यहोशू 23:1-14 - Compare All Versions
यहोशू 23:1-14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
अब धेरै दिनपछि, जब परमप्रभुले इस्राएलीहरूलाई वरिपरिका सबै शत्रुहरूबाट विश्राम दिनुभएको थियो, र यहोशू वृद्ध भएर निकै उमेर खाइसकेका थिए, यहोशूले सबै इस्राएलीहरूलाई, तिनीहरूका धर्म-गुरुहरू, कुलनायकहरू, न्यायकर्ताहरू, र अधिकारीहरूलाई बोलाएर भने, “म वृद्ध भएँ अनि निकै उमेर खाइसकें। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका निम्ति यी सारा जातिहरूलाई के-के गर्नुभयो, सो सबै तिमीहरूले देखेकै छौ। तिमीहरूका निम्ति लड़ाइँ गर्ने उहाँ नै, परमप्रभु तिमीहरूका परमेश्वर हुनुहुन्छ। स्मरण गर, यर्दनदेखि पश्चिमतिर महासमुद्रसम्म यी बाँकी रहेका जातिहरूलाई, अर्थात् मैले जितेका जातिहरूलाई तिमीहरूका कुलहरूको अधिकारमा बाँड़िदिएको छु। परमप्रभु तिमीहरूका परमेश्वर आफैले नै तिमीहरूका सामुन्नेबाट उनीहरूलाई निकालिदिनुहुनेछ, र तिमीहरूका नजरको अगि धपाइदिनुहुनेछ, र परमप्रभु तिमीहरूका परमेश्वरले भन्नुभएझैँ तिमीहरूले उनीहरूको देश अधिकार गर्नेछौ। “यसकारण मोशाका व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुरा साहसपूर्वक पालन गर र मान, र त्यसबाट तिमीहरू दाहिने-देब्रेतिर नलाग। तिमीहरूका बीचमा रहेका जातिहरूसँग नमिसिनु, उनीहरूका देवताहरूका नाउँ नलेओ, तिनका नाउँमा शपथ नखानू। तिनीहरूको सेवा नगर्नू र तिनीहरूलाई दण्डवत् नगर्नू। तर तिमीहरूले आजको दिनसम्म गरेजस्तै परमप्रभु तिमीहरूका परमेश्वरमै लीन भइरहनू। “परमप्रभुले तिमीहरूका सामुन्नेबाट महान् शक्तिशाली जातिहरूलाई धपाउनुभएको छ। तर तिमीहरूका सामुन्ने आजसम्म कोही पनि अड्न सकेको छैन। तिमीहरूको एक जनाले हजार जना मानिसहरूलाई धपाउन सक्छ, किनकि उहाँले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूका निम्ति युद्ध गर्ने परमप्रभु नै हुनुहुन्छ। यसकारण परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न पूरा होशियार गर। “तर यदि कुनै किसिमले तिमीहरू तर्केर ती बाँकी रहेका जातिहरू, अर्थात् तिमीहरूका बीचमा रहेकाहरूसँग लाग्यौ, र उनीहरूसँग विवाह गरेर छ्यासमिस भयौ भनेता, यो निश्चय जान, कि परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूका दृष्टिबाट फेरि धपाउनुहुनेछैन, तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरू नष्ट नभएसम्म उनीहरू तिमीहरूका निम्ति पासो र जाल, र तिमीहरूका पीठमा कोर्रा, र तिमीहरूका आँखामा काँढ़ा हुनेछन्। “अब म सबै मानव-जातिले जानुपर्ने बाटो गइरहेछु। परमप्रभु परमेश्वरले तिमीहरूका बारेमा भन्नुभएका सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पूरा भएको छ, र एउटा पनि त्यसबाट फरक परेको छैन भनी तिमीहरूको आफ्नो पूरा हृदय र पूरा प्राणले थाहा पाएकै छौ।
