यहोशू 22:10-34
यहोशू 22:10-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब तिनीहरू कनान देशमा यर्दनको छेउछाउको गलीलोतमा पुगे, रूबेनी, गादी र मनश्शेको आधा कुलले त्यहाँ यर्दनको नजिकै हेर्दैमा ठूलो देखिने एउटा वेदी बनाए। अनि इस्राएलीहरूले रूबेनी, गादी र मनश्शेको आधा कुलले कनान देशको सिमानामा यर्दनको नजिकै, इस्राएलीहरूका भागपट्टि वेदी बनाए भन्ने कुरा सुने। तब उनीहरूका विरुद्धमा लड़ाइँ गर्नलाई इस्राएलका सारा समुदाय शीलोमा जम्मा भए। तब इस्राएलीहरूले गिलादको देशमा रूबेनी, गादी र मनश्शेको आधा कुलकहाँ पूजाहारी एलाजारका छोरा पीनहासलाई पठाए, र तिनको साथमा इस्राएलका मुख्य मानिसहरूमध्ये दश जना मानिसलाई हरेक कुलबाट एक-एक गरेर पठाए। तिनीहरू इस्राएलका वंशहरूमा एक-एक परिवारका मुखिया थिए। अनि तिनीहरू रूबेनी, गादी र मनश्शेको आधा कुलकहाँ गिलाद देशमा गएर उनीहरूलाई यसो भने, “परमप्रभुको सारा समुदाय यसो भन्दछ, ‘तिमीहरूले इस्राएलका परमेश्वरको विरुद्धमा कसरी यस्तो विश्वासघात गरेका छौ? तिमीहरूले अहिले कसरी परमप्रभुको विरुद्धमा बागी बनेर उहाँको अनुसरण गर्न छोड़ेर आफ्ना निम्ति यो वेदी बनाएका छौ? के पोरको अधर्मले हामीलाई पुगेन र? त्यसबाट परमप्रभुको समुदायमा महामारी आइलागे तापनि हामीले आजसम्म आफूलाई त्यस अधर्मबाट शुद्ध पार्न सकेका छैनौं। के आज फेरि तिमीहरू परमप्रभुदेखि टाढ़ा जाँदैछौ? “‘आज तिमीहरू परमप्रभुको विरुद्धमा बागी भयौ भने, भोलि इस्राएलको सारा समुदायसित उहाँ रिसाउनुहुनेछ। तर यदि तिमीहरूले अधिकार गरेको देश अशुद्ध छ भने, परमप्रभुको देशमा जहाँ परमप्रभुको पवित्र वासस्थान छ, त्यहाँ आओ, र हाम्रो देशको साझा अधिकार गर। तर परमप्रभु हाम्रा परमेश्वरको वेदी छोड़ेर तिमीहरूका निम्ति अर्को वेदी बनाएर परमप्रभुको विरुद्ध बागी नहोओ। जेरहको छोरा आकानले अर्पण गरिएका मालमा अपराध गरेको थिएन? अनि क्रोध इस्राएलको सारा समुदायमाथि परेको थियो। त्यो मानिस मात्र आफ्नो अपराधको कारणले मरेको थिएन’।” तब रूबेनी, गादी र मनश्शेको आधा कुलले इस्राएलका वंशहरूका कुलनायकहरूलाई भने, “सर्वशक्तिमान् परमेश्वर, हो, परमप्रभु सर्वशक्तिमान् परमेश्वर, उहाँ नै जान्नुहुन्छ, र इस्राएलले जानून्। यदि हामीले बागी भएर परमप्रभुको विरुद्धमा अपराध गरेका रहेछौं भने, आज हामीलाई जीवित नराख। परमप्रभुलाई पछ्याउन छोड़ेर हामीले आफ्ना निम्ति वेदी बनाएका रहेछौं, अथवा त्यसमा होमबलि वा अन्नबलि अथवा मेलबलि चढ़ाउन बनाएका रहेछौं भने, परमप्रभु आफैले त्यसको लेखा लिऊन्। “होइन, हामीले यस अर्थले बनाएका हौं, कि कुनै बखत भविष्यमा तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई यसो भन्लान्: ‘परमप्रभु इस्राएलका परमेश्वरसँग तिमीहरूको के सरोकार? किनकि