अय्यूब 40:3-24
अय्यूब 40:3-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब अय्यूबले परमप्रभुलाई यसो भनेर जवाफ दिए: “म जाबोले तपाईंलाई के जवाफ दिन सक्छु र? म मेरो हात मेरो मुखमा राख्दछु। मैले एक पल्ट बोलिहालें, तर मसँग जवाफ छैनँ, मैले दुई पल्ट बोलें, तर अब अरू बोल्ने छैन।” तब परमप्रभुले आँधीबेहरीबाट अय्यूबलाई फेरि यसो भनेर जवाफ दिनुभयो: “कम्मर कस्, र मर्दझैँ खड़ा हो, म तँलाई प्रश्नहरू सोध्नेछु, र तैंले तिनको जवाफ दे। “म धर्मी छु भन्ने कुरालाई के तँ अस्वीकार गर्न साहस गर्दछस्? र तँ आफू ठीक हुनलाई मलाई गलत सम्झन्छस्? के तेरो पाखुरा परमेश्वरको पाखुराजस्तै छ? के उहाँको सोरजस्तै तँ गर्जन सक्छस्? यदि सक्छस् भने, महिमा र मर्यादाले तैंले आफूलाई आभूषित गर्, रवाफ र गौरवले आफैलाई सिङ्गार। तेरो रीसको झोँक पोखा, अहङ्कारी मानिसलाई हेरेर त्यसलाई विनम्र तुल्या। हरेक अहङ्कारी मानिसलाई हेरेर त्यसलाई होच्या, तिनीहरू खड़ा भएकै ठाउँमा दुष्ट मानिसहरूलाई कुल्चिदे। तिनीहरूलाई एकै साथ धूलोमा लुका, र तिनीहरूलाई चिहानमा कात्रोसहित गाड़िदे। तब तेरो दाहिने हातले तँलाई बचाउन सक्दोरहेछ भनी, म पनि स्वीकार गर्नेछु। “मैले तँसँगै बनाएको बहेमोथलाई विचार गर्, जसले गाईबस्तुहरूले झैँ घाँस निल्छ। त्यसको कम्मर कस्तो बलियो हुन्छ! त्यसको पेटको मांसपेशीमा कस्तो शक्ति हुन्छ! त्यसको पुच्छर देवदारुको रूखझैँ कड़ा हुन्छ, त्यसका तिघ्राका नसाहरू खूब कसिएका हुन्छन्। त्यसका हड्डीहरू काँसाका नलीहरूजस्तै हुन्छन्, र त्यसका हात-खुट्टाहरू फलामका आग्लाजस्तै हुन्छन्। परमेश्वरको कार्यहरूमा त्यो सबैभन्दा मुख्य छ, यद्यपि त्यसका सृष्टिकर्ता आफ्नो तरवार लिएर त्यसको नजिक जान सक्छन्। डाँड़ाहरूले आफ्ना उत्पादन त्यसकहाँ ल्याउँछन् र सबै जङ्गली जनावरहरू त्यसका वरिपरि खेल्छन्। त्यो कमलको बोटमुनि बस्छ, काँसघारी र सिमसारहरूमा त्यो लुकिरहन्छ। कमलले त्यसलाई आफ्ना छायामुनि लुकाइराख्छ, खोलाका लहरे-पीपलहरूले त्यसलाई घेरिराख्छन्। नदी उर्लेर आयो भने पनि त्यो डराउँदैन, समुद्रमा भल बढ़ेर आयो भने पनि त्यो लमतन्न पस्रिरहन्छ। के कुनै मानिसले त्यसका आँखाद्वारा त्यसलाई पक्रन सक्छ? अथवा पासो थापेर त्यसको नाक छेड्न सक्छ?”
