी-देवताहरू, सो रोज। तर म र मेरो घरानाले चाहिँ याहवेहकै सेवा गर्नेछौँ।” तब मानिसहरूले जवाफ दिए, “हामीले याहवेहलाई त्यागेर अरू देवी-देवताहरूको सेवा गर्ने, यस्तो काम हामीबाट कदापि नहोस्! हामी र हाम्रा पितापुर्खाहरूलाई दासत्वको देश इजिप्टबाट ल्याउनुहुने र हाम्रा आँखाकै सामु ती अलौकिक चिन्हहरू गर्नुहुने याहवेह हाम्रा परमेश्वर आफैँ हुनुहुन्छ। जब हामी ती सबै जातिहरूका बीचबाट भएर आयौँ, तब उहाँले नै हामीलाई हाम्रो यात्राभरि सुरक्षा गर्नुभयो। अनि याहवेहले हाम्रो सामुबाट यस देशमा बस्ने एमोरीहरू लगायत सबै जातिहरूलाई धपाइदिनुभयो। हामी पनि याहवेहकै सेवा गर्नेछौँ; किनकि उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ।”
यहोशू 24:1-18 पवित्र बाइबल (NERV)
यहोशूले इस्राएलका सबै कुल समूहहहरूलाई शकेममा एकसाथ भेला हुन बोलाए। तब उनले बूढा-प्रधानहरू कुलनायकहरू, अनि इस्राएलका अधिकारीहरू, अनि न्यायकर्त्ताहरू र शासकहरूलाई पनि बोलाए। यी मानिसहरू परमेश्वर समक्ष उभिए। यहोशूले समस्त मानिसहरूलाई भने। तिनले भने, “म तिमीहरूलाई यो भनिरहेछु जो परमप्रभु इस्राएलका परमेश्वरले तिमीहरूलाई यसो भन्नु हुन्छः ‘धेरै समय अघि, तिमीहरूका पिता-पुर्खाहरू यूफ्रेटिस नदीको पारी पट्टि बस्थे। म अब्राहाम अनि नाहोरका पिता तेरह जस्ता मानिसहरूको विषयमा कुरा गरिरहेछु। त्यस समयमा, ती मानिसहरूले अन्य देवताहरूको पूजा गर्थे। तर, म परमप्रभुले तिमीहरूका पिता-पुर्खा अब्राहामलाई भूमि बाहिर महानदीको अर्को तर्फ लगें। मैले उसलाई कनानको भूमि भएर लगे र उसलाई धेरै-धेरै सन्तानहरू दिएँ। मैले अब्राहामलाई उसको छोराको नाउँ इसहाक दिएँ। अनि मैले इसहाकलाई याकूब अनि एसाव नाउँका दुइ छोराहरू प्रदान गरें। एसावलाई मैले सेइर पर्वत वरिपरिका भूमि दिएँ। याकूब अनि उसका छोराहरू त्यहाँ बसेनन्। तिनीहरू मिश्रको भूमिमा बस्न गए। “‘तब, मैले मोशा र हारूनलाई मिश्रमा पठाएँ। तिनीहरूले मेरा मानिसहरूलाई मिश्रदेश बाहिर ल्याएको म चाहन्थें। मैले मिश्रका मानिसहरू माथि अनेक भयानक घटनाहरू घटाएँ। त्यसपछि मैले तिमीहरूका मानिसहरूलाई मिश्र बाहिर निकालेर ल्याएँ। यसरी नै मैले तिमीहरूका अगुवाहरूलाई मिश्रबाहिर ल्याएँ। तिनीहरू लाल समुद्रमा आए अनि मिश्रका मानिसहरूले तिनीहरूलाई खेदिरहेका थिए। त्यहाँ रथ अनि घोड सवारहरू थिए। यसकारण मानिसहरूले म परमप्रभुलाई सहायताको निम्ति याचना गरें। अनि तिमीहरू र मिश्रका मानिसहरू बीचमा मैले अन्धकार स्थापित गरें। म परमप्रभुले तिनीहरूलाई समुद्र छोप्न बनाएँ। मैले मिश्रका सेनालाई जे गरें त्यो त तिमीहरू आफैंले देख्यौ। “‘त्यसपछि, तिमीहरू लामो समयसम्म मरुभूमिमा बस्यौ। तब मैले तिमीहरूलाई एमोरी मानिसहरूको देशमा ल्याएँ। यो यर्दन नदीको पूर्वतर्फ थियो। ती मानिसहरू तिमीहरूको विरूद्ध लडे, तर मैले तिनीहरूलाई परास्त गर्न तिमीहरूलाई दिएँ। ती मानिसहरूलाई नष्ट गर्ने मैले शक्ति तिमीहरूलाई प्रदान गरें। तब तिमीहरूले त्यो भूमिलाई अधिकारमा लियौ। “‘तब मोआबको राजा, सिप्पोरका छोरा बालाकले इस्राएलका मानिसहरू विरूद्ध लड्न तयार भए। ती राजाले बओरका छोरा बालामलाई बोलाई पठाए। उसले बालामलाई तिमीहरूलाई श्रापदिन लगाए। तर म, परमप्रभुले