तिमीहरू रूबेन र गादका सन्तानका र हाम्रा बीचमा परमप्रभुले यर्दनलाई सिमाना बनाइदिनुभएको छ। परमप्रभुमा तिमीहरूको केही पनि हिस्सा छैन’। यसो भनेर तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई परमप्रभुप्रतिको श्रद्धापूर्ण भय टुटाइदेलान्। “यसकारण हामीले यसो भन्यौं, ‘होमबलि अथवा बलिदानको निम्ति नभए पनि, एउटा वेदी त हामीले बनाउनुपर्छ’। तर हामीहरू र तिमीहरूका बीचमा र हाम्रा पछिका पुस्ताहरूका बीचमा यो साक्षीको रूपमा रहोस्, कि हामीहरूले होमबलि, बलिदान र मेलबलि लिएर परमप्रभुको सेवा उहाँको सम्मुखै गर्नेछौं। अनि तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई भविष्यमा, ‘परमप्रभुमा तिमीहरूको केही हिस्सा छैन’ भनी भन्न नपाऊन्। “अनि हामीले विचार गर्यौं कि यदि तिनीहरूले हामीलाई वा हाम्रा सन्तानलाई भविष्यमा त्यसो भनिहालेमा हामी भन्नेछौं, ‘हेर, परमप्रभुका वेदीको प्रतिरूप, जो हाम्रा पिता-पुर्खाहरूले होमबलि वा बलिदानको निम्ति होइन, तर हाम्रा र तिमीहरूका बीचमा साक्षीको रूपमा बनाए’। “हामीले परमप्रभुको विरुद्धमा बागी भएर उहाँको पवित्र वासस्थानको सामुन्ने भएको परमप्रभु हाम्रा परमेश्वरको वेदी छोड़ेर, होमबलि, अन्नबलि, र बलिदान चढ़ाउन अर्को वेदी बनाएर आज परमप्रभुलाई पछ्याउन छोड्ने दिन त कहिल्यै नआओस्।” जब पीनहास पूजाहारीले र तिनीसँग भएका इस्राएलीका कुलनायकहरूले रूबेनका, गादका र मनश्शेका सन्तानले भनेका कुरा सुने, तब तिनीहरू प्रसन्न भए। अनि एलाजार पूजाहारीका छोरा पीनहासले रूबेनका, गादका र मनश्शेका सन्तानलाई यसो भने, “परमप्रभु हाम्रा साथमा हुनुहुँदोरहेछ भन्ने आज हामीले थाहा पायौं, किनकि तिमीहरूले परमप्रभुको विरुद्धमा यो विश्वासघात गरेका रहेनछौ। अब भने तिमीहरूले इस्राएलीहरूलाई परमप्रभुको हातबाट जोगाएका छौ।” तब एलाजार पूजाहारीका छोरा पीनहास र ती कुलनायकहरू गिलाद देशका रूबेनी र गादीहरूबाट कनान देशमा इस्राएलीहरूकहाँ फर्के, र तिनीहरूलाई सारा वृत्तान्त सुनाए। त्यो कुरा इस्राएलीहरूलाई मन पर्यो, र तिनीहरूले परमेश्वरलाई धन्यका भने। फेरि उनीहरूका विरुद्धमा लड़ाइँ गर्न, र रूबेनी र गादी बसेको देश नष्ट पार्न जाने कुरा तिनीहरूले गरेनन्। अनि रूबेनी र गादीहरूले त्यस वेदीको यो नाउँ राखे: परमप्रभु परमेश्वर हुनुहुन्छ भन्ने हाम्रा बीचमा साक्षी।
यहोशू 22:10-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तिनीहरू कनानको देश यर्दनको नजिकमा भएको गेलीलोतमा आइपुगे, तब रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलले यर्दनको छेउमा एउटा विशाल वेदी बनाए। अनि जब तिनीहरूले कनानको सिमाना गेलीलोतमा, यर्दनको छेउ इस्राएलीहरूको किनारापट्टि वेदी बनाएको कुरा अरू इस्राएलीहरूले सुने, तब