अय्यूब 40:3-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब इयोबले याहवेहलाई जवाफ दिए: “म अयोग्य छु, म तपाईंलाई कसरी जवाफ दिन सक्छु? म मेरो हातले आफ्नो मुख छोप्दछु। म एक पटकको लागि बोलिहालेँ, तर मसँग कुनै जवाफ छैनँ, दुई पटक म बोलेँ, तर अब म केही भन्नेछैनँ।” तब याहवेह आँधीबेहरीको बीचबाट इयोबसँग बोल्नुभयो: “अब मर्दझैँ कम्मर कसेर खडा हो; म तँलाई प्रश्न गर्नेछु, अनि तैँले मलाई जवाफ दिनेछस्। “के तैँले मेरो न्यायलाई गलत ठहराउँछस्? के तैँले आफूलाई सही ठहराउनलाई मलाई दोषी ठहराउँछस्?” के तेरो पाखुरा परमेश्वरको जस्तो छ? वा के तेरो सोर उहाँको जस्तै गर्जन सक्छ? त्यसो भए आफूलाई महिमा र गौरवले आभूषित गर्! अनि आफूलाई आदर र सम्मानको वस्त्रले ढाक्। तेरो रिसको आगो पोखिदे; घमण्डीहरूलाई हेर्, र तिनीहरूलाई विनम्र पारिदे, हरेक घमण्डीलाई हेर्, र तिनीहरूलाई होच्च्याइदे, दुष्टलाई तिनीहरू उभिएकै ठाउँमा कुल्चिदे। तिनीहरूलाई एकसाथ धुलोमा गाडिदे; चिहानमा तिनीहरूका अनुहार कात्रोले छोपिदे। तब तेरो आफ्नै दाहिने हातले तँलाई रक्षा गर्न सक्छ भनी म आफैँले तँसँग स्वीकार गर्नेछु। “तँसँगै मैले बनाएको जलगैँडालाई हेर, जसले गोरुले जस्तै घाँस खान्छ। त्यसको कम्मरमा कति बल छ, त्यसको पेटका मांसपेशीहरूमा कति शक्ति छ! त्यसको पुच्छर देवदारुजस्तै बलियो हुन्छ; त्यसका तिघ्राका नशाहरू खूब कसिएर बुनिएका छन्। त्यसका हड्डीहरू काँसोका नलीहरू जस्तै बलिया छन्; त्यसका हातखुट्टाहरू फलामका छडी जस्तै छन्। त्यो परमेश्वरका कामहरूमध्ये पहिलो दर्जामा आउँछ; तापनि त्यसलाई बनाउनुहुनेले आफ्नो तरवारले त्यसलाई भेट्न सक्नुहुन्छ। डाँडाहरूले तिनीहरूका उब्जनी ल्याउँछन्, र सबै जङ्गली जनावरहरू त्यसको छेउछाउतिरै खेल्छन्। कमलको बोटमुनि त्यो ढल्कन्छ, सिमसारका निगालोहरूका आडमा लुक्छ। कमलका फूलहरूले त्यसलाई आफ्ना छायामुनि लुकाउँछन्; खोलाको किनारका लहरे पीपलले त्यसलाई घेरेर राख्छन्। वेगसँग उर्लेर आएको नदीलाई देखेर त्यो डराउँदैन; यर्दन नदीको भेल त्यसको विरुद्ध मुखैमा उर्लेर आए तापनि त्यो सुरक्षित रहन्छ। के त्यसको आँखा खुल्ला हुँदा कसैले त्यसलाई पक्रन सक्छ? वा त्यसलाई पासोमा पारेर त्यसको नाक छेड्न सक्छ?
अय्यूब 40:3-24 पवित्र बाइबल (NERV)
तब अय्यूबले परमेश्वरलाई जवाफ दिंदै भनेः “म तपाईंसित बात गर्ने अत्यन्तै तुच्छ हुँ। म तपाईंलाई के भन्न सक्छु? म तपाईंलाई जवाफ दिन सक्तिनँ। म आफ्नो मुखमा हात राखी बस्नेछु। मैले एकपल्ट बोलें, तर म फेरि बोल्ने छैन। मैले दुइपल्ट बोलें, तर अब म केही पनि बोल्ने छैन।” तब फेरि तूफानबाट परमप्रभु परमेश्वर अय्यूबसित बोल्नुभयोः “अय्यूब, आफैंलाई सम्हाल, अनि मैले सोधेको प्रश्नहरूको जवाफ दिन तयार होऊ। “अय्यूब, के तिमी सोच्दछौ कि मैले अन्याय गरेको छु? तिमी भन्छौ कि गल्ती कामहरू गरेर म दोषी भएँ यसकारण तिमी निर्दोष भएर देखा पर्यौ। के तिम्रो पाखुराहरू परमेश्वरको पाखुरा भन्दा बलियो छ? परमेश्वरको आवाज जस्तै तिम्रो आवाज छ जुन मेघ गर्जन जस्तो ध्वनि छ? यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमी घमण्ड गर्न सक्दछौ। यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमीले महिमा र सम्मान लुगा जस्तै लगाउन सक्छौ। यदि तिमी परमेश्वर जस्तै छौ भने तब तिमीले आफ्नो क्रोध देखाउनँ सक्छौ। ती घमण्डी मानिसहरूलाई सजाय दिन सक्छौ। हो, अय्यूब! ती घमण्डी मानिसहरूलाई