यहोशू 23:1-14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धेरै समय बितेपछि याहवेहले इस्राएललाई तिनीहरूका चारैतिरका सबै शत्रुहरूदेखि विश्राम दिनुभयो। अनि त्यस बेलासम्ममा यहोशू वृद्ध भइसकेका थिए। तब तिनले सारा इस्राएल, तिनीहरूका प्रधानहरू, अगुवाहरू, न्यायकर्ताहरू र अधिकृतहरूलाई बोलाएर तिनीहरूलाई भने: “म अब धेरै वृद्ध भएको छु। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका निम्ति यी सबै राष्ट्रहरूलाई गर्नुभएको हरेक कुरा तिमीहरूले देखेका छौ। याहवेह तिमीहरूका परमेश्वर नै तिमीहरूको निम्ति लड्नुभयो। याद गर, मैले कसरी तिमीहरूका कुलहरूका निम्ति उत्तराधिकारको रूपमा यर्दन र पश्चिममा महासागरको बीचमा रहेका सबै राष्ट्रहरूलाई जितेर तिनीहरूको देश तिमीहरूका बाँकी रहेका राष्ट्रहरूलाई भाग लगाइदिएको छु। याहवेह तिमीहरूका परमेश्वर आफैँले तिनीहरूलाई तिमीहरूका निम्ति धपाइदिनुहुनेछ। उहाँले तिनीहरूलाई तिमीहरूकै सामुबाट निकालिदिनुहुनेछ। अनि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूको देशमाथि अधिकार गर्नेछौ। “त्यसकारण अति बलियो होओ; मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरूबाट दायाँ अथवा बायाँतिर नलागी होसियारीसाथ पालन गर्नू। तिमीहरूका बीचमा बसोबास गर्ने यी जातिहरूसँग सम्बन्ध नराख्नू। तिनीहरूका देवी-देवताहरूका नाम नपुकार्नू, अथवा तिनीहरूका नामहरूमा शपथ नखानू। तिमीहरूले तिनीहरूको सेवा नगर्नू, अथवा तिनीहरूका सामु ननिहुरनू। तर तिमीहरूले अहिलेसम्म गरेझैँ याहवेह तिमीहरूका परमेश्वरमा विश्वासयोग्य भइरहनू। “याहवेहले तिमीहरूको सामुबाट महान् र शक्तिशाली जातिहरूलाई धपाइदिनुभयो; त्यसैले आजको दिनसम्म कोही पनि तिमीहरूको विरुद्धमा खडा रहन सकेको छैन। तिमीहरूमध्ये एक जनाले एक हजारलाई परास्त गर्न सक्छौ। किनकि याहवेह तिमीहरूका परमेश्वरले प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूका निम्ति युद्ध गरिदिनुहुन्छ। यसकारण याहवेह तिमीहरूका परमेश्वरलाई होसियारीसाथ प्रेम गर्नू। “तर यदि तिमीहरू तर्केर तिमीहरूका बीचमा बसोबास गर्ने बाँकी रहेका यी जातिहरूसँग तिमीहरूले सम्बन्ध राख्यौ र तिमीहरूले तिनीहरूसँग विवाह गर्यौ भने, यो निश्चय जानिराख—याहवेह तिमीहरूका परमेश्वरले यी जातिहरूलाई तिमीहरूका सामुबाट धपाउनुहुनेछैन। बरु जबसम्म याहवेह तिमीहरूका परमेश्वरले दिनुभएको यस असल देशबाट तिमीहरू नष्ट हुँदैनौ, तबसम्म तिनीहरू तिमीहरूका निम्ति फन्दा र पासो हुनेछन्। यसकासाथै तिमीहरूका पिठिउँमा कोर्रा र तिमीहरूका आँखामा काँडासरह बन्नेछन्। “अब म सारा पृथ्वीको नियमअनुसार जान लागेको छु। याहवेह, तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको उत्तम प्रतिज्ञाहरूमध्ये एउटै पनि अपूरो रहेको छैन भनी आफ्ना सारा हृदय र प्राणले जान्दछौ। हरेक प्रतिज्ञा पूरा भएका छन्। एउटै पनि असफल भएको छैन।
यहोशू 23:1-14 NERV (पवित्र बाइबल)
परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूका वरिपरि भएका शत्रुहरूबाट शान्ति प्रदान गर्नु भयो। परमप्रभुले इस्राएललाई सुरक्षित तुल्याउनु भयो। धेरै बर्ष बितेर गए, अनि यहोशू अत्यन्त बृद्ध भए। यस बेला यहोशूले समस्त बूढा अगुवाहरू, कुल नायकहरू, न्यायकर्ताहरू, अनि इस्राएली मानिसहरूका अधिकारीहरूको सभा राखे। यहोशूले भने, “म अत्यन्त बृद्ध भएको छु। तिमीहरूले ती कुराहरू देख्यौ जो परमप्रभुले हाम्रा शत्रुहरू प्रति गर्नु भयो। उहाँले हामीलाई सहायता गर्न यसो गर्नुभयो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति युद्ध गर्नु भयो। मैले तिमीहरूलाई भनेका कुरा सम्झ। तिमीहरूका मानिसहरूले यर्दन नदी अनि पश्चिममा भूमध्य समुद्र माझको भूमि प्राप्त गर्न सक्ने छौ। मैले त्यो भूमि तिमीहरूलाई दिने वचन दिएको थिएँ। तर तिमीहरूले त्यसलाई अझ अधिकारमा लिएका छैनौ। तर परमप्रभु तिमीहरूका परमेश्वरले त्यहाँ बसेका मानिसहरूलाई त्यो भूमि छाड्न वाध्य तुल्याउनु हुनेछ। तिमीहरूले त्यो भूमि लिने छौ। परमप्रभुले त्यहाँ बस्ने मानिसहरूलाई भूमि छोड्न वाध्य तुल्याउनु हुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका निम्ति यसो गर्ने वचन दिनु भएको छ। “परमप्रभुले हामीलाई आज्ञा गर्नु भएका सबै कुराहरू पालन गर्न तिमीहरू सावधान हुनुपर्छ। मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका हरेक कुरा पालन गर। त्यो नियमबाट टाढा नफर्कनु। हाम्रो माझ अझ पनि केही मानिसहरू बसेकाछन् जो इस्राएलका मानिस होइनन्। ती मानिसहरूले तिनीहरूका आफ्नै देवताहरूको पूजा गर्छन्। तिनीहरूको देवताहरूको सेवा अथवा तिमीहरूले पूजा नगर। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको अनुशरण गर्दै जानुपर्छ। बितेका समयमा तिमीहरूले यसो गरेका थियौ अनि तिमीहरूले यसो गर्दै जानुपर्छ। “परमप्रभुले अनेक महान अनि शक्तिशाली राष्ट्रहरूलाई परास्त गर्नमा सहायता प्रदान गर्नुभयो। परमप्रभुले ती मानिसहरूलाई छोड्न बाध्य तुल्याउनु भयो। तिमीहरूलाई परास्त गर्न कुनै राष्ट्रपनि समर्थ भएन। परमप्रभुको सहयोगद्वारा इस्राएलका एक मानिसले शत्रुहरूका हजार सैनिकलाई परास्त गर्न सके। किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको निम्ति लड्नु भएको थियो। परमप्रभुले यसो गर्ने प्रतिज्ञा दिनु भएको थियो। यसर्थ तिमीहरूले परमप्रभु तिम्रा परमेश्वरलाई प्रेम गरिरहनु पर्छ। “परमप्रभुको अनुशरण गर्न नछोड। ती अन्य मानिसहरूको मित्र नबन जो इस्राएली होइनन्। तिनीहरूका कुनै मानिसहरूसित विवाह नगर। तर यदि तिमीहरू यी मानिसहरूका मित्र बन्यौ भने। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका शत्रुहरूलाई परास्त गर्नमा सहयोह गर्नुहुने छैन। यी मानिसहरू तिमीहरूका निम्ति पासो जस्तै हुनेछन्। तिनीहरूले तिमीहरूलाई तिम्रा आखाँमा धुँवा र धूलो परे जस्तै कष्ट दिनेछन्। अनि तिमीहरूलाई यो उत्तम भूमि छोड्न बाध्य तुल्याउने छन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनुभयो। तर यदि तिमीहरूले यो आज्ञा पालन गरेनौ भने तिमीहरूले यसलाई गुमाउन सक्छौ। “अब प्रायः मेरो मृत्यु हुने समय भयो। तिमीहरू जान्दछौ अनि साँच्चै विश्वास गर्छौ कि परमप्रभुले तिमीहरूका निम्ति महान कार्यहरू गर्नु भएको छ। तिमीहरूलाई थाहा छ। कि उहाँले आफ्ना कुनै पनि प्रतिज्ञा पूर्ण गर्न चुक्नु भएन। परमप्रभुले सबै प्रतिज्ञा पूर्ण गर्नु भयो जो उहाँले हामीसँग गर्नु भएको थियो।