इस्राएलका सारा समुदायले तिनीहरूको विरुद्धमा युद्ध गर्न शीलोमा भेला भए। यसकारण इस्राएलीहरूले पुजारी एलाजारका छोरा पीनहासलाई रूबेनी, गादी, मनश्शेको आधा कुलकहाँ पठाए। तिनीहरूले उनीहरूसँग इस्राएलको हरेक वंशबाट एक-एक जना मुखिया छानेर दश जना पठाए। तिनीहरू इस्राएलका हरेक कुलहरूका परिवारबाटका अगुवाहरू थिए। तिनीहरू गिलादमा रूबेन, गाद र मनश्शेको आधा कुलका मानिसहरूकहाँ पुगेपछि तिनीहरूले उनीहरूलाई भने, “याहवेहको सारा समुदायले यसो भन्दछ: तिमीहरूले कसरी इस्राएलका परमेश्वरसित यसरी विश्वासघात गर्न सक्यौ? तिमीहरूले कसरी याहवेहदेखि तर्केर उहाँको विरुद्धमा आफ्ना लागि वेदी बनायौ? के पोरको पाप हाम्रा निम्ति पर्याप्त थिएन? याहवेहको समुदायमाथि विपत्ति आइलागे तापनि हामीले आजको दिनसम्म आफूलाई त्यस पापदेखि शुद्ध पार्न सकेका छैनौँ! अनि के अब तिमीहरू याहवेहदेखि तर्किरहन्छौ? “ ‘यदि तिमीहरू याहवेहको विरुद्धमा आज बागी भयौ भने भोलि उहाँ इस्राएलका सम्पूर्ण समुदायसँग क्रोधित हुनुहुनेछ। यदि तिमीहरूले अधिकार गरेको देश अशुद्ध भएको छ भने याहवेहको समागम पाल भएको देशमा आओ र हामीसँगै जमिनको उपभोग गर। तर याहवेहको वेदीबाहेक आफ्ना निम्ति अर्कै वेदी बनाएर याहवेह हाम्रा परमेश्वर अथवा हाम्रो विरुद्धमा बागी नहोओ। जब जेरहका छोरा आकानले अर्पण गरिएका कुराहरूको विषयमा विश्वासघात गरेका थिए, तब के सारा इस्राएलको समुदायमाथि क्रोध परेको थिएन? त्यहाँ त्यो एकलै मात्र आफ्नो पापले मरेन।’ ” तब रूबेन, गाद र मनश्शेको आधा कुलले इस्राएली वंशका मुखियाहरूलाई जवाफ दिए: सर्वशक्तिमान्, परमेश्वर, याहवेह! सर्वशक्तिमान्, परमेश्वर, याहवेह! उहाँले जान्नुहुन्छ! अनि इस्राएलले पनि जानोस्! यो याहवेहको विरुद्ध विद्रोह अर्थात् अनाज्ञाकारिता हो भने आज हामीलाई बाँकी नराख्नुहोस्! याहवेहबाट तर्केर जान र यसमाथि होमबलि, अन्नबलि अर्थात् मेलबलि चढाउन भनी हामीले आफ्नै वेदी बनाएका हौँ भने याहवेह आफैँले हामीबाट लेखा लिऊन्! “त्यसो होइन! हामीले आउँदा कुनै दिनमा तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई, याहवेह इस्राएलका परमेश्वरसँग तिमीहरूको के सरोकार? भन्लान् कि भन्ने डरले पो यसो गरेका हौँ। याहवेहले यर्दनलाई तिमीहरू र हाम्रा बीचमा सिमाना बनाइदिनुभएको छ। हे रूबेनीहरू र हे गादीहरू हो! याहवेहमा तिमीहरूको कुनै भाग छैन भनेर तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई याहवेहको भय मान्नबाट रोक्न सक्नेछन्। “त्यसकारण हामीले भन्यौँ, ‘हामी तयार भएर एउटा वेदी बनाऔँ, तर होमबलि अर्थात् बलिदानहरूका निम्ति होइन। तर यसको ठिक विपरीत तिमीहरू, हामीहरू र हाम्रा भावी पुस्ताहरूको बीचमा यो एउटा साक्षीको रूपमा रहोस्, ताकि हाम्रा होमबलिहरू, बलिदानहरू र मेलबलिहरूद्वारा उहाँको वासस्थानमा याहवेहलाई हामी सेवा गर्नेछौँ। अनि भविष्यमा तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई याहवेहमा तिमीहरूको कुनै भाग छैन भनी भन्न नपाऊन्।’ “अनि हामीले भन्यौँ, ‘यदि कुनै दिन तिनीहरूले हामीलाई अर्थात् हाम्रा सन्तानलाई यसो भन्यो भने हामी यसो भन्नेछौँ: हाम्रा पितापुर्खाहरूले होमबलि र बलिदानहरू चढाउन होइन, तर हामी र तिमीहरूका बीचमा साक्षीको रूपमा बनाएको याहवेहको वेदीको ढाँचालाई हेर।’ “उहाँको समागम पालको सामु खडा रहेको याहवेह हाम्रा परमेश्वरको वेदीलाई छोडेर आज अर्कै वेदी बनाएर त्यसमाथि होमबलि, अन्नबलि र बलिदानहरू चढाएर याहवेहको विरुद्धमा बागी भएर उहाँदेखि तर्किएर जाने काम हामीबाट टाढा रहोस्!” जब पुजारी पीनहास र तिनीसँग भएका समुदायका अगुवाहरू र इस्राएलका वंशहरूका मुखियाहरूले रूबेनका, गादका र मनश्शेहरूले भन्न चाहेका कुरा सुने, तब तिनीहरू प्रसन्न भए। अनि पुजारी एलाजारका छोरा पीनहासले रूबेनीहरू, गादीहरू र मनश्शेहरूलाई भने, “आज हामी जान्दछौँ कि याहवेह हामीसँग हुनुहुन्छ। किनकि यस विषयमा तिमीहरूले याहवेहप्रति विश्वासघात गरेका छैनौ। अब तिमीहरूले इस्राएललाई याहवेहको हातबाट छुटाएका छौ।” तब पुजारी एलाजारका छोरा पीनहास र अगुवाहरू गिलादमा रूबेनी र गादीहरूसँग भेटघाट गरेर कनानमा फर्के। अनि इस्राएलीहरूलाई त्यसको विवरण दिए। त्यो विवरण सुनेर इस्राएलीहरू प्रसन्न भए, र परमेश्वरको प्रशंसा गरे। अनि रूबेनीहरू र गादीहरू बसेको देशमा तिनीहरूको विरुद्धमा युद्ध गरेर नष्ट पार्ने कुरा तिनीहरूले फेरि गरेनन्। अनि रूबेनीहरू र गादीहरूले त्यस वेदीलाई यो नाम दिए: हाम्रा बीचमा एउटा मात्र साक्षी हुनुहुन्छ, जो केवल याहवेह परमेश्वर हुनुहुन्छ।
यहोशू 22:10-34 पवित्र बाइबल (NERV)
रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरू गलीलोत नामक स्थानमा गए। यो यर्दन नदीको छेऊ कनान देश भित्र थियो। त्यहाँ तिनीहरूले सुन्दर बेदी निर्माण गरे। तर इस्राएलका अन्य मानिसहरू, जो अझसम्म शीलोमा नै थिए, यी तीन कुल समूहले निर्माण गरेका बेदीको विषयमा तिनीहरूले सुने त्यो बेदी गलीलोत नामक स्थानमा कनानको सीमानामा थियो। यो यर्दन नदीको नजीकैमा इस्राएल तर्फ थियो। इस्राएलका सबै मानिसहरू यी तीन कुल समूह प्रति अत्यन्त क्रोधित भए। तिनीहरू एकसाथ भेला भए अनि तिनीहरूको विरूद्ध लडाईं गर्ने निश्चय गरे। यसर्थ इस्राएलीहरूले केही मानिसहरूलाई रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरूसित बातचित गर्न पठाए। यी मानिसहरूका अगुवा पूजाहारी एलाजारका छोरा पीनहास थिए। तिनीहरूले कुल समूहहरूका दशजना अगुवाहरूलाई पनि त्यहाँ पठाए। त्यस शीलोहमा भएका इस्राएली कुल समूहका प्रत्येक परिवारबाट