बालामको कुरा सुन्न अस्वीकार गरें। यसर्थ बालामले तिमीहरूलाई अनेक पल्ट आशीर्वाद दिए। मैले तिमीहरूलाई बचाएँ अनि विपत्तबाट निकालें। “‘त्यसपछि तिमीहरू यर्दन नदी पारी यरीहो शहर तर्फ गयौ। यरीहोका मानिसहरू तिमीहरू विरूद्ध लडे। एमोरी, परिज्जी, कनानी, हित्ती, गिर्गाशी, हव्वी अनि यबूसी मानिसहरू पनि तिमीहरू विरूद्ध लडे। तर मैले तिनीहरू सबैलाई तिमीहरूलाई परास्त गर्न दिएँ। जब तिमीहरूका सेनाहरू अघि बढ्दै थिए मैले तिनीहरूको अघि बिच्छ्यूँहरूलाई पठाईदिएँ। ती बिच्छ्यूँहरूले दुइजना राजाहरूलाई छोडन बाध्य गरयो। यसरी तिमीहरूले आफ्ना तरवार अनि धनुको प्रयोग नगरी नै त्यो भूमि लियौ। “‘मैले त्यो भूमि तिमीहरूलाई दिएँ। जुन भूमिका निम्ति तिमीहरूले काम गरेनौ मैले त्यो भूमि तिमीहरूलाई दिएँ। तिमीहरूले ती शहरहरू निर्माण गरेनौ-ती मैले तिमीहरूलाई दिएँ। तिमीहरूसित दाखबारी अनि भद्राक्षेका बृक्षका बगौंचाहरू छन्, तर ती बगौंचाहरूमा तिमीहरूले विरूवा लाउनु परेन।’” तब यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुका बचनहरू सुन्यौ, यसर्थ तिमीहरूले परमप्रभुको सम्मान गर्नु पर्छ अनि साँचो भागमा उहाँको सेवा गर्नु पर्छ। ती अपवित्र देवताहरूलाई फ्याँकि देऊ, जुन तिमीहरूका पिता-पुर्खाहरूले मिश्रमा र यूफ्रेटिस नदीको पारिपट्टि पूज्ने गर्थे। अब तिनीहरूले परमप्रभुलाई मात्र आराधना गर्नु पर्छ। “तर हुन सक्छ, तिमीहरू परमप्रभुको सेवा गर्न चाहँदैनौ। कसलाई सेवा गर्छौ त्यो तिमीहरूले निर्णय लिनु पर्छ। के तिमीहरू, तिमीहरूका अगुवाहरूले यूफ्रेटिस नदीको पारिपट्टि बस्दा पूजेका झूटा देवताहरूको सेवा गर्छौ? अथवा, यो भूमिमा बस्ने एमोरी मानिसहरूका देवताको सेवा गर्छौ? तिमीहरू आफैंले चुन्नु पर्छ। तर म अनि मेरो घरनाले भने परमप्रभुकै सेवा गर्ने छौं।” तब मानिसहरूले उत्तर दिए, “हामीहरू परमप्रभुको अनुशरण गर्न कहिल्यै पनि छाड्ने छैनौं। हामी अन्य देवताहरूको सेवा कहिले पनि गर्ने छैनौं। हामी जान्दछौं कि परमप्रभु नै परमेश्वर हुनुहुन्थ्यो, जसले हाम्रा मानिसहरूलाई मिश्रबाट बाहिर निकाल्नु भयो। त्यस देशमा हामी दास थियौं। तर परमप्रभुले हाम्रा निम्ति त्यहाँ महान् काम गर्नु भयो। उहाँले हामीलाई त्यो देशबाट बाहिर ल्याउनु भयो, अनि अन्य भूमिहरूबाट यात्रा गर्दा हामीलाई सुरक्षा प्रदान गर्नु भयो। परमप्रभुले हामीलाई यी भूमिहरूमा बस्ने मानिसहरूलाई परास्त गर्नमा सहयोग प्रदान गर्नु भयो। परमप्रभुले हामीलाई जो एमोरी मानिसहरू यो देशमा बस्थे त्यहाँ अहिले हामी छौं, यो परास्त गर्नमा हामीलाई सहायता गर्नुभयो। यसर्थ हामी परमप्रभुको सेवा गरिरहनेछौं। किनभने उहाँ नै हाम्रो परमेश्वर हुनुहुन्छ।”
यहोशू 24:1-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यहोशूले इस्राएलका सबै कुलहरूलाई शकेममा एकसाथ भेला गरे। उहाँले इस्राएलका बुढापाका, अगुवा, न्यायकर्ता र भारदारहरूलाई बोलाए र तिनीहरू सबै जना परमेश्वरको सामुन्ने हाजिर भए। यहोशूले सबै मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘धेरै वर्षअघि तिम्रा पुर्खाहरू यूफ्रेटिस नदीको पल्लोपट्टि बास गर्थे र अरू देव-देवता पुज्दथे। ती पुर्खाहरूमध्ये एक जना अब्राहाम र नाहोरका बुबा तेरह