हेर अनि तिनीहरूलाई नम्र बनाऊ। ती दुष्ट मानिसहरूलाई जहाँ उभिएका छन् त्यहीं धूलो पारि देऊ। सारा घमण्डी मानिसहरूलाई फोहोरमा गाडी देऊ। तिनीहरूको शरीरहरू बेरेर चिहानहरूमा राखी देऊ। अय्यूब, यदि तिमीले यी सबै कुराहरू गर्न सक्छौ भने तब म पनि तिम्रो प्रशंसा गर्नेछु। अनि तिमीले आफ्नै शक्तिद्वारा आफैंलाई बचाउन सक्षम छौ भनेर म स्वीकार्नेछु। “अय्यूब, जलगैंडा लाई हेर। मैले जलगैंडा बनाएँ अनि मैले तिमीलाई बनाएँ। जलगैंडाले गाईले झैं घाँस खान्छ। जलगैंडासँग शरीरमा एकदम ज्यादा ताकत छ। उसको भुँडीको मांसपेशीहरू एकदम शक्तिशाली छन। जलगैंडाको पुच्छर देवदारको रूख जस्तै कडा छ। उसको खुट्टाको माँसपेशीहरू एकदम बलिया छन्। जलगैंडाका हड्डीहरू पित्तल जस्ता दह्रिला छन्। उसको खुट्टाहरू फलामका बारहरू जस्ता छन्। जलगैंडा एकदम अद्भूत जन्तु हो जसलाई मैले बनाएँ। तर म त्यसलाई पराजित गर्न सक्छु। जलगैंडाले पशुहरू चर्ने पहाडहरूमा उम्रने घाँस खान्छ। जलगैंडा कमलको उद्भिद् मुनि पल्टिन्छ। जलगैंडा झार पातको दलदलमा लुक्दछ। कमल फूलको बोटले आफ्नो छाँयामा जलगैंडालाई लुकाउँदछ। त्यो नदीको छेउमा उम्रने लहरे रूखहरू मुनि बस्दछ। यदि नदीमा बाढी आए जलगैंडा भाग्दैन। यदि यर्दन नदी उसको अनुहारमा परे पनि त्यो डराउँदैन। कुनै मानिसले पनि जलगैंडालाई अंकुसे लगाई पक्रन सक्तैन अनि पासो लगाउन सक्तैन।
अय्यूब 40:3-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरो केही मोल छैन, परमप्रभु, म के जवाफ दिन सकूँला? म आफ्नो मुख बन्द गर्दछु। मैले एक चोटि भनिसकें, दुईपल्ट भन्दिनँ। मैले फेरि भन्ने केही कुरा छैनँ। फेरि एक चोटि आँधीको बीचबाट परमप्रभुले अय्यूबलाई यसो भनेर जवाफ दिनुभयो: मर्दझैँ खडा हो र मेरा प्रश्नहरूको जवाफ दे। म न्यायी छैनँ भनी के तँ प्रमाण दिन चेष्टा गर्दै छस्? आफैंचाहिँ ठीक हुनलाई के मलाई गलत बनाउँदछस्? के तँ मजस्तो सामर्थी छस्? के तेरो सोर मेरो जस्तो जोडले गर्जन सक्छ? यसो हो भने तँ आफ्ना इज्जत र घमण्डमा खडा हो। गौरव र महिमाले आफैंलाई सिङ्गार्। अहङ्कारी मानिसलाई हेर्, तेरो रिस तिनीहरूमाथि पोखा र तिनीहरूलाई होचो पार्। हो, तिनीहरूलाई हेरेर तल झार्। दुष्टलाई तिनीहरू उभिएकै ठाउँमा कच्याक-कुचुक पारिदे। तिनीहरूलाई जमिनभित्र गाडिदे, कात्रोले बेह्रेर चिहानमा तिनीहरूलाई पुरिदे। तब म तेरो प्रशंसा गर्नेछु र तेरो आफ्नो पाखुराको बलले विजयी पाइस् भनी स्वीकार गर्नेछु। बहेमोथ भनिने विशाल जल-जन्तुलाई हेर्। तँलाई र त्यसलाई मैले नै बनाएँ। गाईले जस्तै त्यसले घाँस खान्छ। त्यसको शरीरमा कस्तो बल छ। त्यसको पेटको मांसपेशीमा कस्तो शक्ति छ! त्यसको पुच्छर देवदारु रूखजस्तै कडा हुन्छ। त्यसका तिघ्राका मांसपेशी बलियो हुन्छ। त्यसका हड्डीहरू काँसका नलजस्तै बलिया हुन्छन् र त्यसका खुट्टाहरू फलामका डन्डाहरूजस्ता हुन्छन्। मेरा सृष्टिहरूमध्ये त्यो सबैभन्दा अचम्मको छ! त्यसलाई सृष्टि गर्नेले मात्र त्यसलाई जित्न सक्छ। जङ्गली पशुहरू खेल्ने डाँडाहरूमा त्यसको घाँस उम्रन्छ। त्यो कमलको बोटमुनि बस्दछ; सिमसारका काँसघारीको बीचमा लुक्दछ। कमलले त्यसलाई आफ्नो छायामुनि लुकाइराख्छ, खोलाका बैसका रूखहरूले त्यसलाई घेरिराख्छन्। वेगले ओर्लिआउने नदीसित त्यो डराउँदैन, यर्दन नदी त्योतिर बौलाएर बहिआयो भने पनि त्यो ढुक्क मानी बसिरहन्छ। कसले त्यसका आँखा बन्द गरेर त्यसलाई पक्रन सक्छ? वा कसले त्यसको नाक पासोमा पार्न सक्छ?