एक मानिस थिए। यसर्थ यी एघारजना मानिसहरू गिलाद तिर गए। तिनीहरू रूबेन, गाद अनि आधा कुल मनश्शेका मानिसहरूसित कुरा गर्न गए। ती एघारजना मानिसहरूले तिनीहरूलाई भने, “इस्राएलका समस्त मानिसहरूले तिमीहरूलाई सोध्छन्: ‘किन तिमीहरूले इस्राएलका परमेश्वरको विरूद्ध यस्तो कुरा गर्यौ? किन तिमीहरू परमप्रभु विरूद्ध भयौ? किन तिमीहरूले तिमीहरू स्वयंका निम्ति एक बेदी निर्माण गर्यौ? तिमीहरूलाई थाहा छ यो परमेश्वरको उपदेशको विरूद्ध हो। याद गर पोरमा के भएको थियो? त्यस पापको कारणले हामी अझ दुःख भोगिरहे छौं। त्यो महा-पापको कारणले परमेश्वरले इस्राएलका धेरै जस्तो मानिसहरूलाई साह्रै विरामी तुल्याउनु भयो। त्यो महामारीको कारणले आज पनि हामी दुःख भोगी रहेका छौं। अनि अहिले तिमीहरू त्यही कुरा गरिरहेछौ। तिमीहरू परमप्रभुको विरूद्ध भइरहेछौ। के तिमीहरू परमप्रभुको अनुशरण गर्न अस्वीकार गर्छौ? यदि तिमीहरूले जे गरिरहेछौ त्यो रोकेनौं भने परमप्रभु इस्राएलका परमेश्वर हामी हरेक मानिस प्रति क्रोधित हुनुहुनेछ। “‘यदि तिमीहरू भूमिको पूजा अर्चनाको निम्ति त्यति उत्तम नभए, हाम्रो भूमितिर आऊ। परमप्रभुको पाल हाम्रो भूमिमा छ। तिमीहरूले हाम्रो केही भूमि लिन सक्नेछौ, अनि त्यहाँ बस्न सक्ने छौ। तर परमप्रभुको विरूद्ध नगर। अर्को वेदी निर्माण नगर। हाम्रो भेट-हुने पालमा परमप्रभु हाम्रा परमेश्वरको वेदी छँदैछ। “‘जेरहका छोरा आकान नाउँको मानिसलाई सम्झ। उसले ती वस्तुहरूलाई ध्वंश गर्नुपर्छ भन्ने आज्ञालाई पालन गर्न अस्वीकार गरे। त्यो एक मानिसले परमेश्वरको नियम भङ्ग गरे, तर इस्राएलका समस्त मानिसहरूले दण्ड पाए। उसको पापको कारण आकानको मृत्यु भयो साथै अन्य धेरै मानिसहरूको पनि मृत्यु भयो।’” रूबेन, गाद अनि आधा मनश्शेका कुल समूहहरूका मानिसहरूले ती एघार मानिसहरूलाई उत्तर दिए र तिनीहरूले भने, “परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, फेरि पनि हामी भन्छौ, कि परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ। अनि हामीले किन यो काम गर्यौ त्यो परमेश्वरले जान्नु हुन्छ। हामी चाहन्छौं कि तिमीहरूले पनि यो जान्नुपर्छ। तिमीहरूले न्याय गर्न सक्छौ, हामीले के गर्यौं। यदि हामीले केही गल्ती गर्यौं भनी तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूले हामीलाई मार्न सक्छौ। यदि हामीले परमेश्वरको नियम भङ्ग गर्यौं भने परमप्रभुलाई नै हामीलाई दण्ड दिउन् भनी याचना गर्नुहोस्। के हामीले होमबलि, अन्नबलि अनि मेलबलिहरू अर्पण गर्नका निम्ति यो बेदी निर्माण गरेका हौं भनी तिमीहरू ठान्छौ? अँहँ! हामीले त्यो कारण यसलाई निर्माण गरेका होइनौं। हामीले यो वेदी किन निर्माण गर्यौं? हामीलाई डर थियो कि भविष्यमा तिमीहरूका मानिसहरूले हामीलाई तिमीहरूको राष्ट्रको एक भाग हो भन्न अस्वीकार गर्नेछन् तब तिमीहरूका मानिसहरूले भन्न सक्छन् कि हामीहरू इस्राएलका परमप्रभु परमेश्वरको आराधान गर्न सक्तैनौ। तिमीहरूका मानिसहरूले भन्न सक्छन् परमेश्वरले तिमीहरू र हामी बीचको सीमानाको निम्ति यर्दन बनाउनु भयो, ‘अनि ती रूबेन र गादका मानिसहरूको इस्राएलमा केही भाग छैन।’ यसकारण तिमीहरूका छोरा-छोरीहरूले हाम्रा छोरा-छोरीहरूलाई परमप्रभुको आराधना गर्न रोक्न सक्नेछन्। “यसर्थ हामीले यो वेदी निर्माण गर्ने निश्चय गर्यौं। तर हामीले यसलाई भेटीहरू अनि बलि चढाउनको निम्ति उपयोग गर्ने योजना गरेका थिएनौं। हामीलाई वेदी चाहिएको वास्तविक कारण यो हो कि हामी हाम्रा मानिसहरूलाई तिमीहरूले सेवा गर्ने परमेश्वरलाई नै हामीले पनि आराधना गर्छौं भनी देखाउनलाई हो। यो वेदी, तिमीहरू अनि हामीहरूका निम्ति अनि हाम्रा भविष्यका समस्त सन्तानहरूका निम्ति हामीले परमप्रभुको आराधना गर्छौं, भन्ने कुराको प्रमाण हुनेछ। हामी हाम्रा होमबलिहरू, अन्नबलिहरू अनि मेलबलिहरू परमप्रभुलाई प्रदान गर्नेछौं। तिमीहरूका सन्तानहरूलाई हुर्काउन हामी पनि स्वयं तिमीहरू जस्तै इस्राएलका मानिसहरू हौं भनी जानुन् भन्ने हामीले चाहेको हो। भविष्यमा यदि यस्तो हुनेछ तिमीहरूका सन्तानहरूले यो भन्लान् हामीहरू इस्राएलका होइनौ, तब हाम्रा सन्तानहरूले भन्न सक्नेछन्, ‘हेर! हामी भन्दा अघि बाँचेका हाम्रा पिता-पुर्खाहरूले एक वेदी निर्माण गरेका छन्। त्यो वेदी पवित्र पालमा भएको परमप्रभुको वेदी जस्तै नै छ। हामी यो वेदीलाई बलिहरू चढाउन प्रयोग गर्दैनौ-यो वेदी यसको प्रमाण हो कि हामी इस्राएलका भाग हौं।’ “साँच्चै नै हामी परमप्रभुको विरूद्ध जान चाहँदैनौं। उहाँको अनुशरण नगर्ने हाम्रो इच्छा छैन। हामी जान्दछौं सत्य वेदी त्यही मात्र हो जो पवित्र पालको समक्ष छ। त्यो वेदी परमप्रभु हाम्रा परमेश्वरको हो।” पूजाहारी पीनहास अनि तिनीसित भएका अगुवाहरूले रूबेन, गाद अनि मनश्शेका आधा कुल मानिसहरूले भनेका यी कुराहरू सुने। यी मानिसहरूले सत्यकुरा भन्दैछन् भनी तिनीहरू सन्तुष्ट भए। यसकारण पूजाहारी पीनहासले भने, “अब हामीलाई थाहा भयो कि परमप्रभु हामीसँग हुनुहुन्छ। अनि हामी जान्दछौं कि तिमीहरू उहाँको विरूद्ध गएनौं। हामी खुशी छौं कि इस्राएलका मानिसहरू परमप्रभुद्वारा दण्डित हुने छैनन्।” तब पीनहास अनि अगुवाहरू त्यस स्थान छाडेर घरतर्फ गए। तिनीहरूले रूबेन अनि गादका मानिसहरूलाई गिलाद भूमिमा छाडे र कनान तिर फर्के अनि तिनीहरू इस्राएलका मानिसहरू कहाँ गए के भएको थियो त्यो भने। इस्राएलका मानिसहरू पनि सन्तुष्ट भए। तिनीहरू खुशी भए अनि परमेश्वरलाई धन्यवाद चढाए। तिनीहरूले रूबेन, गाद अनि मनश्शेका मानिसहरूको विरूद्ध गएर लडाईं नगर्ने निर्णय गरे। तिनीहरूले त्यो ठाउँ जहाँ ती मानिसहरू बस्थे त्यो ठाउँलाई ध्वंश नगर्ने निश्चय गरे। रूबेन अनि गादका मानिसहरूले त्यो वेदीलाई एउटा नाउँ प्रदान गरे। तिनीहरूले त्यस ठाउँको नाउँ “‘साक्षी’ राखे हामी त्यो विश्वास गर्छौ परमप्रभु नै परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण गर्छौ।”