थिए। तब यूफ्रेटिस पारिका देशबाट मैले तिम्रा पुर्खा अब्राहामलाई निकालें र सारा कनान देशमा चारैतिर डोर्याएर लगें। मैले त्यसलाई धेरै सन्तान दिएँ। त्यसलाई इसहाक दिएँ र इसहाकलाई याकूब र एसाव दिएँ। मैले एसावलाई एदोमीको पहाडी देश दिएँ तर तिम्रा पुर्खा याकूब र त्यसका बालबच्चा मिश्रमा गए। पछिबाट मैले मोशा र हारूनलाई पठाई मिश्रमा ठूल्ठूला विपत्ति ल्याएँ। तर मैले तिमीहरूलाई चाहिँ निकाली ल्याएँ। मैले तिम्रा पुर्खाहरूलाई मिश्रबाट निकाली ल्याएँ अनि मिश्रीहरूले रथ र घोडचढी सेना लिएर तिनीहरूलाई खेदे। तर जब तिम्रा पुर्खाहरू लाल समुद्रमा पुगे, तिनीहरूले मलाई मद्दतको निम्ति पुकारे अनि मैले तिनीहरू र मिश्रीहरूका बीचमा अन्धकार पारें। समुद्र फर्काई मिश्रीहरूलाई मैले डुबाउन लाएँ। मिश्रलाई मैले के गरें, सो तिमीहरूले आफ्नै आँखाले देख्यौ। “धेरै दिनसम्म तिमीहरू उजाड-स्थानमा रह्यौ। तब मैले तिमीहरूलाई यर्दनको पूर्वपट्टि बास गर्ने एमोरीहरूका देशमा ल्याएँ। तिनीहरू तिमीहरूसित लड्न आए; तर मैले तिमीहरूलाई तिनीहरूमाथि विजय दिएँ। तिमीहरूले तिनीहरूको देश जित्यौ र तिमीहरू बढेर जाँदा मैले तिनीहरूलाई नाश पारें। त्यसपछि मोआबका राजा सिप्पोरको छोरो बालाक तिम्रा विरुद्धमा लड्यो। त्यसले बओरको छोरो बालामलाई खबर पठाएर तिमीहरूलाई सराप दिन लायो। तर मैले बालामलाई सराप्न दिइनँ र त्यसले तिमीहरूलाई आशीर्वाद दियो। यसरी तिमीहरूलाई बालाकका हातबाट बचाएँ। तिमीहरू यर्दन पार गरी यरीहोमा आयौ। एमोरी, परिज्जी, कनानी, हित्ती, हिव्वी, गिर्गाशी र यबूसीहरू, यरीहोका पुरुषहरू तिम्रा विरुद्धमा लडे। तर मैले तिनीहरू सबैमाथि तिमीहरूलाई विजय दिएँ। तिमीहरू अघि बढेर जाँदा मैले तिनीहरूलाई थरहरी पारें र दुई एमोरी राजाहरूलाई धपाएँ। त्यसमा तिम्रा तरवार र धनुहरूले केही काम गर्नुपरेन। तिमीहरूले आफ्नै हातले कहिल्यै अन्न नरोपेको देश र नबनाएका सहरहरू मैले तिमीहरूलाई दिएँ। अहिले तिमीहरू त्यहाँ बास गरिरहेका छौ र आफूले नरोपेका दाखको बोटबाट दाख र जैतुनका बोटहरूबाट फल खाइरहेका छौ’।” “यसकारण अब,” यहोशूले भन्दै गए, “परमप्रभुलाई आदर गर अनि विश्वासयोग्य र इमानदारीसाथ उहाँको सेवा गर। तिम्रा पुर्खाहरूले मेसोपोटामिया र मिश्रमा पुज्ने गरेका देव-देवताहरू हटाओ र केवल परमप्रभुको मात्र सेवा गर। तिमीहरू परमप्रभुको सेवा गर्न राजी छैनौ भने कसको सेवा गर्ने– मेसोपोटामियामा तिम्रा पुर्खाहरूले भजेका देव-देवताहरूको कि अहिले तिमीहरूले बास गर्दैगरेका एमोरी देशका देव-देवताहरूको? आजै निश्चय गर। म र मेरा परिवारले चाहिँ परमप्रभुकै सेवा गर्नेछौं।” मानिसहरूले जवाफ दिए, “अरू देव-देवता भज्न भनी हामी परमप्रभुलाई कहिल्यै त्याग्नेछैनौं परमप्रभु हाम्रा परमेश्वरले हामी र हाम्रा बुबा-बाजेलाई मिश्रको दासत्वबाट निकाली ल्याउनुभयो। हामीले उहाँले गर्नुभएको उदेकका कामहरू देख्यौं। हामीले पार गरी आएका भिन्न-भिन्न जातिहरूका देशमा जहाँ हामी गयौं उहाँले हामीलाई कुशल राख्नुभयो। हामी यस देशभित्र पसेर आउँदा परमप्रभुले यहाँ बास गर्ने सबै एमोरीहरूलाई धपाउनुभयो। यसकारण हामी पनि परमप्रभुको सेवा गर्नेछौं, उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ।”