यहोशू 23:1-14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
धेरै दिनपछि परमप्रभुले इस्राएललाई तिनका चारैपट्टिका शत्रुहरूबाट सुरक्षा दिनुभयो। त्यस बेलासम्ममा यहोशू औधी बुढो भएका थिए। उनले सबै इस्राएली, बुढा-पाका, अगुवा, न्यायकर्ता र भारदारहरूलाई बोलाएर भने, “म अब औधी बुढो भएँ। तिमीहरूको लागि परमप्रभु तिम्रा परमेश्वरले यी सबै जातिहरूसित के गर्नुभयो, सो सबै देखेका छौ। परमप्रभु तिम्रा परमेश्वरले तिम्रा निम्ति लडाइँ गरिरहनुभएको छ। पूर्वमा यर्दन नदीदेखि पश्चिममा भूमध्य सागरसम्म ती जातिहरूका देश, जो मैले जितिसकें वा जित्न बाँकी छ, ती सबै मैले तिम्रा कुलहरूलाई सम्पत्तिको रूपमा बण्डा लाइदिएको छु। परमप्रभु तिम्रा परमेश्वरले तिनीहरूलाई पछि हट्न लाउनुहुनेछ र तिमीहरू अघि बढेर जाँदा तिनीहरूलाई धपाउनुहुनेछ। परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूका देश अधीन गर्नेछौ। यसकारण सावधान भई मोशाका नियमहरूका पुस्तकमा लेखिएका हरकुरा मान्ने र गर्ने गर। त्यसको कुनै हिस्सालाई नछोड्नू र तिम्रा बीचमा छोडिएका यी जातिहरूसित कुनै सम्बन्ध नजोड्नू, तिनका देव-देवताका नाम नलिनू, ती नाम भाकल गर्दा नलिनू, ती देव-देवताको आराधना नगर्नू अनि तिनका अघि आफ्ना शिर ननिहुराउनू। बरु जस्तो अहिलेसम्म रहेका छौ, त्यस्तै गरी परमप्रभुतिर विश्वासयोग्य रहनू। तिमीहरू अघि बढ्दै जाँदा परमप्रभुले महान् र शक्तिशाली जातिहरूलाई धपाउनुभयो र कोही पनि तिम्रा विरुद्धमा खडा हुन सकेका छैनन्। तिमीहरूमध्ये जोसुकैले पनि हजार जनालाई धपाउन सक्नेछौ किनभने परमप्रभुले आफ्नो प्रतिज्ञाअनुसार तिम्रा निम्ति लडाइँ गर्नुहुनेछ। त्यसैले सावधान भएर परमप्रभु तिम्रा परमेश्वरलाई प्रेम गर। तिमीहरूले परमेश्वरलाई छोड्यौ र तिम्रा माझमा बाँकी रहेका जातिहरूसित एकै भयौ अनि तिनीहरूसित बिहेबारी चलायौ भने यो निश्चय जान कि परमप्रभु तिम्रा परमेश्वरले तिमीहरू अघि बढेर जाँदा ती जातिहरूलाई फेरि धपाउनुहुनेछैन। तर, तिनीहरू तिम्रा लागि एउटा पासो वा गहिरो खाल्टोजस्ता डरलाग्दा हुनेछन् र तिम्रा पिठ्युँ कोर्राझैँ तथा आँखामा काँडा परेझैँ दु:खदायक हुनेछन्। अनि परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई दिनुभएको यस असल ठाउँबाट तिमीहरू सबै ननासिएसम्म यो कुरो भइरहनेछ। “अब मेरो मर्ने बेला आएको छ। तिमीहरू हरेकले आ-आफ्ना हृदय र मनभित्र यो कुरो जान्दछौ कि परमप्रभु तिम्रा परमेश्वरले आफूले प्रतिज्ञा गर्नुभएको हरेक असल कुरो तिमीहरूलाई दिनुभएको छ। उहाँले गर्नुभएको प्रत्येक प्रतिज्ञा पूरा भएको छ, एउटै पनि चुकेको छैन।