यहोशू 22:10-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जब रूबेन, गाद र पूर्वी-मनश्शे कुलहरू यर्दनको पश्चिम किनारको गलीलोतमा आइपुगे, तिनीहरूले नदीको छेउमा एउटा धेरै ठूलो वेदी बनाए। इस्राएलका बाँकी मानिसहरूलाई यसरी भनियो, “सुन! रूबेन, गाद र पूर्वी मनश्शे कुलका मानिसहरूले तिमीहरूपट्टि यर्दनछेउका गलीलोतमा एउटा वेदी बनाएका छन्!” यो कुरा सुनेर इस्राएलका सारा जन-समुदाय पूर्वी कुलहरूसित लडाइँ गर्न शीलोमा भेला भए। तब इस्राएलका मानिसहरूले पूजाहारी एलाजारको छोरा पीनहासलाई गिलाद देशमा रूबेन, गाद र पूर्वी-मनश्शे कुलहरूकहाँ पठाए। पीनहाससित हरेक पश्चिमी कुलको लागि एक जना गरेर दश जना मुख्य व्यक्तिहरू पनि गए। तिनीहरू भिन्न-भिन्न गोत्रका परिवारका प्रधानहरू थिए। तिनीहरू गिलाद देशमा रूबेन, गाद र पूर्वी-मनश्शेका मानिसहरूकहाँ आए र परमप्रभुका सम्पूर्ण मानिसहरूका पट्टिबाट तिनीहरूलाई भने, “किन तिमीहरूले इस्राएलका परमेश्वरको विरुद्धमा यो दुष्कर्म गर्यौ? आफ्नै लागि यो वेदी बनाएर तिमीहरूले परमप्रभुको विरुद्धमा विद्रोह गरेका छौ। तिमीहरूले अब उहाँलाई मान्न छोडेछौ! के हामीले पोरमा गरेको पाप याद छ, जब परमप्रभुले महामारी पठाएर आफ्ना मानिसहरूलाई सजायँ दिनुभएको थियो। हामीले अझै त्यसको पीर भोगिरहेका छौं। के त्यो पाप सानो थियो र? के अब तिमीहरू उहाँलाई मान्न अस्वीकार गर्ने? आज तिमीहरू परमप्रभुको विरुद्धमा विद्रोह गर्छौ भने भोलि इस्राएलका हरेक व्यक्तिसँग उहाँ रिसाउनुहुनेछ। यसकारण अब यदि तिमीहरूको देशमा आराधना गर्न उचित हुँदैन भने परमप्रभुको देशमा उहाँको पवित्र पाल भएको ठाउँमा आओ। हाम्रा बीचबाट केही जग्गा माग। तर परमप्रभु हाम्रा परमेश्वरको वेदीमाथि अर्को एउटा वेदी बनाएर परमप्रभुको विरुद्धमा विरोध नगर वा हामीलाई विरोधी नबनाओ। याद राख कि कसरी जेरहको छोरो आकानले परमप्रभुले नाश पार्न आज्ञा गर्नु भएका थोकहरूका सम्बन्धमा दिइएको आज्ञापालन गर्न अस्वीकार गर्दा त्यसको दण्ड सारा इस्राएलका जन-समुदायमाथि परेको थियो। आफ्नो पापले आकान मात्र एक्लै मरेन।” रूबेन, गाद र पूर्वी-मनश्शे कुलहरूका मानिसहरूले पश्चिमी कुलका परिवारहरूका प्रधानहरूलाई भने, “परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ! उहाँ परमप्रभु हुनुहुन्छ! परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ! उहाँ परमप्रभु हुनुहुन्छ! उहाँले जान्नुहुन्छ कि किन हामीले