यहोशू 10:15-21

यहोशू 10:15-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब यहोशू र तिनका साथमा सारा इस्राएलीहरू गिलगालको छाउनीमा फर्के। अब ती पाँच राजाहरू भागेर मक्‍केदाको गुफामा लुकेका थिए। ती पाँचै राजा मक्‍केदाको गुफामा लुकेका फेला परे भन्‍ने समाचार यहोशूकहाँ पुग्‍यो। यहोशूले भने, “ठूला-ठूला ढुङ्गा गुड़ाएर त्‍यस गुफाको मुखमा राखिदेओ, र उनीहरूलाई रुँग्‍नलाई मानिसहरू नजिकै राख। तर तिमीहरूचाहिँ नपर्ख, आफ्‍ना शत्रुलाई पछिपछि खेद, उनीहरूलाई पछिल्‍तिरबाट आक्रमण गर। उनीहरूलाई उनका सहरहरूमा प्रवेश गर्न नदेओ, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूका हातमा सुम्‍पनुभएको छ।” जब यहोशू र इस्राएलीहरूले उनीहरूलाई संहार गरेर सत्‍यानाश पारे, र बाँचेकाहरू जति थिए उनीहरू पर्खालले घेरिएका सहरहरूभित्र प्रवेश गरे, तब सबै मानिस मक्‍केदाको छाउनीमा यहोशूकहाँ कुशलसाथ फर्के। इस्राएलीहरूका विरुद्धमा कसैको वाक्‍य फुटेन।

शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्

यहोशू 10:15-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यसपछि यहोशू सारा इस्राएलीसँग गिलगालको छाउनीमा फर्के। अब ती पाँच जना एमोरी राजाहरू भागे, र मक्‍केदामा भएको गुफामा लुकेर बसे। जब ती पाँच जना राजाहरू मक्‍केदामा भएको गुफामा लुकिरहेका कुरा यहोशूलाई बताइयो, तब यहोशूले भने, “त्यस गुफाको मुखमा ठूला पत्थरहरू गुड्याइदेओ। अनि त्यसलाई कुर्नलाई केही मानिसहरूलाई खटाओ। तर तिमीहरू भने त्यहाँ नरोकिनू। तिमीहरूले शत्रुहरूलाई खेदेर पछिल्तिरबाट आक्रमण गर्नू र तिनीहरूलाई तिनीहरूका सहरमा पुग्न नदिनू। किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुभएको छ।” यसरी यहोशू र इस्राएलीहरूले तिनीहरूलाई सम्पूर्ण रूपले नष्‍ट गरे। तर बाँचेका केही मानिसहरू भने तिनीहरूका सुरक्षित सहरहरूमा पुग्न सफल भए। त्यसपछि सारा सेना मक्‍केदामा भएको छाउनीमा सुरक्षितसाथ यहोशूकहाँ फर्के। अनि इस्राएलीहरूको विरुद्धमा कसैले पनि एउटा शब्द पनि बोलेनन्।

शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्

यहोशू 10:15-21 पवित्र बाइबल (NERV)

यसपछि, यहोशू अनि तिनका सेना गिलगालको छाउनीम फर्के। तर युद्ध भइरहेको समयमा ती पाँचजना राजाहरू भागेर गए। तिनीहरू मक्केदा नजिकको एक गुफामा लुके। तर तिनीहरूलाई त्यो गुफामा लुकि रहेको कसैले देखे। यहोशूले यस विषयमा थाहा पाए। यहोशूले भने, “गुफा भित्र पस्ने ढोकालाई ठूला चट्टानहरूले बन्द गरिदेऊ। केही मानिसहरूलाई त्यहाँ रखवाली गर्न राखि देऊ। तर तिमीहरू स्वयं त्यहाँ नबस। शत्रुलाई खेद्न जारिराख। तिनीहरूलाई लगातार पछिबाट आक्रमण गर। शत्रुलाई तिनीहरूका शहरमा फर्केर जान नदेऊ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिनीहरू माथि विजय प्रदान गराउनु भएको छ।” यसरी यहोशू अनि इस्राएलका सेनाले शत्रुहरूलाई मारे। तर केही शत्रुहरू तिनीहरूको शहरमा, जस्‌का वरिपरि उच्च पर्खालहरू थिए, जान समर्थ भए अनि लुके, ती मानिसहरू मारिएनन्। युद्ध पछि यहोशूका मानिसहरू मक्केदामा तिनी कहाँ फर्की आए। त्यसदेशमा इस्राएलका मानिसहरूको विरूद्ध साहसी मानिस कोही पनि थिएनन्।

शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्

यहोशू 10:15-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि यहोशू र उनका सेना आफ्‍ना छाउनी गिलगालमा फर्की गए। ती पाँच एमोरी राजाहरूचाहिँ भागेर मक्‍केदाका ओडारमा लुके। कसैले तिनीहरूलाई देखे र तिनीहरू लुकेको ठाउँ यहोशूलाई बताइदिए। उनले भने, “ओडारको मुखमा ठूला-ठूला ढुङ्गाहरू पल्‍टाइदेओ। त्‍यहाँ केही पहरादार राख। तर तिमीहरू आफैं त्‍यहाँ नबस। शत्रुको पछि लागिरह र पछिबाट तिनीहरूमाथि आक्रमण गर। तिनीहरूलाई आफ्‍ना सहरमा पुग्‍न नदेओ! परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनुभएको छ।” यहोशू र इस्राएलका मानिसहरूले तिनीहरूलाई मारे। तरै पनि कति जना आफ्‍ना सहरभित्र सुरक्षा पाउन पुगे र मारिएनन्। त्‍यसपछि यहोशूका सबै मानिसहरू कुशलसाथ मक्‍केदाको छाउनीमा उनीकहाँ फर्की गए। इस्राएलीहरूका विरुद्धमा त्‍यस देशका कसैले केही भन्‍ने आँट गरेन।

शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्