यो काम गर्यौं र हामी चाहन्छौं कि त्यो तिमीहरूले पनि जान! यदि हामीले विद्रोह गरेर परमप्रभुसित विश्वास राखेका छैनौं भने हामीलाई अब जीवित रहन नदेओ! यदि हामीले परमप्रभुको आज्ञा तोडेका छौं र होमबलि गर्न वा अन्नबलि वा मेलबलि चढाउनलाई आफ्नै वेदी बनाएका हौं भने परमप्रभु आफैंले हामीलाई दण्ड देऊन्! त्यसो होइन! आउँदा दिनमा तिम्रा सन्तानले हाम्रा सन्तानलाई यसो भन्ने छन् कि भन्ने डर छ– ‘इस्राएलका परमेश्वर परमप्रभुसित तिमीहरूको के काम छ र? उहाँले यर्दनलाई हामी र रूबेन र गादका मानिसका बीचमा सिमाना बनाउनुभयो। अब परमप्रभुसित तिमीहरूको केही काम छैन।’ त्यस बेला तिम्रा सन्तानले हाम्रा सन्तानलाई परमप्रभुको आराधना गर्न बन्द गर्न लगाउलान्। त्यसैकारण हामीले यसो गरेका हौं। यसकारण हामीले वेदी बनायौं, होमबलि गर्न वा भेटी चढाउन भनी होइन; तर त्यसका सट्टामा तिम्रा र हाम्रा सन्तानका बीच, पुस्ता-पुस्तासम्म, हामीले साँच्चै होमबलि, बलिदान र मेलबलि लिएर परमप्रभुलाई उहाँको पवित्र पालअघि पुज्दछौं भनी बुझाउनलाई चिन्हको रूपमा यो हामीले बनाएका हौं। पछि तिम्रा सन्तानले हाम्रा सन्तानलाई ‘तिमीहरूको परमप्रभुसित केही काम छैन’ भन्न नपाऊन् भनी यो गरेका हौं। हाम्रो विचार यो थियो कि आउँदा दिनहरूमा कतै त्यसो भइगयो भने हाम्रा सन्तानले यसो भन्न सक्छन्, ‘हेर! हाम्रा पिता-पुर्खाले परमप्रभुको वेदीजस्तै एउटा वेदी बनाए। त्यो होमबलि वा बलिदान चढाउनलाई होइन तर तिम्रा र हाम्रा मानिसहरूका बीचमा एउटा चिन्हको रूपमा छ।’ अवश्य हामी परमप्रभुको विरुद्धमा विद्रोह गर्दैनौं न त होमबलि गर्न वा अन्नबलि वा मेलबलि चढाउनलाई अर्कै वेदी बनाएर उहाँलाई मान्न छोड्नेछौं। परमप्रभु हाम्रा परमेश्वरको वेदी, जुन उहाँको पवित्र पालको सामुन्नेमा खडा छ, त्योबाहेक अरू कुनै वेदी हामी बनाउँदैनौं।” पूजाहारी पीनहास र तिनीसँग भएका पश्चिमी कुलका परिवारहरूका प्रधान, जो समाजका दश जना मुख्य मानिसहरू थिए, रूबेन, गाद र पूर्वी मनश्शेका कुलका कुरा सुनी सन्तुष्ट भए। पूजाहारी एलाजारको छोरो पीनहासले तिनीहरूलाई भने, “परमप्रभु हामीसित हुनुहुन्छ भनी अब हामीले थाहा पायौं। तिमीहरूले उहाँसित विद्रोह गरेका छैनौ र इस्राएलका मानिसहरूलाई परमप्रभुको दण्डबाट बचाएका रहेछौ।” त्यसपछि पीनहास र ती अगुवाहरू रूबेन र गादका मानिसहरूलाई गिलाद देशमा छोडिराखेर कनानमा इस्राएलका मानिसकहाँ गए र तिनीहरूलाई आफ्नो बयान दिए। इस्राएलीहरू सन्तुष्ट भए र परमप्रभुको प्रशंसा गरे। तिनीहरूले फेरि लडाइँ गरेर रूबेन र गाद कुलका मानिस बसेको ठाउँ ध्वस्त पार्ने कुरा कहिल्यै गरेनन्। रूबेन र गादका मानिसहरूले “यस वेदीले परमप्रभु हाम्रा परमेश्वर को हुनुहुन्छ भनी साक्षी दिँदछ” भनेर त्यसको नाम ‘साक्षी’ राखे।